७ वैशाख २०८१ शुक्रबार
विचार

पर्यटन कि गुणस्तरीय पर्यटन?

पछिल्लो समय नेपाल भित्रने विदेशी पर्यटकको संख्या बढ्दो छ। पर्यटकको आवगमन कोभिड–१९ महामारीको भन्दा पनि राम्रो अवस्थामा देखिन्छ। पर्यटक वृद्धिसँगै पर्यटन क्षेत्रको विकास र विस्तार द्रुत गतिमा अघि बढ्ने विश्वास गरिएको थियो तथापि अहिलेसम्म जुन गतिमा पर्यटक आवगमन भैरहेको छ त्यही अनुपातमा लाभ लिन सकिरहेको अवस्था छैन।

पर्यटकको संख्या वृद्धि भए पनि नेपालका होटल पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्। क्षमताको एकतिहाइ अकुपेन्सीमा सञ्चालन भएको पर्यटन सिजनमा समेत होटलहरू सञ्चालन घाटामा सञ्चालन गर्न बाध्य भएको व्यवसायीहरूले गुनासो गरेका छन्।

यसैगरी पर्यटकको आवगमनमा भएको वृद्धिसँगै वैदेशिक मुद्राको आप्रवाह, रोजगारीको अवसर, पर्यटन आम्दानी तथा सरकारको राजस्वमा समेत अपेक्षित वृद्धि हुन नसकेको तथ्यांक छन्। यसबाट नेपालमा संख्यात्मकरूपमा पर्यटक बढ्दै गए पनि गुणात्मक पर्यटकको संख्या भने बढ्न नसकेको देखिएको छ।

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ जनवरीदेखि अक्टोबरसम्म अर्थात् १० महिनाको अवधिमा ८ लाख ९ हजार ६ सय ७८ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। गत अक्टोबरमा मात्रै हवाई मार्ग भएर १ लाख १७ हजार ३ सय ६ पर्यटकले नेपाल भ्रमण गरेका छन्।

सन् २०२२ को सोही अवधिमा ८८ हजार ५ सय ८२ पर्यटक नेपाल भित्रिएका थिए। चालु आर्थिक वर्षको अन्तसम्ममा मुलुकभित्र १० लाख पर्यटक भित्र्याउने सरकारको योजना छ। यसलाई टेवा पुग्ने गरी पर्यटकको आवगमनसमेत वृद्धि भैरहेको देखिन्छ। पर्यटकको संख्या बढ्दै जानु आफैँमा सुखद पक्ष हो। तथापि यहाँ आउने पर्यटकको संख्यामा वृद्धि भए पनि उनीहरूबाट प्राप्त हुने आम्दानी भने त्यही अनुपातमा बढ्न सकेको छैन। यसैकारण नेपालले तुलनात्मकरूपमा पर्यटन क्षेत्रबाट अपेक्षित लाभ उठाउन सकेको छैन।

सन् २०२३ को सुरुवातदेखि नै विगतका वर्षहरूको तुलनामा पर्यटकहरूको आगमनमा उल्लेख्य वृद्धि भएको तर उनीहरूले नेपालमा गर्ने औसत खर्च घटेको विभिन्न विवरणले देखाएका छन्। सामान्यतया नेपाल आउने पर्यटकले प्रतिदिन औसतमा ५० अमेरिकी डलरको आसपास खर्च गर्ने गरेका पाइन्छ तर पर्यटन बोर्डको पछिल्लो विवरणअनुसार २०२३ को पहिलो ६ महिनासम्म नेपाल आएका पर्यटकले प्रतिदिन गर्ने औसत खर्च ४०.५ अमेरिकी डलर अर्थात् करिब ५ हजार ४ सय नेपाली रुपियाँमा खुम्चिएको छ।

सन् २०२१ मा पर्यटकले नेपालमा प्रतिदिन  ४८ अमेरिकी डलरसम्म खर्च गरेका थिए। यस्तो खर्च कोभिड महामारीका कारण अनिवार्य क्वारेन्टिनको नियमका कारण सन् २०२० मा  ६५ अमेरिकी डलरसम्म पुगेको थियो।

विदेशी पर्यटकले प्रतिदिन औसतमा ४० डलरको हाराहारीमा खर्च गर्नु भनेको ज्यादै न्यून खर्च हो। हाम्रो जस्तै भौगोलिक तथा सांस्कृतिक विशेषता बोकेको सार्क मुलुक भुटानमा विदेशी पर्यटकले प्रतिदिन करिब २०० डलरसम्म खर्च गर्ने गरेका देखिन्छ। नेपालमा भने पर्यटकले गर्ने खर्चलाई बढाउन सकिएको छैन।

पर्यटकको औसत खर्च घट्नु भनेको मुलुकको विभिन्न क्षेत्रमा रहेका पर्यटनसँग सम्बन्धित व्यक्ति एवम् व्यवसायीहरूको आम्दानी पनि घट्नु हो। यसले पर्यटन व्यवसायीहरूलाई मात्र नभई मुलुकको समग्र आर्थिक क्षेत्रमा प्रतिकूल प्रभाव पार्न सक्ने देखिन्छ।

