८ वैशाख २०८१ शनिबार
विचार

औषधिको आविष्कार

विज्ञानको विकाससँगै करिब २२० वर्षअगाडि पहिलो आधुनिक औषधि आविष्कार भएको थियो। यसको आविष्कार जर्मन वैज्ञानिक फ्रेडरिक सुर्टनरले गरेका थिए। उनले आफ्नो प्रयोगशालामा अफिमबाट मुख्य सक्रिय रसायन निकालेर निद्राका ग्रिक देवता ’मर्फस’ को नामबाट यसको नाम ‘मर्फिन’राखेका थिए। 

उन्नाइसौँ शताब्दीको मध्यतिर विकास भएको क्लोरलहाइड्रेट औषधिलाई कृत्रिम रसायनबाट बनेको संसारको सबैभन्दा पुरानो औषधि मानिन्छ। कृत्रिम र प्राकृतिक दुवै स्रोतको मिश्रणबाट पहिलो सेमी–सिन्थेटिक औषधि ‘एस्पिरिन’ सन् १८९९ मा सार्वजनिक भएको थियो।

हरेक वर्ष नयाँ औषधि आविष्कार हुँदै आइरहेका छन्। पछिल्लो आधा शताब्दीमा चामत्कारिक औषधिहरू पत्ता लागेका छन्। नयाँर  कृत्रिम रासायनिक तत्त्वहरूको विकासले आधुनिक औषधिको आविष्कारमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। औषधिको खोजमा हाइ–थ्रुपुट स्क्रिनिङ, कम्प्युटिङ सिस्टम, आर्टिफिसियल इन्टेलिजेन्स, रोबोटिक्स, बायोटेक्नोलोजी, सिन्थेटिक केमिस्ट्री, मेटाबोलोमिक्स जस्ता प्रविधिहरूको प्रयोगबाट निकै प्रगति भएको छ।

कुनै पनि औषधिको विकासको पहिलो चरणमा विभिन्न स्रोतबाट रासायनिक तत्त्वहरू संकलन गरी औषधीय गुणको सामान्य परीक्षण हुन्छ। त्यसमध्येका उत्कृष्ट तत्त्वहरूलाई मात्रै, थप अनुसन्धानका लागि अर्को चरणमा लगिन्छ। औषधि विकासकर्ताले सम्बन्धित निकायबाट अनुमति लिन्छन्र अर्को चरणमा मुसा, खरायो, बाँदर वा यस्तै जनावरमा परीक्षण गर्छन्।

औषधिको प्रभावकारितादेखि उत्सर्जन हुनेसम्म पहिला जनावरमै अध्ययन हुन्छ। त्यसपछि औषधिको खुराक, प्रतिकूल असरर विषाक्तता जाँचिसकेपछि मात्र मानिसमा परीक्षण गर्न मिल्छ कि मिल्दैन भनेर निष्कर्ष निकालिन्छ।

उक्त अध्ययनरत औषधिका प्रि–क्लिनिकलका प्रतिवेदनहरू सम्बन्धित निकायमा पेस गरेपछि करिब २० देखि १०० जना स्वास्थ्य स्वयंसेवकमा पहिलो परीक्षण (फस्ट क्लिनिकल ट्रायल) गर्न अनुमति पाइन्छ। निकै होसियारीपूर्वक ती व्यक्तिहरूको मुटु,रगत, दिसा–पिसाबलगायत अन्य नमुनाको नतिजा विश्लेषण गरिन्छ । 

पहिलो परीक्षणको नतिजाका आधारमा सोही औषधि दोस्रो चरणको क्लिनिकल ट्रायलमा सयौँ व्यक्तिमा परीक्षण हुन्छ। यस परीक्षणमा बिरामीहरूलाई औषधिको खुराक र मात्राको सूक्ष्म विश्लेषण हुन्छ। 

