१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

मुस्ताङको पुनर्परिभाषा

धवलागिरि र नीलगिरिलगायतका अग्ला गगनचुम्बी हिमाल र वरिपरि अनगिन्ती पहाडले घेरिएर तल खोँचमा विश्वमै शालिग्रामका लागि प्रख्यात कालीगण्डकीको किनारमा रहेको मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोम भौगोलिक र जैविक विविधता र पर्यटकीय हिसाबले पनि अन्य जिल्लाभन्दा बिलकुलै भिन्न छ। जोमसोममा बस्ने तथा यहाँ आउने जो कोहीले पनि पूर्वी र दक्षिणी शिरमा रहेका अग्ला हिमाल तथा वरिपरिको नागबेली पहाड नहेरी धर पाइँदैन।

केही वर्षअगाडिसम्म मंसिर लाग्दै गर्दा मुस्ताङको सबैजसो भागमा हिउँ पर्ने हुँदा जोमसोम तथा माथिल्लो मुस्ताङमा बसोबास गर्ने मानिस पुसपछिको जाडो छल्न तल पोखरा तथा काठमाडौंलगायतका सहर झर्थे। अनि फागुनको आधाआधीसम्म उतै घुमघाममा रमाउने चलन थियो। यो चलन यद्यपि कायम छ। यसलाई चलन भन्ने कि बाध्यता वा रहर? पहिले जाडो महिनामा लगातार हिउँ पर्ने, बाटोघाटो तथा यातायातको सुविधा नहुने हुँदा यहाँको जनजीवन अत्यन्त कष्टकर हुने भएकाले पोखरालगायतका सहरमा झर्नैपर्ने बाध्यता थियो।

हिउँद महिनामा लामो समय हिउँ परेको अवस्थामा सवारी साधनहरू पनि नचल्ने हुंँदा मानिसलाई खाद्यान्न समस्या हुन सक्ने भएकाले पोखरालगायतका सहर झर्नु उतिबेला स्वभाविक पनि मानिन्थ्यो।

प्रहरी, प्रशासन, सेना र केही अत्यावश्यक कार्यालयका कर्मचारीहरूबाहेक अन्य कर्मचारीहरू तथा मुस्ताङमा बसोबास गर्ने नागरिकहरू जाडोमा जिल्ला छोड्नुलाई पहिले अनौठो पनि मानिँदैनथ्यो। तर अहिले पुस सकिँदा पनि हिउँ पर्नु त कता हो कता, जोमसोममा दिउँसोको समयमा टन्टलापुर र चर्को घाम लागेको कारण घाममा एकछिन पनि बस्न नसकिने अवस्था छ।

हिउँद सकिनै लाग्दा पनि जोमसोम आसपास रहेका हिमालमा हिउँ नपर्नु र हिमालमा भएको हिउँ पनि पग्लिएर हिमाल रित्तै हुँदै जानुमा शायद जलवायु परिवर्तनको असर नै होला भन्न सकिन्छ।

हिमालमा प्रशस्त हिउँ हुँदा त्यताबाट दक्षिणतर्फ बग्ने चिसो हावाको कारण परपर तराईसम्म फागुन र चैतमा पनि चिसो अनुभूति हुने गथ्र्यो। तर यसपालिको अवस्था फरक देखिएको छ। हुन त हिउँद अझै सकिएको छैन। माघ, फागुनमा पनि पहिले पहिले प्रशस्त हिउँ पर्ने गरेको उदाहरण छ। तर नेपाली ‘लगनपछिको पोते’ के काम? चरितार्थ हुने देखिन्छ।

यदि समयमा हिउँ नपर्ने र हिमालमा हिउँ नरहने हो भने हिमपातमा आश्रित यहाँका स्याउ खेतीलगायत प्रमुख नगदेबालीको उत्पादन उल्लेख्य मात्रामा घट्ने निश्चित छ। तसर्थ जलवायु परिवर्तनको विषय हिमालमा बस्ने मानिसको सरोकारको विषय मात्र बन्नुहुंदैन। पहाड र तराईमा बस्ने सबै तह र तप्काका सरोकारवाला तथा आमनागरिकको लागि पनि चिन्ताको विषय बन्नु आवश्यक देखिन्छ।

मुस्ताङ आउने नेपाली तथा विदेशी पर्यटकको पहिलो रोजाइ नै जोमसोम–लेतेलगायतका स्थानहरूबाट सहजै हिमाल र हिमालमा भएको हिउँ देख्नु, हेर्नु र यसको आनन्द लिनु हो।

