१९ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

नेपाली मञ्चमा विश्व सामाजिक मञ्च

अर्को विश्व सम्भव छ भन्ने नाराका साथ सन् २००१ मा ब्राजिलको पोर्तोएलेग्रेबाट आरम्भ भएको विश्व सामाजिक मञ्चको १६औँ संस्करण दुई साताअघि मात्र नेपालमा सम्पन्न भयो। राजधानीको भृकुटीमण्डप वरपरका त्रिवि आंगिक क्याम्पसहरूमा विश्वका ९८ वटा मुलुक र स्वदेशका गरी कम्तीमा ३१ हजार जनाको स्वस्फूर्त र सक्रिय सहभागिता थियो।

कार्यक्रममा सहभागी हुन झण्डै १३ सयवटा संस्था, समूह र अभियानहरू दर्ता भएका थिए भने नेपाल आयोजक समितिले तय गरेका १३ वटा मूल मुद्दाअन्तर्गत ४५० भन्दा बढी साना ठूला अलग अलग कार्यक्रम सम्पन्न भए। मञ्चमा नवउदारवाद, पुँजीवाद र निजीकरणविरुद्ध खरोरूपमा नारा लगाइएको थियो भने विश्वभर पछिल्ला वर्षहरूमा व्याप्त सैन्यकरण, युद्ध र मानव अधिकार उल्लंघनका घटनाप्रति पनि खबरदारी गरिएको थियो।

नेपालमै किन ?

सिद्धान्ततः विश्व सामाजिक मञ्च समाजवादको पक्षमा उभिएर पुँजीवादको विरोध गर्नु नै हो र गर्‍यो पनि। साथै, विश्वका धनी र औद्योगिक मुलुकहरूद्वारा आयोजना गरिने विश्व आर्थिक मञ्च र यसको अस्तित्वप्रति नै चुनौती दिनु पनि यसको अर्कोे उद्देश्य हो।

सन् २००४ मा भारतको मुम्बईमा सम्पन्न विश्व सामाजिक मञ्चपछि एशियामै पुनः फर्किएर यस वर्ष नेपालमा हुनु आफैँमा उत्साहजनक विषय हो।

अन्तर्राष्ट्रिय जगत्ले विश्व सामाजिक मञ्च नेपालमा आयोजना हुन सक्छ भनेर पत्याउनु र नेपालमा क्रियाशील विभिन्न आन्दोलन र अभियानको नेतृत्व गरिरहेका अगुवाहरूले आँट गर्नुका पछाडि केही विद्यमान पृष्ठभूमिले सकारात्मक भूमिका खेलेको मान्न सकिन्छ। 

खासगरी हामी नेपालीले निर्माण गर्न सकेको समाजवादउन्मुख संविधान, हाम्रो असंलग्न परराष्ट्र नीति, विश्व शान्तिप्रतिको नेपालको अडान र योगदानबाहेक विश्वभरका मुलुकका नगरिकलाई सहज प्रवेशाज्ञाको सुविधा, नेपालीमा अतिथिहरूको स्वागत र सत्कार गर्ने संस्कार र अझ विशेषरूपमा विगतका दशकमा राजनीतिक तथा सामाजिक परिवर्तनका विभिन्न आयामहरूमा नेपालले हासिल गरेको उपलब्धिहरूलाई मान्न सकिन्छ।

नेपाललाई कति आवश्यक ?  

माथि भनिएझैँ र बाहिरी विश्वले महसुस गरेझैँ के हामीले विगतमा हासिल गरेका संवैधानिक र लोकतान्त्रिक अधिकार उपभोग गर्न पाएका छौँ ? हाम्रो संविधानको प्रस्तावनामा लेखिएझैँ के हाम्रो देश समाजवाद उन्मुख छ ? के हाम्रो देशको शासन प्रणाली समाजवाद, लोकतन्त्र, समानता र स्वतन्त्रताको सिद्धान्तअनुरूप छ ?

गहन र गम्भीर भएर छातीमा हात राखी यी माथिका यक्ष प्रश्नहरूउपर समीक्षा गर्ने हो भने सापेक्षरूपमा हामीले सबै उत्तर छैन भन्ने मात्र पाउने छौँ। हामीले विगतमा ठूलो परिमाणमा जनधनको मूल्य चुकाएर प्राप्त गरेका ती उपलब्धि पछिल्ला दिनमा एकपछि अर्को गरी गुमाउन थालेका छौँ। जातीय विभेद र छुवाछूतका घटना घट्नुको सट्टा दिन/प्रतिदिन बढ्दै गएको छ। महिला भएकै कारण पुरुषको तुलनामा महिलाले जीवनका विभिन्न पक्षमा भोग्नुपरेको लैंगिक असमानता र विभेद, चरमोत्कर्षमा छ।

