३० वैशाख २०८१ आइतबार
image/svg+xml
विचार

हनुमानढोका दरबारको ‘वसन्त राग’

काठमाडौँको मध्य भागमा रहेको हनुमानढोका दरबार मल्लकालिक तथा शाहकालिक दरबारको अद्वितीय कला क्षेत्र हो। यहाँ लिच्छविकालदेखि नै दरबार रहेको प्रमाण दिने अभिलेख पनि पाइएका छन् तर त्यतिबेलाका दरबारका संरचना भने अहिले छैन। यस दरबार राजाहरूको वासस्थान मात्र नभई धार्मिक तथा सांस्कृतिक स्थल भएकाले यहाँ वर्षभर विभिन्न पर्व र उत्सव मनाउने गरिन्छ।

यिनै उत्सवहरूमध्ये वसन्त श्रवण पनि एक हो। वसन्त श्रवण वसन्त पञ्चमीमा मनाइन्छ। यस दिन सरस्वती पूजाको दिन पनि हो। यहाँ मनाइने वसन्त श्रवणमा सरस्वती पूजा पनि गरिने भए पनि यतिबेला गीत गोविन्द वसन्त रागमा गाउने परम्परा मुख्य हो, जसलाई वसन्त श्रवणको नामले चिनिन्छ।

याे पर्व मनाउन पहिले–पहिले राजकीय साजसज्जामा सजाइएको दरबारको नासल चोकमा राजालगायत राजपरिवारका साथ र भाइभारदारहरूको उपस्थितिमा मनाइन्थ्यो भने हिजोआज राष्ट्राध्यक्षलगायतका गन्यमान्य व्यक्तित्वको उपस्थितिमा मनाउने गरिएको छ।

गीत गोविन्द वसन्त रागमा भारतको जगन्नाथ हिन्दु परम्परामा विशेषगरी ओडिसा राज्यमा पूजा गर्ने देवताका मन्दिरमा गाउने परम्परा छ। गीत गोविन्द, १२औं शताब्दीको भारतमा जन्मेका कवि जयदेवले संस्कृत भाषामा रचेको कविता हो। यस कविताले वसन्त ऋतुमा राधा र कृष्णको प्रेम भावनाको वर्णन गर्दछ।

भारतीय शास्त्रीय संगीतमा यस भावको वसन्त रागमा विभिन्न नाटक, नृत्य प्रदर्शन हुने गरेको छ। यसको रचनाकालदेखि नै यहाँको मन्दिरमा गीतगोविन्द गाउने परम्परा छ। यसलाई वसन्त रागमा गाउने हुनाले जगन्नाथ, गीत गोविन्द र वसन्त रागबीचको सांस्कृतिक र सांगीतिक सम्बन्ध रहेको मानिन्छ। गीत गोविन्दका श्लोकहरूले वसन्त ऋतुमा राधा र कृष्णको दिव्य प्रेम चित्रण गरेको छ। त्यसैले यस प्रेमलाई वसन्त रागमा संगीतमय प्रस्तुतिका साथमा गर्ने गरेको विश्वास गरिन्छ।

संगीतमा वसन्त रागको विशेष महत्व छ। वसन्त ऋतु प्रेमको ऋतु भएकाले यस मौसममा यस रागको अति नै महत्व रहेको हुन्छ। यसको श्रवणले मन प्रसन्न हुने विश्वास गरिन्छ। यस राग रातको अन्तिम प्रहरमा गाइने र यसलाई अति प्राचीन राग पनि मानिन्छ। वसन्त ऋतुमा भने यो राग चौबीसै घन्टा गाउन÷बजाउन सकिने मान्यता छ। ऋतुका राजा वसन्त भएकाले वसन्त रागलाई रागका राजा मान्ने गरिएको छ। यो राग सबै प्राणीका लागि पनि आनन्दायी एवं स्वस्थवर्धक मानिन्छ।

यस दिन सर्वसाधरण भने ‘सरस्वती वन्दना सरस्वती मया दृष्टा विणापुस्तकधारिणी हंशवाहनसंयुक्ता विद्यादानं करोतु मे र ॐनमोः बागिश्वराय नमः’ मा ज्ञानकी देवी सरस्वतीको पूजा अर्चना गरी बालकलाई अक्षराम्भ गराउने, सबै ज्ञानका प्रेमी सरस्वती थानमा गई पूजा–अर्चना गरी वसन्त पञ्चमीमा सरस्वती पूजा मनाउने गर्दछन्। यस दिन सरस्वती थानका कुण्डमा नुहाउने चलन पनि छ। यस दिन ललितपुरको लेलेको सरस्वती कुण्डमा मेला लाग्छ र बालबालिकालाई यस कुण्डको जल खुवाउने पनि गरिन्छ।

