८ मंसिर २०८१ शनिबार
image/svg+xml
विचार

बौद्धिक बेइमान र देशको नियति

कनकमणिलाई खराब पात्रका रूपमा चित्रित गर्दै जसरी उनको संलग्नता नै नभएको सामाजिक आन्दोलनलाई बदनाम गर्ने चेष्टा डा. सुभाष जस्ताले गरेका छन्, त्यसबारे छलफल जरुरी छ । उनको यो नियोजित लेख हो ।  
असोज ९ गते हामी केही अभियन्ता सरकारले पास गर्न आँटेको चिकित्सा शिक्षा ऐनको विरोध गर्न संसद् भवन बानेश्वरको मूल ढोकाअगाडि जम्मा भयौँ । निषेधित क्षेत्रमा विरोध गर्ने भएकाले यो कार्यक्रमलाई गोप्य राखियो । केही सञ्चारमाध्यमका साथीलाई खबर गरेर झण्डै १ घन्टाको अन्तरालमा हामी १५ जना डा. गोविन्द केसीका समर्थक अभियन्ता बिहान ९ः३० मा बानेश्वर पुग्दा संसद् चलिसकेको थियो । सुरक्षाकर्मीले थाहा नपाउने गरी २,३ जनाको समूह बनाएर हामी मूल ढोकाअगाडि पुग्यौँ । हामी सबैले गोजीबाट नाराहरू लेखिएको कागजको टोपी टाउकोमा लगायौँ र व्यवसायीको हितलाई ध्यानमा राखेर पारित गर्न आँटेको चिकित्सा शिक्षा ऐनविरुद्ध मूल ढोकामा बसेर नाराबाजी गर्न थाल्यौँ ।
मूल ढोकाभित्र रहेका सुरक्षाकर्मी अलमल परे । उनीहरूलाई थप सुरक्षाकर्मी बोलाएर बाहिर आउन १५ मिनेट जति लाग्यो । हाम्रा नाराप्रति सुरक्षाकर्मी संवेदनशील देखिन्थे । डा. केसीले उठाएका माग हामीजस्तै श्रमजीवी राष्ट्रसेवक तथा हाम्रा सन्ततिको उज्ज्वल स्वास्थ्य र शैक्षिक भविष्यका लागि हो भन्ने कुरामा ती तल्लो तहका सुरक्षाकर्मी जानकार देखेर खुसी लाग्यो । हाम्रो बीचमा झण्डै आधी घण्टा ठेलमठेल चल्यो । त्यो सुरक्षाकर्मीको मजबुरी थियो । स्थिति अलि उत्तेजित बन्न लागेपछि हामी ११ जनाले गिरफ्तारी दियौँ । गिरफ्तारी दिनेमध्ये ४ जना ‘अकुपाइ बालुवाटार’ आन्दोलनका अभियन्ता पनि थियौँ ।

समानुपातिक सिट किनेर संसद् प्रवेश गरेका माफिया सांसदहरू र समानुपातिक सिट खरिद–बिक्रीमा राखेर माफियाका नायक बनेका शीर्ष नेतृत्व र उनका आसेपासेले हामी नागरिकलाई हरेक दिन तल्लो दर्जाका रैती जस्तै जिस्काइरहेका छन् ।


‘बौद्धिक मण्डले’ प्रवृत्तिको पुनरागमन
असोज १० गते बिहान कफीसँगै नागरिक र कान्तिपुर पत्रिका उठाएँ । कान्तिपुरको प्रथम पृष्ठमा संसद् भवनको मुल गेटमा हामीले विरोध गरेको तस्बिर छापिएको रहेछ । निषेधित क्षेत्रमा विरोध गरिएको त्यो तस्बिर सांकेतिकरूपमा बलियो थियो । हामी सांसदलाई एउटै सन्देश दिन पुगेका थियौँ– ‘यो देशका सार्वभौम हामी नागरिक हौँ । तिमीहरू हाम्रा प्रतिनिधि हौ । तिमीहरूलाई आर्थिक वा नीतिगत भ्रष्टाचार गरेर देश लुट्ने अधिकार छैन ।’ कान्तिपुरको प्रथम पृष्ठमा देखिने आधा अनुहार ‘अकुपाइ बालुवाटार’ कै सक्रिय अभियन्ता थिए ।
