८ वैशाख २०८१ शनिबार
विचार

घुँघटबाट चियाउँदै लोकतन्त्र

मधेस र लुम्बिनी प्रदेशको आठ जिल्लामा केही महिनाअघि महिला, युवा र सीमान्तकृत समुदाय पढ्ने मौका जुर्‍यो। माटो चिनेका भूमिपुत्रहरू, जीविकाका लागि संघर्षरत आमाहरू, आमा–बुबाको काख र बालबच्चाको साथ छोड्न बाध्य सुनौलो भविष्यको विमान कुरेर बसेका युवाहरूसँग साक्षात्कार भयो। जसले अहिलेको अर्थहीन नयाँ नेपाल निर्माणका लागि १० वर्षे सशस्त्र द्वन्द्व र २०६२/०६३ को जनआन्दोलनमा भर्‍याङ बनेर शासनको भोकले विक्षिप्त भएकालाई सत्तामा पुर्‍याएका थिए।

रोल्पाको लिवाङ पुग्दा सशस्त्र द्वन्द्वका घाउ अझै आलै देखिए। लोकतन्त्रमा त्यस्तै घाउ बोकेर दुःखान्त यात्रामा भौतारिँदै थिए–रामबहादुर दमाई। अहिले राज्यबाट पाउनुपर्ने अधिकारका लागि लडिरहेका छन्। उनी सशस्त्र द्वन्द्वमा राज्य र माओवादी दुवैबाट पीडित भए। जसले उनी बसेको घर उजाडिदियो। जग्गा त छँदै थिएन। गाउँ छाड्नुको विकल्प रहेन। द्वन्द्वकालमा राज्य र माओवादीबाट लखेटिएका अनगिन्ती सीमान्तकृतहरूको पीडा यत्र–तत्र भेटिए।

महिला, युवा तथा सीमान्तकृत समुदाय, सबैका द्वन्द्वका घाउले चिहाइरहेका थिए। उनीहरूसँग सशस्त्र द्वन्द्वका बेला गरेका संघर्षका पीडा र आक्रोस दुवै थिए। धेरै युवाको जवानी संघर्षमै बित्यो, समानताको सपना देखेर। तर संघर्षअनुसारको उपलब्धि नभएकोमा उनीहरूको आक्रोश थियो। त्यो आन्दोलन टाठाबाठाहरूका लागि भयो, गरिबका लागि भएन। उनीहरू भन्थे–हामी भर्‍याङ मात्र भयौँ।

कपिलवस्तु पुग्दा मुस्लिम समुदायका महिलाको पीडा घुँघटभित्रबाट चियाउँदै थियो। उनीहरूको दुःख र पीडाले सुशासन, समृद्धि र सामाजिक न्यायको नारा रटान गर्ने लोकतान्त्रिक सरकारका मुखियाहरूलाई गिजाउँदै थियो। र, घुँघटबाट फुत्त–फुत्त निस्केर भन्दै थियो–तिम्रो पोल्टाको सरकारले विकास गर्दा मुस्लिम महिलाको पीडा देखेन। खान र लगाउन समस्या भई बीचैमा पढाइ छाड्नुपर्ने बालबालिकाको भविष्य देखेन। र, देखेन रातोदिन जमिन खोस्रदा पनि भोको पेट बाँच्नुपर्ने बाध्यता।

पहिचानको खोजी गरिरहेका नटवा समुदायका युवाहरूको दैनिकी उस्तै कष्टकर। स्कुल र कलेजका झोला बोकेर जाग्नुपर्ने युवाहरू भोकले भरिएका झोला बोकेर खानाको जोहो गर्न गाउँ चाहार्नुपरेको बाध्यता। आफ्नो पढाइ र जीवनको सुरुवात गर्नुपर्ने उमेरमा अर्काको खेत जोतिदिनुपर्ने मुसहर समुदायका युवाहरूको वास्तविकता। माटोका भाँडा फुटेजस्तै आफ्नो भाग्यलाई दोष दिँदै बेरोजगार भई चौतर्फी मारमा परेका कुमाल समुदायका युवाहरूको तीतो यथार्थ।

गर्भबाटै कमैया र कमलरी भएर जन्मेकाहरूको छुट्टै कथाको पोको। उनीहरूले कथाका कति गाँठो फुकाउनै सकेन्। जुन पीडा उनीहरूको भावबाट बुझिन्थ्यो। आफ्नो माटोसँग कहिल्यै खेल्न पाएनन् उनीहरूले। बिउ छर्ने र बाली स्याहार्ने सौभाग्य लुटिएको थियो। अर्मपर्ममा रम्न र रमाउन पाउने अधिकार खोसिएको थियो। किनकि उनीहरू परिस्थितिका दासी थिए।

