७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

‘जीवन्त संग्रहालय’को संरक्षण

आधुनिक समाजमा संग्रहालय विकास र यसको व्यापकताको अवधारणामा उदार नीति बन्दैै गएको देखिन्छ । हाम्रा पुर्खाले प्रयोगमा ल्याएका अवयवहरूका साथै मानव जीवनका इतिहासका कैयौँ पाटाहरूलाई संग्रहालयमा समाहित गर्न र सकिने ती अवयवहरूका भिन्नताका आधारमा संग्रहालयको प्रकार र आकारमा विविधता हुन्छ । यिनै विविधतामा ‘लिभिङ÷ओपन म्युजियम’को अवधारणा पनि नयाँ र आधुनिक संग्रहालयको विविधतामा समाहित भई विकास हुन थालेको छ ।

विगतका विषयवस्तु र घटनाक्रमलाई मात्र संग्रहालयमा राखिने विषयवस्तु नबनाई अहिलेको समयमा भएका जिउँदो धरोहरसँग सम्बन्धित कला, कृति, भाषा, संस्कृतिहरूकोे व्यवस्थित संग्रह पनि जीवन्त संग्रहालयको विषयमा राख्न सकिन्छ । जीवित धरोहरहरूका विषयवस्तु यसै अवधारणामा विकास गर्दै जरुरी छ । ऐतिहासिक, पुरातात्विक महत्वका संग्रहहरूले संग्रहालयको निर्जीव स्वरूपलाई एउटा संरचनामा समाहित गर्न सक्छ भने जीवन संग्रहालयले त्यसलाई सजीव बनाउन मद्दत गर्न सक्छ ।  यस अवधारणामा दिवंगत भइसकेका हाम्रा पुर्खाहरूको मात्र नभई जीवित रहेका हाम्रा धरोहरहरूको पनि संरक्षण संवद्र्धन हुन सक्ने कुरामा दुईमत रहन नसकिएला । जसले गर्दा मृत्युपछि मात्र गरिने सम्मान र गुणगान गाउने संस्कारको अन्त भई जीवन छँदै राज्यले केही गर्नुपर्छ भन्ने संस्कारको विकास हुन सक्छ ।
कुनै पनि देशको सौन्दर्य त्यस देशको सुन्दर भौगोलिक स्थितिले सिर्जना गरेको हुन्छ भने देशको राजनैतिक परिस्थिति र त्यस परिस्थितिले उब्जाएको व्यवस्थाले पनि निर्धारण गरेको हुन्छ । यति भनिरहँदा हाम्रो देशको अवस्था कहाँसम्म पुगेको छ र प्राकृतिक सौन्दर्यले छताछूल्ल भौगोलिक वातावरणलाई कहाँसम्म सम्मान गर्न सकेको छ भन्ने कुराको ज्ञान सर्वविदित नै छ । संस्कृति, कला, भाषा, साहित्य देशको अमूल्य शृंगारिक पाटा हुन् र यस क्षेत्रमा आफ्नो अमूल्य योगदान दिने व्यक्तित्वहरू देशको अमूल्य धरोहर हुन् भन्ने कुरामा सहमति जनाउन सभा सम्मेलनमा तालीको गडगडाहतले प्रस्ट्याउने गरेको भए पनि हाम्रा धरोहरहरूप्रतिको राज्यको दायित्वको निर्वाहको स्थितिको अवस्थाबारे हामी कोही पनि अनभिज्ञ छैनौँ । यी धरोहरहरूले गर्दा देशको नाम संसारभर फैलेर देशको इज्जत बढाउने सिँढीको खुड्किलो थपिए पनि यी सबै कुरा भन्न, सुन्न र लेख्नमा सबैले सहज महसुस गर्छन् तर यी हाम्रा धरोहरको संरक्षण संवद्र्धनको स्थिति हाम्रो देशमा कस्तो छ भन्ने विषयका व्यावहारिक पक्षको अँध्यारो पाटोबारे कोही अबुझ पनि छैनौँ ।
   
मृत्युपछिको सम्झनामा उहाँहरूको नाममा प्रतिष्ठानहरू खोलिनु, कोषहरू खडा गर्नु, सम्मानमा कार्यक्रमहरू गर्नुले मात्र राज्य र समाजको दायित्व पूरा हुन सक्दैन । उहाँहरूलाई विभिन्न सम्मानजनक उपाधिहरू र जीवनपछिको सम्झनाका क्रियाकलापले मात्र उहाँहरूप्रति गरिने दायित्व पूरा हुन सक्दैन । जीवनको उत्तराद्र्धमा पुगेपछि जीवन्त धरोहरहरूलाई पैसाको साथसाथै मानवीय सेवाका हातहरूको पनि आवश्यकता पर्छ । समयमा खानपिनको, उचित सरसफाइ, समय समयमा गर्नुपर्ने स्वास्थ्य परीक्षण, कहीँकतै जानका लागि यातायातको व्यवस्था, कार्यक्रमहरूमा जानका लागि सवारी साधनको उचित प्रबन्धका साथसाथै आवश्यक अन्य सुविधा पनि खाँचो पर्छ । यस विषयमा राज्यले गम्भीर भई सोच्नुपर्ने समय भइसकेको हो ।
                                              

प्रकाशित: ५ मंसिर २०७४ ०४:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App