१६ वैशाख २०८१ आइतबार
image/svg+xml
विचार

गाउँलेपन हराएको दसैँ

रेडियो मेलम्चीमा शिशिर योगीको ‘जोत्ने कोही छैन, बारी जोत्ने कोही छैन, चुलो चम्को मझेरी लौ, पोत्ने कोही छैन’ बोलको गीत घन्किरहेको थियो। छोरी टिभीमा आनन्दी टेली सिरियलमा व्यस्त। छोरा मोबाइलमा गेम खेल्दै। त्यो गीतले अरू कसैलाई नछोइ आँगनमा बाबियो छिरोल्दै गरेका बूढा बालाई छुन्छ। एकैछिन रोकिएर गीत सुन्छन्। उनलाई गाउँ सुनसान भएकोमाचिन्ता थियो। आजभोलि गाउँमा पिङ हाल्न बाबियो नउठाएकामा चिन्ता थियो। दसैँको रमझन सुरु हुनुपर्नेमा सन्नटा छाएकामा चिन्ता थियो। युवा विदेश। खेतीपाती बाझँै छ। त्यसैले सिंगो वातावरणले शिशिर योगीकै गीतलाई सत्य सावित गरिरहेको थियो।

बा भन्दै हुनुहुन्थ्यो–‘पहिला पिङ हाल्न घरघरमा बाबियो उठाउन आउँथे। सबै मिलेर लठारो बाट्थ्यौँ। अब त आफ्नै छोराछोरी पाहुनाझैँ आउँछन्। कसले हालोस् पिङ?’ कहीँकहीँ देखिने पिङ पनि जुटको हुने गरेको छ। त्यसैले बाबियो कसैले खोज्दैन अब।नघर रंग्याउनपाखोमा उकालो लाग्नेहरू देखिए न तरातोमाटो, कमेरो र कालीमाटी खोज्ने नै निस्किए।चिउरा कुट्न रातभर धान भिजाउने र मिर्मिरेमा चिसो बोरा बोकेर मिलतिर। लाग्नेहरू त दुर्लभ नै भए।

चाड सुरुभएसँगैआफू हिँड्ने बाटो आफैँ बनाउने चलन थियो।प्रत्येक घरको एक एक सदस्य अनिवार्य उपस्थित हुनुपर्थ्याे। तर अब यी सबै ‘विगत’ मा परिणत भए। सबै आफ्नै घरमा। न चाचाहुइको आवाज न त मासु र चिउराकै दम।

फूलपाती, अष्टमी र नवमीमा गाउँघरका दाजुभाइ, दिदीबहिनी मिलेर गाइने गीत, स्थानीय नाटक आदि पनि‘एकादेशका कथा’ भए।रोटेपिङ र लिंगेपिङको वरिपरि बसेर गाइने झ्याउरे गीत मात्र हैन, आमाले काखमा राखेर सुनाउने कथा पनि डाँडो काट्यो।

सहर तथा गाउँ बाहिर जानेहरू भेला हुने र गाउँको विकासबारे छलफल गर्ने अवसर हुन्थ्यो, दसैँ। तर आज फेसबुकबाट सरकारले यो गरेन, नेताले त्यो गरेन भन्ने गाली मात्र आउँछ। अहिले बाटो छ। विजुली छ। झन नयाँपन छ। त्यसैले जोसजाँगर हुनुपर्ने हो तर कुनै अहं..., कसैलाई केही जाँगर छैन। विजयादशमीको दिन परिवारमध्येको ज्येष्ठ नागरिक भएको घरमा सबैजना गएर आशीर्वाद थाप्ने चलन थियो। आधुनिकताले यो चलन पनि खाइदिएछ।

रेडियो, टिभीमा समाचार सुन्दा/हेर्दा सहर छाडी गाउँजानेको ताँती लागेको देखिन्छ। तर गाउँमा आए पनि त्यो ताँती कता लुक्छ, कुनै पत्तो छैन। गाउँ फर्के पनि मोबाइलमा झुण्डिरहेपछि, घरै नछाडेपछि, लुक्न आएजस्तो गरेपछि पत्तो लागोस् पनि कसरी?

