९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
विचार

अबको नेता को?

बाइरोडको बाटोमा

चर्चित अमेरिकी साप्ताहिक ‘टाइम’ ले विश्वका विभिन्न क्षेत्रमा क्रियाशील सय युवाको सूचीमा नेपाली युवा नेता बालेन्द्र साह (बालेन) लाई पनि राखेको छ। ३३ वर्षको उमेरमै काठमाडौँ महानगरपालिकाको नेतृत्वमा पुगेका यिनीप्रति पश्चिमा संसारले बढी नै आशा राखेको देखिन्छ।

सामान्यतः आजको संसार सामाजिक सञ्जालको प्रभावमा छ। कुनै पनि व्यक्तिलाई उचाल्न र थचार्न यसले जानेको छ। सामाजिक सञ्जालमा लोकप्रिय युवा नेतालाई अगाडि सारेपछि पश्चिमा संसारको आकर्षण बढ्नु स्वाभाविक हो।

बालेनको हकमा पश्चिमा मिडियाले ठूलो प्रस्तुति दिएको यो दोस्रो अवसर हो। पहिलो, न्युयोर्क टाइम्सले केही महिनाअघि व्यक्तिचित्र (प्रोफाइल) प्रस्तुत गरेको हो। सम्भवतः नेपालका कुनै राजनीतिक व्यक्तिबारे यति ठूलो रूपमा प्रस्तुत गरिएको हो यो पहिलो व्यक्ति थियो।

नेकपा (एमाले) नेता मदन भण्डारीबारे तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेपछि अमेरिकाकै ‘न्यूजविक’ साप्ताहिकले सन् १९९१ मे महिनामा ‘इन नेपाल, कार्ल माक्र्स लिभ्स’ अर्थात् ‘नेपालमा कार्ल माक्र्स बस्छन्’ शीर्षकमा अन्तर्वार्ता प्रकाशित गरेको थियो। अहिले इन्जिनियर तथा र्‍यापर बालेनलाई नेपालका समस्या समाधान गर्न सक्ने व्यक्तिका रूपमा पश्चिमाले प्रस्तुत गर्न थालेका छन्।

सन् १९९० को दशक र अहिले २०२३ बीच एउटा अन्तर देखिएको छ। त्यतिबेला जेलनेल भोगेका, सडक र अन्य संघर्षबाट नेताहरूको उदय भएको थियो। अहिले नेताहरू वर्तमान राजनीतिक प्रणालीबाट उत्पन्न असन्तुष्टिबाट जन्मन्छन्। त्यो बेला मुलुकमा लोकतन्त्रको अभाव, मानव अधिकारको अनुपस्थिति आदि जस्ता कारणले नेता जन्मन्थे। अहिले दैनिक जीवनका कठिनाइबाट सामाजिक सञ्जालमा प्रस्फुटित हुने आवाजसँगै नेता जन्मन्छन्।

यतिबेला सिनेमा घरमा बलिउड ब्लकबस्टर ‘जवान’ चलिरहेको छ। नेपाली र भारतीय समाजमा देखिएको अहिलेको असन्तुष्टिमा एउटा ‘जवान’ अन्य बाटाहरू प्रयोग गरेर नायकत्व लिइरहेको छ। किसानले बैंकबाट सहुलियत ऋण लिन नसक्ने, सार्वजनिक र सामुदायिक अस्पतालमा उपचार पाउन नसक्ने अवस्थालाई सुधार गर्न ‘जवान’ भित्र पात्र जन्मिएका छन्। ती विक्रम हुन्छन् वा आजाद।

‘जवान’ भित्र प्रणालीले जन्माएका ‘काली’ हरू छन्। हाम्रो प्रणाली पनि खलपात्र ‘काली’ को हातमा गएको छ। खराब प्रणालीलाई त्यहीभित्रबाट सुधार्ने प्रयास भएन भने विक्रम वा आजादहरूको हस्तक्षेप हुन थाल्छ। आध्यात्मिक मानिसले गीतासार खिचेर ‘यदायदा हि धर्मस्य’ भनेर अवतारको अपेक्षा गरेझैँ वास्तविक जीवनमा पनि परिवर्तनको अपेक्षा हुन्छ।

