३० चैत्र २०८० शुक्रबार
विचार

त्यो दुबई यो दुर्गति

‘हामीले बगैँचालाई मरुभूमि बनायौँ, दुबईले मरुभूमिलाई बगैँचा बनायो’। संयुक्त अरब इमिटेट्स (युएइ) को दुबईमा विगत १५ वर्षदेखि ट्याक्सी चलाउँदै आएका एक पाकिस्तानी ड्राइभरले कुराकानीका क्रममा भनेका थिए।

प्राकृतिक रूपमा समृद्ध र हरियाली रहेका पाकिस्तान लगायत दक्षिण एसियाका अन्य राष्ट्रको राजनीतिक अस्थिरताका कारण विद्यमान हालतप्रति उनको संकेत थियो।

ती ड्राइभरले भनेझैँ केबल ५२ वर्षमा युएई विश्वको समृद्ध राष्ट्रको पक्तिमा आफूलाई उभ्याएको छ। आधा शताब्दी लामो उसको समृद्धिको यात्रा र रूपान्तरणमा पेट्रोलियम पदार्थको हात अवश्य छ तर त्योभन्दा बढी दुबईलाई व्यापारिक, पर्यटकीय, प्रविधि, नवीनताका हिसाबले अगाडि बढाउने त्यहाँका शासक र स्थानीयको सोचले यसलाई मूर्त रूप दिएको छ।

संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनको २८औँ संस्करणको समाचार सम्प्रेषण गर्ने क्रममा दुई साता लामो दुबई बसाइमा मैले त्यही देखेँ।

पछिल्ला आधा शताब्दीमा मरुभूमिबाट उठेर कसरी दुबई समृद्ध सहर बन्यो, नेपाललगायत विश्वको कुनै पनि सहर र राष्ट्रका लागि प्रेरणाको विषय बनेको छ। यति थोरै अवधिमा मरुभूमिको विम्ब रहेको दुबई विश्वको सबैभन्दा प्रतिष्ठित शहरमा रूपान्तरित भएको छ। यो क्रम रोकिएको छैन। उसको समृद्धिको यात्रा निरन्तर छ।

दुबई सहरको यात्रामा जाने जो–कोहीले त्यहाँको समृद्धि र नवीनतालाई साक्षात्कार गर्न सक्छ। आकाश छुने टावर बुर्जखलिफा, ट्विन इमिरेटस टावर, समुन्द्रमाथि आकर्षक बस्ती बसाउने पाम जुमेरा, फ्युचर म्युजियम, मिराकल गार्डेनलगायतका कैयन् आकर्षण यसका उदाहरण हुन।

कुल जनसंख्याको झण्डै ८५ प्रतिशत आप्रवासी रहेका यो देशले विश्वका जुनसुकै कुनाका मानिसलाई आकर्षित गरेको छ। मलेसियापछि नेपालबाट सबैभन्दा बढी वैदेशिक रोजगारीमा जाने देश पनि युएई नै हो।

दुबईको समृद्धिका लागि नेपाल लगायत बंगालादेश, पाकिस्तान, भारत र फिलिपिन्सको आप्रवासी कामदारका योगदान पनि उत्तिकै छ।

दुई साताको दुबई बसाइमा मैले अधिकांश ट्याक्सीचालक पाकिस्तानी भेटेँ। त्यसमा पनि उनीहरू अत्यधिक पेसावरका थिए। पाकिस्तानबाहेक दुबईको सडकमा भारत, बंगलादेश र नेपालका ड्राइभर यत्रतत्र भेटिन्छन्।

सपिङ मल, होटल तथा अन्य कुनै व्यापारिक प्रतिष्ठानमा त नेपालीको वर्चस्व नै छ। पाँच दशकअघिसम्म ८६ हजार जनसंख्या रहेको यो देशमा अहिले ३० लाखको हाराहारीमा छ जनसंख्या। रोजगारी र अवसरको खोजीमा विश्वका सबैजसो देशका आप्रवासीले दुबई नै रोजेका छन्।

सन् १९७१ मा छिमेकी युएईसँग दुबई मिलेको थियो र वर्षभरि नै अत्यधिक गर्मी रहने यो क्षेत्रको गर्भमा रहेको पेट्रोलियम खानीले उसका लागि अकल्पनीय आम्दानीको बाटो खोलेको थियो। तर वर्तमान दुबईको इतिहास सिसा र स्टिलबाट सुरु भएको थिएन, यो काठले बनेका डुंगाबाट सुरु भएको थियो।

व्यापारिक सोचले घनिभूत त्यहाँका घुमन्ते वेडोइन जनजातिले शताब्दियौँदेखि बसोबास गरेको यो शहर नजिकको सामुद्रिक तट र खाडीमा अझै पनि काठबाट बनेका डुंगा देख्न सकिन्छ।