सकारात्मक नतिजा प्राप्त भएमा संसारका विभिन्न ठाउँमा केही हजार बिरामीमा तेस्रो चरणको परीक्षण गरिन्छ। यस चरणमा पनि उक्त औषधिले राम्रो काम गरेमा त्यसले नयाँ औषधिको मान्यता पाउँछ। तर त्यसबाट हुन सक्ने दूरगामी प्रभावको अवलोकन भने जारी रहन्छ। 

एउटा अध्ययनअनुसार सन् २००६ देखि २०१५ को अवधिमा पहिलो चरणदेखि तेस्रो चरणको क्लिनिकल ट्रायलसम्म पुगेर सफलता प्राप्त गर्ने औषधिको दर औसतमा १० प्रतिशतभन्दा कम छ। यसरी पत्ता लागेको नयाँ औषधिलाई नियमनकारी निकायमा दर्ता गराएपछि मात्र त्यस देशमा उत्पादन वा बिक्री वितरण गर्न पाइन्छ।

नयाँ औषधि अनुमोदनका मापदण्ड र प्रक्रिया देशैपिच्छे केही फरक छन्। कुनै देशमा औषधिहरूको अनुमोदनदेखि उत्पादनसम्म एउटै निकायले हेर्ने गर्छ। अमेरिकामा अमेरिकी खाद्य तथा औषधि प्रशासन (युयसएफडिए) ले बेलायतमा औषधि र स्वास्थ्य सेवा उत्पादन नियामक एजेन्सी (एमएचआरए), अस्ट्रेलियामा चिकित्सीय सामान प्रशासन (टिजिए), भारतमा सेन्ट्रल ड्रग स्ट्यान्डर्ड कन्ट्रोल अर्गनाइजेसन (सिडिएससिओ), नेपालमा औषधि व्यवस्था विभाग (डिडिए) आदिले आ–आफ्ना देशमा औषधिसम्बन्धी सम्पूर्ण गतिविधि नियमन गर्छन्।

विश्वव्यापी मान्यता प्राप्त युयसएफडिएले हरेक वर्ष नयाँ रासायनिक र जैविक औषधिहरूको अनुमोदन गर्छ र नयाँ औषधिहरू निस्कन्छन्। जैविक औषधिहरू, जस्तै खोपहरूर चिकित्सा उपचारमा प्रयोग हुने धेरै प्रोटिनहरू सामान्यतया बायोलोजिकल लाइसेन्सअन्तर्गत मान्यता पाउँछन्। बितेका ३० वर्षमा करिब ३०० भन्दा बढी रासायनिक तथा जैविक औषधिले युयसएफडिएबाट स्वीकृति पाएका छन्। यीमध्ये लगभग ३५ प्रतिशत क्यान्सर रोगको उपचारका लागि पत्ता लगाइएका थियो।

सन् २०२३ मा कुल ५५ वटा नयाँ औषधिलाई मान्यता दिएको छ । यीमध्ये सानाखाले रासायनिक तत्त्वहरू ३४ वटा, प्रोटिन १७ वटार ओलिगोन्युक्लियोटाइड्स ४ वटा छन्।

सन् २०२३ मा क्यान्सरका औषधिहरू १३ वटा अर्थात् सबैभन्दा धेरै, दोस्रोमा नसासम्बन्धी ९ र त्यसपछि संक्रामकरोग र रगतसम्बन्धी दुवैमा ५–५ वटा औषधि पत्ता लागेका छन्। त्यसै वर्षको नयाँ औषधिको संख्या, पछिल्लो वर्ष अर्थात् सन् २०२२ को संख्याभन्दा बढी हो।

सन् २०२२ मा ३७ वटा मात्र नयाँ औषधि बजारमा निस्किएका थिए जसमध्ये २० वटा रासायनिक तत्त्वबाट बनेका औषधि थिए भने १७ वटा जैविक औषधि थिए। सन् २०१८ मा अहिलेसम्मकै धेरै कुल ५९ वटा नयाँ औषधिहरू युयसएफडिएबाट बजारका लागि अनुमति पाएका थिए।

