३० चैत्र २०८० शुक्रबार
विचार

अस्ट्रेलियामा चिकित्सा पेशा

हालै काठमाडौँबाट प्रकाशित हुने एक दैनिकमा अस्ट्रेलिया डेटलाइनमा ‘अस्ट्रेलियामा नेपाली चिकित्सकको तलब लोभ लाग्दो’ शीर्षकमा समाचार विश्लेषण प्रकाशित भएको थियो। त्यो विश्लेषण अपूर्ण जस्तो लागेर यो लेख्ने जाँगर चल्यो।

विश्वमा सात महाद्वीप मध्ये छन्।  अस्ट्रेलिया नै त्यस्तो एक मात्र महाद्वीप हो जो एक देश हो र यसको जमिनसँग जोडिएको कुनै छिमेकी छैन।  चारैतिर समुद्रले घेरिएको छ।  तीन घण्टाको उडानबाट पुग्न सकिने न्युजिल्यान्ड नै अस्ट्रेलियाको सबैभन्दा नजिकको छिमेकी मानिन्छ।

अस्ट्रेलिया सात महाद्वीपमध्ये सबैभन्दा सानो महाद्वीप हो तसर्थ महाद्वीपको डेटलाइनमा प्रकाशित समाचारको विश्वसनीयतामा शंका उब्जनु स्वाभाविक हो। अस्ट्रेलियामा विभिन्न सहर छन्, जस्तै–सिड्नी, पर्थ र राजधानी शहर क्यानबरा आदि।  लेखकले अस्ट्रेलियाबाट समाचार बनाएका हुन् भने र सम्बन्धित सहरको डेटलाइनमा समाचार प्रकाशित भएको भए बढी विश्वसनीय मानिन्थ्यो।

अस्ट्रेलियामा डाक्टर भएर प्राक्टिस र अस्पतालमा काम गर्नाका निमित्त अस्ट्रेलियन मेडिकल काउन्सिलको विभिन्न चरणको लिखित, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा उत्तीर्ण गर्नुपर्छ। यो परीक्षा विश्वकै कठिन परीक्षामध्ये एक मानिन्छ।

न्युजिल्यान्ड र बेलायतका नागरिकले अस्ट्रेलियाका मेडिकल कलेजहरूमा पढ्न भने पाउँदैनन्। चिकित्साशास्त्रमा स्नातक गरेका नेपालिले १५/२० पटकसम्म प्रयास गर्दा पनि एएमसीको परीक्षा उत्तीर्ण गर्न नसकेका धेरै उदाहरण छन्। उनीहरू त्यसपछि अरू नै पेसा/व्यवसाय गरेर बसेका छन्। अस्ट्रेलियामा एएमसीको परीक्षा उत्तीर्ण नगरिकन अन्य मुलुकको चिकित्साशास्त्रको उपाधि कागजको खोस्टासरह हो।

एएमसीको परीक्षा उत्तीर्ण गरेर विभिन्न सरकारी प्रक्रिया पूरा गरेपछि ऊ अस्पतालमा काम गर्न योग्य हुन्छ र उसले सरकारी अस्पतालमा चिकित्सकको काम गर्नका निमित्त निवेदन दिन सक्छ। अस्पतालले पुनः लिखित/अन्तर्वार्ता आदि लिएर उनीहरू सन्तुष्ट भएमा काम गर्ने अवसर पाउँछ।  यसमा पनि विभिन्न चरण पार गरेर रेजिडेन्ट मेडिकल अफिसर (आरएमओ) भएपछि मात्र अस्ट्रेलियाली डाक्टर हुने चरण पार हुन्छ।

अस्ट्रेलियाली समाजमा चिकित्सकको पेसालाई सम्मानजनक मानिन्छ।  उच्च आय गर्ने वर्गमा चिकित्सक पर्दछन्। आरएमओको सुरु तलब वार्षिक एक लाख डलरको हाराहारीमा छ। 

त्यसमा उसको योग्यता, उसले अस्पतालमा प्राप्त गर्ने जिम्मेवारिका आधारमा तलब निर्धारण हुन्छ। त्यसकारण ठ्याक्कै यति तलब हो भनेर भन्न सक्ने अवस्था हुँदैन।  चिकित्सकले दिनको आठ घण्टा, शनिबार र आइतबारबाहेक साताको पाँच दिन काम गर्नुपर्दछ। त्यसबाहेक जति तलब छ त्यसलाई आधार मानेर प्रतिघण्टाको ओभरटाइम भुक्तान गरिन्छ। यसमा शनिबारको डेढी हुन्छ भने आइतबार काम गरेको दोब्बर रकम प्राप्त हुन्छ। सामान्यतया ओभरटाइमको समयावधि दिनको १२ घण्टासम्म हुन्छ।सार्वजनिक बिदाहरूमा काम गरेको पनि प्रतिघण्टा दोब्बरको दरले पारिश्रमिक  प्राप्त हुन्छ।