आइरिस नाटककार स्यामुअल बेकेटको ‘वेटिङ फर गोदो’ जस्तै परिस्थिति यहाँ सिर्जना नभएको होइन। रहस्यमयी गोदो आउने प्रतीक्षामा दुई पात्रहरू भ्लादिमर र एस्ट्राजनले छलफल गरिरहेका हुन्छन् तर ऊ कहिल्यै आउँदैन। सम्भवतः नेपालको अवस्था पनि यही हो। हामीले नायकको प्रतीक्षा गरिरहेका छौँ। प्रत्येक पटक हामी नयाँ मानिसमा हाम्रा सपना र भविष्य खोज्छौँ। निराश हुन्छौँ र फेरि खोज्छौँ।

यो खोजी जहिल्यै पीडादायी हुने गर्छ। त्यो खोजीका क्रममा हुने आन्दोलन र अस्थिरता कल्पनातीत हुन्छ। हामीले परिवर्तनको प्रतीक्षा गर्न थालेको झण्डै शताब्दी हुन थालेको छ।

 बितेका आठ दशक हामीले यसरी नै बिताएका छौँ। राणाशासनको अन्त्यपछि प्रजातन्त्रले केही गर्ला भन्ने ठान्यौँ। प्रजातन्त्रपछि पञ्चायतप्रति ठूलै आशा राख्यौँ। राजाले ल्याएको व्यवस्थाले ३० वर्षमा मुलुकलाई कहाँ पुर्‍यायो, त्यो धेरैको विस्मृतिमा गइसकेको छ तर पोहोरको गर्मी हामीले बिर्सिसकेका छौँ।

त्यसपछि फेरि २०४६ सालमा मुलुक प्रजातन्त्रको युगमा प्रवेश गर्‍यो। त्यसले पाँच वर्ष पनि काम गर्न पाएन। फेरि मुलुक सशस्त्र द्वन्द्वमा धकेलियो। फेरि आयो परिवर्तनको अर्को चक्र २०६२/६३ मा। त्यो परिवर्तनका पनि रंग उडेका छन्। हुँदाहुँदा ‘राजा’ को सम्झनाले बाडुल्की लाग्न थालेको छ धेरैलाई। सामाजिक सञ्जालमा आउने एकोहोर प्रलाप, झुटा जानकारी र विश्लेषणले हामीलाई फेरि त्यही युगतिर फर्काउँदैछ जहाँबाट हामी बाहिर निस्किएर बल्ल आएका हौँ।

प्रतिगमनतर्फको यात्रा गाह्रो छैन। आज सञ्जालको जञ्जालमा पारेर सर्वसाधारणलाई दिग्भ्रमित गर्न कुनै गाह्रो छैन। फिलिपिन्समै हेरौँ न, त्यहाँ फर्डिनान्ड मार्कोसविरुद्ध जनताले विद्रोह गरेर प्रजातन्त्र ल्याए। आज सामाजिक सञ्जालको प्रयोग गरेर उनका छोराले बाबुको ‘गौरव’ फिर्ता ल्याएका छन्। त्यहाँका पत्रकारहरूले त्यो बेग रोक्न नसकेकामा कैयन् अन्तर्राष्ट्रिय मञ्चमा दुःख व्यक्त गरेको हामीले देखेका छौँ। परिवर्तनको आशामा अब विष पिउन ठिक्क परेको छ नेपाली समाज।

पश्चिमा संसारले हाम्रो जस्तो मुलुकका कस्ता समाचारलाई प्राथमिकतामा राख्छ? त्यो बुझेकै विषय हो। तिनका निम्ति हिमाली पदयात्रा, आरोहण, यार्सागुम्बा वा यस्तै केही विषयमा बढ्ता जोड हुन्छ। तिनले प्रत्येक समाचारपिच्छे हामीलाई संसारकै तन्नम देशका रूपमा प्रस्तुत गर्छन्। यहाँका परम्परागत सामाजिक कुरीति, बोक्सीप्रथा, छाउपडी वा यस्तैमा तिनको रुचि हो। अब यो समाजको परिवर्तनका निम्ति तिनले देखेका महिसा को हुन् भन्ने प्रष्ट छ।

