विगत केही समययता हाम्रो आस्थाको केन्द्र जानकी मन्दिरबारेमा अनेकौं भ्रम सिर्जना गर्ने प्रयास छिमेकी विद्वानहरूबाट कथित अनुसन्धानका नाममा गरिँदै आइएको छ। जनमानसमा (छिमेकी मुलुकमा झन् बढी) रामायणकालीन राजा जनकको दरबार, जानकीजीको जन्म र अयोध्याका राजकुमार श्रीरामसँगको विवाह प्रसङ्ग यसै जनकपुरधाममा भएको विश्वासलाई ती अधुरो दाबाहरूले कम गर्न सकेका छैनन्।
जनकपुरधाम करोडौं श्रद्धालुको आध्यात्मिक गन्तव्य रहँदै आएको छ। अब यो हाम्रो दायित्व हुन जान्छ कि मानसम्मान र गौरवको यस प्राचीनतम् विश्वासले भरिएको सम्पदालाई कसरी मर्यादित बनाई राख्ने? तिनै विश्वासको गहिरो जगमा उभिएको जानकी मन्दिरप्रति हाम्रो दायित्व के त? भन्ने यक्ष प्रश्नको उत्तरको प्रतीक्षामा छौं।
जानकी मन्दिरलाई विश्व सांस्कृतिक सम्पदामा सूचीकृत गर्न अनेकौं तामझाम गरे पनि आजसम्म कुनै ठोस पहल गर्न सकेका छैनौं। त्यसका लागि आवश्यक पूर्वाधारसम्म तयार गर्ने प्रयास भएजस्तो लाग्दैन।
बरु जानकी मन्दिरको सौन्दर्यीकरणको नाउँमा गरिएका केही महत्त्वपूर्ण काम पारदर्शिताको अभावमा आलोचित हुँदै आएको छ, कहिले मार्वल ओछ्याउने नाउँमा त कहिले विद्युतीकरणको नाउँमा ।
प्रश्न उठ्छ–अब के गर्ने? उत्तर हुन्छ–जानकी मन्दिरको स्वच्छता मार्बल र विद्युतीकरणले हुँदैन। यसको स्वच्छता यसको आफ्नै परम्परागत छविलाई यथावत बचाइदिएर हुने हो। यसमा बढी केरकार नगरौं। बरु यसको प्रारम्भिक निर्माण, बनौट, यसमा प्रदान गरिएका गरगहना, बहुमूल्य सामग्रीहरूको खोजी गरौं। दर्शनार्थी, श्रद्धालुहरूको सुविधाप्रति चनाखो होऔं।
पहिला जानकी मन्दिरबारे केही जान्ने जमर्को गरौं। आफैसँग प्रश्न गरौं-जानकी मन्दिरबारेमा हामी कति जानकार छौं?
सत्य के हो भने हामीले जानकी मन्दिरलाई मध्यप्रदेशको ओरछाका राजा प्रताप सिंहकी जेठी पत्नी बृजभान कुंअरीले जानकीको नाममा बनाएको एउटा भव्य, आकर्षक मन्दिरको रूपमा हेर्दै आएका छौं। यहाँ विदेशबाट लाखौं भक्तजन आउने गर्छन्। यो नेपालको गौरव र हिन्दुका लागि मानक गन्तव्य हो।
अहिले उभिएको मन्दिरको रूप आफैमा अद्भूत, भव्य र आगन्तुक/पर्यटकका लागि आकर्षक छ। मिथिलाको आध्यात्मिक आस्था कायम राख्दै मुस्लिम र राजपुताना शैलीमा निर्माण गरिएको यो मन्दिर आफैमा गजबको छ। प्रायः हामीमध्ये धेरैलाई यो पनि थाहा छ। त्यसैले यहाँ मेरो प्रश्नको कुनै अर्थ छैन।
जानकी मन्दिर निर्माणको पृष्ठभूमि बुझ्नु जरुरी छ। जानकी मन्दिरको निर्माण १८९५ मा सुरु भयो र १९११ मा सम्पन्न भयो। यसको भव्यताका साथ प्राण प्रतिष्ठा गरियो। तब एउटा प्रश्न उठ्छ-यसको जानकारीको स्रोत के हो? जानकी मन्दिरमा कुनै शिलालेख छ? त्यो सुरक्षित रूपमा कहाँ राखिएको छ? किन आजसम्म यसको प्रतिलिपि प्रकाशित हुन सकेको छैन? सत्य भन्नुपर्दा, लेखकलाई यो तथ्य अन्य स्रोतबाट थाहा भएको हो। अरूले मन्दिरभित्र वा अन्यत्र देखेका छन् भने यसलाई मेरो अज्ञानता मान्नुपर्छ।
यस सन्दर्भमा जानकारी दिन सक्ने तीनवटा मात्र स्रोत छन्। पहिलो–ओर्छा वंशका उत्तराधिकारी। जानकी मन्दिरका महन्त र गुठी संस्थानका पदाधिकारीहरू। ओर्छा वंशका भर्खरका उत्तराधिकारी महाराजा मधुकर शाह (द्वितीय) अहिले नयाँ दिल्लीमा बस्दै आएका छन्।