हिमालको उचाइ तथा त्यहाँ देखिने हिउँको मनमोहक दृश्य आआफ्नो मोबाइल तथा क्यामेरामा कैद गर्दै आनन्दित हुन यहाँ आउने जो कोही पनि लालायित हुने गर्दछन्। हिमालमा हिउँ पग्लदै गई त्यसको स्वरूप परिर्वतन भई नांगो खुइलिएको डाँडाका रूपमा परिणत भएपछि हिमालमा हिउँ हेर्ने मनोकांक्षा बोकी मुस्ताङ आउन चाहने पर्यटकको रोजाइमा मुस्ताङ नपर्न पनि सक्छ। बास्तवमा भन्ने हो भने मुस्ताङको विकासको आधार भनेको नै यहाँको पर्यटन हो।

मुस्ताङ पर्यटकीय हिसाबले मात्रै प्रख्यात छैन। धार्मिक र सांस्कृतिक हिसाबले पनि प्रसिद्ध छ। हिन्दु र बौद्ध धर्मावलम्बीको अस्थाका रूपमा रहेको मुक्तिनाथलगायतका धार्मिक धरोहरहरूको उचित संरक्षण र समय अनुकूल व्यवस्थित गर्दै लैजानु जरुरी छ। मुक्तिनाथ मन्दिरको व्यवस्थापन प्रभावकारी बनाउन र यसको सौन्दर्यलाई अझै जाज्वल्यमान बनाउन सबै पक्ष इमानदारीपूर्वक लाग्न आवश्यक देखिन्छ।

भारत लगायतका मुलुकमा रहेका धार्मिक धरोहरहरूको सौन्दर्यका कारण पनि पर्यटक तथा आस्थावानहरूको ती स्थानमा थामिनसक्नु घुइँचो लाग्ने गर्छ। यहाँका धार्मिक धरोहरहरूको समयानुकूल मर्मत सम्भार र व्यवस्थित तथा प्रचारप्रसार गर्न सकेमा उता लाग्ने भीड यता पनि लाग्ने निश्चित छ। यसै जिल्लामा रहेको दामोदर कुण्डको जुन ख्याति र महिमा छ त्यस अनुरूपको व्यवस्थापन हुन सकेको छैन।

मुस्ताङ जिल्ला जसरी धार्मिक, जैविक, सांस्कृतिक र पर्यटकीय हिसाबले महत्वपूर्ण छ, त्यसैगरी खेतीपातीको हिसाबले पनि प्रसिद्ध छ। यहाँ उत्पादन भएका जुनसुकै बाली काठमाडौँलगायतका सहरमा प्रमुख ब्रान्डका रूपमा प्रख्यात छन्। यहाँको प्रमुख नगदे बालीका रूपमा रहेको स्याउ, आलु, ओखर, उवा र फापर खेती छन्। पशु पालनअन्तर्गत चौँरी गाई, भेडा, च्यांग्रा यहाँको प्रमुख नगद आम्दानी स्रोतका रूपमा छन्। तर, जलवायु परिवर्तनको असर यी सबै व्यवसायमा परेको छ।

पहिले कोवाङसम्म पर्याप्त मात्रामा स्याउ उत्पादन हुने गरेकामा अहिले जोमसोम नजिक रहेको र स्याउ खेतीका लागि प्रख्यात मार्फामा समेत पर्याप्त मात्रामा स्याउ उत्पादन हुन छाडेको छ।

आलु खेती प्रशस्त हुने भए तापनि कामदारको अभावमा खेतीयोग्य जमिन बाँझै रहने गरेका छन्। उवा र जौ खेतीमा पनि कामदारकै समस्या छ। यहाँ बसोबास गर्ने मानिसको प्रायःजसो होटेल व्यवसायमा मात्र ध्यान केन्द्रित भएको कारण र प्रशस्त मात्रामा मजदूरी पाउन छाडेकाले गर्दा पनि आलु, उवा र जौ खेती बाली पलायन हुने अवस्था सिर्जना भएको हो।

तापक्रम बढ्दै गएका कारण निश्चित तापक्रममा चरन हुने पशु चौपायामा समस्या देखिन थालेको छ। तसर्थ यी सबै समस्या समाधानका लागि स्थानीय तह, विभिन्न निकायमा कार्यरत कर्मचारी, मुस्ताङबासी र अन्य सरोकारवालाहरूले एकचित्त भई कार्य गर्न सकेमा बदलिँदो मौसमको अविच्छिन्न मारमा परेको मुस्ताङलाई पुनः पुरानै अवस्थामा फर्काउन सकिन्छ। 

प्रकाशित: २९ पुस २०८० २३:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App