५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
विचार

कांग्रेस अर्थात् ठुटो रूख

नेपाली कांग्रेसले बिहीबार केन्द्रीय समितिको बैठक बोलाएको छ। महासमिति बैठक सारेर कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको हो। विधानतः महाधिवेशनपछिको यो दुई वर्षमा कांग्रेसले दुईपटक महासमिति बैठक गरिसक्नुपर्ने थियो तर मुलुकको पुरानो तथा जेठो मध्येको दल कांग्रेसले विधानको व्यवस्थालाई बेवास्ता गर्दै आएको छ। 

लोकतान्त्रिक र सामाजिक आन्दोलनको अगुवाइ गर्दै आएको कांग्रेसले नीति तथा कार्यक्रम बनाउने महाधिवेशनपछिको शक्तिशाली निकायको महत्व र औचित्यलाई नजरअन्दाज गर्दै आएको छ।

हुन त पार्टी स्थापनाको ७८ वर्ष कांग्रेसले मुस्किलले एक दर्जन पनि महासमिति बैठक गरेको छैन। जति बैठक भएका छन् तिनले कांग्रेसको जीवनमा मात्र होइन, मुलुक राजनीतिक परिवर्तनमा पनि महत्वपूर्ण निर्णय लिएको छ। त्यही महासमितिलाई ढाकछोप गर्न कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बोलाएको हो। 

अन्तिम समयसम्म बैठक स्थगित भएन भने बैठकले देश र जनहितको पक्षमा कुनै निर्णय लिने छैन। पार्टी संगठन निर्माणका लागि पनि खास कार्यक्रम तय गर्ने छैन। किनभने विगतमा तय गरेका कार्यक्रम नै अलपत्र छन्। 

जम्मा बैठकले माघ ११ गते हुने राष्ट्रिय सभा ९एकतिहाइ सदस्य० निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरूसँग तालमेल गर्ने र पार्टीबाट उम्मेदवार छान्ने अधिकार नेताहरूले लिनेछन्।  

हिजो १०४ वर्ष लामो राणा शासन अन्त्यदेखि संविधानसभाबाट संविधान जारी र कार्यान्वयनको अगुवाइ कांग्रेसले नै गरेको हो। अहिले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभामा पनि कांग्रेस नै ठूलो दल छ। लोकतान्त्रिक पार्टीको छवि देशभित्र मात्र होइन, अन्तर्राष्ट्रिय समुदायमा पनि अहिलेसम्म कांग्रेसले नै बनाएको छ। तर अहिले कांग्रेस विधि र नीतिबिहीन जस्तो बन्न पुगेको छ। 

विगतमा पथ प्रदर्शक कांग्रेस अहिले विधि, विधान र अनुशासनको कसीमा सबैभन्दा थप भ्रष्ट पार्टी जस्तो देखिएको छ। कांग्रेस नेताहरूको बोली र व्यवहारमा एकरूपता छैन। निर्णय एकातिर छ काम अर्कोतिर देखिएको छ। बेलगाम जथाभाबी बोल्दै र गर्दै हिँड्ने पार्टीका रूपमा कांग्रेस अघि बढिरहेको छ। 

कांग्रेसभित्र बढ्दो अराजकतालाई नै कतिपय नेताले लोकतान्त्रिक अभ्यास र पार्टीका रूपमा व्याख्या गर्दै आएका छन्। कुन पार्टी कति लोकतान्त्रिक भन्ने मापन अराजकता र विधिबिहीनताले गर्दैन।  

निर्वाचन हुन, निर्वाचन जित्नु र सरकार बनाउनु मात्र पनि लोकतान्त्रिक अभ्यास र पार्टीको मापन होइन र हुँदैन । हो कांग्रेससँग स्थानीय, प्रदेश र प्रतिनिधिसभामा सत्ता राजनीति बलियो छ। ठूलो दल बनेको छ। तर सांगठनिक र नीतिगतरूपमा कांग्रेस अशक्त बन्न पुगेको छ। 

पार्टीका कुनै पनि संरचना कामकाजी बन्न सकेका छैनन्। अर्को ९१५औँ महाधिवेशनको जोड/घटाउमा नेताहरू सक्रिय रहँदा कुनै पनि तहका कुनै पनि संरचनाले पूर्णता पाउन सकेको छैन। गठन भएका संरचनाहरू गुटगत जोड/घटाउमा निकम्मा जस्तै छन्।  

कांग्रेसमा इमान जमान, नीति, सिद्धान्त, योगदान र कार्यक्रम होइन धनवाद, डनवाद र गुटवाद हाबी भएको छ। योग्यता, क्षमता, संगठनमा प्रभाव र पार्टीप्रति इमानदार होइन, नेता तथा गुटप्रति बफादारहरूको कांग्रेसमा खोजी भएको छ। राम्राले होइन, हाम्राले महत्व र अवसर पाएका छन्। 

पार्टी र समाज परिवर्तनका लागि जीवन बिताएका नेता तथा कार्यकर्ताको आत्मसम्मानमा कांग्रेसको महत्वपूर्ण जिम्मेवारीमा पुगेका नेताहरूले नै हुर्मत लिने काम गर्दै आएका छन्। 

एकअर्काप्रति मान, सम्मान र पारिवारिक वातावरण कायम गर्ने काममा कांग्रेसमा ह्रास आएको छ। नीति, कार्यक्रम, सिद्धान्त र योजना मात्र होइन, अहिले कांग्रेसमा मित्रता र भाइचाराको रङसमेत हराएको छ।  

अझ २०४६को राजनीतिक परिवर्तनसँगै पार्टी राजनीतिमा लागेकाहरूमा सत्ता र स्वार्थको सम्बन्ध हाबी हुन पुगेको छ। नेता/कार्यकर्ताको घरमा बस्ने, कार्यकर्ताले नेताको स्नेह पाउनु त झनै टाढाको कुरा भएको छ।  