पछिल्लो समय नेपाल आउने पर्यटकहरूको औसत खर्च मात्र नभई औसत बस्ने दिनहरू पनि छोट्टिँदै गएको देखिन्छ। आर्थिक सर्वेक्षण २०७९÷८० मा उल्लेख भएअनुसार  सन् २०२२ मा विदेशी पर्यटकको औसत बसाइ १३ दिनमा खुम्चिएको छ। सन् २०२१ र २०२० मा पर्यटकको औसत नेपाल बसाइ १५ दिनसम्म पुगेको थियो।

अहिले २०२३ को पहिलो १० महिनाको तथ्यांक हेर्दासमेत पर्यटकको औसत बसाइमा खासै प्रगति भएको देखिएको छैन। उनीहरूको बसाइ औसतमा १३ दिनकै वरिपरि रहेको देखिन्छ। पर्यटकहरूको औसत बसाइमा आएको संकुचनले यस क्षेत्रसँग सम्बधित विभिन्न वस्तु तथा सेवाको समग्र मागमा कमी ल्याउने सम्भावना देखिन्छ। यसले गर्दा मुलुकभित्र पर्यटन क्षेत्रबाट सिर्जना हुने रोजगारीका अवसरमा कमी आउनुका साथै यस क्षेत्रमा देखिएको लगानीमैत्री वातावरण खल्बल्याउने सम्भावना रहन्छ।

महामारीका कारण सुस्ताएको पर्यटन क्षेत्रले पछिल्लो समयमा गति लिँदै गएको देखिन्छ। स्थलमार्गबाट आउने भारतीय पर्यटकबाहेक सन् २०१९ मा ११ लाखभन्दा बढी पर्यटकको आगमन भएकामा महामारीका कारण सन् २०२० र सन् २०२१ मा पर्यटक आगमन संख्या क्रमशः २ लाख ३० हजार र १ लाख ५१ हजारमा सीमित रहन पुगेको थियो। यद्यपि, सन् २०२२ मा भने पर्यटक आगमनमा उल्लेख्य वृद्धि भई ६ लाख १४ हजार ८ सय ६९ पुगेको थियो। तर पर्यटकको आगमनमा भएको वृद्धिअनुसार यस क्षेत्रबाट प्राप्त हुने आम्दानी भने बढ्न सकेको देखिँदैन।

सन् २०२० मा २ लाख ३० हजार पर्यटकको आवगमन हुँदा २१७ मिलियन अमेरिकी डलर पर्यटन आम्दानी भएकोमा २०२१ मा १ लाख ५१ हजार पर्यटकबाट ११२.५० मिलियन डलर पर्यटन आम्दानी भएको देखिन्छ। २०२२ मा ६ लाख भन्दा बढीले पर्यटक भित्रँदा ३२६.२८ मिलियन डलर पर्यटन आम्दानी भएको छ।

२०२१ को तुलनामा झन्डै ५ गुणा बढीले पर्यटकको संख्या बढ्दासमेत २०२२ मा आम्दानी भने  गुणाले समेत बढ्न नसकेको देखिन्छ। यसबाट के प्रष्ट हुन्छ भने पर्यटकको संख्या बढ्दैमा पर्यटन आम्दानीसमेत त्यही गतिमा बढ्छ भन्ने कुनै निश्चितता हुँदैन।

मुलुकमा भित्रिएका पर्यटकको संख्यालाई मात्र ध्यान दिँदा यसको गुणात्मक पक्ष ओझेलमा परेको देखिन्छ। हरेक योजना तथा कार्यक्रममा कसरी पर्यटक बढाउने भन्नेमा मात्र बहस चलेको पाइन्छ। पर्यटकहरू कुन अवस्थामा कसरी भित्रिएका छन् भन्ने कुराप्रति खासै चासो दिने गरेको पाइँदैन।

नेपाल भित्रने अधिकांश पर्यटक पैसा खर्च गर्नेभन्दा पनि बचत गर्न आएका देखिन्छ। पर्यटन क्षेत्रको भाषामा नेपालको पर्यटन क्षेत्रलाई ‘ब्याक–प्याकर’ अथवा ‘वेस्ट टुरिस्ट’ पनि भनिने गरिएको पाइन्छ। कतिपयले कम खर्च गर्ने, हल्लाखल्ला धेरै गर्ने ‘लो क्वालिटी’ का विदेशी पर्यटकको ‘हब’ नै भएको भनी व्यंग्यसमेत गरेको देखिन्छ।

मुलुकभित्र आएका पर्यटकको पारिवारिक संरचना हेर्ने हो भने नेपालमा सबै भन्दा धेरै पुरुष पर्यटक देखिन्छ। सन् २०२१ को आँकडामा नेपाल आएका कुल पर्यटकमध्ये करिब  ७० प्रतिशत पुरुष मात्र थिए।

उमेर समूहमा वर्गीकरण गर्दा सबै भन्दा धेरै करिब ४३ प्रतिशत पर्यटक ३१ देखि ४५ वर्षसम्मका देखिएका छन्। १५ वर्षमुनिका करिब ७ प्रतिशत मात्र छन्। यी आँकडाबाट के अनुमान लगाउन सकिन्छ भने नेपालमा आफ्नो परिवारसहित आउने, घुम्ने, मनोरञ्जन गर्ने तथा पैसा खर्च गर्ने उद्देश्यले आउने पर्यटकको संख्या अत्यन्त न्यून छ।

–भट्टराई पर्यटन अर्थशास्त्रका अध्यापक हुन्।

प्रकाशित: १४ मंसिर २०८० ००:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App