फेरि नागरिक पत्रिका उठाएँ । पत्रिकामा सदाझैँ अटुट प्रतिबद्धताका साथ डा. गोविन्द केसीको बाह्रौँ अनशन प्रमुख समाचार थियो । कान्तिपुर र नागरिकको मुख्य खबर पढिसकेपछि रिस उठ्यो । समानुपातिक सिट किनेर संसद् प्रवेश गरेका माफिया सांसदहरू र समानुपातिक सिट खरिद–बिक्रीमा राखेर माफियाका नायक बनेका शीर्ष नेतृत्व र उनका आसेपासेले हामी नागरिकलाई हरेक दिन तल्लो दर्जाका रैती जस्तै जिस्काइरहेका छन् ।
नागरिकको विचार पेजमा पुगेपछि डा. सुभाष पोखरेलको लेखमा आँखा अडियो । उनले डा. केसीको नेतृत्वमा भ्रष्टाचार विरोधी अभियान चाहियो भनेर लेखेका रहेछन् । डा. केसीको समर्थक अभियन्ता भएकाले उनको लेख पढेँ । उनले ‘अकुपाइ बालुवाटार’ को प्रसंग उठाएको देखेपछि ध्यान अझै केन्द्रित भयो । उनले अकुपाइ बालुवाटार एउटा खराब व्यक्तिले नेतृत्व गरेको आन्दोलन र त्यो आन्दोलनको नेतृत्वकर्ता कनकमणि दीक्षित भनेर चित्रित गरेका रहेछन् । उनको आशय, अबको आन्दोलन अकुपाइ बालुवाटार जस्तो नैतिक चरित्र नभएको मान्छेले गर्नुहँुदैन भन्ने रहेछ । एउटा व्यक्ति र सामाजिक आन्दोलनलाई बदनाम गर्ने नियोजित षड्यन्त्रका साथ डाक्टरको आवरणमा लेखिएको शतप्रतिशत झुट लेखलाई सम्पादकमण्डलले प्रकाशनपूर्व भेरिफाइ गर्न नसकेको देख्दा दुःख पनि लागेर आयो ।
उनको लेख पढिसकेपछि म एकछिन अवाक बनेँ । उनले अकुपाइ बालुवाटारमाथि यस्तो आधिकारिकतासाथ लेखेका रहेछन्, शायद उनको पिएचडी यही सामाजिक आन्दोलनमाथि थियो । अकुपाइ बालुवाटारको हरेक दिन बिहान ९ देखि १० बजेसम्म १०८ दिन लगातार सडकमा उभिनेमध्ये म पनि एक थिएँ । त्यसपछि, म पढाइको सिलसिलामा बेलायत गएँ र पछि आन्दोलन पनि विस्तारै सेलायो । यो आन्दोलनमा कनकमणि दीक्षितको कुनै संलग्नता छैन । त्यो आन्दोलनभरि उनी १ वा २ पटक देखापरेको मलाई याद छ । अकुपाइ बालुवाटार आन्दोलनका लागि हामीले कुनै पनि विदेशी संघ÷संस्थासँग १ रुपियाँ पनि लिएका थिएनौँ ।
जसरी कनकमणि दीक्षितलाई नेपाली समाजको एउटा खराब पात्र र उनको केही लिनु÷दिनु नभएको नेपालको सबैभन्दा लामो महिला हिंसा विरोधी आन्दोलनलाई उनीसँग जोडेर बदनामको दुष्प्रयास गर्ने लालसा डा. सुभाषमा देखियो, त्यो बौद्धिक मण्डले प्रवृत्ति हो । उनलाई हेक्का होस्, डा. गोविन्द केसीको आन्दोलनले जुन उचाइ लिँदैछ, त्यसमा अकुपाइ बालुवाटारका धेरै अभियन्ताले अग्रभागमा उभिएर निरन्तर दिएका साथ र समर्थन पनि जोडिएको छ । उनका यस्ता अप्रमाणिक लेखले भ्रष्टाचारले आक्रान्त नेपाली समाजलाई वैचारिकरूपमा पनि अझै भ्रष्ट र विचलितमात्र बनाउँछ ।  