२०४६ अघिकाले मुलुकको आर्थिक विकास र समृद्धिका लागि जति काम गर्नुपर्ने हो त्यति गरेनन्। तर उनीहरूले पार्टी संगठनका साथै राजनीतिक र सामाजिक परिवर्तनका लागि महत्वपूर्ण योगदान गरेका छन्।आफू र आफ्ना लागिभन्दा देश, जनता, समाज र पार्टीकै विषय आफूलाई समर्पित गरेका छन्। 

पार्टीमा नीति, कार्य र विचारका आधारमा विवाद र विमति त्यतिबेला पनि हुने गरेका थिए। तर आफू, आफ्ना र गुटका लागि मात्र चिन्ता र चिन्तन थिएन। एकअर्काप्रति आदर, सम्मान र स्नेहभाव थियो कांग्रेसमा। अहिले कांग्रेस देश, जनता र पार्टीका लागि होइन आफू, आफ्ना र गुटका लागि सक्रिय भएका छन्।

नेतृत्वमा पुग्न र टिक्न अर्कालाई आरोपित गर्ने परम्परा कांग्रेसमा हाबी हुँदा पार्टी विधान र संगठन प्राथमिकतामा छैन। संगठन निर्माणसहितका रचनात्मक काम कांग्रेसमा हराएको छ। समाधान होइन विवाद, कुण्ठा र आलोचनाले कांग्रेसमा प्रश्रय पाएको छ।  

पार्टी संगठनको जरा मानिने विद्यार्थी संगठनहरू प्रभावित भएका छन्। विद्यार्थीसँग जोडिन विद्यालय र क्याम्पसको गेटमा हुनुपर्ने विद्यार्थी संगठनका नेताहरू पार्टी नेतृत्वको दैलो ढुक्नमै व्यस्त छन्। 

संगठन गरेर होइन, नेतालाई खुसी बनाएर पद र प्रतिष्ठा आर्जनका लागि उनीहरूको अघि–पछि हिँड्नमै भ्याइ/नभ्याइ भएको छ। त्यसले गर्दा कांग्रेसमा नयाँ व्यक्तिको प्रवेश रोकिएको छ। विद्यालय शिक्षा लिँदै गरेका र उच्च शिक्षा सुरु गरेका कुनै पनि वयस्क अहिले कांग्रेसका युवा तथा विद्यार्थी संगठनका सदस्य बन्न तयार छैनन्। र, बनाउने संरचना पनि छैन।

कांग्रेसका पदाधिकारीहरूले जति नै पार्टीमा युवालाई आकर्षण गर्ने बताए पनि उनीहरूलाई पनि पछिल्लो पुस्ताले विश्वास र भरोस गरेका छैनन्। समान्य परिवारका सदस्य मात्र होइन, कांग्रेस पदाधिकारीकै छोरा वा छोरीले समेत पत्याएका छैनन्।

२०७९ सालको निर्वाचनमा घर बसेका ती वयस्क अबका निर्वाचनका मतदाता हुनेछन्। यो पुस्तासँग कांग्रेसको सम्बन्ध टुटेको छ। सम्बन्ध विच्छेद भएको नयाँ पुस्तालाई पार्टीमा जोड्ने कुनै योजना, कार्यक्रम र सोच कांग्रेसमा अहिले छैन।  

पद र प्रतिष्ठाका लागि होइन, एउटा आस्था र विश्वासका आधारमा कांग्रेस संगठनमा मलजल गर्दै आएको पाको पुस्ता अपमानित महसुस गर्दैछ। धनवाद, डनवाद र युवाका नाममा हुने थिचोमिचोले केन्द्रदेखि वडा तहसम्मका पाका पुस्ता घरमै सीमित हुन पुगेका छन्। 

संगठन होइन, गुट बनाउने र भत्काउने होड कांग्रेसमा सँगसँगै मौलाउँदै गएको छ। पार्टीमा स्वेच्छाचारिता, नातावाद, कृपावादले कांग्रेस अहिले बाहिरबाट ठूलो रुख जस्तो देखिए पनि ओत लाग्न नमिल्ने ठुटो बन्दै गएको छ। जराहरू मर्दै गएको ठूलो र बूढो रुख जस्तो बन्न पुगेको छ। जमिनमाथि अजङ्गको छ तर पालुवा पलाउन छाडेका छन्। हाँगा मक्किँदै झर्न थालेका छन्।  

सत्ताको राइँदाइँमा नेता रमाए पनि जनताले कांग्रेस सत्तामा भएको अनुभूति गर्न सकेका छैनन्। पुराना नेता तथा कार्यकर्ता विस्तारै पलायन हुँदै जाँदा कांग्रेसलाई आफ्नै अस्तित्व जोगाउन पनि कठिन हुँदै गएको छ। 

कांग्रेससँग अहिले हिङ नभए पनि हिङ बाँधेको टालो छ। पानी हालेपछि दुबो पलाए जस्तै नेता फेरिएपछि कांग्रेस बौराउँछ भन्ने केही कांग्रेसी तर्क गर्छन् र आशा पनि छ उनीहरूमा। तर बौरिनका लागि स्वास वा जरा बाँकी हुनुपर्छ। जब जरा नै बाँकी हुँदैन अनि ठुटो रुखमा जति पानी र मल हाले पनि पालुवा पलाउँदैन।

 कांग्रेसभित्रको आन्तरिक कलह र विधिबिहीनताले रुखले पालुवा हाल्नेतिरभन्दा ठुटो बन्नेतिरै जोड गरिरहेको पुष्टि गर्छ।  

प्रकाशित: ११ पुस २०८० ००:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App