कांग्रेस ०५९ सालको फुटको संघारमा पुग्नुभन्दा एक–डेढ वर्षअघिको कुरा हो । महेन्द्रनगर, कञ्चनपुरमा एउटा कार्यक्रममा बोल्न जानुअघि एक बिहान शेरबहादुर देउवाले पत्रकारहरूसँग कफी प्युँदै भने— ल आज मेरो भाषण राम्ररी सुन्नु, म विस्फोट गरिदिन्छु। केहीबेर पछि कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने— कांग्रेस राणा पारिवारिक शासनविरुद्ध लडेको पार्टी हो । हामी कोइराला परिवारवादको बलमा खडा भएको स्वेच्छाचारी नेतृत्वविरुद्ध पनि लड्नेछौँ ।
आज इतिहास दोहोरिएको छ । एकचोटि चोइटिएर पनि फेरि पुरानै घरमा फर्किएका देउवा महाधिवेशनबाट निर्वाचित पार्टी सभापतिको कुर्सीमा छन्् । तर सरकारबाट बर्हिगमित हुने क्रममा रहेका देउवासमक्ष थोरै नै सही, कांग्रेसका केही सक्रिय युवा नेताहरूले उस्तै प्रश्न खडा गरेका छन्् । यतिखेर युवा कांग्रेसको पराजयका कारण खोज्ने प्रयत्न गर्दै छन्् । उनीहरू भन्न खोज्दै छन्, उनको सरकारले गरेका गलत कामकारबाही अनि पार्टीको पुरातन संरचना, व्यक्तिवादी अनि स्वेच्छाचारी नेतृत्व पराजयका कारण हुन् ।
तीन दिनअघि, पुस १६ गते, कांग्रेसले आफ्नो परम्परा धान्दै राष्ट्रिय मेलमिलाप दिवस मनायो । बिपी कोइराला देशभित्र निरंकुश व्यवस्था कायम रहँदा रहँदै स्वेच्छाले भारत निर्वासन छोडेर स्वदेश फर्किएको दिनलाई कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसका रूपमा मनाउने गरेको छ । त्यतिबेला बिपीले प्रजातन्त्रको लडाइँसँगै राष्ट्रियताको विषय पनि आझेलमा पर्नु हुँदैन भन्ने तर्कसाथ राजासँग मेलमिलापको हात बढाएका थिए ।
कांग्रेस परम्परा त धान्दैछ । तर आज राष्ट्रिय मेलमिलापको सन्दर्भमा आएको परिवर्तनलाई बुझ्ने क्षमता कांग्रेसको नेतृत्वमा छैन । एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गर्ने निर्णय गरेपछि तीन महिनाअघि मात्र कांग्रेसले आफ्नो घोषणापत्रमा मेलमिलापको सबैभन्दा पछिल्लो अवधारणा प्रस्तुत गरेको थियो । त्यसबेला कांग्रेसले दुई कम्युनिस्ट पार्टीहरूको गठबन्धन चुनावमा हिंसा र बल प्रयोग गर्ने, कम्युनिस्ट वर्चस्वको संसद् र सरकार बनाएर व्यापक सहमतिबाट बनेको संविधानको प्रावधानलाई एकलौटी कम्युनिस्ट ढाँचामा संशोधन गर्ने र कम्युनिस्ट पार्टीको एकदलीय शासन स्थापना गर्ने योजना र षड्यन्त्रबाट निर्माण भएको ठहर गरेको थियो । त्यही निष्कर्षसाथ कांग्रेसले पूर्वपञ्चहरूलाई समेत समेट्दै लोकतान्त्रिक गठबन्धन खडा गरेको थियो । वामगठबन्धनको षड्यन्त्रलाई परास्त गर्दै लोकतन्त्र र आर्थिक समृद्धिको बाटोमा देशलाई डो¥याउने उद्देश्यसहित राप्रपा (प्रजातान्त्रिक) र राप्रपा नेपालसँग साझा प्रतिबद्धता र सहकार्यमा कांग्रेस क्रियाशील भएको उद्घोष निर्वाचन घोषणापत्रमार्फत गरिएको थियो । केवल तीन महिनाअघिको कांग्रेसको मेलमिलाप नीति कसैले बिर्सिएको छैन, जसअनुसार पूर्वपञ्चहरूसँगको एकताले लोकतन्त्रको नयाँ यात्रा थालनी गर्ने घोषणा गरिएको थियो ।
