गत साता मंगलबार मैले हार्वर्ड अध्यक्ष पदबाट राजीनामा गर्ने त्रादशीपूर्ण तर आवश्यक निर्णय गरेँ। हप्तौँदेखि, म र मैले व्यावसायिक जीवन समर्पित गरेको संस्था दुवै आक्रमणमा परेका थिए। मेरो चरित्र र बौद्धिकतालाई अपमानित गरिएको छ। सेमिटिज्मविरुद्ध लड्ने मेरो प्रतिबद्धतामाथि प्रश्न उठेको छ।
मेरो इनबक्समा मृत्युको धम्कीसहितका गालीगलौजको बाढी आएको छ। गणना गर्न नसकिने गरी रंगभेदलाई लक्षित गर्ने एन–शब्दले मलाई सम्बोधन गरिएको छ। अध्यक्ष पदबाट राजीनामा गरेर मैले हार्वर्डले स्थापनाकालदेखि अंगीकार गरेको उत्कृष्टता, खुलापना र सत्यको अभियानलाई कमजोर पार्न चाहने कुत्सित उद्देश्य बोकेका नेताहरूलाई थप अवसर उपलब्ध नहुने मेरो आशा छ।
मेरो बिदाइ हुँदै गर्दा मैले चेतावनीका केही शब्द राख्नैपर्छ। मविरुद्धको अभियान एक विश्वविद्यालय र एक नेताविरुद्ध मात्र सीमित थिएन। यो अमेरिकी समाजका आधारस्तम्भप्रतिको सार्वजनिक विश्वासविरुद्ध एक झापड थियो।
यस्तो कुत्सित उद्देश्य बोकेका अभियानको प्रारम्भ शिक्षा र विज्ञतामाथि आक्रमण गरेर हुन्छन्। यी विषय र क्षेत्रलाई माध्यम बनाएर आक्रमण गर्दा प्रोपोगान्डा सफल हुने उनीहरूको रणनीति हुन्छ। तर यो अभियान यही रोकिँदैन। उनीहरूले सार्वजनिक स्वास्थ्यदेखि सञ्चार माध्यम जस्ता विश्वसनीय संस्थाहरूको वैधता र विश्वसनीयता कमजोर पार्न र यी क्षेत्रका नेतृत्वप्रति रहेको विश्वसनीयता नष्ट गर्ने समन्वित प्रयास गर्ने गर्छन्। एक निश्चित विजय अथवा खास नेतृत्वलाई पदच्युत गराउँदैमा हाम्रा संस्थाहरूलाई निन्दा गर्ने अवसरवादीका प्रयास अन्त हुँदैनन् र त्यहीँ सीमित हुँदैनन्।
हो, मैले गल्ती गरेँ। अक्टोबर ७ मा भएको जघन्य अत्याचारविरुद्धको प्रारम्भिक प्रतिक्रियामा अधिकांश विवेकी मानिसलाई जानकारी भएझैँ मैले जोड दिएर भन्नुपर्थ्याे– हमास एक आतंकवादी संगठन हो र यसले यहुदीको राज्यलाई उन्मूलन गर्न चाहन्छ। गत महिना अमेरिकी कंग्रेसमा भएको सुनुवाइमा सोचविचारपूर्वक राखिएको पासोमा म परेँ। मैले प्रष्ट रूपमा यहुदीको नरसंहार घृणित र अस्वीकार्य रहेको र यसप्रकारको घृणाबाट मेरा विद्यार्थीलाई जोगाउन मैले पाएका अधिकार प्रयोग गर्छु भन्नुपर्थ्याे।
यो क्रममा मेरो प्राज्ञिक वृत्तिमा समेत हालै आक्रमण भएको छ। आलोचकहरूले अन्य प्राज्ञका केही सामग्री मेरा प्राज्ञिक लेखनमा दोहोरिएका र उद्धरण गरिएको भेट्टाए। म विश्वास गर्छु, हरेक विद्वान्ले आफना कामको उचित र पूर्ण रूपमा श्रेय पाउनुपर्छ। जब मैले यी त्रुटिका बारेमा थाहा पाएँ, मैले यी लेखमा सुधार गर्न जर्नलहरूलाई तत्काल अनुरोध गरेकी थिएँ।
यसप्रकारका घटनालाई जसरी हार्वर्डले सम्बोधन गर्ने गरेको छ सोही हिसाबले मैले यो अनुरोध गरेकी थिएँ। मैले मेरा अनुसन्धानका नतिजालाई कहिल्यै गलत हिसाबले प्रस्तुत गरेको छैन न त मैले अरूको अनुसन्धानका लागि श्रेयको दाबी नै गरेकी छु। यसबाहेक, उद्धरण त्रुटिले आधारभूत सत्यलाई अस्पष्ट पार्नु हुँदैन।
म मेरो काम र प्राज्ञिक क्षेत्रमा यसले पारेको प्रभावको बारेमा गर्व गर्छु। मेरा सहकर्मी समीक्षकले निर्मम हिसाबले मेरा आलेखको समीक्षात्मक अध्ययन गर्ने क्रममा थोरैले मात्र अन्तर्वस्तुमा टिप्पणी गरेका छन्। यी अध्ययन अमेरिकी राजनीतिमा अल्पसंख्यकको भूमिका र महत्वमा केन्द्रित छन्।
