१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

एकीकृत, सुरक्षित र व्यवस्थित पुनर्निर्माण

१९९० पछि २०७२ वैशाख १२ गते नेपालमा अर्को ठूलो भूकम्प आएको थियो। त्यस बेलाको भूकम्पले नेपालको मध्यभागलाई नराम्ररी प्रभावित गर्‍यो र धेरै ठूलो धनजनको क्षतिसमेत भयो। त्यतिबेला नै नेपालमा अझै ठूलो भूकम्प जाने अनुमान भूकम्पविद्हरूले गरेका थिए। उनीहरूका भनाइमा समान्यतया ठूला भूकम्प सत्तरीदेखि असी वर्षको अन्तरालमा जाने गर्छ। नेपालको पश्चिमी क्षेत्रमा ५०० वर्ष भन्दा अघिदेखि नगएकाले त्यस क्षेत्रमा ठूलो भूकम्प जान सक्ने उनीहरूको अनुमान थियो।

यहाँको केन्द्र भागमा सञ्चित शक्तिका कारण अझै ठूला भूकम्प जान सक्ने कुरा त्यस बेला उनीहरूले बताएका थिए। त्यसको ठीक ८ वर्षपछि २०८० कात्तिक १७ गते मध्यरातको ११ः४७ बजे ६.४ रेक्टर स्केलको भूकम्प आयो। यो पटकको भूकम्पको धक्का भारतको नयाँ दिल्लीसम्म महसुस भएको थियो।

भूकम्पको सात सय वर्षको नेपालको इतिहास हेर्दा पनि सरदर ५९ वर्षको अन्तरालमा ठूला भूकम्प आएको दखिन्छ। यसरी हेर्दा नेपालको पश्चिमी क्षेत्रमा अझै ठूला भूकम्प जान सक्ने भूकम्पविद्हरूको अनुमानमा विश्वास नगर्नुपर्ने कारण देखिँदैन। उनीहरूको भनाइले जाजरकोटमा कात्तिक ११ गते गएको भूकम्पलाई नेपालको पश्चिमी क्षेत्र बिउँझाउन आएको भनेर बुझ्दा हुन्छ।

भूकम्पमा भएको क्षतिको कुरा गर्दा २०७२ सालको भूकम्पको केन्द्रविन्दु बारपाक भए तापनि गोर्खा र त्यहाँबाट सबैभन्दा नजिक रहेको लमजुङमा खासै असर परेन तर पनि केन्द्रबाट धेरै टाढा रहेको सिन्धुपाल्चोक भने पूरैजसो ध्वस्त भयो।

भूकम्पका कारण सिन्धुपाल्चोकमा मात्र ३५ सय ७० जना मानिसले ज्यान गुमाउनुपर्‍यो र पशुधनको समेत ठूलो क्षति भयो। भौतिक संरचानाको चर्चा गर्दा ६,२८८ सार्वजनिक भवन क्षतिग्रस्त भएको थियो। भूकम्पकै कारण ६२ वटा ठूला ठूला सुक्खा पहिरो गए। भूकम्पबाट भएको क्षतिका कारण ६५ हजार निजी घरको पुनर्निर्माण गर्नुपर्‍यो।

यो भूकम्पमा सिन्धुपाल्चोक जिल्लाकै अग्ला भूभागमध्ये पर्ने मेलम्चीघ्याङमा अवस्थित विद्यालयको परिसरमा थिएँ। मैले त्यस ठाउँका सबै निजी घर, स्कुल, स्वास्थ्य चौकी र गुम्बाहरू करिब पाँचै मिनेटभित्र स्वाहा भएका दृश्य देखेँ। त्यस दिन हामी त्यहाँ झण्डै ३०० जना जति भेला भएका थियौँ। मेलम्चीघ्याङ माविमा विद्यार्थीको प्रवेश परीक्षाका लागि हामी आफ्ना बाबुनानीसहित त्यहाँ पुगेका हौँ। त्यस दिन त्यहाँ जम्मा भएकामध्ये केही शिक्षक, अभिभावक र बाँकी सबै बालबालिका नै थिए। दिउँसो ११ बजेतिर परीक्षा सुरु भयो। परीक्षाको समयमा हामी जम्मा भएर गफ गर्दै थियौँ।