हिन्दु धर्मको मान्यताअनुसार सरस्वतीको उत्पत्तिका सन्दर्भमा जब ब्रह्माजीले सृष्टिको रचना गरेका थिए तब सबैतिर शान्ति व्याप्त भएको थियो। त्यही समय भगवान् विष्णुको आज्ञाले ब्रह्माजीले आफ्नो कमण्डलुको जल धरतीमा छरे। त्यसबाट एक अद्भुद शक्ति भएका चार भुजामा वीणा, माला, पुस्तक लिएकी नारी अवतरित भइन्। तब ब्रह्माजीले तिनको नाम देवी सरस्वती दिए, जसलाई आज पनि ज्ञान र संगीतका देवी भनेर चिनिन्छ। सरस्वतीको उत्पत्ति भएको दिन भएकाले यस दिन सरस्वतीलाई पूजा गरी श्रीपञ्चमी मनाइँदै आएको छ।

सरस्वती शब्द गति अर्थ भएको ‘सृ’ धातुबाट बन्छ। त्यसैले यसको अर्थ नित्यप्रति जाग्रत र गतिमान हुन्छ। यस दिनलाई प्रायःले आआफ्नो धर्म र परम्पराअनुसार बालबालिकालाई अक्षराम्भ गराई सरस्वती पूजा र आराधना गरी ज्ञान हासिल गर्ने दिनका रुपमा मनाइन्छ। बौद्ध नेपाली समुदायमा श्रीमहामञ्जूश्रीलाई प्रथम गुरु मानेर अक्षराम्भ गर्ने चलन छ। बौद्धहरूले माघ शुक्ल श्रीपञ्चमी तिथिलाई मञ्जुपञ्चमी पनि भन्ने गरिन्छ। यस दिन सरस्वतीको पूजा–आराधना गरी व्रत बस्ने विद्या आरम्भ र अभक्क्ष भोजन त्यागी सिद्धि प्राप्त गर्न सक्ने तथा विद्याले पूर्ण हुने विश्वास गरिन्छ।  

वसन्त पञ्चमीदेखि वसन्त ऋतुको आरम्भ हुने हुँदा शिशिर ऋतुको जाडो कम हुँदै जान्छ। यस ऋतुको आगमनसँगै प्रकृतिमा परिवर्तन आई नयाँ–नयाँ पालुवाले वातावरण रमणीय बनाउँछ। यसले मानिसको जीवनमा नयाँ दृष्टिकोण र ऊर्जा प्रदान गर्छ।  

नवविवाहिताको नयाँ जीवनको शुभारम्भदेखि साहित्य, कला र विज्ञानमा समृद्ध, सफलता र उन्नति प्राप्त गर्नका लागि पनि यो ऋतु उत्तम मानिन्छ। वसन्त पञ्चमीका हरेक पक्ष अद्वतीय र महत्वपूर्ण हुने हुनाले श्रीमद्भागवतगीतामा श्रीकृष्णले ‘वसन्त मेरो रूपमा एक हो’ भनेका छन्। पूmलमा कमल, ऋतुमा वसन्त मानेको देखिन्छ।

६ ऋतुमा (वसन्त, ग्रीष्म, वर्षा, शरद, हेमन्त र शिशिर) श्रेष्ठ ऋतु भएकाले सम्पूर्ण जीवात्माका लागि आनन्दमय मौसम भएकाले यसलाई नवयौवनको पर्व पनि भनिन्छ। त्यसैले यस ऋतुलाई ऋतुराज पनि भन्ने गरिन्छ। पाँचवटा ऋतुले आठ–आठ दिन वसन्त ऋतुलाई उपहार दिएको हुनाले चालीस दिन बढी पाएकाले चैतबाट सुरु हुने ऋतु माघ शुक्ल पञ्चमीदेखि सुरु भएको भन्ने भनाइ छ।

वसन्त पञ्चमीको दिनलाई श्रीपञ्चमी सरस्वती पूजा र मञ्जुपञ्चमीका दिनले पनि चिनिन्छ। हाम्रो समाजमा मनाउने विभिन्न पर्वपूजा र जात्रा चन्द्रमाको गतिअनुसार मनाउने गरिन्छ। विभिन्न तिथिमा मनाइने पर्वमध्ये शुक्ल पञ्चमी तिथिलाई महत्वपूर्ण मानिन्छ। पञ्चमीमध्ये महत्वपूर्ण पञ्चमीमा नागपञ्चमी, ऋषिपञ्चमी, विवाहपञ्चमी, श्रीपञ्चमी अथवा वसन्तपञ्चमी पर्दछन्। श्रीपञ्चमीलाई श्रीदेवी, भूदेवी र वाकदेवीको संगम पनि मानिन्छ।  

