७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

कांग्रेसमा यस्ता पनि महामन्त्री

मोही माग्ने ढुुंग्रो लुकाउने!

एशियाली खेलकुदको क्रिकेट प्रतिस्पर्धामा नेपालले भारतसँग हारे पनि हाम्रा खेलाडीले दमदार अंक बटुलेर खेल मैदानमा धेरै समय भारतीयको ओठमुख सुकाए। खेलले पल्टा खाने दबाब सिर्जना गरिरहे तर आन्तरिक राजनीतिका बहुचर्चित नेता गगन थापाले ठूलो ‘गुलछर्रा’ हाने पनि पार्टीभित्रका प्रतिस्पर्धीहरूले कान ठड्याएकोसम्म पनि देखिएन। कांग्रेस नेतृत्वको प्रतिस्पर्धी दाबा गरे पनि हरेक पटक सत्तापक्षको किनाराको साक्षी बन्न बाध्य भइरहे। गगन बिरासत नै उनको वैरी हो, उनका प्रतिस्पर्धी हाकाहाकी भन्छन्।

कांग्रेसी मञ्चमा गगनको भर्खरैको ‘छक्का’ प्रहारलाई भारतीयले भन्ने गरेको ‘अर्को’ छक्का भनेर गगनका प्रतिस्पर्धीले पेच हानिहाले। एकले त मुखै फोरेर भने, ‘गगनकुमार थापा भनेको सधैँ चर्चामा आउन जान्ने ‘पपुलिस्ट’ पोको मात्र हो। विषयलाई सहजसँग बुझ्न चाहनुहुन्छ भने ऊ कांग्रेसको बन्दागोभी मात्रै हो, जति पत्र खोले पनि ऊ पात नै रहिरहनेछ, गुदी भेटिँदैन।

गगन उत्तर फर्किएको घरलाई दक्षिण दिशातर्फ फर्काउनुपर्छ भनेर सधैँ चलाखीपूर्ण कुरा गर्छ। लाग्छ, अब सोलुखुम्बुको काजीले घरलाई पारिलो हुने गरी फर्काइदिनेछ! तर सत्य के हो भने उत्तर फर्काएर बनाइसकिएको घरलाई दक्षिणतर्फ फर्काउन सकिँदैन। घर निर्माण गर्नुअघि दक्षिण मोहडाको घर बनाउनु सहज कुरा हो, बनिसकेको घरलाई घुमाउन सकिँदैन। यो कुरा थापाकाजीलाई थाहा नभएको होइन तर पनि उनी थाहा नपाएझैँ गरिरहन माहिर छन्। हरेक निर्णयको विरोध गरेको देखाएर आफूतर्फ ध्यानाकर्षण गर्नु उनको अहिलेसम्मको विशेषता हो तर उनको दहिच्युरे हेराफेरि व्यवहार आफैँले विरोध गरेको निर्णयमा हस्ताक्षर गरेर सधैँ लत्रनुमा गएर टुंगिन्छ।

गगनको विस्फोट!

गगनले यतिबेला एकैपटक दुईवटा बम विस्फोट गरेका छन्। पहिलो कांग्रेसीहरूले सरकारबाट हटेर वामपन्थीहरूलाई एकलौटी सरकार चलाउन दिने शक्तिशाली बम कांग्रेसवृत्तमा र, दोस्रो वामकित्तामा कांग्रेसको एकलौटी सरकार बनाउन सहयोग लिने अर्को सशक्त गोला विस्फोट।

आइतबार उनले कांग्रेस र वाम राजनीतिको केन्द्रमा प्रहार गरेका दुई गोला यिनै हुन्। तर अचम्म के भने उनले हानेको पछिल्लो छक्काले कांग्रेस वृत्तमा चौकाको त कुरै नगरौँ, एक÷दुई रन जति पनि लहर ल्याउन सकेन। तर वाम बुद्धिजीवी कित्तामा भने गगनको प्रहारलाई ‘विस्फोटक ब्याटिङ’ झैँ नयाँ हलचलका रूपमा प्रस्तुत गरिँदै छ।