यत्तिकैमा रोटेपिङले हल्लाए जस्तो गरी हल्लाउने, उचाल्ने, पछार्ने र धकेल्ने गर्न थाल्यो। सुरुमा त केले त्यस्तो भयो थाहा भएन। अलिकति टाउको उठाएर एक पटक आँखा वरपर घुमाएँ। हेर्दाहेर्दै स्कुल, गुम्बा र निजी घरहरू धमाधम ढल्न थाल्यो।

परीक्षा दिइरहेका बाबुनानी रुन कराउन थाले। कक्षा कोठाको ढोकाबाट कोही बाहिर निस्किए, कोही भित्रै थिए। भित्र हुनेहरू बेन्च/डेस्कको मुनि लुकेर बसेका थिए। मैले आफ्ना छोराछोरीको खोजी गरेँ, धेरैजसो सम्पर्कमा आए तर एकजना नानी भने सम्पर्कबिहीन भइन्।

 उनको खोजी गर्ने क्रममा गारो भत्किएर थुप्रिएको ढुंगा माटो पन्छाउन थाले। त्यस ठाउँमा केही आवाज आएकाले अरूलाई खबर गरेँ। ढुंगामाटो पन्छाउँदै जाँदा तीनजना नानी पुरिएको अवस्थामा फेला परे। म आफ्नो नानीको खोजी गर्दै त्यहाँ नपुगेको भए शायद उनीहरू जिउँदो भेटिने थिएनन्।

अँध्यारो छिप्पिँदै थियो, सिमसिम पानी र बाक्लो तुवाँलोका बीचमा हामीले रात कटायौँ। भोलिपल्ट बिहान सबैजना त्यहाँबाट हिँड्यौँ। पहाड सिलौटामा लोराले कुटेको मुला जस्तो भएको थियो। बिहान ५ बजे हेलम्बुको शिर मेलम्चीघ्याङबाट ओरालो लाग्दै जाँदा किउल बगर हुँदै भूमेश्वरी पुग्न हामीलाई १० घण्टा जति लाग्यो। बगरदेखि भूमेश्वरी मावि हुँदै चनौटेसम्म आइपुग्दा बाटोमा दर्जनौँ लास भेटिए। ती लास लगेर जलाउने मानिसको अभाव थियो। टोलका मानिस जम्मा भएर सिरकको खोल र तन्नामा लास बेरेर ओसार्दै थिए।

हामीले उनीहरूलाई कुनै सहयोग गर्न सकेनौँ। हामी भोक र थकाइले लखतरान भैसकेका थियौँ। बाबुनानीमध्ये कसैको हात, कसैको खुट्टा मर्किएको थियो। बाटोघाटो निकै बिग्रिएका र खोला/खोल्सामा बाढी आएको थियो। खोलो तर्न लाग्दा मलाई मेलम्चीले बगायो। धन्न रोचकले तान्न भ्याउनुभएछ र म बाँचेँ।

हामी बेलुका घर पुगेर सोधपुछ गर्दा आफन्तहरू कोही बितेका, कोही घाइते र कसैको उद्धार भैरहेको सुनेँ। घरको नजिक एउटा कुखुराको टहरो थियो। त्यही टहरोमा टोलभरका मानिस जम्मा भएर बसेका थिए। डेढ दर्जन घरपरिवारका मानिस सबैको सामूहिक खानपान र बसोबास थियो त्यहाँ। घर भत्किए पनि अन्नपात सबै नोक्सान भएको थिएन। बाटोघाटो, बिजुली, पानी, बत्ती, घट्ट मिल सबै बन्द थियो। वैशाखको १४ गतेबाट ती सबै कुरा सुचारु गर्ने कार्यमा हामी सबै जुट्यौं।