राजा प्रताप सिंहका पाँचौं पुस्ताका उत्तराधिकारी महाराज मधुकर शाहलाई जानकी मन्दिरको सिसमहल (दक्षिणतर्फ) मा मन्दिरको शताब्दी समारोहमा म भेटेर झन्डै एक घण्टासम्म टेप गरिएको अन्तर्वार्ताका केही अंश प्रकाशित गरेको थिएँ। सामान्य जिज्ञासा थियो, जसको जवाफ उनले दिए। पछि आएका विभिन्न अध्ययन र चिन्तनहरूको सार्थक जवाफ दिन सक्नुहुन्थ्यो तर म बन्चित भएँ।
दोस्रो स्रोत हो-मन्दिरको अभिलेखका संरक्षक महन्तहरू, जसमध्ये श्री रामतापेश्वर दास वैष्णव अहिले महन्त हुनुहुन्छ। यस सम्बन्धमा मैले महन्त दासलाई सोधें तर उनले त्यस्तो कुनै अभिलेख नभएको बताए।
शतवार्षिकीमा टिकमगढबाट तिथिमिति मिलाउन एउटा पुस्तक झिकाइएको थियो। अब त्यो पनि छैन। महन्तजीले भनेजस्तो किताब अहिले कसैसँग छैन।
तेस्रो स्रोत हो-नेपालको गुठी संस्थान, जहाँ यहाँका बहुमूल्य आभूषण (गहना)सहित धेरै दानपत्र, अभिलेख आदि लिएर गएको विश्वास गरिन्छ र जुन लुकाएर राखिएको छ। त्यहाँबाट राजाहरूले दिएको जग्गाको अभिलेख प्रकाशित गरिएको छ। मकवानीदेखि शाहवंशीसम्म मन्दिर खर्च आदिका लागि प्रकाशित भए पनि जानकी मन्दिरको निर्माणको विवरण दिने कुनै दस्ताबेज वा शिलालेख उल्लेख गरिएको छ भने त्यसका लागि कुनै पहल भएको छैन। जिज्ञासुलाई वञ्चित गर्दै महत्त्वपूर्ण प्रमाण।
मैले साप्ताहिक ‘गामघर’को विशेष अंकमा पहिला तीन स्रोतबाट थाहा पाएका आवश्यक कुरा समावेश गरेको थिएँ। त्यसपछि अन्य केही तथ्य बाहिर आए। जसलाई सार्वजनिक रूपमा उल्लेख गर्नु उचित ठानिनँ।
मैले उहाँलाई यसको निर्माणको शिलालेखका बारेमा सोध्न सकिनँ। यो अझै पनि हुन सक्छ। उनी नयाँ दिल्लीको आफ्नो दरबारमा छन्।
अहिले ओरछा राजदरबार प्रमुख पर्यटकीय गन्तव्य बनेको छ। ओरछाको सम्पूर्ण कम्प्लेक्सलाई विश्व सम्पदा सूचीमा राख्ने काम अघि बढेको छ। पाँचौं पुस्ताका महाराजा मधुकर शाहले भनेझैं कति कागजातहरू दरबारको संग्रहालयमा हुन सक्छन्। प्रश्न उठ्छ–ती कसले पल्टाउने?
यस सम्बन्धमा महन्त रमतापेश्वर दाससँगको अन्तर्वार्तामा उनले जानकी मन्दिरको शताब्दी मनाउन टिकमगढबाट मगाइएको पुस्तकका आधारमा मिति तय भएको बताए। ‘पुस्तकमा टिकमगढ, कनक भवन र जानकी मन्दिरका बारेमा जानकारी थियो,’ महन्त भन्छन्। अहिले त्यो पुस्तक उहाँसँग छैन।
एउटा अर्को आधार पनि हुन सक्थ्यो–२०२० साल साउन १२ गते शनिबारका दिन श्री ५ को सरकारको निर्णयका आधारमा स्थानीय मालअड्डाका हाकिमहरूको रोहबरमा जानकी मन्दिरको बहुमूल्य अरबौं रूपैयाँका (आजको भाउमा) गरगहना, अन्य सामग्रीको लगत खडा गरी श्री ५ को सरकारमा बुझाउन लगिएको थियो। त्यो समयको लगतको कुनै जानकारी प्रदान गरिएको छैन।
तत्कालीन महन्त रामशरण दासले त्यस्तो कुनै दस्ताबेज दिएका थिए वा थिएनन् भन्ने मन्दिरलाई कुनै जानकारी छैन। अब ती बहुमूल्य रत्नहरूको अत्तोपत्तो पनि छैन। रामप्रसाद भण्डारी ‘सम्भव’को सम्पादनमा ‘गुठी, मठमन्दिरका गरगहनाहरू सम्बन्धी केही जानकारी’ नामक अत्यन्त मेहनतले तयार गरिएको देशका २१५ प्रमुख मठमन्दिरबाट उपर्युक्त विधिअनुसार लगिएका गरगहनाको सूचीमा जानकी मन्दिरबाट लगिएका गरगहनाको सूची छैन।
२०६३ सालमा प्रकाशित ११६० पृष्ठको यो दस्ताबेजी ग्रन्थमा राम मन्दिरका गरगहनाको चर्चा छ तर जानकी मन्दिरका हिरा, पन्ना, जवाहरातसमेत जडित) गरगहनाको उल्लेख नहुनुले शङ्का उत्पन्न गर्छ। मन्दिरको गारा (गहना)को सूची नभएकाले यस सम्बन्धमा वर्तमान महन्त राम तपेश्वर दास आफैले सरोकारवालासँग सोधपुछ गरेका छन्, जहाँबाट उनले नयाँ जानकारी पाएका छैनन् ।
तथ्यहरू कसरी पुष्टि गर्न सकिन्छ?
