आज संविधान दिवस ! नेपालीले आफ्ना प्रतिनिधिमार्फत जारी गरेको भनिएको संविधानले काम गरिरहेको छैन भन्न मन लागेको छैन तर संविधानका अनेक कमजोरी क्रमशः उजागर भैरहेछन्। अन्तरमनमा कताकता प्रश्न उब्जिरहेको छ, यो संविधानले काम नगरेको कि गर्न नदिइएको वा देशअनुसारको संविधान नबनाइएको हो अथवा देशको मूल कानुन नै कुनै काम गर्न नसक्ने गरी बनाइएको हो? अनेक सवाल उत्पन्न भइरहेका छन्।
संविधान संविधानवादमा आधारित हुनुपर्छ भनिन्छ तर हाम्रो संविधान संविधानवादबाहिरबाट बनेको हो र? नहुँदो हो त शक्ति पृथकीकरणको सिद्धान्त जबर्जस्त उल्लंघन नहुनु पर्ने हो। ठूला पार्टीका नेता मिले भने संविधान नै परिवर्तन हुने अवस्था अहिलेसम्म रहिरहनुको कारण यही हो? शक्तिशाली संवैधानिक निकाय के कारणले निरीह छन्? संविधानले प्रत्येक नेपालीलाई जोड्नुपर्ने हो तर पहिचानका नाममा एक नेपालीलाई अर्को नेपालीबाट विभाजित गर्न खोज्नेहरू सक्रिय रहनुको कारण के हो ? मुलुकका प्रमुख कार्यकारी भनिने प्रधानमन्त्री नै बहुमत दिनूस्, जातीय राज्य खडा गर्ने गरी संविधानमा संशोधन गर्छु भन्दा पनि सत्तामा बसिरहन संविधानले नै दिन्छ?
मुलुकका प्रमुख कार्यकारी भनिने प्रधानमन्त्री नै बहुमत दिनूस्, जातीय राज्य खडा गर्ने गरी संविधानमा संशोधन गर्छु भन्दा पनि सत्तामा बसिरहन संविधानले नै दिन्छ?
सत्ता गठबन्धनले प्रधानमन्त्री प्रचण्डलाई काँध थामिरहनुको कारण के हो ? किन र के कारणले १० वर्षसम्मको सशस्त्र द्वन्द्वपछि तयार पारिए पनि वर्तमान संविधान समाधान होइन, द्वन्द्व बढाउने औजार बनाउन खोजिएको हो ? अनि धर्मनिरपेक्षताको माखेसांग्लो कोकोसँग जोडिएको छ ? देश संघीयतामा त गयो तर विदेशबाट ऋण लिएर सञ्चालन गर्नुपर्ने अवस्थामा जाकिनुको कारण के हो? किन प्रदेश धान्नै नसकिने आर्थिक बोझ बनिरहेको होला? मौलिक हकहरू पूरा गर्न नसक्ने गरी संविधान थला पार्न लागिएको हो ? थाम्नै गाह्रो हुने बोझ बोक्न कुन कारणले नेपाल बाध्य बनेको हो?
यिनै विषयमा छलफल, विचार विमर्श, विश्लेषण गर्नुपर्ने र समाधानका उपायहरू अगाडि सार्ने दिन बन्नुपर्छ संविधान दिवस। के, कुन र कस्ता आचरणले गर्दा हामीमा संवैधानिक विचलन देखापरेको हो ? समस्या पहिचान नगरी समाधान किमार्थ पहिल्याउन सकिँदैन।
यसै प्रसंगमा एउटा किंबदन्ती याद आयो। गाउँमा एउटा साहै्र अक्कडे माइलो बस्थ्यो। कुनै पनि विषयमा खोट निकाल्न माहिर थियो। उसबाट गाउँलेहरू यति आजित थिए कि कसैले सयपत्री फूल पहेँलो हुन्छ भन्यो भने पनि ऊ असहमति जनाइहाल्थ्यो, कहाँ पहेँलो हुन्छ? यो त रातो पो हुनुपर्छ ! त्यही अक्कडोको घरमा बुहारी सुत्केरी हुनेवाला थिई। चाडवाड पनि संघारमै थियो। उसका बुढा बाबु पनि दूध, दही, मोहीको तिर्सना पोखिरहन्थे। दूधभातको अम्मली अक्कडे माइलोलाई पनि घरमा दुहुनुको खाँचो थियो। अनि माइलोले गाउँका चारभाइसँग सल्लाह गर्यो। अनि सबैले भने–हेर,माइला तैँले लैनो भैँसी किन्नुपर्छ। अक्कडेले पनि भनिहाल्यो, तिमीहरू पनि भैँसी खोज्न जान्छौ भने यसपालि म पनि भैँसी किन्न राजी भएँ।
चारभाइ गाउँले र अक्कडे माइलो भैँसी खोज्न गाउँ पसे। जुन गाउको भैँसी देखाए पनि अक्कडेले खोट देखाइहाल्थ्यो, यसको सिङ ठीक छैन, यसको दूध त्यति रहेनछ। कुनैलाई निक्खर कालो भएन भन्थ्यो। कुनैलाई यो मुर्राको सन्तान होइन भन्थ्यो भने कुनैलाई लिमे, खचडा भैँसी पो दुधालु हुन्छन्।