अकुपाइ बालुवाटारका पात्र
अकुपाइ बालुवाटार आन्दोलनले नेपालमा महिला हिंसा र दण्डहीनताविरुद्ध अवाज उठाउने एउटा नयाँ पुस्ता निर्माण ग¥यो । अकुपाइ बालुवाटारका अभियन्ता आजको दिनमा पनि लोकतान्त्रिक मूल्य÷मान्यता स्थापित गर्न सरकारी, गैरसरकारी अनि व्यक्तिगततवरमा कार्यरत छन् । अकुपाइ बालुवाटारमा निरन्तर देखिएर वा नदेखिएरै साथ दिने अनुहार (जस्तै– मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारी, सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल, संक्रमणकालीन न्याय अभियन्ता मन्दिरा शर्मा, पत्रकार देवान राई, अर्पण श्रेष्ठ, अभियन्ता इशान, पुकार बम, प्रनिका कोयु, विदुषी ढुंगेल, इन्दिरा घले, कला राई, प्रतीक श्रेष्ठ, विन्दु परियार, संयुक्त राष्ट्र संघ महिला प्रतिनिधि वन्दना राणा, विल्ड नेपाल अभियन्ता सौविध्य मनोज, द्वन्द्वपीडित सावित्री श्रेष्ठ, छोरीमाया महर्जनको परिवार, सम्पदा बचाऊ अभियन्ता गणपतिलाल श्रेष्ठ, जनस्वास्थ्य विज्ञ लामु शेर्पालगायत हजारौँ व्यक्ति र संघ÷संस्थाको प्रत्यक्ष सहयोगमा अकुपाइ बालुवाटार आन्दोलन चलेको थियो । माफ पाउँ, मैले धेरै नाम समेट्न सकिन ।
कनकमणि दीक्षित र नेपाली समाज
कनकमणि दीक्षित नेपालका धनी नागरिक हुन् । धनी हुनु उनको रोजाइ वा गल्ती केही होइन । हामी कहाँ जन्मन्छौँ, त्यो संयोग हो । कनकमणिलाई खराब पात्रका रूपमा चित्रित गर्दै जसरी उनको संलग्नता नै नभएको सामाजिक आन्दोलनलाई बदनाम गर्ने चेष्टा डा. सुभाष जस्ताले गरेका छन्, त्यसको धेरै पक्षबाट छलफल हुन जरुरी छ । उनको यो नियोजित लेख हो । यसमा उनीबाहेक धेरै पक्षको स्वार्थ जोडिएको छ । अप्रत्यक्षरूपमा भ्रष्टाचारको मुद्दालाई नै कमजोर बनाउने आशयका साथ उनको लेख निर्माण गरिएको देखिन्छ । उनलाई यसका लागि प्रयोग गरिएको पनि हुन सक्छ ।
२०४६ र २०६२–६३ पछि नेपालमा अतिवादी कित्तामा उभिने दक्षिणपन्थी (कमल थापा नेतृत्व) र कम्युनिस्टहरू (माओवादी प्रचण्ड नेतृत्व) ले सबैभन्दा धेरै भ्रस्टाचार गरेका छन् । कनकमणि जस्ता सम्पन्न तर बौद्धिकता भएका नेपाली नागरिक यी दुवै अतिवादीका लागी चुनौती हुन् । त्यसैले यी अतिवादी कनकमणि जस्तालाई बारम्बार खराब नागरिकका रूपमा चित्रित गर्न लागिपरेका छन् । यो लेख पनि जानेर वा नजानेर यसकै निरन्तरता हो ।
कनकमणिसँग मेरो व्यक्तिगत लिनु÷दिनु केही पनि छैन । त्यही पनि, अतिवादीहरू उनको तेजोबध गर्न कसरी लागेका छन् भन्ने कुरामा म जानकार छु । २०६२–६३ पछि माओवादी र लोकमान नेतृत्वको अख्तियार भएभरको राज्यस्रोत लगाएर उनलाई नंग्याउन लागे तर सफल हुन् सकेनन् । शायद, लोकमानको जस्तो पैसाको मात्र बल भएको भए उनी आज सडकमा हुन्थे । धनभन्दा पनि बौद्धिकता उनको बल हो । उनलाई उच्च नैतिक चरित्र नभएको भन्ने आरोप अतिवादी मण्डले वा कम्युनिस्ट (माओवादी) हरूले लगाउने आक्षेप हो ।  
