११ आश्विन २०७७ आइतबार
विचार

गल्ती उहिले, सकस अहिले

मंसिर २५ गते २०७४ मा नागरिकमा प्रकाशित ‘सन्तानलाई सास्ती’को एउटा पाठकले भारतका मिर्जाफरसित मिल्ने एउटा उदाहरणीय सत्यकथा सुनाए । नेपालको एउटा कलेजमा प्रिन्सिपलको पद खाली हुन आयो । त्यसका दुई प्रत्यासी थिए । एउटा सिनियर र अर्को जुनियर।

साधारण प्रक्रियाबाट सिनियर प्राध्यापकले सो पद पाए । तर जुनियर चाहिँ निराश भए र कसरी नयाँ प्रिन्सिपललाई हटाई सो पद आफूले हासिल गर्न सकिन्छ भन्ने धन्दामा लागे । एउटै कलेजमा पढाउने भएकाले उनीहरू साथीभाइ थिए र एक अर्काबारे सबै वृत्तान्त थाहा थियो । प्रिन्सिपलको जीवनमा घटेको एउटा कमजोरी उनका जुनियर प्राध्यापकलाई थाहा थियो । स्कूलमा पढ्दा प्रिन्सिपलका बुबाले फिस तिर्न पैसा नभएर छिमेकीको कुखुरा चोरेर बेचे र त्यही पैसाले आफ्नो छोराको फिस तिरिदिएका थिए।

यही घटनालाई जुनियर प्राध्यापकले कलेजका केटाकेटीबीच फैलाइदिए । ‘हाम्रो प्रिन्सिपल साहेब त कुखुरा चोरको छोरा रै छ’ भनेर एक कान दुई कान कलेजभर फैलियो । त्यही कलेजमा उनका छोरा र छोरी पनि पढ्दै थिए । उनका साथीहरूले ‘कुखुरा चोरको नाति’, ‘कुखुरा चोरको नातिनी’ भनेर खिज्याउन थाले । दुई चार दिन त त्यसै गुज्रे तर साथीभाइहरू बीचमा यो क्रम रोकिएन । प्रिन्सिपलका छोराछोरीलाई असह्य भएपछि उनीहरू कलेज जान छाडिदिए । प्रिन्सिपलप्रति पनि कलेजका प्राध्यापक र विद्यार्थीहरूको दृष्टि बदल्दै गएको उनले महसूस गरे । केही महिनामा नै उनले राजीनामा गरे । नेपालमा बस्दासम्म यो लान्छनाबाट आफ्ना छोराछोरीलाई कठिन हुने भयो भनेर उनले देशै छाडेर गए । एक प्रकारले त्यो परिवार नै नेपालबाट विस्थापित हुन गयो।

आफ्ना सन्तानलाई कुनै सास्ती नहोस् भन्नाका लागि नै देशलाई हानि–नोक्सानी हुने काम हाम्रा नेता र सत्ताधारीहरूले नगरून् भन्ने हो । त्यस मानेमा कुनै पनि नेपालीले नेपाललाई क्षति हुने काम नगरोस् भन्ने हो।

सो पाठकको विचारमा नेपालमा पनि भारतको मिर्जाफरको घटनाजस्तै घटिरहेकै छन् । त्यसैको एउटा उदाहरणस्वरूप उनले यो कथा सुनाएका हुन् । आफ्नो बाजेले कुखुरा चोरेको एउटा गल्तीको कारण उनका नाति नातिनीहरूले सास्ती बेहोर्नु प¥यो । मलाई पनि यस्तै एउटा घटनाको सम्झना छ । मेरो गाउँका एक जना साधारण मानिसलाई चोरीको मुद्दा लाग्यो । उनी गाउँमा बस्न सकेनन् र काठमाडौँ आए । एउटा सानो होटल चलाएर गुजारा चलाए । तर उनको परिवार र छोराछोरीहरू गाउँमै बसिरहे।

