२३ असार २०७७ मंगलबार
विचार

माओवादी मन्थन

जनयुद्ध थालनीको २३ वर्षमा सामाजिक हस्तक्षेप भयो, घनघोर युद्ध भयो । आशाहीन जागे । त्यस बेला जन्मेका बच्चा अहिले तन्नेरी मात्रै हैन, राज्यको नीति निर्मातासमेत भइसके । प्रख्यात इतिहासकार इरफान हबिब भन्छन्— तपाईं इतिहासलाई फेर्न सक्नुहुन्न । तथ्यलाई सृजित गर्नुहुन्छ भने त्यो इतिहास नभई कल्पना मात्र हुन्छ।

इतिहासको आँखीझ्यालबाट हेर्दा वामढल्को नेपाली समाजमा जनयुद्ध, छापामार युद्ध, चे ग्वेभारा, नक्सल आन्दोलन र चारु मुजिमदार तिलस्मी आकर्षणका केन्द्र हुन्थे । अझ विभिन्न समयका किसान विद्रोह, झापा विद्रोह, माडी, जुगेडी, जुटपानी, पुर्तिघाट घटनाले वामयुवाहरूको पार्टीभित्र केही न केही भूमिकामै ओर्लिनुपर्छ भन्ने दबाब बढ्दै गयो ।  त्यसै धारको अगुवाइ सिन्धुलीका ऋषि देवकोटा आजाद रहे । आजाद, दुर्गा सुवेदी र दलबहादुर रजनको पञ्चायती कालमै हत्या भयो । यो मनोविज्ञान बुझेका मोहनविक्रम सिंहले बाघे ओडार छापामार प्रशिक्षण भनेर केही समय लिए । मसाल पार्टी फुट्दै गयो । तर, केन्द्रीय विषय भने सशस्त्र संर्घष नै रह्यो । ४३ सालमा पञ्चायती चुनाव बहिष्कारको सेक्टर काण्ड त्यसैको निरन्तरता थियो भने पार्टी नेतृत्व परिवर्तन पनि । पुष्पकमल दाहाल कमरेड विश्वास बन्दै कमरेड प्रचण्ड बनेर मशालका नेतृत्वमा पुगे । सुरुमै उनी दुई विषयमा केन्द्रित भए । पहिलो, विभिन्न गुटमा छरिएर रहेका कम्युनिस्ट बीचको एकता प्रयास, दोस्रो छापामार युद्धको तयारी । ०४६ सालको जनआन्दोलनले योजना फेर्नुपर्ने भयो । लमजुङको प्रहरीचौकी कब्जा गर्न पठाइएको पोष्टबहादुर बोगटीको स्क्वाएड डुम्रेबाटै फिर्ता भयो । परिस्थितिले जनआन्दोलनमा सहभागी हुन बाध्य भएर संयुक्त राष्ट्रिय जनआन्दोलन समितिका नाममा ४ घटक सहभागी संयुक्त मोर्चा बन्यो । संयुक्त वाममोर्चा र कांग्रेसको अर्को संयुक्त मोर्चा सामने सो मोर्चाको सशक्तता नहुनु स्वाभाविकै थियो भने अर्कोतर्फ भावी पार्टी निर्माण र स्वतन्त्र पहलकदमीको आधार भने तयार गरिदियो । जनआन्दोलनले परिस्थितिलाई एक्कासि अर्काे अवस्था ल्याएको घटनालाई मशालभित्र ‘छप्ल्याक्क’ भन्ने चर्चा चले। 

