२० आश्विन २०८१ आइतबार
image/svg+xml
विचार

आमा र हजुरआमाको तीज

हरितालिका तीज शिवपुराणको हिमालयपुत्री पार्वतीको प्रसङ्गसँग जोडिन्छ। तर पंक्तिकारलाई भने आफ्नी हजुरआमा र आमाको प्रसंग जोड्नु सान्दर्भिक लाग्यो। किनकि तीज बिलकुल पारिवारिक पर्व हो यो धर्म, संस्कृति, परम्परा, महिला स्वतन्त्रता, महिला सम्मान जेसँग जोडिएर आए पनि पारिवारिक मिलन केन्द्रमा रहन्छ।

तीजलाई भाद्र शुक्ल द्वितीया दर खाने, तृतीयाको दिन व्रत, उपासना, चौथीमा गणेश भगवानको आराधना र पञ्चमी तिथिमा सप्तऋषिहरूको पूजा आराधना र महिलाहरूले गर्ने अनेक विधिसहितको तीजको समापन भने पनि अहिले तीजको रन्को महिनौँ अगाडि सुरु हुन्छ।

यसलाई समयसँगै आएको परिवर्तन, महिलाहरू धेरै कामकाजी भएकाले छुट्टीको दिन रोजेर आफ्ना चेलीबेटी, दिदीबहिनीलाई दर खुवाउने पारिवारिक सम्मान भनौँ या अहिले हृदय अलि बढी फराकिलो बनाएर आफ्ना घरका चेलीबेटीलाई मात्र नभएर आफन्त, नातेदार, चेलीलाई सम्मान दिनु, सम्झना गर्नु अनि कार्यक्षेत्रमा समेत तीजको दर आयोजना गरेर चेलीबेटीलाई सम्मान दिने संस्कार बढेको छ भन्न सकिन्छ।

आमा/हजुरआमाको तयारी

अहिले मात्र होइन, हाम्री हजुरआमा र आमाको पालामा पनि तीजको रन्को महिनौँ अगाडि हुन्थ्यो। त्यो रन्को तयारीका रूपमा हुन्थ्यो। धान सुकाएर ढिकीमा कुटेर अनदी, कालो मार्सी, कालो मसिनो र नियमित खाने डल्ले मसिनोलगायतका चामलहरू तयार गरेर भण्डारमा सुरक्षित हुने तयारी महिनौँ अगाडि हुन्थ्यो। दर खाने दिनदेखि पञ्चमीसम्म व्रत र नाचगानमा व्यस्त हुने हुँदा गाईवस्तुलाई खुवाउने घाँसको जोहो, घरनजिक बारीको घाँस जोगाएर राख्ने र दर खाने दिनको एक दुई दिनअगाडि काटेर भारी बनाएर संरक्षण गर्ने तयारी हुन्थ्यो।

गाईवस्तुलाई कुँडो, खोले बनाउने कोदो, मकैको पिठो जातोमा पिसेर डालीका डाली छोपेर सुरक्षित राख्ने तयारी हुन्थ्यो। दही मथेर घ्यु तीजका लागि संगालेर राख्ने चलन हुन्थ्यो। तोरी पेलेर सञ्चय गर्ने काममा हजुरआमा सम्झाउनुहुन्थ्यो। दिदीबहिनी, फुपूहरू जम्मा हुने हुँदा घरको दूध पुग्छ कि पुग्दैन, हजुरआमा पहिले नै हिसाब गर्नुहुन्थ्यो र नपुग्ने भए कहाँबाट ल्याउने हो पहिल्यै खबर गर्नुहुन्थ्यो।

पँधेराको पानी बोकेर, घरबाहिर रहेका गाग्री, खड्कुलो भरेर जोगाड गरिराख्ने तयारी हुन्थ्यो। घरबारी वरिपरिका दतिवन घाँससँग नकाट्न हजुरआमा चेताउनुहुन्थ्यो। यी सब काममा आमाको मेहनत ज्यादै हुन्थ्यो भने हजुरआमाको काम निर्देशनको हुन्थ्यो।

हामी केटाकेटीलाई पनि पटक पटक यी कामबारे बताइरहनुहुन्थ्यो। साना साना घल्सामा पँधेराबाट पानी बोकेर ल्याउने र अलिअलि घाँस काट्न सहयोग हामी पनि गथ्र्याैंँ। फुपूहरू लिन जाने या कसैसँग खबर पठाउने बुबाको काम हुन्थ्यो भने हजुरबुबा यी सब क्रियाकलापको साक्षी बन्नुहुन्थ्यो।