यसका लागि सम्बन्धित राजघरानाका दस्ताबेजहरूको खोजबिन हुनुपर्छ। यसका लागि औपचारिक टोली बनाएर दिल्ली, अयोध्या र ओरछा दरबारको अध्ययन (भ्रमण) जरुरी छ। तब नैे केही नवीन तथ्य प्राप्त गर्न सकिन्छ।
यता पङ्क्ति–लेखकको प्रयासबाट केही महत्वपूर्ण दस्ताबेज प्राप्त भएको छ, जसले जानकी मन्दिरको निर्माणको सूचना दिइरहेको छ। त्यो छ–अयोध्याको कनक भवनमा महाराज प्रताप सिंहकी तृतीय पत्नी महारानी नरेन्द्र कुंअरिद्वारा स्थापित शिलालेख। गद्य, पद्य र अंग्रेजीमा लेखिएको यो अभिलेख (शिलापत्र) जनकपुरधाममा जानकी मन्दिर निर्माणपछि जडान गरिएको छ। (संलग्न चित्र)
महारानी वृजभान कुंअरि अत्यन्त धार्मिक स्वभावकी महिला थिइन्। त्यसैले उनलाई ‘रामाप्रिया सहचरी’ उपाधिबाट सम्बोधित गर्ने गरिन्थ्यो। पूर्व महाराजा मधुकर शाह पंक्तिलेखकसँगको अन्तर्वार्तामा स्पष्ट रूपमा भनेका थिए-तत्कालीन समयमा रानीको कुनै विशेष कामका लागि मासिक तलब दिने गरिन्थ्यो। त्यसमध्येकै रूपैयाँ सञ्चित गरी उनी जानकी मन्दिरको निर्माण गराएकी थिइन्। निर्माणको बिचमा नै रकम घटेछ, काम बन्द भयो। तब महाराजले आफूले लगानी गरेर काम पूर्ण गरेका थिए।
जानकी मन्दिरलाई मध्यप्रदेशको ओरछाका राजा प्रताप सिंहकी जेठी पत्नी बृजभान कुंअरीले जानकीको नाममा बनाएको एउटा भव्य, आकर्षक मन्दिरको रूपमा हेर्दै आएका छौं। यहाँ विदेशबाट लाखौं भक्तजन आउने गर्छन्। यो नेपालको गौरव र हिन्दुका लागि मानक गन्तव्य हो।
१९४८ सालमा कनक भवनको निर्माण सम्पन्न गरी मूर्ति स्थापना गरिएको थियो। त्यो पनि महारानी बृजभान कुंअरिले निर्माण गरेका हुन्। कनक भवनको देखरेख गर्नका लागि एकटा ट्रस्टको स्थापना पनि महाराजद्वारा भएको थियो-‘श्री वृजभान धर्मेत’ निजी ट्रस्ट। जसका अध्यक्ष महाराज प्रताप सिंह थिए।
त्यसै शिलालेखमा लेखिएको छ-‘इन्होने ही एक बृहत् श्री जानकी मन्दिर, जनकपुर मे निर्माण कराकर श्री विग्रह स्थापित किया ।’ त्यसपछि वंश परिचय दिइएको छ।
जानकी मन्दिरको निर्माण सन् १८९४ मा सुरु भई सन् १९११ मा सम्पन्न भएको थियो। यो सर्वमान्य तथ्य हो र यसको पुष्टि राजाबहादुर मधुकर शाहले पनि गर्नुभयो। तथ्य यो पनि छ-जानकी मन्दिरको निर्माण सम्पन्न हुँदै गर्दा महारानी बृजभानु कुंअरि परलोकवासी भइसकेकी थिइन्। दोस्री महारानी महेन्द्र कुंअरि आएकी थिइन्। मूर्तिको प्राण प्रतिष्ठाको समय। त्यसपछि कनक भवनमा शिलालेख लगाउने काम तेस्री महारानी नरेन्द्र कुंअरिले गरिन्, जसमा जानकी मन्दिरको निर्माणको जानकारी दिइएको छ। यसभन्दा पहिले जानकी मन्दिरको पुनर्निर्माण गराइएको थियो।
लेखक कापडि मधेश प्रज्ञाप्रतिष्ठानका अध्यक्ष हुन्।
प्रकाशित: ३० भाद्र २०८० ०३:०९ शनिबार