भाइरल दौड

गगनको विचार युट्युबमा भाइरल भएपछि वामपन्थी बुद्धिजीवीहरूको पहिलो प्रतिक्रिया थियो, गगनले वाम र प्रजातान्त्रिक धारबीचको धु्रवीकरणलाई ठीक समयमा उठाएका छन्। यो के कारणले पनि सही हो भने वामपन्थीहरू जनपक्षीय, गरिब विपन्न र पिछडिएको वर्ग उत्थानमा दत्तचित्त हुनैपर्छ। उनीहरू साँच्चिकै श्रमजीवीको पक्षमा प्रगतिशील सुधार चाहन्छन्। त्यसैले गगनले भने जस्तै आ-आफ्नो ठाउँमा बसेर अगाडि बढ्ने वाम रणनीति र कार्यनीति हुनुपर्छ।

सत्ताको अवसर ढुकिरहने र जोसुकैसँग जेसुकै कुरामा पनि गठजोड गर्ने जमात वामपन्थीहरू हुँदैनन्, हुनुहुँदैन र हुन सक्दैनन् ! त्यसैले नेपालका वामपन्थी एकठाउँमा आउनुपर्छ। होइन सक्दैनन् भने वामपन्थी र उग्रपन्थी धारबीच पनि छुट्टाछुट्टै ध्रुवीकरण हुनुपर्छ।

हरेक निर्णयको विरोध गरेको देखाएर आफूतर्फ ध्यानाकर्षण गर्नु उनको अहिलेसम्मको विशेषता हो तर उनको ‘दहिच्युरे’ हेराफेरि व्यवहार आफैँले विरोध गरेको निर्णयमा हस्ताक्षर गरेर सधैँ लत्रनुमा गएर टुंगिन्छ।

त्यस्तै प्रजातन्त्र-लोकतन्त्रवादी भन्नेहरूले पनि आफूलाई एक ध्रुवमा उभ्याउन सके मात्र तिनको अस्तित्व रहने छ, होइन भने इतिहासको कसिंगरमा यिनको अस्तु विसर्जन हुन पुग्नेछ। सत्ताको लालचमा अहिले जसरी उनीहरू पृथकतावादी होस् कि जातिवादी, अलोकतान्त्रिक र हत्या-हिंसाको सोचतर्फ आकर्षित देखिन्छन् त्यसैले यिनलाई नामेट पार्नेछ। अवसरवादी सत्ता समीकरणले विकृति र विसंगतिको खाडलमा यिनीहरू झन् जाकिने छन्। त्यसपछि यिनको नामोनिसान रहने छैन।

गएको आम र उपनिर्वाचनले यिनलाई चेतावनी दिइसकेको छ। नितान्त पृथक् कांग्रेस र माओवादीले एकअर्कालाई जसरी भोट हाले, त्यसले कसको कुन निर्वाचन चिह्न हो भुलाइसकेको छ। मतदातालाई कसले कुन दर्शन र राजनीतिलाई मान्ने गर्छ पत्तो लाग्न छोडेको र मनमा भ्रम उत्पन्न हुन थालिसकेको छ। एमालेले कमल थापालाई सूर्य चिह्नमा उम्मेदवार बनाएपछि युवा मतदातामा अन्योल र पुराना वामपन्थीमा निराशा एकैपटक देखिइसकेको छ। यी र यस्ता अनगिन्ति विकृति र विसंगतिका जरा झन्झन् फैलिइरहेछन्।

ध्रुवीकरणको प्रस्ताव

गगन थापाले यिनै कुराबाट निरास बनेर धु्रवीकरणको प्रस्ताव गरेका हुनसक्छ। तर उनले व्यक्त गरे जस्तो ध्रुवीकरणप्रति उनी आफैँ कति इमान्दार रहन सक्लान्? उनीमाथि नै प्रश्न उब्जिएको छ। आफैले उठाएका कुराप्रति उनी प्रतिबद्ध रहलान्? रहे भने राष्ट्रिय स्वतन्त्र पार्टी मात्र होइन, राप्रपा र मधेसी पार्टीहरूले पनि आफ्नो कित्ता स्पष्ट पार्नुपर्नेछ। आआफ्ना अजेन्डामा प्रतिबद्ध रहनुपर्ने बाध्यता सिर्जना हुनसक्छ। को कतापट्टि? को–कोसँग नजिक हुने हो, उनीहरूले आफूलाई अन्योलमा मात्र होइन, ठूला दललाई पनि भ्रममा अल्मल्याइरहने दिनको अन्त्य हुनेछ।

