९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

हामी वीर तर बुद्धु छौँ !

‘हामी वीर छौँ  

तर बुद्धु छौँ

हामी बुद्धु छौँ

र त हामी वीर छौँ

हामी बुद्धु नभइकन वीर कहिल्यै हुन सकेनौँ ।’  

– हामी (भूपि शेरचन)

२०१७ सालको रूपरेखामा प्रकाशित भूपि शेरचनको ‘हामी’ कविताबाट उद्धृत कविताको एक अंश हो यो । सानै कक्षादेखि नेपाली विषयमा भूपिका कविताहरू पढ्दै आएको मलाई उनको कविता साह्रै मन पर्छ । वीर नेपालीका गर्विलो कथा सुनेर हुर्केका हामी नेपाली साँच्चिकै नेपाली पुर्खाको वीर गाथाबाट गौरवान्वित छौँ । यिनै कथा सुनेर मैले बुझेको वीरताको परिभाषा–पराक्रम, आत्मोत्सर्ग, प्राणको आहुति, देश र जनताका लागि बलिदान, देशको स्वाधीनता र सीमा रक्षाका लागि अन्तिम श्वाससम्म लड्ने वीर योद्धाको साहस । यस्तैयस्तै बुझ्छु म ।  

सामान्य मानिसका लागि आफ्नो प्राण सबभन्दा प्यारो हुन्छ । त्यसपछि मात्र आफ्नो सन्तान–परिवार । अनि देश । जो सबभन्दा चलाक र बुद्धिमान कहलिन्छ ऊ नितान्त व्यक्तिवादी हुन्छ, आफ्नो हित नै सर्वोपरि ठान्छ । जसले आफ्नो प्राणको मतलबै गर्दैन अवश्य ऊ त बुद्धु नै हुन्छ । त्यसैले भूपिको उल्लिखित कविताको अंशलाई म आत्मसात गर्न हिच्किचाउँदिन । वीर हुनलाई बुद्धु हुनैपर्छ जसले आफ्नो प्राणको पनि माया गर्दैन ।

१८७१–७२ सालमा नेपालको गोर्खाली सेना र इस्ट इन्डिया कम्पनीको ब्रिटिस सेनाबीच नेपाल अंग्रेज युद्ध भयो । त्यसबखत आजीवन नेपालका लागि युद्ध लडेका अनुभवी योद्धा बडाकाजी अमरसिंह थापाले अंग्रेज सेनाको शक्ति मापन गरी यो बेला युद्धमा होमिन नहुने सल्लाह दिएका थिए भन्ने इतिहासमा उल्लेख छ । तर तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले यसलाई मानेनन् ।

नेपाली वीरहरूले अंग्रेज सेनाविरुद्ध डटेर लडे, उनीहरूको प्रतिकार गरे । धेरै योद्धाले वीर गति प्राप्त गरे । आखिरमा नेपालले त्यो युद्ध हार्नुपर्यो । अंग्रेजसित तत्कालीन अवस्थामा भएको नवीनतम हातहतियार र युद्ध कौशलसामु नेपालले हार बेहोर्नुपर्यो । १८७२ सालमा सुगौली सन्धि भयो नेपालले विस्तार गरेको पश्चिमतिर महाकालीपारि सतलजसम्म र पूर्वमा मेचीपारिको भूभाग गुमाउनुपर्यो । शायद बडाकाजी अमरसिंह थापाको सल्लाह मानेर अंग्रेजहरूलाई चलाखीपूर्ण तरिकाले मनाउन सकेको भए त्यो हाम्रो भूमि गुम्ने थिएन कि ?

जब जंगबहादुर राणा प्रधानमन्त्री थिए सोही कालमा अंग्रेज शासित भारतमा स्वतन्त्रता संग्राम र सैनिक विद्रोह छिटपुट देखिन सुरुभयो । केही समयपछि आन्दोलनले उग्र रूप लियो । अंग्रेजहरूलाई त्यो आन्दोलन साम्य पार्न धौधौ प¥यो र जंगबहादुरसित सैनिक सहयोग मागे । त्यसैअनुरूप नेपालले उक्त भारतीय आन्दोलन दबाउन पूर्णरूपमा सैनिक सहयोग गर्यो। अन्ततः आन्दोलन निस्तेज भयो । नेपालको त्यो महत्वपूर्ण सहयोगको बदलामा अंग्रेजले खुसी भएर १९१४ सालमा नेपालले गुमाएको पश्चिम तराईका केही भूभाग फिर्ता दिए । 

हालका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नयाँ मुलुुकका रूपमा फिर्ता भयो । त्यसका अलावा राणाहरूले अंग्रेजहरूलाई खुसी राख्न शिकार खेलाउन आतिथ्य गर्ने, नेपाल भ्रमणमा डाक्ने कामहरू पनि समय–समयमा गरिरहेका इतिहासमा उल्लेख छ । राणाहरूको त्यो चातुर्य नेपालको राष्ट्रिय स्वाधीनताको रक्षा र कुशल परराष्ट्र सम्बन्धका लागि उल्लेखनीय चाल रहेको महसुस गर्न सकिन्छ ।  

