१५ आश्विन २०७७ बिहीबार
विचार

ओलीले भरोसा जित्नुको अर्थ

शंका पनि होलान् । वचनबध्दता, प्रतिबध्दता अनि विकास र समृध्दिका आकर्षक खाका बेवारिस ठहरिने संशय पनि होला । जनताले विश्वास गरेर वाम गठबन्धनलाई सरकार बनाउने मौका दिएका छन् । त्यसैले यो गठबन्धनका प्रमुख नेता एमाले अध्यक्ष केपी ओलीलगायत सम्पूर्ण नेता÷कार्यकर्तालाई बधाइ ज्ञापन गर्ने समय हो । मतदाताको अपेक्षाअनुसार एमाले र माओवादी केन्द्रले सुशासनको उदाहरण प्रस्तुत गर्ने सफलता हासिल गर्न सकून् भन्ने शुभकामना दिने अवसर हो । जस्तोसुकै अप्ठेरोमा विकास, समृध्दि र स्थिरताका निम्ति मतदाताले गरेको भरोसालाई बेवास्ता नगर्ने सद्गुण वाम गठबन्धनमा अक्षुण रहोस् ।

वाम गठबन्धनको यो जीत धेरै प्रतिशत ओली वा एमालेको जीत हो । तर केही पुष्पकमल दाहाल वा माओवादी केन्द्रको विजय हो । अनि यो जीत खासमा दुवैको एकीकृत पहलको परिणाम हो ।