कांग्रेसले पनि गगनले भने जस्तै आफ्नो नीति कार्यक्रम र सिद्धान्तअनुसार एक्लै सरकार चलाउन लाग्ने हो भने क–कसलाई सहकर्मी देख्नेछ, त्यो पनि प्रष्टसँग सार्वजनिक गर्नुपर्छ। अहिले जस्तो राष्ट्रियता, प्रजातन्त्र र समाजवादी घोषणापत्र भन्ने र माओवादीसँग मिलेर सरकार चलाउने नाटकको पनि अन्त्य हुनेछ।

कांग्रेसको महामन्त्रीका रूपमा गगनले गनगन मात्र होइन, आफैँले पनि आफ्नो वैचारिक धारणा स्पष्टसँग प्रस्तुत गर्नुपर्नेछ। गगनले एमाले कि माओवादी आफूसँग नजीक हो भन्नुपर्नेछ। वामपन्थीलाई कांग्रेसले कुन नीति, कार्यक्रम र उद्देश्यका लागि काखी च्याप्ने? त्यसैगरी वामपन्थीहरूले पनि कुन नीति, कार्यक्रम र योजना पूरा गर्न कांग्रेसको सहारा खोजेको हो प्रष्टसँग भन्नुपर्नेछ। केपी ओली, प्रचण्ड, वामदेव गौतम, झलनाथ खनालहरूले पनि सधैँ ‘ताक परे तिवारी नत्र गोतामे’ बनेर चल्ने देखिँदैन।

एमाले अध्यक्ष ओलीले कांग्रेस–माओवादी गठबन्धन ठीक होइन भन्ने बुझेर फुटाएका थिए भने प्रचण्डलाई किन दुई घण्टाको खेलकुदमा प्रधानमन्त्री बनाएका हुन्? ओलीले प्रचण्डलाई त्यसरी प्रधानमन्त्री नबनाएको भए देश र जनताले यति दुःख पाउने थिएनन् कि ! कांग्रेसका देउवाले पनि प्रचण्डलाई टाउकोमा चढाएर एमाले–माओवादी एकतालाई नभत्काएको भए पनि कांग्रेसले यति बदनामी र दिग्भ्रमित हुनुपर्ने थिएन! देश पनि असफल राष्ट्रको डिलमा पुग्ने थिएन।

कांग्रेस महामन्त्री गगनले पनि दिक्दार बनेर भनेका हुनसक्छन्, कांग्रेस–माओवादी गठबन्धन सरकार अप्राकृतिक हो र यसबाट कांग्रेसका मन्त्रीले राजीनामा दिएर हट्नुपर्छ।

यसो भन्नुको अर्थ असैद्धान्तिक गठबन्धन हुँदैन भन्नु नै हो। भिन्न मूल्य/मान्यता, सिद्धान्तबिहीन, अराजनीतिक, गैरजिम्मेवार र सत्तालोलुपहरू बीचको धु्रवीकरणमा कांग्रेस किन चुर्लुम्म भएर डुबेको हो? माओवादी किन सती गएको होला? गगन स्वयम्ले पनि यसको जवाफ दिनुपर्छ। दोष र गल्ती जति अरूमाथि थोपरेर गगन चोखिन मिल्दैन किनभने उनी पार्टीका जिम्मेवार महामन्त्री हुन्। गगनले ढिलै भए पनि यो सत्यतथ्य ‘रियलाइजेसन’ गरेका हुन् भने पार्टीभित्रको ठूलो वृत्तले असहयोग गरे पनि पवित्र काम सुरु गर्न उनले ढिला गर्नु हुँदैन। ‘पपुलारिटी’कै लागि ट्याँउट्याउँ दोहो¥याएका हुन् भने उनलाई इतिहासले भन्नेछ– कांग्रेसमा यस्ता पनि महामन्त्री रहेछन्!

प्रकाशित: १७ आश्विन २०८० ००:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App