सन् २०२३ मा नयाँ औषधिको संख्यात्मक वृद्धि पछिल्लो ३० वर्षयताकै दोस्रो ठूलो आँकडा हो। वर्षभरिमा कोभिड–१९, रेस्पिरेटरी सिन्साइटियल भाइरसर एचआइभीलगायत संक्रामक रोगहरूको उपचारका लागि समेत केही औषधि पत्ता लगेका छन्। 

ढाड र मस्तिष्कका नशा बिग्रने, अल्जाइमर र माइग्रेन जस्ता नसासम्बन्धीरोगका लागि औषधि पत्ता लगेका छन्। यसबाहेक, बच्चाहरूमा टाइप–टु डाइबेटिज, विभिन्न प्रकारका रक्तअल्पता, वजन व्यवस्थापन र अन्य हृदय, रगत, मिर्गाैला, ग्रन्थीसम्बन्धी समस्याहरूका लागि पनि थप औषधिहरू सोही वर्ष नै अविष्कार भएका छन्। स्रोतका दृष्टिले प्राकृतिक स्रोतहरूबाट धेरै अर्थात कुल १० वटा नयाँ उत्पादन बजारमा आएका छन्। 

यसै महिना वैज्ञानिकहरू टोरेर अल्बेरिसियोद्वारा प्रकाशित एक अध्ययनमा ‘लेकानेमाब’ लाई ‘२०२३ ड्रग अफ द इयर’ भनेका छन्। यो औषधिले विश्वको ठूलो जनसंख्यालाई अल्जाइमर रोगसँग लड्नका लागि अत्यधिक सहयोग मिलेको छ। नयाँ वर्ष २०२४ को सुरुवातसँगै अर्को एउटा औषधि पनि थपिएको छ–भाइरसद्वारा छालामा हुने संक्रमणको उपचारका लागि यो औषधिले मान्यता पाएको हो।

औषधिको खोज गर्ने प्रविधिमा अनुसन्धानकर्ताहरू कृत्रिम प्रविधि, मानव कोशिका मोडेल, जैविक थ्रिडी मोडेल आदि प्रयोग गरेर मानव अंगहरूको नक्कल गराइरोगको औषधि पत्ता लगाउन थालेका छन्। एआइद्वारा औषधि छनोट गर्न, जीव–रासायनिक गतिविधिहरू हेर्न,रोगसँग औषधिको अन्तरक्रियाबारे बुझ्न सहज भएको छ। कृत्रिम प्रविधिले गर्दा औषधिको खुराक र प्रभाव थाहा पाउन समय र खर्च दुवैको बचत भएको छ।

नियामक संस्थाहरू, जस्तै–विश्व स्वास्थ्य संगठन, पेन अमेरिकन हेल्थ अर्गनाइजेसन, इन्टरनेसनल कन्फ्रेन्स अन हार्मोनइजेसन आदिले बजारका औषधिहरूको प्रभावकारितार गुणस्तर सुनिश्चितताका लागि रणनीतिहरू बनाउँदै आएका छन्। 

भविष्यका लागि औषधिहरू विकास गर्न हामीले नयाँ प्रविधिहरू, जस्तै–कम्प्युटेसनल बाइलोजी, बायोइन्फरमेटिक्स, फार्माकोजेनोमिक्स, इन्जिनियरिङ र न्यानोटेक्नोलोजी विधिहरू अवलम्बन गर्नैपर्छ। हामीले स्वास्थ्य क्षेत्रमा राम्रै प्रगति हासिल गरे तापनि सक्रिय रासायनिक तत्त्वबाट नयाँ औषधि नेपालमै आविष्कार गर्न भने केही दशकका लागि कमै सम्भावना देखिन्छ।

 

(डा. ज्ञवाली काठमाडौँ विश्वविद्यालयका फर्माकोग्नोसीका प्राध्यापक तथा जडीबुटी विज्ञ हुन्।)

प्रकाशित: ९ फाल्गुन २०८० ०६:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App