२०५२ फागुन १ गतेदेखि नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले जनयुद्ध घोषणा गर्यो । शोषणरहित समाज सिर्जना गर्ने र सामन्तीहरू निमिट्यान्न पार्ने नाउँमा गाउँ सहरका जमिनदार र बिर्तावालहरूको जग्गामा झण्डा गाडेर कब्जा गर्ने अभियान चालियो । गाउँघरका जमिनदारहरू लखेटिए, बिस्थापित गराइए । उनीहरू आत्मरक्षाका लागि सुरक्षित स्थानका खोजीमा भौतारिँदै सहरहरूतिर भास्सिए । यो त एउटा पाटो मात्र थियो दशकको जनयुद्धको । बलियाले जे पनि गर्न सक्छ भन्ने कुराको ज्वलन्त उदाहरण थियो त्यो ।

हालसालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुञ्जीको भ्रमण गरे । त्यो भ्रमणले नेपालको राजनीतिकवृत्त तरंगित बन्यो । संसद्मा आवाज उठ्यो । मित्रराष्ट्र भारतका प्रधानमन्त्रीको नेपाल भ्रमणलाई किन बेवास्ता गरेको भन्ने असन्तुष्टि व्यक्त भयो । तर सरकारीतवरमा कुनै प्रतिक्रिया आएन । हामीले नेपाली भन्ने त्यस ठाउँका स्थानीयवासीहरूले प्रधानमन्त्री मोदीको भव्य स्वागत गरे । स्थानीय भेषभूषामा नाचगान प्रस्तुत गरे, प्रधानमन्त्री मोदीको जय÷जयकार भयो । भारतीय सैनिकको परेड प्रदर्शन भयो । त्यो स्थानमा भारतीय झण्डा गाडिएको पनि देखियो ।

इतिहासविज्ञ त्रिरत्न मानन्धरले एक टेलिभिजन अन्तर्वार्तामा भन्नुभएको कुरा सान्दर्भिक र गहन लाग्यो । उहाँले दुईवटा शब्द उल्लेख गर्नुभएको थियो उक्त कार्यक्रममा– अधीन र स्वामित्व । प्रधानमन्त्री मोदीले भ्रमण गरेको उक्त क्षेत्रको स्वामित्वको दाबी नेपालले गरिरहेको भए पनि त्यो क्षेत्र भारतको कब्जा वा अधीनमा छ भन्दै नेपालको यो सीमा विवाद समयमै निरूपण हुनुपर्ने कुरामा उहाँको जोड थियो । समयमै यसको निरूपण हुन नसके यो विवाद चिरकालसम्म रहने उहाँको भनाइ थियो । नेपाल जस्तो सानो मुलुकले शक्तिशाली मुलुकसित जोरी खोज्नुभन्दा चलाखीपूर्ण कूटनीतिबाट समस्या सुल्झाउनुपर्ने सुझाव दिँदैहुनुहुन्थ्यो उहाँ ।  

मलाई पनि सही लाग्यो उहाँको विचार । हामी जस्तो सानो र सीमित सामरिक क्षमता भएको मुलुकले राष्ट्रवादको नाउँमा अन्धाधुन्ध वीरताको नारा लगाउनु, जाइलाग्नु बुद्धिमत्ता नहुन सक्छ । सद्भावपूर्ण र सहयोगी कूटनीति र सुमधुर छिमेक सम्बन्ध अपरिहार्य हुन्छ हाम्रो जस्तो शान्तिप्रेमी मुलुक र जनताका लागि । आवेगमा आएर अथवा अभिव्यक्ति स्वतन्त्रताको नाउँमा जथाभावी फलाकी हिँड्नु बुद्धिमानी हुन सक्दैन । हारेर भएको भूमि पनि गुमाउने कि फकाइफुलाइ फिर्ता लिने ? यो महत्वपूर्ण प्रश्न हो । 

भीमसेन थापाको पालामा युद्धमा पराजय भोगेर गुमाउनुपरेको र जंगबहादुर राणाको पालामा थोरै भए पनि फर्काइएको भूमि आज हाम्रा लागि प्यारो भएको छ । चातुर्य कायरता होइन, बरु आफ्नो क्षमताले नभ्याउने कुरामा बलमिच्याइँ गर्नु मुर्खता हुन्छ । चतुराइपूर्वक र कूटनीतिक ढंग पु¥याएर चालिएको कदम पनि अन्ततोगत्वा उपलब्धिमूलक हुन सक्छ ।  

प्रकाशित: १७ कार्तिक २०८० ००:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App