कुनै धेरै बेत व्याएको, पाडो पाएको, थुन मोटा, खुर लामा, टिंगरे भनेर इन्कार गथ्र्यो त कुनै पहिला बेते थोरेको दूध आउन्न, दोस्रो बेत ब्याएको पो चाहिन्छ भन्थ्यो। दुई बास बसेर सात गाउँ चाहारिसकेपछि अक्कडे माइलाले भनेजस्तो निक्खर कालो, दोस्रो बेते, सिङ पनि मुर्राको जस्तो, दूध पनि छाके पाथी दिने, भर्खरै ब्याएर पाडी पाएको लैनो भेटियो। मोल पनि मनासिव नै भन्यो भैँसी धनीले। चार भाइ मात्र होइन, माइलो पनि भैँसी किन्न राजी भयो।
चलनअनुसार भैँसीको खुरमा दशको नोट राखेर माइलाले नमस्कार गर्यो। गोठालो, दाम्लो लगाएर भित्र/बाहिर गर्ने छोरो र घाँस काट्ने बुहारी, दुहुँदा छिटो पगार्न टाट्नामा कलिलो घाँस र थोरै नून/पिठो खुवाउने भैँसीधनीकी पत्नीलाई पनि दामासाहीले अक्कडेले भाग दियो। भैँसी धनी पनि उचित मूल्यमा भैँसी बेच्न पाएकामा खुसी भयो। चार भाइ पनि माइलोले खोजेजस्तो भैँसी फेला पर्यो भनेर गद्गद् भए। अक्कडे पनि बेलाबेला ङिच्च गरिरहेको थियो। त्यसैबेला भैँसी धनीले पनि प्रफुल्ल बनेर भने–अब तपाईँहरूसँग भैँसी बेचेको साइनो जोडियो, खाना नखाइ जान पाउनुहुन्न ! उनले घ्यु, चिनी, सखर, मह, केरा फर्माएर पेटभरि दूधभात खुवाए।
भैँसी फुकाउनुअघि भैँसीधनीले भन्यो–भैँसीलाई कैँडा लाग्न सक्छ, बाटो कतैकतै उकोलो/ओरालो र ठाउँठाउँमा अप्ठेरो छ, त्यसैले बोरामा अलिकति नून, पिठो, थोरै तेल, बेसार र एउटा कोदालो पनि राखिदिएको छु। यो पनि लग्नुहोला। भैँसी फुकाएपछि पाडी अगाडि लगाउँदै अक्कडेको टोली बाटो लाग्यो। माइलो भैँसीको ठीक पछाडि सिमालीको सिर्कनो हल्लाउन थाल्यो। सय पाइला के हिँडेको थियो, अक्कडेले भन्यो–होइन यो भैँसी अरू कुराले ठीकै हो तर यसको सुत अलि बाँगो रहेछ। भैँसी नलैजाऊँ, फिर्ता गरौँ !
मुलुकका प्रमुख कार्यकारी भनिने प्रधानमन्त्री नै बहुमत दिनूस्, जातीय राज्य खडा गर्ने गरी संविधानमा संशोधन गर्छु भन्दा पनि सत्तामा बसिरहन संविधानले नै दिन्छ?
अक्कडे माइलोले आखिरमा भैँसी किन्न किन आनाकानी गरेन भनेर आँखा सन्काइरहेका चार भाइ पछिल्लो कुराले शीतांग बने। उनीहरूलाई के भन्नु भयो। मुखामुख गरे। अनि माथिल्ला घरे जेठाले मुख फोरे–के भयो र माइला? तैँले भनेको पनि कुनै खुन हो र ! अनि सबै गललल्ल हाँसे। माइलो पनि रुन्चे हाँसो हाँस्यो। मेरो मजाक नउडाओ, अक्कडेले भन्यो–यस्तो भैँसी म लैजाँदै लैजान्न। फिर्ता गरौँ। हक्क न बक्कझैँ बनेका चार भाइले भने–हेर माइला भैँसी फुकाइसकियो। पैसा पनि तिरिसकियो। फिर्ता गर्न मिल्दैन। अर्को बेतामा बाली लगाउँदा सुत सिदा भैहाल्छ नि ! तर अक्कडे डेक चलेन।
अन्ततः चार भाइले मुखामुख गरे र भने–तँलाई लाज नलागे पनि हामीलाई लाग्छ। तँ भैँसी लैजाँदैनस् भने हामी मिलेर यो भैँसी लैजान्छौँ। अब यो भैँसी तेरो रहेन, हामी चारभाइको साझा भयो। उनीहरूले भैँसीलाई गाउँ पुर्याए। अक्कडे माइलाले भैँसी घर लगेन।
कतै हाम्रो संविधान पनि अक्कडे माइलाले किनेको भैँसी जस्तै बनेको त होइन? धेरैको मनमा यस्तै तरंग उठेको हुन सक्छ। हुन त संविधान जारी भएपछि वाग्मतीमा धेरै ढल बगिसकेको छ। संविधान जारी हुँदाका बखतको सकस र उथलपुथल, भारतीय ज्यानमारा नाकाबन्दी, मधेस आन्दोलन मात्र होइन, माओवादीले पनि गर्नु नगर्नु ज्यादती गरे।
आखिर संविधानसभाले २०७२ असोज ३ गते संविधान जारी गर्यो। तर संविधान जारी भएपछि सबैभन्दा ठूलो दुर्भाग्य नवयुवराज, युवराज्ञीहरूको नवअवतार र जगजगी सुरु भयो। सुन र मानव तस्करी, नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने जघन्य अपराधसमेत भए। देश र जनता लुटुवा तस्कर, डन, माफिया, भ्रष्टाचारी, दलालीको चुरीफुरी चरम चुलीमा पुगेको छ। जबकि संविधान जारी गर्दाका सपनामा संविधान निर्माताहरूले जनतालाई बहकाए। फोस्रा हकैहकको व्यवस्था गरेर तिनले नेपाली जनतालाई पुरिदिए।
प्रकाशित: ३ आश्विन २०८० ००:२१ बुधबार