कनकमणिका गल्ती होलान् । उनले भ्रस्टाचार गरेको भए त्यसको सजाय पनि उनले पाउलान् । तर उनले गरेका राम्रा काम जहिले पनि नेपाली समाजमा राम्रा बनेर रहने छन् र कुनै पनि सचेत नागरिकले ती कामको मुक्तकण्ठले प्रशंसा गर्नेछन् । व्यक्तिगत प्रयासमा कनकमणिले जस्तो सशक्त संस्थाहरू शायदै कसैले निर्माण गरेका छन् । साझा यातायात, स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्र, फिल्म साउथ एसिया, हिमाल खबर, खोज पत्रकारिता केन्द्रलगायत उनको अग्रसरतामा निर्माण भएका दर्जनौँ संघ÷संस्था अहिले सफलपूर्वक सञ्चालनमा छन् । संस्थागत विकासमा उनले देखाएको सफलताको म प्रशंसक हँु । डा., इ., प्रा., को बिल्ला भिरेर अरुलाई आरोप÷प्रत्यारोप गर्दै तल झार्न खोज्नेहरूको कित्ताभन्दा मेरो नजरमा कनकमणि धेरै माथि छन् ।
भ्रष्टाचारविरुद्ध डा. केसी
सबै समस्याको जिम्मा डा. गोविन्द केसीले लिइदिए हुन्थ्यो भन्ने मानसिकता नै गलत छ । चिकित्सा शिक्षा र सेवामा सन्तोषजनक सुधार नभइकन डा. केसीले आफ्नो शक्ति अन्यत्र मोड्न हँुदैन पनि । डा. केसीले रोजेको सत्याग्रहको तरिका फितलो भयो, उनी बेला÷कुबेला अनशन बसे भनेर उनको आलोचना गर्न माफियालाई मात्र शोभा दिन्छ । डा. केसीले आफूलाई जे ठीक लाग्छ, त्यो गर्ने हो । व्यक्तिगत स्वार्थबाट माथि उठेर निर्णय लिने डा. केसीको क्षमतामा हामीले विश्वास र सहयोग गर्नुपर्छ । उनले जे गर्छन्, त्यो हामी सबैको हितलाई ध्यानमा राखेर गर्ने हुन् । उनले यो गरे, त्यो गरेनन् होइन, डा. केसीबाट सिक्ने र उनको मोडललाई अरु क्षेत्रमा फैलाउने जिम्मेवारी हामी नागरिकको हो । डा. केसीको मोडेल भनेको एक्लै भए पनि बेथिति, भ्रष्टाचार र विसंगतिको विरोध गर्ने हिम्मत गरौँ भन्ने हो । भिड होइन, आफ्नो चेतनालाई पछ्याउ भन्ने हो । अनि आन्दोलन स्वार्थले होइन, चेतनाले निर्देशित हुनुपर्छ भन्ने हो ।
सम्पादकीय टिप्पणी :
नागरिकको मंगलबार प्रकाशित डा. सुभाष पोखरेलद्वारा लिखित ‘केसी नेतृत्वमा नागरिक अभियान’मा उल्लेखित ‘अकुपाइ बालुवाटार’ र पत्रकार कनकमणि दीक्षितसम्बन्धी प्रशंग तथ्यभन्दा फरक पर्न गएकोमा क्षयायाचना गर्छौं । उक्त लेख लेखकको निजी बिचार हो, यसलाई नागरिकको सम्पादकीय नीतिका रुपमा नबुझ्न अनुरोध छ– प्रधान सम्पादक ।

प्रकाशित: ११ आश्विन २०७४ ०२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App