देशभित्र धनी र गरीबबीचको खाडल झन् फराकिलो हँुदै जानु, आमनागरिकले संगठित हुन पाउने र शान्तिपूर्णरूपमा विरोध गर्न पाउने संवैधानिक र मौलिक हकहरूसमेत विभिन्न बहानामा खोसिने क्रम सुरु हुनु, स्वास्थ्य, शिक्षा, रोजगारी जस्ता संविधानमा बिनासर्त ग्यारेन्टी गरिएका निःशुल्क र गुणस्तरीय सेवाहरू निजीकरण गरी आफ्नो संवैधानिक दायित्वबाट राज्य पन्छिँदै गएको अवस्था छ। 

जसका कारण कम आयस्तरका, विपन्न, सीमान्तकृत र जोखिमपूर्ण अवस्था र भूगोलमा कष्टकर जीवन बाँचिरहेका नागरिकले सरकारबाट सेवा, सहयोग र सुरक्षा नपाउनु, धन, पहुँच र शक्ति हुनेहरू र नहुनेहरूबीच असमानता बढ्दै गई विपन्नले सामान्य उपचारको अभावमा ज्यान गुमाउन बाध्य हुनु, तीव्र गतिमा भइरहेको युवाहरूको विदेश पलायनसँगै उत्पन्न भएको कृषि पेसाको चरम स्खलन भई देशमा कुनै पनि बेला चरम खाद्य संकट उत्पन्न हुने परिस्थिति सिर्जना भएको छ।

देशभित्रको रोजगारीको अवसर र सम्भावना करिव करिब शून्य विन्दुमा झर्नु, गैरकानुनी मानव ओसारपसार र मानव तस्करी भयाबह हुँदै नेपाल संलग्न नै नभएका युद्धहरूमा नेपाली नागरिक मर्न बाध्य हुनु, सामाजिक न्यायको अवस्था खस्किँदै आममानिसमा न्याय पाउने भरोसा गुम्दै गएको छ।

यसैगरी समाजका हरेक क्षेत्रमा भ्रष्टाचार मौलाउँदै गई विश्वस्तरमा देशको प्रतिष्ठामा आँच आउन सुरु हुनु, तीव्र गतिमा हिमाल पग्लने र सो क्रमसँगै जलवायु परिवर्तनको असरले मानिस बढी नै प्रभावित हुने जस्ता समस्या छन्। यस्तो अवस्था पहिचान गरी यिनलाई सार्वजनिक गर्दै समाधानका लागि दबाब सिर्जना गर्न पनि यस्तो सम्मेलन नेपालमै आवश्यक थियो।

कति सफल ?

कोभिड–१९ को महामारीबाट जुर्मुराउने तरखरमा रहेको विश्व अर्थतन्त्र पछिल्ला वर्षमा विश्वका कतिपय स्थानमा फैलिएको द्वन्द्व र युद्धका कारण सिर्जित आर्थिक मन्दीको परिवेशवीच विश्व सामाजिक मञ्च आयोजना भएको हो। जसमा सरदर ४० हजार मानिसको सहभागिता अपेक्षा गरिएकामा विविध अप्ठेरा र समस्याका बाबजुद करिब ३१ हजार सहभागी भए। 

करिब १५०० वटा संस्था र समूहको संस्थागत सहभागिता दर्ता हुने लक्ष्य रहेकोमा करिब १३०० संस्थागत सहभागिता भएको थियो। कार्यक्रम अवधिभरमा लगभग ६०० वटा क्रियाकलाप सम्पन्न हुने अपेक्षा गरिएकोमा ४२५ वटा भए। मञ्चको अन्तिम दिन अर्थात फेब्रुअरी १९का दिन ६१ वटा अलग अलग घोषणापत्र जारी भयो।

यस अर्थमा नेपालमा सम्पन्न विश्व सामाजिक मञ्च संख्यात्मक दृष्टिमा ७० प्रतिशतसम्म सफल भएको मान्न सकिन्छ। तर, कुनै पनि तहको सरकारी निकाय र अन्य सरोकारवालाको अत्यन्त न्यून सहयोग र भूमिकाबीच आयोजक समितिले केवल आफूमा सीमित स्रोत, साधन, जनशक्ति र अनुभवका आधारमा जसरी विश्व सामाजिक मञ्च यो तहमा सम्पन्न गर्न सकियो, त्यो आफैँमा ऐतिहासिक र गौरवमय बनेको सहभागीहरूको तर्क थियो। विशेषगरी मञ्चले विश्वभरका श्रमिक, किसान, महिला, जलवायु न्याय, स्वास्थ्य, सामाजिक संरक्षण र समानता, बालबालिकाका मुद्दामा छलफल गरी एकीकृत घोषणापत्रहरू जारी गरेको थियो।

 

– होमनेट नेपालका कार्यकारी निर्देशक थपलिया विश्व सामाजिक मञ्च, नेपाल आयोजक समितिका सदस्य हुन्।

प्रकाशित: २२ फाल्गुन २०८० ०६:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App