यही जीत लोकतान्त्रिक गठबन्धनले हासिल गरेको भए कांग्रेस बधाईको हकदार हुन्थ्यो । अब बन्ने सरकारप्रति आशा गर्नु भनेको केन्द्रलगायत छ वटा प्रदेशमा समेत वाममोर्चाको सरकार बन्ने गरी जनताले व्यक्त गरेको अभिमतको सम्मान हो । ओलीको नेतृत्वमा बन्ने सुविधाजनक बहुमतसहितको सरकारका चुनौती कम छैनन् । वाम गठबन्धनको यो जीत धेरै प्रतिशत ओली वा एमालेको जीत हो । तर केही पुष्पकमल दाहाल वा माओवादी केन्द्रको विजय हो । अनि यो जीत खासमा दुवैको एकीकृत पहलको परिणाम हो । दुवै पार्टीले संयुक्तरूपमा अघि सारेका साझा घोषणापत्रमा सुशासन र समृध्दिका लागि वामपन्थी सरकारको मूल नारा अघि छ । सुशासनको थालनी नभएसम्म समृध्दि र विकासको बाटो खुल्न सक्दैन । आजसम्म शासनमा पुग्नेहरू सुशासनको प्रथम परीक्षामै अनुत्तीर्ण भएका छन् । त्यसैले नातावाद, कृपावाद, भ्रष्टाचार, अपारदर्शिता र गलत आचरणजस्ता शक्तिमा रहने राजनीतिक व्यक्तिका परिचय परिवर्तन गराउने कार्य कम दुष्कर छैन । लोकतान्त्रिक युगमा राजनीतिकर्मीका लागि सबैभन्दा ठूलो वैधता निर्वाचनले दिन्छ । निर्वाचन प्रतिबध्दताअनुसारको कार्यसम्पादनले प्रदान गर्ने वैधता सबैभन्दा दिगो हुन्छ । वाममोर्चाले यति कुरा बुझेकै ठानेर जनताले मत दिएका हुन् ।   
जनतामा निहित सार्वभौमसत्ता र राजकीय सत्ता प्रयोगका लागि राज्य सञ्चालनको आधारभूत संरचना संविधानले तय गरिसकेको छ । संविधानतः अब नेपालमा कुनै एक दल वा एकै किसिमको राजनीतिक विचारधारा, दर्शन वा कार्यक्रम मान्नेले मात्र निर्वाचन, देशको राजनीतिक प्रणाली वा राज्य व्यवस्था सञ्चालनमा सम्मिलित हुन पाउने गरी कुनै कानुन बनाउन पाइने छैन । कसैले त्यस्ता कानुन बनाए पनि संविधान प्रतिकूल मानिनेछ र स्वतः अमान्य हुनेछ । उपप्रधानमन्त्री, मन्त्री, राज्य मन्त्री वा सहायक मन्त्री जे–जे मानपदवी दिए पनि प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्को आकार पच्चीस जनाभन्दा बढीको हुँदैन । न्यायसम्बन्धी अधिकार अदालतबाट प्रयोग हुने व्यवस्था छ । संसद्मा प्रतिपक्षले खबरदारी प्रभावकारीरूपमा गर्न सक्नेछ । यस्तो अवस्थामा स्पष्ट कार्यसूचीसहित सुविधाजनक बहुमतबाट विजयी वाम गठबन्धन सरकारले स्वाभाविकरूपमा देशमा नौलो उत्साह सिर्जना गर्नेछ । वामपन्थी सरकार स्थापनासँगै आमजनतामा प्रवाहित हुने उत्साह दिगो रहने हो÷होइन अहिले प्रशस्त वादविवाद गर्न सकिन्छ । यो निर्वाचनमा वाम गठबन्धनका प्रमुख अभियन्ता ओलीको मत परिणाम आइसकेपछि सार्वजनिक विचार वा धारणा विश्लेषण गर्दा भने अब बन्ने सरकारको प्रभावकारितामा विश्वास गर्न सकिने आधार छन् ।
मतदातालाई धन्यवाद ज्ञापन गर्न झापा क्षेत्र नम्बर ५, दमकमा दुई दिनअघि आयोजित सभामा ओलीले भावी प्रधानमन्त्रीको छवि प्रस्तुत गरे जसले देशको आर्थिक सामाजिक रूपान्तरलाई जीवन ध्येय बनाइसकेका छन् । दुई सातामा ८० सभामा वाम गठबन्धनका लागि मत माग्ने ओली यसपटकको निर्वाचनमा देशभरिमै सर्वाधिक मत पाएर विजयी हुने सांसद हुन । तर विजयको उन्माद र दम्भबाट टाढा रहेर उनले आफ्ना मतदातासमक्ष आभार व्यक्त गर्दै केही सार्वजनिक सरोकारका पक्षसमेत प्रस्ट पारे ।    