अघिपछि त गाउँ खाली भयो भयो। तर चाडमा घरका सबै सदस्य, सहरमा भएका युवा गाउँमा पुग्दा पनि गाउँ खाली देखिनु विडम्बना नै भन्नुपर्छ।

धेरै वर्षपछि गाउँमै भेटिएका एकजना साथीलाई भनेको थिएँ–‘खै आजभोलि त भेटघाटै छैन त?’ उनले प्रत्युत्तरमा भनेका थिए–फेसबुकमा भेट भैहाल्छ नि !’शायद अहिले खुम्चिएको सामाजिकपनको यथार्थ हो उनको प्रत्युत्तर।

दसैँमा धेरैले अध्ययन गर्ने योजना बनाएका हुन्छन्। मैले पनि केही पुस्तक बोकेको थिएँ। तर यो दसैँको चार दिनमा मैले पुस्तक हैन, समाज अध्ययन गरेँ। कतिको घरमा पुग्दा आफ्ना मात्र परिवार थिए। कोही कोहीका बाहिरबाट आएका पाहुना या चेलीबेटी।

वल्लोघर पल्लोघरका व्यक्ति जम्मा भएर कुरा गर्ने, खाने कमै देखिए। पहिले भेटिने चौतारो जति‘रोड’ को अतिक्रमणमा परेछन्। गोरेटोबाटोको डोबसमेत मेटिएछ। खाट र सुकुलमा आरामले बस्ने हजुरबा/हजुरआमाहरू मुस्किलले कुर्सीमा ढाड अड्याइरहेका देखिन्थे, त्यो पनि प्लास्टिकको। हजुरबा/हजुरआमाले हो हामीलाई हुर्काएको। बाबुआमा त काममा जानुपथ्र्यो। तर अहिले न बूढाबूढीसँग बालबच्चा छन् न त छोरा÷बुहारी नै। सबै आआफ्नै तालमा। कसैलाई अरूसँग बोल्ने फुर्सद छैन। त्यसैले दसैँमा पनि एक्लो छ गाउँघर। शून्य छन् बस्तीहरू।

एक दशकअघिसम्म गाउँघरमा वल्लो गाउँ, पल्लो गाउँ, माथ्लो गाउँ र तल्लो गाउँका बस्ती बाक्लो थियो। सबै घरमा मानिस टन्न हुन्थे। निकै रमाइलो थियो। चाडपर्वमा छुट्टै रौनक र उल्लासमय वातावरण हुने गर्थ्याे।

साथीभाइको ठूलो जमघट हुने गथ्र्यो। दसैँको समयमा नाचगान, नाटक र लिंगे पिङसहितका मेला÷महोत्सवमा धेरै मानिसको उपस्थिति हुन्थ्यो। त्यसैले पनि यस्ता चाडको प्रतीक्षा निकै कष्टकर हुन्थ्यो।

कुनै यस्तो चाडपर्व थिएन, जहाँ हर्ष उमंग नहोस्। गाउँमा मेलापात गर्दा होस् वा गाईबाख्रा चराउन वन जंगलमा जाँदा चुत्रो, ऐँसेलु, काफल टिपेर खाँदाका पल कति रमाइला थिए। वर्षायाममा होस् वा हिउँदमा जुनसुकै समयमा पनि गाउँघरमा छुट्टै उल्लास हुने गथ्र्याे तर आजभोलि ती सबै कुरा इतिहास बनिसकेछन्। सबैले गाउँ बिर्सिए। त्यो बेलाको रमझम र गाउँलेपन सबै हराएछ। यस्तो पाराले थाहा छैन, हामी संस्कृति र संस्कारको संरक्षण गर्दैछौँ वा विनाश?

प्रकाशित: १२ कार्तिक २०८० ००:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App