फुपूहरू आउँदा खुसी  हजुरआमा/आमा जाँदा दुःखी

अहिले पनि मलाई आश्चर्य लाग्छ, आफ्ना छोरीहरू माइत आउँदा खुसी हुने हजुरआमा हाम्री आमा माइत जाने कुराले दुःखी बन्नुहुन्थ्यो। हजुरआमा भन्नुहुन्थ्यो– भाउजू नभएको तीज के रमाइलो हुन्छ नन्दहरूलाई? ८–१० वर्षको उमेरमा पनि यो कुरा मनमा खेलिरहन्थ्यो आमा बुहारी हुनु र फुपूहरू छोरी हुनुको भिन्नता।

आमा माइत गए हामी पनि मामाघर जान पाइने हुँदा हामीलाई आमा माइत गएको खुसी लाग्थ्यो। तर हजुरआमा भन्नुहुन्थ्यो, मलाई नातिनातिना र बुहारी चाडपर्वमा घरमै भएको खुसी लाग्छ।

आमाको आमालाई के हुँदा खुसी लाग्छ हजुरआमाको नजरबाट त्यो हेरिन्नथ्यो। अहिले सम्झँदा मलाई बुहारीको घरप्रतिको दायित्व हजुरआमाको दृष्टिमा सही थियो होला। यसले त परिवारलाई सशक्त बनाइराख्छ तर बुहारीको मनको इच्छा के थियो त्यो सोध्ने र बुहारीले आफ्ना इच्छा व्यक्त गर्न पाउने वातावरण बन्दैनथ्यो।

सासूआमाले भनेका र निर्देश गरेका सबै कुरा र मान्यतालाई बुहारीले आत्मसात गर्नुपर्ने घरको नियम र अनुशासनभित्र पर्थ्याे। सकारात्मक रूपमा लिने हो भने ज्येष्ठ सदस्यको मार्गनिर्देशन र निगरानीले घर घर जस्तो बन्छ र सम्बन्ध दिगो यसमा कुनै शंका छैन। तर यसलाई हक, अधिकारको आँखाले हेर्ने हो भने घर बिग्रन र परिवारमा अविश्वास सिर्जना हुन बेर लाग्दैन। घरको विश्वास कायम रहन र परिवारका सदस्यहरूबीच सम्बन्ध सुमधुर र दिगो रहन प्रेम, सद्भाव र घरको अनुशासनले काम गर्छ देशको संविधान र नीति नियमले होइन।

दर खाने दिन र हजुरआमाको खुसी

फुपूहरू र वरपरका दिदीबहिनी पनि घरको व्यवस्था मिलाएर दर खाने दिनको साँझसम्म माइत आइपुग्थे। हाम्रा फुपूहरू आइपुग्नासाथ वरपरका चेलीहरू हाम्रै घरको आँगन र पिँढीमा गुन्द्रीमाथि गलैँचा ओछ्याएर गीत गाउन तयार हुन्थे भने नाच्नेहरू आँगनमा आफ्नो ठाउँ बनाउँथे।

तीजका गीत कतै पढेका र लेखिएका नभई वर्ष दिनभरिका आफ्ना सुखदुःख, घरको कर्कसो, श्रीमान् र सासूले गरेका व्यवहार, छोरी हुनुको महिमा र मर्म सबै तुरुन्तै सिर्जना गरेर गाउँथे। कसैले सुरु गरे अर्कोले छोप्न र त्यसमा आफ्ना कथा मिसाउन आतुर देखिन्थे किनकि सबैका आआफ्ना व्यवहार र अनुभव हुन्थे।

चेलिबेटीको मिलन एकअर्कामा खुलेर भावना व्यक्त गर्न पाउनु संसारको खुसी त्यहीँ समेटिएझैँ भान हुन्थ्यो।

बीचबीचमा हजुरआमा आफ्ना कहानी जोड्नुहुन्थ्यो। रातभर गाउन सक्ने हजुरआमाको रचनात्मक शक्ति देखेर सबै छक्क पर्थे अनि हजुरआमा खुसीले गद्गद् हुनुहुन्थ्यो।

मौलिक भाका, मौलिक सिर्जना, देवीदेवताका प्रार्थना, सामाजिक विकृति सबैप्रति भाव पोख्न सक्नु कलाकारिताको नमुना लाग्थ्यो। आमा भने भान्छामा घिउ र खुदो राखेको अनदीको गुलियो चाम्रे, घिउ राखेको मसिनो चामलको खाजा, घिरौँलाको तरकारी, करेलाको अचार, साँधेको आलो तामा र कर्कलोको परिकार त्यो पनि ठूलो ठूलो भाँडामा, दाउरा बालेर धुवाँले आँसु पुछ्दै। दूध, दही, मोहीको जोहो पनि। अनि बीचबीचमा गाइरहेका, नाचिरहेका र एकापसमा भलकुसारी गरिरहेका चेलीलाई खाना ल्याउँदै खुवाउदै गर्ने हजुरआमाको खुसीले अरू ऊर्जा थप्थ्यो।  

प्रकाशित: ३१ भाद्र २०८० २३:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App