८ वैशाख २०८१ शनिबार
विचार

माफिया को हुन् ?

नेपालमा हिजोआज धेरै प्रयोगमा आएको शब्द हो, माफिया । सबैको मुखबाट एउटै कुरा सुनिन्छ- माफियाले देश बिगारे ।  देश माफियाले चलाए । सत्याग्रही डा. गोविन्द केसी पटकपटक भन्नुहुन्छ- यो देश माफियाले चलाएको छ । आक्रोश पोख्दै मान्छेहरू भन्छन्— कांग्रेस, एमाले, माओवादी सबै माफिया भए । हामीले सामूहिक रूपमा चिन्ता व्यक्त गरिरहँदा, माफिया को हुन् ? माफियाले कसरी देश चलाउने हैसियत बनाए भन्ने प्रश्न अनुत्तरित नै छन् ।  

भोलि प्रचण्ड, केपी वा कांग्रेसबाट अरू कोही नयाँ अनुहार देशको प्रमुख कार्यकारीका रूपमा आए पनि यिनीहरू भ्रष्टाचारको आरोपमा कसैमाथि कारबाही गर्न सक्ने हैसियत राख्दैनन् किनभने कुनै न कुनै रूपमा देशमा घट्ने ठूला भ्रष्टाचारका घटनामा संरक्षकहरू यिनै हुन् ।  

माफिया कुनै अमूर्त बहसको विषय होइन । माफियाहरू राज्य सञ्चालनमा सक्रिय छन् । नेपालमा माफिया को हुन् भनेर परिभाषा स्थापित नभएकाले यी यी व्यक्तिहरू माफिया हुन् भनेर हामीलाई चिनाउन गाह्रो परेको हो । माफिया शब्द आफैँमा नेपाली शब्द होइन, तर पनि प्रयोगको हिसाबले यो चलनचल्तीको शब्दजस्तै बनेको छ । माफिया शब्दको प्रयोग गरिरहँदा हरेकको दिमागमा आफ्नै अनुमान हुन्छ, माफिया यस्तै हुनुपर्छ भनेर । सबै अनुमानहरू आफ्नै ठाउँ र परिवेशमा ठीक पनि हुन सक्छन् । जे होस्, माफिया शब्दलाई नेपालको सन्दर्भमा परिभाषित गर्दै राष्ट्रव्यापी बहसका रूपमा स्थापित गर्न जरुरी छ । 
माफिया शब्दलाई नेपालको सन्दर्भमा टिप्पणी गर्नुअघि यसको अन्तर्राष्ट्रिय रूपमा स्थापित परिभाषा हेरौँ ः कुनै एउटा समूहको निहित स्वार्थलाई ध्यानमा राखेर गरिने व्यवस्थित अपराध माफियागिरी हो र यस्तो अपराधकर्ममा सामेल हुनेहरूलाई माफिया भनिन्छ । माफियाहरूको मुख्य काम भनेको झुटा जालझेलपूर्ण काम गर्ने सञ्जालको संरक्षण गर्ने, राज्यलाई ढाट्ने, छल्ने किसिमको गैरकानुनी काम गर्ने, राज्यको साधन स्रोतको असीमित दुरुपयोग गर्दै आफ्नो व्यक्तिगत फाइदामा प्रयोग गर्ने हो । कहिलेकाहीँ माफियाहरू सुन, ड्रग तस्करी, चर्को ब्याजदरमा ऋण उपलब्ध गराउनेजस्ता क्रियाकलापमा सक्रिय हुन्छन् । माफियाहरूले राज्यको कमजोरी तथा कानुनी छिद्रहरूको फाइदा लिँदै आफ्नो साम्राज्य विस्तार गर्छन् । 
माफिया शब्द इटालीको सिसिली प्रान्तबाट आयातित शब्द हो । सिसिलियन भूभागमा माफियालाई माफिसु भनिन्थ्यो जसको अर्थ महसुर, तेजस्वी भन्ने हुन्थ्यो । इटालियन भाषामा माफिसुलाई माफियोसो भनिन्छ । १९ औँ शताब्दीमा माफिसु भनेको निर्भीक, उद्यमी पुरुष भन्ने बुझिन्थ्यो भने महिलाको हकमा सुन्दर वा आकर्षक महिला अर्थ लाग्थ्यो । कामको सिलसिलामा अमेरिका पुगेका इटालियन नागरिकहरूको कार्यशैलीका कारण बिस्तारै माफिया शब्दको नकारात्मक प्रयोग हुन थाल्यो । समयक्रमसँगै माफिया शब्द अपराध