७ माघ २०७८ शुक्रबार
विचार

नेतृहरूको उपेक्षित राजनीतिक इतिहास

गणतन्त्र नेपालको संविधान निर्माणपछि भएको पहिलो प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन परिवर्तित राजनीतिक संरचना र परिवेशले मात्रै हैन, चुनावी विधि र प्रक्रियाले पनि धेरै पृथक रह्यो । संविधानले तोकेको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रक्रियाले गर्दा अब निर्वाचनको परिणाम पहिलाको तुलनामा लैंगिक, सामाजिक, सांस्कृतिकरूपमा नै समावेशी बन्ने कुरा निश्चित छ र यो हामी सबैका लागि गौरवको विषय हो । यो गौरवको क्षण भने त्यसै आएको होइन, राजनीतिक दलहरूमा आबद्ध भएर वा बाहिरबाटै यो परिवर्तनका लागि थुप्रै महिला र पुरुषकर्मीले निसंकोच र निस्वार्थ महत्वपूर्ण योगदान गरेका छन् ।  

पुरुषहरूकै हालीमुहाली रहेको नेपाली राजनीति विश्लेषकहरूको जमातले अब नेतृहरूको स्वतन्त्र राजनीतिक पहिचान र राजनीतिक इतिहास बेवास्ता गर्दै श्रीमान्, दाजु, बाउ, छोरा आदिको प्रभावले राजनीति गरेको भनी उनीहरूको अपमान गर्ने परिपाटी सच्याउनैपर्छ । 

निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फबाट उम्मेदवारी दिएका राजनीतिक नेतृत्व, विशेषतः श्रीमान्÷श्रीमती दुवैको नाम कतै प्रत्यक्षबाटै त कतै एक प्रत्यक्ष र एक समानुपातिकतर्फको उम्मेदवारी परेको प्रति धेरै नकारात्मक टिप्पणी आएका छन् । यस्ता टिप्पणीमा श्रीमान्को दलगत प्रभावका कारण नै श्रीमतीहरू उम्मेदवार बन्न पुगेका दाबी धेरै छन् । यस्ता टिप्पणी नेतृहरूको राजनीतिक इतिहास नपढी÷नबुझी गरिएका देखिन्छन् । उनीहरूको उम्मेदवारी र सक्रिय राजनीतिक जीवनमाथि हुने गरेका यस्ता हल्का टीकाटिप्पणी र विश्लेषणले साझै महिला नेतृमाथि अन्याय भएको छ । कठिनभन्दा कठिन परिस्थितिमा पनि इमानदारितासाथ राजनीतिक यात्रा तय गरेका उनीहरूलाई त यस्ता टिप्पणीले होच्याएको छ नै, साथै यसले राम्रो नेतृत्वको सम्भावना बोकेका युवा महिलालाई पनि राजनीतिमा लाग्न विकर्षण पैदा गर्ने निश्चित छ । 
२०३७–३८ सालतिरको कुरा, म ८ कक्षामा पढ्थेँ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस प्रांगणमा एक महिला विद्यार्थीले जोशिलो भाषण गरेको पहिलो पटक सुनेँ । त्यसको केही दिनमै उनी सोही क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा कोषाध्यक्ष पदमा विजयी बनिन् । त्यसपछि निरन्तर ती नेतृलाई मैले कहिले विद्यार्थी संगठन, कहिले महिला मोर्चा र मजदुरको संगठन निर्माण अनि कहिले भूमिगत जीवन त कहिले भूमिगत नेताहरूको सुरक्षामा खटिएको देखेँ । मेरो कलिलो दिमागमा महिलाले पनि राजनीति गर्न सक्छन् र गर्नुपर्छ भन्ने छाप त्यतिबेलै बसेको हो । ती तिनै नेतृ थिइन् जो अहिले निरन्तर लगाव र मेहनतकै कारण नेपालको प्रथम महिला राष्ट्रपतिको इतिहास बनाउन सफल भएकी छिन् ।
यस्ता महिला धेरै छन् जसको राजनीतिमा योगदान कुनै पुरुषको भन्दा कम छैन । म केटाकेटी छँदा पूर्वतिर एक १२–१३ वर्षकी केटीलाई भूमिगत राजनीतिमा लागेकालाई सहयोग गरेको भनेर प्रहरीले धेरैपटक समातेर यातना दिएको सुन्थेँ । तर पनि ती केटी लगातार राजनीतिमा संलग्न भइरहिन् । संगठन निर्माण र वाम राजनीति सुदृढ तुल्याउन लागिरहिन् । ती तिनै सीता खड्का थिइन् जो मन्त्रीसमेत बनेर आफूले सक्ने काम इमानदारीसँग गरिन् । र, आज पनि राजनीतिमा उत्तिकै सक्रिय छिन् । 
ओनसरी घर्ती मगर अर्की त्यस्ती नेतृ हुन् जसलाई माओवादी युद्धताका बन्दूक बोकेर जंगलमा दौडिएको भिडियो फुटेज हेर्दा म छक्कै पर्थेँ । ‘मानसिक र शारीरिक दुवैरूपमा पुरुषको तुलनामा महिला कमजोर हुन्छन् र महिला कोमल मनका हुने भएकाले युद्धबाट टाढै राख्नुपर्छ’ भन्ने मान्यतालाई चुनौती दिएकी थिइन् उनले । टाउकाको मोल तोकिएको अवस्थामा पनि देशको रूपान्तरणका लागि भनेर बन्दूक भिरेकी तिनै छापामार यतिबेला सभामुखको भूमिका निर्वाह गर्न सफल भएकी छिन् । 
वाम राजनीति गरेकै कारण २०३५ सालताका रत्नकुमार वान्तवालाई सरकारले इलामको जंगलमा गोली हत्या गर्दा उनीसँगै त्यही वाम आन्दोलनमा सक्रिय, त्यतिबेलै प्रहरीको फन्दाबाट भागेर बाँचेकी र भूमिगतकालमै भोजपुर छिनामखुमा आफूजस्तै नेता अशोक राईसँग वैवाहिक सम्बन्ध गाँसेकी सुशीला श्रेष्ठ अहिले पनि जुझारु महिला अधिकारकर्मीका रूपमा सक्रिय छिन् । त्यस्तै एमालेकी केन्द्रीय सदस्य सुजिता शाक्य, तुलसा थापा मगर पनि कुनै वामनेताका श्रीमतीमात्र नभएर लामो कालखण्डदेखि राजनीतिमार्फत देशको मुहार फेर्नमा होमिएका महिला हुन् । 
यी केही प्रतिनिधि पात्रमात्र हुन् । श्रीमान्–श्रीमती दुवै प्रतिनिधि तथा प्रदेश सभाका उम्मेदवार रहेका जोडीमा पर्ने यशोदा सुवेदी गुरुङ, अमृता थापा मगर, सत्या पहाडी, उषाकला राई, विना मगर जस्ता सबै नेतृको आफ्नै छुट्टै राजनीतिक पहिचान छ, इतिहास छ । यिनीहरूले विवाह अगाडिदेखि नेपालको सबैखाले प्रजातान्त्रिक आन्दोलनमा योगदान दिएका छन् र भविष्यमा पनि सफल नेतृत्व दिन सक्ने आँट र सम्भावना दुवै देखाएका छन् । विवाहअगाडि प्रस्ट राजनीतिक इतिहास नदेखिए पनि विकास र महिला समानताकी पक्षधर नेतृ आरजु राणा देउवाले विवाहपश्चात नेपाली कांग्रेसमा छुट्टै राजनीतिक पहिचान कायम गरेकी छिन् । तर दुर्भाग्य, यी र यस्ता धेरै राजनीतिक इतिहास र सम्भावना बोकेका नेतृहरूलाई अहिले श्रीमान्सँग जोडेर होच्याउने काम भइरहेको छ । जुन इतिहास पटक्कै नपढ्ने वा पढेर पनि उपेक्षा गर्नेहरूको बदख्याइँ हो भन्न हिच्किचाउनु पर्दैन । 