कमैया आन्दोलनले बास दियो। गास दिएन। बासभन्दा ठूलो गास रहेछ। सरकारले दिएको जग्गाले कसैको गर्जो टरेन। कमैया बस्न हरायो। दुःख हराएन । मजदूरी गर्नेहरूले कामअनुसारको दाम पाउन सकेनन्। कमैया बस्ने परिपाटी अन्त्य भयो । तर भोकको अन्त्य भएन। अन्याय, अत्याचार र असमानताको अन्त्य भएन । 

मुक्त कमैयामाथि राजनीति भयो। आखिर आन्दोलनको फाइदा कमैयालाई भएन। फाइदा अरूले नै लुटे। भुइँ मान्छेहरूलाई टाठाबाठाले भर्‍याङ मात्रै बनाए। लडाइँ लड्ने सीमान्तकृत भए। सत्तामा चढ्ने अरू नै। भोकलाई समाधान गर्न अनेक प्रयास गर्दै थिए गरिब। त्यस्तै नियति मुक्त कमलरीहरूले पनि भोग्नुपरेको तितो यथार्थ उनीहरूसँग थियो।

पूर्वी तराई धनुषा र सप्तरीका हरूवा/चरुवाहरूको पीडा पनि उस्तै थिए। राज्यले मुक्तिको घोषणा त गर्‍यो तर उनीहरूले मुक्ति पाएनन् । भन्दै थिए– ‘राज्यले हामिलाई हैन। गिरहतलाई मुक्ति दियो। न अब हामीले काम पाउँछौं। न ऋण नै । जबसम्म हामीले जमिन पाउँदैनौँ र हाम्रो पेट भरिन्न, तबसम्म हामी मुक्त हुन्नौँ।’ कति हरूवा/चरुवा र मुसहरहरू अझै पनि नेपाली नागरिक बन्न सकेका छैनन्। 

नागरिकता बनाउन जाँदा लोकतन्त्रका भर्‍याङ चढेर चोटामा बस्नेहरूले हरेक बहाना बनाउँछन्। र, दुःख दिन्छन्। अनि भुइँ मान्छेले नागरिकता बनाउनै सक्दैनन्। सप्तरीकी चन्देश्वरी सदा भन्दै थिइन्–‘नागरिकता नभएर छोराछोरीको जन्म दर्ता भएन। हाम्रा बालबच्चा स्कुल जान पाएनन्।’ लोकतन्त्रमा मधेसमा यस्ता नागरिकताविहीन पीडाले थिचिएका अनगिन्ती नेपाली नागरिकले पहिचानसहित अधिकार खोजेका थिए। जुन पीडा उनीहरूले लोकतन्त्र नजन्मिँदै भोग्दै आएका थिए।

मधेस होस् वा लुम्बिनी, देशको नयाँ नेपालभित्रको सात प्रदेश बनाउन भर्‍याङ बन्ने धेरै भुइँ मान्छेसँग यस्ता पीडा थिए। मधेस र लुम्बिनी प्रदेशको विभिन्न समुदायबाट चियाउँदा लोकतान्त्रिक सरकारले महिला, युवा र सीमान्तकृत समुदायको अधिकार कहाँसम्म सुनिश्चित गरेको छ भन्ने कुरा प्रष्ट देखिन्थ्यो।  

दुःखका सपना कुम्लो पारेर धेरै ठाउँ धाएका भुइँ मान्छेहरू न्यायका लागि भौतारिइरहे। सेना समायोजनले पैसा दियो, सिप दिएन। कमैया आन्दोलनले जग्गा दियो, सिप दिएन। ती समुदायका महिला, युवा र सीमान्तकृतहरूको अवस्था उस्तै छन्। 

पटक–पटक ठगिएका मोही, कमैया, हरूवा/चरुवा, सुकुबासी, वादी समुदायका महिला र युवाहरूले लोकतान्त्रिक सरकारबाट कुनै फरकपनको महसुस गर्न सकेका छैनन्। यो नै नेपालमा लोकतन्त्र छ कि छैन भनेर मापन गर्ने मुख्य आधार बनेको छ।

प्रकाशित: १० फाल्गुन २०८० ०६:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App