कस्टमर इज अलवेज राइट, यो उत्तरआधुनिकतावादी पुँँजीवादी समाजमा पछिल्लो समय स्थापित सर्वमान्य धारणा हो । कस्टमर वा ग्राहक तथा सेवाग्राही नै जहिले पनि सर्वेसर्वा हुन्छ भन्ने मान्यता वर्तमान समयको व्यावसायिक मन्त्र हो । कस्टमर भनेको वस्तु वा सेवा खरिद गर्ने व्यक्ति हो जो खरिदकर्ता व्यापारी वा उपभोक्ता पनि हुन सक्छ । सेवाग्राहीले पैसा तिर्ने भएकाले उसलाई सर्वेसर्वा ठानिएको हो।
हरेक कस्टमर व्यापारीहरूका लागि समान स्तरको हुँदैन । उसको स्तर उसले खर्च गर्ने पैसामा आधारित हुन्छ अर्थात् जसले बढी पैसा खर्च गर्छ उसैको स्तर माथि हुन्छ । बढी खर्च गर्ने कस्टमरले व्यापारीबाट बढी सेवा र सुविधा पनि पाइरहेको हुन्छ । यस आधारमा व्यापारीहरूले ग्राहकको सेवा नगरेर उसले खर्च गर्ने पैसाको सेवा गरिरहेको देखिन्छ । यस अवस्थामा बढी खर्च गर्ने कस्टमरमात्र अलवेज राइट हुन्छ।
समयले अहिलेको मान्छेलाई कस्टमरमा परिणत गरिदिएको छ । अहिले मान्छे हरेक क्षण र स्थानमा कस्टमर बन्न बाध्य छ । उसको बिहानदेखि बेलुकासम्मको दैनिकी कस्टमरकै रूपमा बितिरहेको हुन्छ । बिहान उठेर चियाका निम्ति दूध पसल वा चिया पसलमा ग्राहक बनेर सुरु भएको दैनिकी साइकलमा पत्रिका बोकेर घरमै पु¥याउन आएको व्यक्तिले पनि ग्राहककै रूपमा पत्रिका दिएर जान्छ । नियमित ग्राहकका रूपमा तरकारीमा दुई रुपैयाँ छुट पाएर दंग परी खाना खाएर अफिस जान माइक्रोमा चढ्दा निरीह ग्राहक भई कोचिएर बस्नुपर्छ । अफिस पुग्न दश मिनेट मात्र ढिलो भए सित्तैमा खाने ग्राहकलाई जस्तै हाकिमले व्यवहार गर्दछ । दिनभर अफिसमा बस्दा महसुस हुन्छ – यहाँ पनि धेरै खर्च गर्ने ग्राहकले धेरै सुविधा पाएजस्तै धेरै काम गर्नसक्ने कर्मचारीले नै बढी सुविधा पाउँछ । भलै त्यो ‘धेरै काम’को अर्थ सान्दर्भिक रूपमा धेरै नै हुनसक्छ । दिउँसो खाजा खान चमेनामा ग्राहक नै बन्नुपर्छ भने बेलुकाको रसपानमा पनि ग्राहककै भूमिका निभाउनुपर्छ । ट्याक्सी चढेर अबेर घर जाँदा राम्रै खर्च पाए ट्याक्सीवाला पनि घरमाथिसम्म नै सेवा गर्न तत्पर हुन्छ। घरभित्र परिवारलाई खर्चपानी, सेवासुविधा कति प्रदान गर्न सकिएको छ सोही अनुपातमा स्वागत पनि पाइन्छ । उसले खर्च गर्न सक्ने (आर्थिक, भौतिक, बौद्धिक) क्षमताका आधारमा सेवा प्राप्त गरिरहेको देखिन्छ । यसरी आजको मान्छे घरदेखि अफिससम्म, बाटोदेखि पसलसम्म जताततै कस्टमर वा ग्राहक बन्न बाध्य रहेको देखिन्छ।
व्यापक दृष्टिले नजर घुमाउने हो भने घरपरिवार, छरछिमेक, आफ्नोआफन्तमा पनि यस्तै प्रकारको कस्टमर कल्चर नै रहेको देखिन्छ । धेरै माया, धेरै खर्च र धेरै हेरचाह गर्ने बाआमा, छोराछारी वा प्रेमिपे्रमिका नै बढी प्यारो भएको हुन्छ । मीठामीठा धेरै कोशेली ल्याउने र खर्च पनि दिने मामा नै भान्जाभान्जीको प्यारो हुन्छ । आफ्नो लागि समय खर्च गर्न सक्ने र अन्य सहयोग गर्न सक्ने छिमेकी नै प्यारो हुन्छ।
सभ्यताको विकासमा सफलताको शिखरतर्फ उन्मुख रहेको अनुभूतिमा रमाउने मान्छेले आफ्नै अस्तित्व गुमाइरहेको छ । उसको जीवन हरेक स्थान र हरेक पलमा ग्राहक बनेर बितिरहेको छ । जीवनका हरेक पक्षहरूमा व्यापारको भेष घुसेको देखिन्छ । छोरो–छोरी जन्मिएकोमा खुसी र दुःखी हुनु पनि व्यापारिक दृष्टि नै रहेको देखिन्छ । त्यसमा पनि फाइदा र बेफाइदाको लेखाजोखा गरिन्छ । वृद्ध बाबुआमा पाल्ने छोराले जिउनी सम्पत्ती राख्न पाउने कानुनमा पनि व्यापारिकपन नै देखिन्छ, ‘सेवा गरेबापतको मेवा’ । तसर्थ जीवनरुपी व्यापारमा मान्छे केवल कस्टमर मात्र भएको देखिन्छ र वर्तमान नेपाली समाजको यथार्थ पनि यसभन्दा पृथक् रहेको देखिँदैन।
प्रकाशित: ३ मंसिर २०७४ ०४:४३ आइतबार