यस्तो हचुवा टिप्पणी गर्नेहरूले बुझ्न जरुरी छ– माथि उल्लिखित प्रतिनिधि पात्रहरूले राजनीतिक यात्रा सुरु गर्दा अहिलेको जस्तो सहज परिस्थिति थिएन । प्रायः भूमिगत अवस्थामा रहनुपर्ने, राति हिँड्नुपर्ने र लुकेर राजनीतिक क्रियाकलाप गर्नुपर्ने अवस्थामा समेत पुरुषसरह नै डट्ने उनीहरूको योगदान कुनै पनि हालतमा कम आँक्न मिल्दैन । अझ राजनीतिक परिवेश बाहिर विवाह हुनै कठिन र विवाहसमेत भूमिगत अवस्थामै गर्नुपर्ने बाध्यता अर्कोतिर थियो । यसरी विचार र मन मिल्नेबीच भएको विवाह पनि अहिलेसम्म उनीहरू राजनीतिमा टिकिरहन सम्भव हुनुको एउटा महत्वपूर्ण कारण हो ।
हो, नेपाली राजनीतिमा पारिवारिक भागबन्डा हावी छ । राजनीतिक दलहरू यो मानसिकताबाट माथि उठ्नै पर्छ भन्नेमा शंकै छैन । सांगठनिक काँटछाँट, वैचारिक र मानसिक शुद्धीकरण र राजनीतिक संगठनभित्रको सुशासन सबै दलका वर्तमान आवश्यकता हुन् । पारिवारिक भागबन्डा र प्रधानमन्त्री, मन्त्री तथा सांसदका परिवारका सदस्यबाट कहिलेकाहीँ हुने गरेको हस्तक्षेप र प्रभावले देशलाई बेफाइदा नै गरेकामा पनि दुई मत छैन । तर त्यसो भयो भन्दैमा सबै नेतृलाई एउटै डब्बामा राखेर टिप्पणी गरिनु सह्य हुनै सक्दैन । पुरुषकै कारण महिला राजनीतिमा आएका वा महिलाले पद पाएको भन्ने टिप्पणीकर्ताले माथि उल्लिखित महिलाका इतिहासमात्र पढिदिने हो भने पनि त्यो भ्रमबाट मुक्त हुनेछन् ।  
परिवारभित्र को कसको भ¥याङ बने भन्ने विश्लेषण गर्ने हाम्रा विश्लेषकमा पनि पितृसत्तात्मक सोच हाबी देखिन्छ । उदाहरणका लागि एउटा पत्रिकाको टिप्पणी नै काफी छ– सभामुख ओमसरी घर्ती प्रभावशाली माओवादी नेता वर्षमान पुनकी श्रीमती हुनुले पारिवारिक नाताले भूमिका खेलेको देखिन्छ ।’ नेपालको संविधानसभाको सभामुख बनेर सफलपूर्वक आफ्नो कार्यकाल निर्वाह गरिसकेकी नेतृलाई आफ्नै दलको समानुपातिक उम्मेदवारको सूचीमा समावेश हुन पारिवारिक प्रभाव जरुरी पर्छ ? पारिवारिक प्रभाव नै चाहिने भए सभामुख भइसकेकी नेतृ घर्ती मगरले श्रीमान् वर्षमान पुनलाई उम्मेदवार बन्न मद्दत गरिन् पनि त भन्न सकिन्थ्यो नि ? 
कुरा को कसको भ¥याङ बने भन्दा पनि प्रत्यक्ष तथा समानुपातिकतर्फबाट उम्मेदवार बनेका वा देशको महŒवपूर्ण पदमा आसिन महिला पुरुष, श्रीमान् श्रीमती, जो भए पनि व्यक्तिगतरूपमा ती उम्मेदवारको राजनीतिक इतिहास के छ ? हालसम्मको कामको मूल्याङ्कन कसरी भएको छ ? तिनले यो देशको आर्थिक÷सामाजिक÷राजनीतिक परिवर्तनमा दिएको योगदान के छ र अब दिने सम्भावना के छ ? भनेर पूर्वाग्रहरहित विश्लेषण हुनु जरुरी छ । यस्तो विश्लेषण नगरी राजनीतिक खोज, अनुसन्धान र अनुभवबिना सस्तो लोकप्रियताका लागि गरिने महिला नेतृविरुद्धको अनावश्यक टीकाटिप्पणीले गर्दा देशले महिला नेतृहरूको परिपक्व राजनीतिक सुझबुझ र अनुभवको फाइदा लिन त सक्दैन नै, राजनीतिमा आउन चाहने युवा महिला नेतृहरूलाई पनि विवाह गर्नुअघि एकपटक  झस्काउँछ । यसो भयो भने हाम्रा राजनीतिक दल र सरकारलाई समावेशी बनाउने सपना कहाँ पूरा हुन्छ ? आफ्नो स्वतन्त्र र राजनीतिक पहिचान गुम्ने डरमा युवा महिला नेतृहरू पुरुष राजनीतिककर्मीसँग विवाह गर्न हिच्किचाउने दिन आयो भने महिलाका लागि राजनीतिक यात्रा अझै कष्टकर हुन सक्छ किनकि राजनीतिमा सक्रिय योगदान दिँदै पारिवारिक जीवन अगाडि बढाउनका लागि महिला वा पुरुष आफूमात्रै सक्षम भएर पुग्दैन, राजनीतिक चेतना, सुझबुझ र प्रतिबद्धता भएको नै श्रीमान् वा श्रीमतीको साथ हुनैपर्छ ।
प्रायः पुरुषहरूकै हालीमुहाली रहेको नेपाली राजनीति विश्लेषकहरूको जमातले अब नेतृहरूको स्वतन्त्र राजनीतिक पहिचान र राजनीतिक इतिहास बेवास्ता गर्दै श्रीमान्, दाजु, बाउ, छोरा आदिको प्रभावले राजनीति गरेको भनी उनीहरूको अपमान गर्ने परिपाटी सच्याउनैपर्छ । अनिमात्र राजनीतिक सहभागिताबाट यो देशको आर्थिक÷सामाजिक रूपान्तरण र सुशासनमा योगदान दिन सक्ने सम्भावना बोकेका विवाहित वा अविवाहित युवा महिला राजनीतिबाट विमुख हुँदैनन् । फेरि देशप्रति र जनताप्रति इमानदार, जुझारू राजनीतिक इतिहास बोकेका र भविष्यमा सफल नेतृत्व दिनसक्ने दुई राजनीतिकर्मी वैवाहिक सम्बन्ध गाँसेर पनि राजनीतिक यात्राको निरन्तरता दिन्छन् र राजनीतिक दल र जनताले दिएको जिम्मेवारी निर्वाह गर्छन् भने के गलत हुन्छ र ? प्रश्न यत्ति हो, उनीहरूले गर्ने निर्णय र क्रियाकलाप पारिवारिक प्रभावभन्दा माथि र सुशासनको प्रत्याभूति दिने हुनुपर्छ । बरु अब यो दिशामा नागरिक समाजको खबरदारी आवश्यक होला कि ?
पूर्वसदस्य, राष्ट्रिय योजना आयोग

प्रकाशित: २५ मंसिर २०७४ २३:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App