छिनछिनमा चोरको परिवार, चोरको छोरा, चोरकी छोरी भन्ने लाञ्छना लागि नै रह्यो । हुन त उनीहरूको केही गल्ती थिएन तर उठ्दा बस्दा र विवाद हुँदा यो लाञ्छनाले उनीहरूलाई छाडेन । अरू परिवारहरूले जस्तो उनीहरूले कुनै प्रगति गर्न सकेनन् । जीवनभर लज्जित भएर बसे । गाउँ छाडेर जाऊन् पनि कसरी ? पढेलेखेका थिएनन् । कालान्तरमा सो परिवार नाश भएर गयो । चोरीको दोष लागेको बाबुको पनि काठमाडौँमै मृत्यु भयो । यस्तो सानोतिनो घटना र लाञ्छनाबाट आफ्ना सन्तानले कसरी दुःख पाउँदा रहेछन् र नाश पनि हुँदो रहेछ भन्ने उदाहरण समाजमा जताजतै पाई नै रहन्छौँ । मिर्जाफरको घटनाले नेपालको राजनीतिमा भइरहेको विकृति र देशद्रोहतिर हाम्रो ध्यान तानेको छ । नेपालका राजनैतिक मिर्जाफरहरूको कारणले उनीहरूका सन्तान–दरसन्तानले पनि कष्ट भोग्ने अवस्था आइरहेको देखिन्छ।

यस्तै एउटा घटना नागरिकका प्रधान सम्पादक गुणराज लुइँटेलले माघ १६ २०७४ सालको अंकमा उजागर गरेका छन् । करिब ७० वर्ष अगाडि नेपालका एउटा नेता र मन्त्रीले भारतीय सेना नेपालमा राख्ने सम्बन्धमा एउटा ऐतिहासिक प्रसंगबाट उनका नातिनीलाई भावनात्मक चोट पुग्न गयो भन्ने उजागर गरिएको छ । यसको उठान इतिहासकार ज्ञानमणि नेपालद्वारा नागरिकमा प्रकाशित गत कात्तिक २६ गते २०७४ मा ‘हाम्रो सुरक्षा नीतिमा भारत’ शीर्षक लेखबाट भएको होे । सो लेखमा नेपालले लेखेका थिए, ‘डा.डिल्लीरमण रेग्मी परराष्ट्र मन्त्री भएका बेला यातायात मन्त्री भद्रकाली मिश्र थिए । यिनी नेहरूका नजिक थिए । यसर्थ पहिलो मन्त्रिमण्डलमा तराईको प्रतिनिधिका रूपमा नेहरूकै जोडमा यी मन्त्री भएका थिए । यिनीहरू पालैपालो मन्त्री हुन्थे।

यिनैको पहलमा परराष्ट्र मन्त्रीले भारतमा एक गोप्य सम्झौता गरे । यो सम्झौता अनुसार नेपालमा भारतीय सैनिक राख्ने र दिल्लीकै परराष्ट्र नीति अनुसारै नेपालको पनि परराष्ट्र नीति तय गर्ने भन्ने थियो । यसपछि डिल्लीरमण रेग्मीले नेपालमा जति पार्टी नेता छन्, ती सबै भारत विरोधी छन्, एउटा मेरो पार्टी मात्र भारत अनुकूलको छ अर्थात् म मात्रै भारतको मित्र हुँ भन्ने खालको वक्तव्य दिएका थिए । भारतको अनुकूल भएर बिपी विरोधी उनी राजप्रासादबाट प्रधानमन्त्री हुने दाउमा थिए । तर सम्भव भएन ।’
‘नेहरू स्मृतिपत्रको यथार्थ’ शीर्षकको लेखमा गुणराज लुइँटेल लेख्छन्, ‘यी वाक्यांशमा उल्लेख भएअनुसार डा. रेग्मीलाई नेहरूको निकट भएको र भारतीय सैनिक राख्ने र दिल्लीकै परराष्ट्र नीति अनुसार काम गर्ने भनी आरोप लगाइएको छ । तर इतिहासका तथ्यहरूले त्यसो नभन्ने उनकी नातिनी अवन्तिका रेग्मी बताउँछिन्, त्यो बेलाका ऐतिहासिक तथ्यबारे अनुसन्धान पनि गर्दै छन् ।’ उनले अन्तिममा लेखेका छन्, ‘यति निकटको इतिहासका घटनामा समेत अलमल देखिन्छ । अचेल यस्ता सामग्री कसैले पनि लिखितरूपमा नराख्ने हुनाले भविष्य झन् अन्योलग्रस्त हुने देखिन्छ ।’ यो ऐतिहासिक तथ्य र अनुसन्धानको विषय भएकाले यस विवादको समाधान तुरन्त हुने होइन । तर एउटा राष्ट्रियताको विवाद निस्किहालेकाले विवादित व्यक्तिका सन्तानलाई चोट पुग्न गएको देखिन्छ । यस्तो घटनाबाट हाम्रा सत्ताधारीहरूले पाठ सिक्लान् कि भन्ने आशा हो।