हनुमानढोकाको नासलचोकमा वसन्त पञ्चमी अर्थात् श्रीपञ्चमीका लागि चार दिनअगाडि नै नास द्यः को भुईंमा लिपेर चोखो बनाइन्छ। यसरी चोखो बनाइएको ठाउँमा हरियो बाँस पालुवासहितको लिंगो गाडेर ६ वटा चँदुवा झुन्ड्याई सम्पूर्ण देवदेवीलाई आह्वान गरिन्छ। यसरी राखिएको चँदुवाको कलश तलतिर चोखो पारिएको जमिनमा रेखी कोरी देवाताका लागि आसनी बनाइन्छ। यसका माथि पूजाका लागि तयार परिएका पूजा सामग्री राखी दियो बालेर पूजा आरम्भ गरिन्छ।

यसपछि गणेश, दियो, चारवेद (ऋग्वेद, शुक्लवेद, अथर्ववेद र सामवेद) प्रतिस्थापन गरेर पूर्वमा ॐ श्री गणेशाय नमः, ॐ श्री  सरस्वतीय नमः, पश्चिममा ॐ श्री वृस्पतय नमः, उत्तरमा ॐ श्री रती कामदेवाय नमः, दक्षिणमा ॐ श्री शुक्राय नमः र बीचमा ॐ श्री ब्रह्माय नमः, ॐ श्री वृहस्पय नमः भनि पूजा गरिन्छ।  

यस उत्सवका लागि पूजा स्थानको दक्षिणमा रहेको डबली र डबलीनजिकै सेनाको दरबन्दीअनुसारको ब्यान्ड बाजा बजाउने टुकडी रहन्छ। पहिले–पहिले यस सहारोहमा नेपाली सेनाको सबै निशानी ल्याउनुपर्ने भनिए पनि स्थान अभावका कारण मूल निशानी (पृथ्वीनारायण शाहले काठमाडौं जितेपछि पहिलो पटक यहाँ आउँदा साथमा ल्याइएको निशानी) र सबै युनिटको प्रतीकात्मक ३७ वटा निशानी ल्याई डबलीमा राखिन्छ।

डबलीसँगै राष्ट्र प्रमुखको सलामीका लागि नेपाली सेनाका जवानको डफ्फा रहन्छ। राष्ट्राध्यक्षलगायत नेपाल सरकारका उच्च पदका कर्मचारी तथा पदाधिकारीलाई गृह मन्त्रालयको सूचनाबमोजिम तोकिएको समयमा उपस्थित गराइन्छ। मन्त्रीगण, संवैधानिक निकायका प्रमुखहरूको उपस्थिति भएपछि प्रधानमन्त्री, उपराष्ट्रपति र राष्ट्रपतिको उपस्थितिमा राष्ट्रपतिको सवारी भएपछि सेनाको एकाउन्न जनाको टुकडीले सलामी चढाउँछ। यसपछि नेपाली सेनाको ब्यान्डले राष्ट्रिय धुन बजाई शुभशाइतको संकेत गर्दछ।

यसपछि ब्राह्मणले गीत गोविन्द (वाचन) पाठ गर्दछ। यसपछि राष्ट्राध्यक्षबाट पूजा संकल्प गराई दियो, कलश, गणेश र सरस्वतीलाई पूजा गरिन्छ। सबै पूजा सकिएपछि पहिले ढाडी (लोक संस्कृति) गाउने चलन अहिले हराइसकेको छ तर गीत गोविन्द वाचन गर्ने चलन भने अहिलेसम्म छ (दरबारका पुजारीअनुसार)। यसलाई नै वसन्त श्रवण भन्ने गरेको छ। यसपछि कलाकारबाट वसन्त रागका धुन बजाउने गरिन्छ। अन्त्यमा अर्घ विसर्जन, टीका प्रसाद राष्ट्रपतिलगायत उपस्थित संम्पूर्णलाई दिएपछि उत्सव सम्पन्न हुन्छ।  

वसन्त राग वसन्त ऋतुको परिचायक राग भएकाले पनि यस रागलाई यसै ऋतुमा गाउने गरिन्छ। हरेक ऋतुले मानिसको जीवनमा असर पर्ने हुनाले ऋतुअनुसारको संगीतका धुनमा गीत गाउने गरिन्छ। वसन्त रागलाई अति पुरानो राग मानिन्छ। राग वसन्त हिन्दुस्तानी शास्त्रीय संगीत प्रणालीको एक राग हो। यसको आरोहीमा पाँच नोट र अवरोहीमा सात नोट हुन्छन्। यो खुसी र उत्साहको राग हो। यसलाई गाउन र सुन्दा मन प्रसन्न हुने जनविश्वास छ। यो राग गाउने समय रातको अन्तिम प्रहर मानिएको छ। तर वसन्त ऋतुमा भने जुनसुकै समयमा पनि यसलाई गाउन सकिने जनविश्वास छ।

प्रकाशित: २ फाल्गुन २०८० ११:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App