र गैरकानुनी क्रियाकलापको पर्यायवाची बन्न पुग्यो । अहिले विश्वमा माफिया चर्चा चल्दा स्पेनिस, जापानिज, साउथ अमेरिकन, मेक्सिकन, इन्डियन, अफ्रिकन विभिन्न पहिचानसाथ माफियाहरूको वर्गीकरण गरिन्छ । माफियाको पहिचानलाई हलिउड चलचित्रहरूले विश्वव्यापी बनाए । धेरैजसो चलचित्रहरूमा लागु औषध, तस्करी, ड्रग्स, तथा विविध गैरकानुनी क्रियाकलापमा संलग्न समूहलाई माफियाका रूपमा चित्रित गरेको पाइन्छ । 
माथिको प्रसंगलाई हेर्दा के बुझिन्छ भने माफियाहरू आफैँ देखिने गरी अपराध कर्ममा सामेल हुनुभन्दा पनि अपराधलाई व्यवस्थित गर्ने, अपराधकर्ममा सामेल हुनेहरूको सञ्जाललाई संरक्षण गर्ने, कानुनी छिद्रहरू खोज्दै राज्यको साधन स्रोत असीमित रूपमा दुरुपयोग गर्ने जस्ता कामहरूमा केन्द्रित हुन्छन् । माफियाहरूले विभिन्न पात्रहरूमार्फत आफ्नो स्वार्थ पूर्ति गर्ने काम गर्छन् । ऐतिहासिक रूपमा माफियाहरूले आफ्नो राजनीतिक पहँुच र शक्तिलाई दुरुपयोग गर्दै मुख्य रूपमा तस्करीमा केन्द्रित पाइन्थ्यो तर नेपालमा माफियाहरूले राजनीतिलाई नै आफ्नो कब्जामा लिएको अवस्था छ । 
माफियाहरूको पहिचान र नामकरणलाई सहज पार्न नेपालको राजनैतिक घटनाक्रमसँगै पछिल्लो समय चर्चामा आएका भ्रष्टाचारका मुद्दाहरूलाई हेरौँ । कर फस्र्याेट आयोग, नेपाल आयल निगम, साझा प्रकाशन, अख्तियार, त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षामा भएका धेरै ठूला अनियमितताका घटना प्रामाणिक रूपमा पत्रपत्रिकामार्फत बाहिर आए । कर फस्र्योट आयोगका सदस्य सचिव चूडामणि शर्मा नेपालको इतिहासमा सबैभन्दा ठूलो भ्रष्टाचारको मुद्दामा आरोपित बने र विशेष अदालतमा मुद्दा चल्दै छ । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई निगमका लागि आयल भण्डारण केन्द्र खोल्न जग्गा किन्दा अर्बौं घोटाला गरेको अभियोग खोज पत्रकारहरू तथा केही सांसदहरूले लगाएका छन् । साझा प्रकाशनका प्रमुख डोलिन्द्र शर्मामाथि ठूलो अनियमितताको आरोप लागेको छ । तीर्थ खनियाँको बौद्धिक चोरी तथा गैरकानुनी सम्बधनका मुद्दाहरूले आज नेपालको शैक्षिक क्षेत्र लज्जित बनेको छ । 
गोपाल खड्काको मुद्दामा अहिलेसम्म न त सरकार न त अख्तियार अनुसन्धान अगाडि बढाउन इच्छुक देखिन्छन् । चूडामणि र डोलिन्द्र शर्मामाथि कुनै कारबाही भएन भने पनि त्यो आश्चर्य हुने छैन । किनभने कुनै पनि सरकारी कर्मचारीहरू आफ्नो महत्वाकांक्षाले मात्र करोडौँ भ्रष्टाचार गर्न सक्दैनन् । जब करोडौँ, अर्बौं रुपियाँ भ्रष्टाचारको कुरा बाहिर आउँछ, त्यसको पछाडि ठूलो गिरोहको आड तथा प्रत्यक्ष राजनीतिक संलग्नताबिना सम्भव हँुदैन । उदाहरणका लागि, नेसनल मेडिकल कलेजलाई फर्जी प्रतिवेदनका आधारमा चिकित्सा शिक्षा सुरु गर्ने अनुमति दिएर बदनाम बनेका त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँ र कार्यकारी पदाधिकारीहरू राजनीतिक दबाबका कारण आफूहरूले त्यस्तो निर्णय गरेको भन्दै सार्वजनिक प्रस्टोक्ति दिन थालेका छन् । 