‘सिंहदरबार जलाइदिन्छु’ भन्दा ‘हामी पनि मट्टितेल बोकेर आउँछौँ’ भन्ने प्रज्जवलनशील समाज यतिबेला बनाइएको छ। व्यक्तिमाथि सांघातिक आक्रमण गर्नु कुनै ठूलो कुरा होइन। समाजमा क्रूरता बढ्दो छ। अस्पतालमा बिरामीको मृत्यु हुँदा डाक्टर कुट्न जाने बहादुरी फैलिएको छ। सरकारी अस्पतालमा बिरामी पुगे पनि तिनको उपचार गराउने औपचारिकताकै बीचमा मान्छेका मृत्यु भइसक्छ। जब मृत्यु हुन्छ फेरि तत्काल सुधारका निम्ति प्रक्रिया सुरु हुन्छन्।

पश्चिमाहरूले समेत बालेन्द्र साह जस्ता पात्रमा नेपालको भविष्य देख्न थालिसकेपछि पक्कै पनि यहाँ अरूलाई पनि सुधारका निम्ति तातो लाग्नुपर्ने हो।

प्रणालीगत सुधारका निम्ति किन ध्यान नपुगेको होला? अहिले सरकारमा बस्ने र त्यसलाई चलाउनेहरूलाई सबै ठिकठाक चलेको जस्तो लाग्दो हो। तर, कतै पनि ठिक ढंगले काम भएको छैन। प्रत्येक नागरिकले सरकारी कार्यालयमा पाउने दुःखको कुनै हिसाब छैन। सर्वसाधारणको देश र यहाँको प्रणालीप्रति कुनै विश्वास छैन। सकेसम्म विदेश जान मानिस लालायित छन्। देशभित्र केही हुन्छ भन्ने विश्वास शून्यभन्दा तल झरिसकेको छ। यस्तो अवस्थामा देशका शीर्षहरूको ध्यान जान सकेको छैन।

अबका सम्भावित परिदृश्यमा सरकार परिवर्तनका खेल हुन सक्छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिका र चीनको भ्रमण गरेर आएपछि यस दिशामा देश जान पनि सक्छ। सबैजसो प्रमुख दलमा निराशा छ। खासगरी नेपाली कांग्रेसमा युवा नेता निराश छन्। कुनैबेलाका अत्यन्त ठूलो विश्वासका रूपमा हेरिएका गगन थापा, विश्वप्रकाश शर्मा जस्ता महामन्त्री भएका दलको झन्झन् अधोगति झन्झन् तीव्र सुरु भएको छ।

यस्ता खारिएका नेताका ठाउँमा पश्चिमाहरूले समेत बालेन्द्र साह जस्ता पात्रमा नेपालको भविष्य देख्न थालिसकेपछि पक्कै पनि यहाँ अरूलाई पनि सुधारका निम्ति तातो लाग्नुपर्ने हुन्छ। यहाँ हुन लागेका अन्तर्राष्ट्रिय भयानक खेल, देशभित्रकै अवस्था र आमनागरिकको मनस्थितिले उत्पन्न गर्ने भावी परिस्थितिलाई ध्यानमा राखेर अगाडि बढ्न सक्ने नै नयाँ नेताका रूपमा उदाउने निश्चित छ।

हिजो प्रजातन्त्रवादी र वामपन्थी हुँदै माओवादीलाई यो मुलुकले उत्पादन गरिसकेको छ। बालेन साह वा यस्तै राजनीतिक व्यक्तिबाट नेपालले पार पाउन सक्छ भन्ने आकलन हुँदै गरेको अवस्था हो। पश्चिमाहरू रमाइलोका निम्ति मात्र यस्ता खेल गर्दैनन्।

प्रकाशित: ३१ भाद्र २०८० ००:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App