पहिलो कुरा, मात्र केही दिनपछिका प्रधानमन्त्री ओलीले मतदातासमक्ष दृढताका साथ भने– तपाईँहरूको विश्वास तल–माथि पर्न दिंदैनौँ । अर्थात उनी निर्वाचन अभियानका प्रतिबध्दता पूरा गर्न दृढ छन् । दोस्रो कुरा, उनले विकासका निम्ति गृहकार्य सुरु भइसकेको विश्वास गर्न मतदातालाई आग्रह गरे । अर्थात उनको नेतृत्वमा सम्पूर्ण वाम गठबन्धन योजनाबिहिन ढंगले निर्वाचनमा होमिएको होइन । ओलीको घोषणा छ– सरकारले पहिलो दिनदेखि काम अघि बढाउँछ । सरकार बनाएरमात्र विश्राम लिन चाहँदैनन् ओली । त्यसैले उनी भन्छन्– हाम्रो सरकार निर्माण हुँदैमा विकास स्वतः हुने होइन । उनकै शब्दमा वामपन्थी कृषि मन्त्री बन्दैमा मकैका ठूलाठूला घोगा लाग्दैनन् । त्यसका लागि योजना र त्यहीबमोजिमको कार्यान्वयन आवश्यक पर्छ । तेस्रो कुरा, उनले विकास योजना कार्यान्वयनका लागि विज्ञ र प्राविधिकको प्रभावकारी परिचालनको आवश्यकता पनि दर्शाए । चौथो कुरा, उनले विपक्षीसँग मित्रवत् व्यवहार हुने घोषणा गरे । उनले भने– उहाँहरूका कुरा सुन्छौँ । वाम गठबन्धनको नीति अनुमोदन भएकामा उनी मतदाताप्रति आभारी छन् । जनताको विश्वास प्राप्त गरेकामा उनी सन्तुष्ट छन् । दायित्वबोधका साथ भन्छन्– साझा घोषणापत्रलाई तपार्इँहरूले मान्यता दिनुभएको छ, अब देश बनाउने विन्दुमा हामी पुगेका छौं, सुशासन कायम गर्न पुग्ने गरी जनताको मत पाएका छौँ । पाँचौँ कुरा, उनी भावनामा बहेर कुनै निर्णय नगर्न वचनबध्द देखिन्छन् ।
बहुमत हासिल गरिसकेपछि उनले जिम्मेवारी बहन गर्दै आफ्ना योजना कार्यान्वयन गर्ने संकल्प दोहो¥याएका छन् । आशा के कारणले जागेको छ भने उनले विगत सम्झिएका छन्, भविष्यको प्रस्ट योजना छ । अनि उनी भावनाभन्दा माथि उठेर काम गर्नुपर्छ भन्ने ठान्छन् । उनकै शब्दमा देश भावनाले बन्ने होइन, सही नीति, सही विचार, सही निर्णय र संकल्पले बन्छ । भावनाउपर सही निर्णयको नियन्त्रणसम्बन्धी ओलीको दृष्टिकोणले उनको भावी दिनको यात्राबारे संकेत गर्छ । दक्षिण अफ्रिकी राजनेता नेल्सन मन्डेलाको सफलताको एउटा कडी भावनामाथि विवेकको पकड मानिन्छ । सत्र वर्षअघि यस शताब्दीको सुरुवातमा ओपरा विन्फ्रीसँगको विश्वप्रसिध्द ‘टक सो’मा मन्डेलाले बडो भावुक हुँदै भनेका थिए– हाम्रो भावनाले भनिरहेको थियो श्वेत अल्पसंख्यकहरू हाम्रा शत्रु हुन्, हामीले उनीहरूसँग कहिल्यै कुरा गर्नै हुन्न । तर हाम्रो मस्तिष्कले भनिरहेको थियो– तिमीले उनीहरूसँग कुरा गरेनौँ भने तिम्रो देश आउँदा कैयन् वर्षसम्म जलिरहने छ, देशमा रगतको नदी बगिरहने छ । त्यस्तो अवस्थामा आफ्नो पार्टीले शत्रु ठानेकासँग पनि सम्बन्ध विस्तार गर्दै वार्ता सुरु गरेको उल्लेख गर्दै मन्डेलाले भनेका थिए– शत्रुपक्षसँग हाम्रो वार्ता हाम्रो भावनामाथि मस्तिष्कको नियन्त्रणकै कारण सम्भव भएको थियो ।
निश्चय पनि जनतामाझ सबैभन्दा बढी बिक्री हुने विकास र समृध्दिको सपना साकार पार्न सहज छैन । स्रोत–साधन, अपार्याप्त वा अवस्था–प्रतिकूलता अनि यथार्थमा हासिल गर्न सकिने व्यावहारिक लक्ष्यबीचको समन्वय कायम गर्ने प्रभावकारी विकास–अर्थशास्त्रका लागि वाम गठबन्धन सरकारले सबैभन्दा पहिले सुशासन अनुभूत गराउन सक्नैपर्छ । अहिलेसम्म आगामी सरकारका अगुवाको उत्साह देख्दा उनले अब आफ्ना मन्त्रीलाई तोकिएका काम वा योजना सम्पन्न गराउन समयसीमा तोक्नेछन् भन्न सकिन्छ । उनका मन्त्रीका अगाडि कर्मचारीतन्त्रसँग सोधेर होइन, कर्मचारीतन्त्रलाई नेतृत्व गरेर ठोस कामको उदाहरण प्रस्तुत गर्नैपर्ने बाध्यता आइपर्ने देखिन्छ ।
बहुमत हासिल गरी आफ्नै नेतृत्वमा सरकार बन्ने सुनिश्चित भइसकेपछि पनि वचनबध्दता दोहो¥याएर उनले भरोसा जगाएका छन् । भावनामा बगेर कुनै निर्णय गर्दिन भनेर उनले राजनीतिक कुशलता प्रदर्शन गरेका छन् । निर्वाचन मैदानका तीतोपीरो बिर्सिएर विपक्षीहरूसँग सहमति कायम गर्दै अघि बढ्नेछु भन्दै उनले असल खेलाडीको उत्साह प्रस्तुत गरेका छन् । जनअनुमोदित कार्यसूचीका साथ सिंहदवार प्रवेश गर्ने प्रधानमन्त्रीको गति र शैली भिन्न देखिनैपर्छ ।

प्रकाशित: २७ मंसिर २०७४ ११:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App