इरानको नजिक र पर्सियन खाडीको प्रवेश विन्दु भएकाले व्यापारिक बन्दरगाहका रूपमा दुबईलाई तुलनात्मक लाभको अवस्था छँदै थियो। व्यापार दुबईको डिएनएमा धेरै पहिले थियो, यो अहिले झन घनिभूत भएको छ।

सन् १९८० को दशकयता दुबईले निःशुल्क व्यापार क्षेत्रसहित विशेष आर्थिक क्षेत्र घोषणा गरेर सूचना प्रविधि, सञ्चार, वित्त, सुन, गरगहना तथा स्वास्थ्य क्षेत्रमा ठूलो स्तरमा वैदेशिक लगानी भित्र्याएको छ।

दुबई साउथ जावेल अलि फ्रि जोन, दुबई एयरपोर्ट फ्रिजोन, दुबई इन्टरनेट सिटी, दुबई सिलिकन ओएसिस अथोरिटी, दुबई हेल्थकेयर सिटी, दुबई नलेज पार्क, गोल्ड एन्ड डायमन्ड पार्क गरी ३० क्षेत्रमा दुबईले निःशुल्क क्षेत्र (फिजोन) कार्यान्वयनमा ल्याएको छ।

वैदेशिक लगानीमा शतप्रतिशत स्वामित्व, शून्य कर, कच्चा पदार्थ र सरसामान आयातमा भन्सार शुल्क मिनाहा जस्ता व्यवस्थाले दुबईको तीव्र आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेलेको देख्न सकिन्छ।

आफूलाई पेट्रोलियम पदार्थ अर्थात हाइड्रोकार्बनमा निर्भर नराखी दुबईले व्यापार बढाउन, लगानी भित्र्याउन र यसका लागि उपयुक्त वित्तीय तथा मौद्रिक नीति अख्तियार गर्न कुनै कसर बाँकी राखेको छैन। त्यही कारणले दुबईको कुल गार्हस्थ्य उत्पादनको एक तिहाई हिस्सा हाईड्रोकार्बनबाहेकको क्षेत्रले लिएको छ र यो क्रम बढ्दो छ।

यसरी काठले बनेका डुंगामा विगतमा बन्दरगाहमा व्यापार गर्ने दुबई अहिले अन्तर्राष्ट्रिय व्यापारिक केन्द्र बनेको छ। मरुभूमिमा पानीका लागि कैयन् किलोमिटर यात्रा गर्न बाध्य स्थानीयको व्यापारिक आकांक्षा र विश्वासको आधारमा दुबईको समृद्धिको यात्रा सुरु भएको थियो।

राजनीतिक नेतृत्वको सुझबुझ र दूरदृष्टिले यो सम्भव भएको हो। हुन पनि, मरुभूमिको दुस्कर पृष्ठभूमिले दुबईका स्थानीय र नेतृत्वलाई मजबुत बनाएको थियो र केही गर्न प्रेरणा दिएको थियो।

युएईले अबुधावी आर्थिक सोच २०३० (इकोनोमिक भिजन २०३०) अन्तर्गत ज्ञानमा आधारित अर्थतन्त्र (नलेज बेस्ड इकोनोमी) लाई प्राथमिकता दिएको छ। आर्थिक वृद्धिका लागि ज्ञान र श्रम बजारको विस्तार आवश्यक रहन्छ। व्यक्तिगत सिप, ज्ञान, अनुभवले नवीनता र सिर्जनशीलतालाई प्रोत्साहित गर्छ। यसमा सूचना तथा सञ्चार प्रविधिले झन् उत्प्रेरकको काम गर्छ। स्मार्ट दुबई भनेर नामकरण मात्र गरिएको छैन, हरेक क्षेत्रमा दुबईले आफूलाई स्मार्ट राखेको छ। आर्थिक समृद्धि, व्याापार बढाउन हरसंभव प्रयास गरेको छ। यसमा ऊ सफल पनि बनेको छ।

पाकिस्तानी ड्राइभरले भनेझैँ राजनीतिक अस्थिरता र कमजोर इच्छाशक्तिका कारण हाम्रो समृद्धिको यात्रा निरन्तर ओरालो र दुर्गति उन्मुख छ। नेपाली अर्थतन्त्रको प्रमुख स्रोत दुबईमा कार्यरत पाँच लाखभन्दा बढी नेपालीलगायत अन्य राष्ट्रमा रहेका नेपालीले पठाएको रेमिटेन्समा आधारित छ।

दुबईको भौगोलिक अवस्थिति तथा समुन्द्र तटले उसलाई तुलनात्मक लाभ दिएको होला तर त्योभन्दा बढी राजनीतिक इच्छाशक्ति र दूरदृष्टिले आर्थिक प्रगतिको शिखरमा पुगेको हो ऊ। भूगोलको हिसाबले नेपाल भूपरिवेष्ठित होला तर सोच र दूरदृष्टिका हिसाबले हामीलाई कसैले घेरेको छैन। दुबईको प्रगति र सफलताको कथाले त्यही सन्देश दिन्छ। 

प्रकाशित: २ पुस २०८० ००:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App