मेरा अध्ययनले ऐतिहासिक रूपमा सीमान्तकृत समुदायले प्रजातान्त्रिक व्यवस्थामा शक्तिको प्रांगणमा कसरी अर्थपूर्ण आवाज उठाउन पाउँछन् भनेर देखाएका छन्। कतिपयले यसप्रकारका आवाजका लागि अवरोध मात्र देख्ने गरेकामा मेरा अध्ययनका नतिजाले खुला ढोकाले खोल्ने निहित अवसरलाई महत्व दिएका छन्।
यसले अन्ततः हामो लोकतन्त्रलाई बलियो बनाउँछ। यी अध्ययनका दौरान मैले यसअघि नसोधिएका प्रश्न सोधें। तिख्खर मात्रात्मक अनुसन्धान विधिहरू प्रयोग गरेँ र अमेरिकी राजनीतिमा रहेको प्रतिनिधित्वबारे नयाँ बुझाइ स्थापित गरे। मेरा अनुसन्धान राजनीतिशास्त्रका प्रमुख जर्नलमा प्रकाशित छन् र यसैका आधारमा अन्य विद्वान्ले पनि महत्वपूर्ण अनुसन्धान अगाडि बढाएका छन्।
दशकाैं पुराना र सम्मानित अनुसन्धानको मैलै प्रतिरक्षा गर्नुपर्ने आवश्यकता ठान्दिन तर पछिल्ला साताहरूमा सत्यलाई तोडमोड गर्ने प्रयास भएका छन्। मलाई गलत सावित गर्नेले तर्क भन्दा झुट र आरोपलाई आधार मानेका छन्।
उनीहरूले अश्वेतहरूको प्रतिभा र स्वभावलाई रंगभेदको पुरातन अवधारणा (स्टेरियोटाइप) मा पुनप्र्रयोग गर्न चाहेका छन्। उनीहरूले उदासीनता र अक्षमताका झुटा भाष्य निर्माणमा जोड दिएका छन्।
अमेरिकी विश्वविद्यालयमा देखिएका पिँढीगत र जनसाँख्यिक परिवर्तनका हरेक चिन्ता र चासोलाई मैले एक आदर्श क्यानभासमा प्रस्तुत गर्न सक्ने कुरा होइन। तलैतलामा विभक्त निकायको नेतृत्व गर्न एक अश्वेत महिलाको चयन भएको थियो।
विविधतालाई संस्थागत शक्ति र गतिशीलताका रूपमा हेर्ने व्यक्तिको चयन भएको थियो। त्यही आधारमा मैले क्वान्टम साइन्सदेखि यसअघि सधैँ अवहेलना गर्ने गरिएको एसियन अमेरिकनको इतिहासलाई पाठ्यक्रममा राख्ने विषयमा वकालत गरेकी हुँ। हाइटीको आप्रवासी अभिभावककी छोरीले देशको सबै भन्दा पुरानो विश्वविद्यालयलाई केही योगदान गर्न सक्छ भन्ने विश्वासमा मेरो चयन भएको थियो।
म अझै पनि यही विश्वासमा अडिग छु। म अध्यापन र प्राज्ञिक अनुसन्धानमा फर्कँदै गर्दा यिनै अवसरमा पहुँच हुनुपर्नेमा जोड दिनेछु। अध्यक्ष पदमा नियुक्त भएपछिको उद्घाटन मन्तव्यमा मैले साहसका बारेमा बोलेकी थिएँ।
मेरो समग्र करियरमा साहस देखाएकी छु। अमेरिकी जीवनमा विश्वविद्यालयको फरक भूमिका रहेको पक्षलाई अस्वीकार गर्ने र कम आकलन गर्नेहरूविरुद्ध म उभिएकी छु।
विवादबीच सत्यता कसरी यति छिटो दुर्घटनामा पर्न सक्छ भन्ने दृष्टान्तका आधारमा म बृहत् हिसाबको सावधानी अवलम्बन गर्न अनुरोध गर्न चाहन्छु। तनावको घडीमा, हामी हरेकमा सन्देह उत्पन्न हुन सक्छ। उनीहरूले आफ्नो स्वार्थ पूर्ति हुने अजेन्डा अनुशरण गरे पनि प्रश्न गरेर र उनीहरूप्रति कम विश्वास गरेर यसको प्रतिवाद गर्नुपर्छ।
हाम्रो देशका कलेज, क्याम्पसहरूमा विद्यार्थीले सिक्न, सँगसँगै अगाडि बढ्न अवसर पाउनुपर्छ। यहाँ प्रोक्सी लडाइँ र राजनीतिक बलमिच्याइँ हुनु हुँदैन। विश्वविद्यालय स्वतन्त्र निकाय हुनुपर्छ जसले जस्तोसुकै व्यवधान आए पनि साहस र तर्कले सत्यतातर्फको यात्रालाई निरन्तर जारी राख्न सकोस्।
–अमेरिकाको हार्वर्ड विश्वविद्यालयकी पूर्वअध्यक्ष गेको यो लेख न्युयोर्क टाइम्सबाट भावानुवाद गरिएको हो।
प्रकाशित: २९ पुस २०८० ००:२८ आइतबार