यस्तो घटनाले कस्तो दूरगामी प्रभाव पार्ने रहेछ भनेर भारतको एउटा उदाहरण प्रस्तुत गरिएको छ । अठारौँ शदीका मिर्जाफरमाथि लागेको ‘नमक हराम’को लान्छना मेटाउन उनका आठौँ पुस्ता सन्तान लागेका छन् । सैयद मोहम्मद रेजा अलि खान एक शिक्षक हुन् र आफ्नो बराजु मिर्जाफरको नाउँबाट यो देशद्रोहको आरोप मेटाउन ऐतिहासिक अनुसन्धानमा लागेका छन् । किनभने, २५० वर्षपछि पनि उनी र उनका परिवारले यसबाट दुःख पाइरहेका छन् । बंगालको मुर्सिदावादस्थित उनको घर हेर्न अझ पनि पर्यटकहरू जाने गरेका छन् र उनीहरूले यस्तो टिप्पणी गर्ने गर्छन् जुन सुनेर खानको परिवारलाई मरेतुल्य हुन्छ । यस्तो कुरा सुनेर बचपनमा खानलाई साह्रै रिस उठ्ने गथ्र्याे । त्यसैले उनले ऐतिहासिक तथ्य पत्ता लगाएर त्यो कलंकबाट मुक्त हुन कोसिस गरिरहेका छन् । उनको भनाइ के छ भने जुन बेला यो घटना घट्यो त्यो समयमा राष्ट्र र राष्ट्रियता भन्ने भावना थिएन।

आजको राष्ट्र र राष्ट्रियताको युगको मूल्य मान्यता त्यो बेला न थियो, न कसैले बुझेको थियो । त्यो बेला साम, दाम, दण्ड, भेदबाट मानिसहरू सत्तामा पुग्ने गरेका थिए र उसरी उनका बराजु मिर्जाफर पनि नवाव भएका थिए । नवाव हुनका लागि अंग्रेजसित मिल्न गएको र आफ्नै नवावलाई धोका दिएको कुरालाई भारत राष्ट्रसित गाँस्न मिल्दैन । त्यो बेला भारत भन्ने राष्ट्र नै थिएन भन्ने उनको भनाइ छ । उनको तर्क र विचार केही इतिहासकारहरूले सुनिरहेको पाइन्छ तर आम जनतामा यसको असर परेको देखिन्न । यस्तो सास्ती आफ्ना सन्तानलाई नहोस् भन्नाका लागि नै देशलाई हानि–नोक्सानी हुने काम हाम्रा नेता र सत्ताधारीहरूले नगरून् भन्ने हो । त्यस मानेमा कुनै पनि नेपालीले नेपाललाई क्षति हुने काम नगरोस् भन्ने हो।

प्रकाशित: १५ फाल्गुन २०७४ १०:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App