आरएमओको तलब वृद्धि चार वर्षसम्म मात्र हुन्छ। योभन्दा बढी तलब प्राप्त गर्नका निमित्त चिकित्साशास्त्रको कुनै पनि विधामा स्नातकोत्तर हुनै पर्दछ। सबैभन्दा बढी तलब न्युरोलोजिस्टको हुन्छ। त्यसपछि सर्जन। यहाँनेर के ध्यान दिनुपर्दछ भने चिकित्सक हुनका लागि १२ कक्षा उत्तीर्ण गरेपछि साँढे पाँच वर्ष स्नातकका लागि र त्यसपछि स्नातकोत्तर हुनका लागि विषयअनुसार तीन वर्षदेखि पाँच वर्षसम्म अध्ययन गर्नुपर्दछ।  त्यसकारण चिकित्सकको आम्दानीलाई मात्र नहेरेर उसले मानव स्वास्थ्यमा पुर्‍याएको योगदानलाई पनि बिर्सनुहुँदैन। त्यसैकारण चिकित्सकको पेसालाई समाजमा उच्च कदर गरिन्छ।  अस्ट्रेलियाको आर्थिक सहर सिड्नीमा चिकित्सकको दुई वा तीन जनाको परिवारलाई जीवन निर्वाहका लागि कति खर्च हुन्छ त?

एक लेखाजोखा– भाडामा बस्दा– दुई बेडरुमको युनिट ७०० प्रतिहप्ता।  दाल, चामल तरकारी आदि (ग्रोसरी) २५०–३०० प्रतिहप्ता, इन्टरनेट र बिजुली प्रतिमहिना  १५० घर हुँदा– अहिले सिड्नीमा औसत घरको दाम १० लाख डलर छ।

बैंकको ब्याज दर साँढे छ प्रतिशतको हाराहारीमा छ। त्यसो गर्दा बैंकको ब्याज मात्र वार्षिक ६५००० हजार डलर हुन्छ। साउँसमेत तिर्दा वर्षको एक लाख हुन्छ। सामान्यतया बैंकको ब्याज तिर्ने अवधि ३० वर्षको हुन्छ। अन्य खर्च त छँदैछ। यहाँ उपरोक्त विवरणबाट के भन्न खोजिएको हो भने चिकित्सकै भए पनि एकजनाको आम्दानीले जीवन निर्वाह सम्भव छैन। पति/पत्नी दुवैले काम पाउनु र गर्नु आवश्यक छ।

एकजनाको कमाइले घरको किस्ता तिर्ने वा भाडा तिर्ने, अर्कोको कमाइले घर खर्च चलाउने हो।  बच्चा भएपछि त आफ्नो वयस्कको भन्दा बढी खर्च हुन्छ। अस्ट्रेलियामा नागरिकको स्वास्थ्यको जिम्मा सरकारले लिएको छ। अर्थात् मुलुकका सम्पूर्ण नागरिकलाई सरकारले निःशुल्क उत्कृष्ट स्वास्थ्य सेवा उपलब्ध गराउँछ। यसकारण आफ्नो स्वास्थ्यका लागि खर्च हुँदैन।

सामान्यतया अस्ट्रेलियामा चिकित्सकहरूले बसेर काम गर्ने चलन छैन।  उभिएरै गर्नुपर्दछ। अर्थात् कठोर श्रम गर्नुपर्दछ। यति गर्दागर्दै पनि कहिलेकाहीँ अप्ठ्यारो स्थिति पनि सामना गर्नुपर्दछ।  जस्तै– त्यहाँको रैथाने अस्ट्रेलियन बिरामीले चिकित्सकको छालाको आधारमा आफ्नो उपचार गर्न अस्वीकार गर्दछ र तीन/चार घण्टा कुरेर भए पनि आफ्नै समुदायको समूहको चिकित्सकसँग उपचार गर्ने गर्दछन्। यसबाहेक कार्यस्थलमा कहिलेकाहीँ दिइने पीडा आफ्नो ठाउँमा छँदैछ तर यहाँ सबैलाई एउटै डालोमा हाल्न खोजिएको कदापि होइन।

अस्ट्रेलियाको राम्रो कुरा के छ भने त्यहाँका मानिस आफ्नो कार्यस्थलमा रमाएर काम गर्छन्।  आधाभन्दा बढी जनसंख्या काममा व्यस्त छन्।  १५ वर्षको किशोरावयदेखि नै अस्ट्रेलियालीहरू खटेर काम गर्छन् र १८ वर्ष पुगेपछि सामान्यतया उनीहरू मातापिताको घरमा बस्दैनन्।  यो नै यस महाद्वीप मुलुकको समृद्धिको रहस्य हो भन्न सकिन्छ।

अहिले विश्व नै एक गाउँ भइसकेको परिप्रेक्ष्यमा आफ्नो क्षमता र योग्यताका आधारमा जो जहाँ गएर पनि बस्न स्वतन्त्र छन्।  त्यसमा राष्ट्रियताको लेपन लगाइराख्न आवश्यक छैन।  सत्य के भने आफ्नो जन्मभूमि, मातृभूमिमा पेसाअनुरूप जीवन निर्वाह गर्ने आम्दानी र कामको उचित वातावरण भएमा विदेशमा रहेका नेपालीको पहिलो रोजाइ नेपाल नै हुनेछ।  यसमा कुनै शंका छैन। 

प्रकाशित: २ माघ २०८० ००:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App