मेलम्चीस्थित सैनिक ब्यारेकमा त्यस क्षेत्रका अगुवाको जमघट भएको थियो। त्यहीँ बसेर डोजर बन्दोबस्त गर्ने र बाटो खुलाउने, बिजुली बत्ती बाल्ने, घट्ट मिल सुचारु गर्ने योजना बनायौँ। दुर्गम ठाउँमा रहेका घाइतेहरूको उपचारका लागि सेनाले हेलिकप्टरको प्रयोग बढाउन थाल्यो। तिनै हेलिकप्टरले जाँदा राहत सामग्री लैजाने र फर्कँदा बिरामी ल्याउने गर्न थाले। राहत आउन थालेपछि मानिस त्यसका लागि लाइन बस्न लागे। त्यसपछि भने बिस्तारै सामूहिक बसोबाससँगै खानपानका शैली पनि बदलिए र भिन्नाभिन्नै चुलोमा आगो बल्न थाले।

सामाजिक संघसंस्थाहरूले अस्थायी टहराका लागि जस्तापाता दिन थालेपछि घामपानी छेल्ने टहरो बनाएर अलि व्यवस्थित तरिकाले बस्न थालियो। ती टहरामा पनि लामो समयसम्म बस्न सक्ने अवस्था भने भएन।

वर्षाको चर्को घामपानी र हिँउदको शीतले आममानिसको स्वास्थ्यमा समस्या उत्पन्न हुन थाल्यो। स्थायी घरका लागि सरकारी मापदण्डअनुसार १६ वटा घरको नमुना दिइयो। ती नमुनाअनुसार बनेका घरलाई मात्र सरकारले तीन लाख अनुदान दिने नीति बनायो। भूकम्प प्रतिरोधी भनी सरकारले दिएका मापदण्डअनुसारका घरहरू व्यावहारिक थिएनन्। पहिलो तलामा निर्वाह नहुने, दोस्रो तलामा उठबस गर्नसमेत उचाइ नपुग्ने गरी मापदण्ड बनाइएकाले ती घरका नमुना व्यावहारिक भएनन्।

घर बस्तीको मापदण्ड बनाउँदा सरोकारवालाहरूको परामर्शमा बनाउनुपथ्र्यो जुन हुन सकेन। बस्ती बनाउनुअघि एकीकृत, व्यवस्थित र सुरक्षित बसोबासका लागि छलफल गर्न सकेको भए थोरै लगानीमा पनि धेरै राम्रा घर बस्ती बन्ने थिए। कच्ची र असुरक्षित बनावटयुक्त भएकाले सबैजसो घर भत्किए र मानिस घरको गारोले च्यापिएर मरे।

भूकम्पपछि घरहरू कच्ची भएर भत्किएका भए पनि ढुंगामाटोको प्रयोग गरेर बनाएकाले भत्किएको भन्ने कुरा बुझ्ने र बुझाउने प्रयास हुन थाल्योे। पहिला काठका नसहरूले बाँधेर, काठकै चुकुल ठोकेर बनाएका ढुंगामाटाका घर बलिया थिए। हामीले पछिल्लो समयमा भूकम्प आउने कुरालाई ख्यालै नगरी घरहरू बनाउन थालेकाले नै ती घर आफ्नै लागि चिहान भए। घर भत्कनुको मूल कारण सिमेन्टको प्रयोग नभएर होइन, कच्ची भएर हो भन्ने कुरा कोही सुन्नै तयार थिएनन्। यस्ता ठूला घटनाबाट बाँचेकाहरूले पाठ सिक्नुपर्छ।

(एकीकृत बस्ती विकास अभियन्ता)

प्रकाशित: १ मंसिर २०८० ००:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App