२०३३ पुसमा बिपीले मेलमिलापको हात बढाउँदा दरबार निर्णायक शक्ति थियो । त्यसैले उनले आफ्नो कदमलाई पञ्चायतको फन्दाबाट राजालाई मुक्त गर्ने प्रयासका रूपमा व्याख्या गरे । तर २०४५–०४६ सालको आन्दोलनमा वाममोर्चाले कांग्रेसलाई परम्परागत मेलमिलाप नीतिको धङधङीबाट मुक्त गरायो । त्यसपछि पनि संवैधानिक राजतन्त्रप्रति एकनिष्ठ कांग्रेस अन्ततः ०६२–६३ को आन्दोलनको परिवेशमा अझ अगाडि बढ्न बाध्य भयो । आजको बदलिएको परिप्रेक्ष्यमा कांग्रेस यही विषयमा मात्र प्रस्ट हुन सक्यो भने पनि त्यस पार्टीभित्रको सैद्धान्तिक अन्योल केही न केही कम हुन सक्ने थियो । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरित भएपछि संविधानसभाका दुई र स्थानीय, प्रदेश र प्रतिनिधिसभाका गरी पाँचवटा निर्वाचन भइसकेका छन् । सबै निर्वाचनमा ०६२–६३ पछि नेपालले अंगीकार गरेको प्रणाली अनुमोदित भएका छन् । तर युगान्तकारी परिवर्तनपछि आजको सन्दर्भमा राष्ट्रिय मेलमिलापको अर्थ खोज्ने चासो कांग्रेसका नेताहरूलाई छैन ।
यही पृष्ठभूमिमा कांग्रेसका केही जागरूक युवाहरूले मेलमिलाप दिवसकै अवसर पारेर पार्टीको आन्तरिक जीवनबारे केही बोल्ने आँट गरेका छन् । बिपीको मेलमिलापको सिद्धान्तको अति सरलीकरण गर्दै भए पनि उनीहरूले पुस्तान्तरको पीडा पोख्ने मौका छोपेका छन् । उनीहरू भन्छन्, मेलमिलाप दिवसका दिन बिपीको मेलमिलाप नीतिलाई सम्झेर हामी कांग्रेसीहरू फेरि मिलेर जानुपर्छ । बिपीको राष्ट्रिय मेलमिलापको नीतिलाई सीमित अर्थमा प्रयोग गरेर भए पनि पार्टीको आन्तरिक जीवनका सन्दर्भमा असहमति जनाउने हिम्मत उनीहरूले जुटाएका छन् । त्यसैले उनीहरू भन्दैछन्, कांग्रेसले आजका चुनौतीको सामना गर्न गम्भीर आत्मचिन्तन र विशेष तयारी गर्न आवश्यक छ । त्यसका लागि पार्टीभित्र एकता हुनुपर्छ । पार्टीका साथीहरूलाई न्यायको अनुभूति दिलाउन सक्नुपर्छ ।
आफ्ना प्रमुख नेता शेरबहादुर देउवालाई कांग्रेसका सात जना युवाहरूले एकै मुखले सोधेका छन्, निर्वाचनको सम्भावित परिणामबारे पूर्वाभास हुँदाहँदै यस विषयमा हाम्रो नेतृत्व किन समयमै सचेत हुन सकेन ? तद्अनुकूल निर्वाचन रणनीति किन अख्तियार भएन ? पार्टीका सबै तहदेखि भ्रातृसंस्थाहरूको समुचित परिचालन किन भएन ? हामीले नेतृत्व गरेको सरकारले जनअपेक्षा अनुरूप काम गर्न किन सकेन ? यी प्रश्नकर्ताहरू निर्वाचन परिणामका विषयमा पार्टीभित्र गम्भीर र निर्मम समीक्षा जरुरी छ भन्ने ठहर गर्दै छन् । तर सभापति निर्वाचन परिणामको जिम्मेवारी ग्रहण गर्न तयार छैनन् । त्यसैले भन्दै छन्, पार्टीभित्र मेरो विरोध गर्नेले बुझ्नू, आफू हार्ने अनि मेरो विरोध गर्ने ? लाग्छ उनी अव्यक्त रूपमा आफ्नै सहकर्मी र कार्यकर्तासँग सोध्दै छन्, मैले डडेलधुराबाट जितिनँ र ?