जनआन्दोलनपछि पार्टी खुला रहे । नेपाली कम्युनिस्टको ठूलो हिस्सा माओवादी भए पनि चीनको सांस्कृतिक क्रान्तिलाई कसरी ग्रहण गर्ने भन्ने विषयमा माले र मशाल स्कुलबीच धारणा र मान्यता फरक रहँदा कमरेड प्रचण्डबाट कमरेड निर्माणमा फेरिएका दाहालले सांस्कृतिक क्रान्तिका पक्षधरको एकता गराई नेकपा एकता केन्द्र बनाए । पार्टी भूमिगत नै रह्यो, खुला संगठनमा संयुक्त मोर्चा बन्यो । संयोजक डा. बाबुराम भट्टराई बने । चुनावी परिणाममा तेस्रो पार्टी बन्यो । त्यसैसँग नेतृत्वबीच टसल पनि सुरु भयो । पार्टी समीकरणमा निर्मल लामा पक्षधर चौथो महाधिवेशन र  मशाल पधरबीच कहिले शक्ति संघर्ष त कहिले जनयुद्धबारे टकराव बढ्दै जाँदा २०५१ फागुनमा भएको चितवनको तेस्रो विस्तारित बैठकमा पार्टी फुटेर नेकपा माओवादी बन्यो । २०५२ असोजमा कास्कीको सिकलेसमा बसेको पोलिटब्युरो बैठकले पहिलो योजना तयार पारेर फागुन १ देखि जनयुद्धको घोषणा भयो।

जनयुद्धको अन्तिम तयारीमा प्रचण्ड पश्चिम आँउदा मैले नक्सल आन्दोलनको उद्भव, विकास र पार्टी विभाजनबारे अभयकुमार दुवेको ‘क्रान्तिका आत्मासंघर्ष’ र सन् १९९३ मार्च, हिमाल पत्रिकाको पेरुको गोन्जालो नेतृत्व जनयुद्ध केन्द्रित नेपालको सम्भावित जनयुद्धबारे स्टेफिन एफ माइकसेलको लेख दिँदा उनले भनेका थिए– हामी सफल आन्दोलनबाट नभई इतिहासका असफलताबाट शिक्षा लिने हो । यसै पनि ४० को मध्यतिर पेरुका स्लाइड देखाँउदै छापामार युद्धबारे भविष्यका छापामार कार्यकर्तामा जोस भरिन्थ्यो नै। 

विद्रोह सुरु भएको २ वर्षभित्रै धेरै कुरा सतहमा आए । पार्टी अन्तर्विरोध, भाग दौड, अकर्मण्यता सबै देखेपछि सुप्रिमो प्रचण्डले दीर्घकालीन जनयुद्ध र गाउँले सहर घेर्ने माओवादी नीतिमा फेरबदल गरे । पहिलो तहको नेतृत्वका समस्याले एकाएक दोस्रो तहका नेतृत्वलाई केन्द्रीय कमिटीमा लगे । सहर र गाउँबीच, बुद्धिजीवी र छापामारबीच, जनयुद्ध र जनआन्दोलनबीच, युद्ध र वार्ताबीच, युद्ध, राजनीति र कूटनीतिबीच फ्युजन सिद्धान्तको व्याहारिक अभ्यास गर्न थाले । नेतृत्वको केन्द्रीकरणमा प्रचण्ड पथको संश्लेषण पनि गरे । वार्ता र संर्घष समानान्तर चले । सुरुमा जनयुद्धलाई उपेक्षा गरियो, त्यसपछि बलपूर्वक दबाइने प्रयत्न गरियो र अन्त्यमा विवशतापूर्वक स्वीकार गरिए र शान्ति सम्झौता भए।    

१९ जनामध्ये फणीन्द्र आचार्य जनयुद्धमा सामेल भएनन्, डिपी न्यौपाने गायब पारिए, यानप्रसाद गौतम आलोक मारिए, पोष्टबहादर बोगटी दिवाकरको ‘शान्तिकालमा’ मृत्यु भयो । जनयुद्धमा माओवादी वा माओवादीका नाममा ११ हजार मारिए । माओवादी तीन दशक लामो समयले अब इतिहास, पात्र र प्रवृत्ति सबैको समीक्षा माग गर्छ । तर निर्मम समीक्षा नगरी माओवादी पार्टी फुट्यो।   

आजको माओवादी बलिदानीबाट भोगी र विलासीमा फेरियो । अरू के के भयो, जगजाहेरै छ।

प्रकाशित: ४ फाल्गुन २०७४ ०९:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App