यस्तो परिस्थितिमा कांग्रेसका युवा नेताहरूले संगठनात्मक संरचना, नीति र नेतृत्वमा एकैचोटि परिवर्तन खोज्ने महात्वाकांक्षी योजना अघि सारेका छन् । समकालीन राजनीतिक मुद्दामा कांग्रेसको अडान र दृष्टिकोण प्रस्ट पार्ने उनीहरूको प्रयास छ । उनीहरू पार्टी सिद्धान्तकै पुनव्र्याख्या गर्न खोज्दैछन् । स्थापनाकालदेखि उच्चारण गरिँदै आएको लोकतन्त्र शब्दको नयाँ भाष्यको खोजी गर्दैछन्। राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई कांग्रेसले नयाँ ढंगले बुझ्नुपर्ने आग्रह गर्दैछन् । मतपरिणाम सार्वजनिक भएपछि अहिलेसम्म केन्द्रीय समितिको बैठक पनि बसेको छैन । त्यसैले तत्कालै केन्द्रीय समितिको बैठक बसेर परिणामको समीक्षा गर्न माग गर्दैछन् । त्यसपछि महासमिति बोलाउनुपर्छ भन्ने उनीहरूको जोड छ ।
युवाहरूको अधिकतम माग विशेष महाधिवेशनकै आयोजना गर्नुपर्छ भन्ने छ । तर अन्ततः देउवाले चुनावमा हार्नुको कारण पत्ता लगाउने उद्देश्यसाथ एक उच्चस्तरीय छानबीन समिति गठन गरेर असन्तुष्टिलाई दबाउने सम्भावना प्रबल छ । किनकि, कांग्रेस आजको अवस्थामा पुग्नुमा आफ्नो कुनै कमजोरी रहेको मान्न उनी तयार छैनन् भन्ने प्रस्टै देखिन्छ । जुन क्षण युवाहरू पार्टीको नीतिमा परिवर्तन चाहियो, संविधान निर्माणपछिको अवस्थामा पार्टीको बाटो र कार्यसूची तय गर्नुप¥यो भन्दै थिए, त्यही क्षण देउवा अनुशासनको डण्डा लगाउने भाषण गर्दै थिए । उनी पार्टीको आन्तरिक जीवनमा अनुशासनको त्रास फिँजाउँदै थिए, चुनावमा अन्तर्घात गर्नेलाई अब कडा कारबाही हुन्छ । केही दिन युवाहरूले विशेष महाधिवेशनको माग जारी राख्दै महासमिति बैठकको माग गरिहनेछन् । कार्यसमितिबाटै एउटा निर्वाचन परिणामसम्बन्धी अध्ययन कार्यदल बनाएर उनले असन्तुष्टलाई टार्नेछन् । कार्यदलको प्रतिवेदन आउने बेलासम्म युवाहरू मत्थर भइसक्नेछन् भन्ने उनको बुझाइ छ ।
कांग्रेस नीतिगत र संगठनात्मक दृष्टिले पनि पुरातन पार्टी हो भन्ने त्यस पार्टीका युवाहरूको निष्कर्ष जायज छ । तर उनीहरूले कांग्रेसमा परिवर्तन ल्याउँछन् भन्ने विश्वास गर्न मुश्किल छ । किनकि, आफूसमेत संलग्न भएर निर्माण गरिएको वर्तमान संविधानको आधारभूत पक्षहरूमै विमति राख्नेहरू पनि पार्टीको नेतृत्वमा छन् । कति सुस्पष्ट छ, अहिले राष्ट्रिय मेलमिलापको आधार वर्तमान संविधान हो । तर कांग्रेसको राष्ट्रिय मेलमिलाप–नीति अन्योलग्रस्त र पुरातनपन्थी छ । अहिलेको सन्र्दभमा संघीय लोकतान्त्रिक गणतन्त्रको विकासप्रति प्रतिबद्ध इमानदार शक्तिहरूबीचको मेलमिलाप र प्रतिस्पर्धा सँगसँगै अघि बढ्नुपर्छ । त्यति पनि बुझ्न नसक्ने पार्टी इतिहासको धरोहर मात्र साबित हुनेछ ।
प्रकाशित: १९ पुस २०७४ ०५:३१ बुधबार