लोकमानसिंह कार्की अख्तियार प्रमुख नियुक्तिको मुद्दाले पनि नेपालमा माफिया पहिचानका लागि प्रशस्त आधार दिन्छ । लोकमानले अख्तियार प्रमुखको रूपमा आफूले गर्नुपर्ने कामबाहेक गर्न नहुने काम सबै गरे । लोकमान बदनाम त बने तर धेरै ठूलो आलोचना र विरोधका बाबजुद उनीमाथि कुनै पनि छानबिन र कारबाही हुन सकेन । लोकमान, गोपाल खड्का, चूडामणि शर्मा, तीर्थ खनियाँजस्ता पात्रहरू सजायका लागि योग्य छन्, तर उनीहरूलाई मात्र सजाय दिएर यो समस्या रोकिँदैन । एकछिन कल्पना गरौँ, लोकमान, चूडामणि, तीर्थ, गोपालको ठाउँमा कुनै अरू पात्र जस्तै लोकेश, हिरामणि, जगन्नाथ, गोकुल, खेम भएको भए यो बदमासी हुँदैनथ्यो त ? त्यहाँ उनीहरूको ठाउँमा अरू जोसुकै भए पनि बदमासी रोकिँदैनथ्यो । किनभने ‘म त्यो ठाउँमा गएर बदमासी गर्छु’ भन्ने सर्त मन्जुर नगर्ने कुनै सरकारी कर्मचारी चूडामणि, लोकमान, तीर्थ, गोपाल, डोलिन्द्रका ठाउँमा पुग्नै सक्दैनन् । त्यसैले यो बदमासीको जरा यी व्यक्तिहरूभन्दा धेरै माथि छ । 
सर्वसाधारणले लोकमान सिंह, चूडामणि शर्मा, गोपाल खड्का, तीर्थ खनियाँ आदिलाई माफिया भनेर आक्रोश पोखेको देखिन्छ । वास्तवमा यिनीहरू माफिया नभई माफियाका मतियार मात्र हुन् । यिनीहरूलाई नियुक्ति गर्ने र यिनीहरूको संरक्षक भूमिका खेल्नेहरू यो देशका सच्चा माफिया हुन् । अबको छलफल र आक्रोश सच्चा माफियामाथि केन्द्रित हुनुपर्छ । युवा पुस्ताले अब निर्भीकतापूर्वक भन्नुपर्छ, आजको दिनमा नेपालमा शेरबहादुर देउवा, केपी शर्मा ओली, प्रचण्डभन्दा ठूलो माफिया अर्को छैन । सबै भ्रष्टाचारका जड र संरक्षक यिनै त्रिमूर्ति हुन् । भोलि यिनीहरूको पार्टीभित्र नेतृत्वमा अनुहारहरू फेरिन सक्छन् तर यिनीहरूले संस्थागत गरेको भ्रष्टाचारको पद्धति र यिनीहरूले विस्तार गरेको माफियाको सञ्जालमा कुनै परिवर्तन हुनेछैन । 
आज शेरबहादुर यो देशको प्रधानमन्त्री छन् । सामान्य नैतिकता र सदाचार भएको व्यक्ति विश्वमा कहीँ पनि दुईपटकभन्दा बढी देशको सर्वोच्च पद प्रमुख कार्यकारी बन्ने चाहना राख्दैनन् । देशको विकास गर्छु, भ्रष्टाचार नियन्त्रण गर्छु, सुशासन स्थापना गर्छु भनेर यिनी प्रधानमन्त्री भएका होइनन् । उनी आफ्नो पार्टीभित्र र बाहिर आफैँले विस्तार गरेको भ्रष्ट सञ्जाललाई जोगाउन चौथो पटक पनि देशको कार्यकारी बन्न सफल भए । भोलिको दिनमा प्रचण्ड, केपी वा कांग्रेसबाट अरू नयाँ अनुहार देशको प्रमुख कार्यकारीका रूपमा आए पनि यिनीहरू भ्रष्टाचारको आरोपमा कसैमाथि कारबाही गर्न सक्ने हैसियत राख्दैनन् किनभने कुनै न कुनै रूपमा देशमा घट्ने ठूला भ्रष्टाचारका घटनामा संरक्षकहरू यिनै हुन् ।  वर्तमान संसद्मा आफ्नो निहित स्वार्थको पछि लाग्ने माफिया सांसद, मन्त्रीहरूको लिस्ट निकै ठूलो छ । राजनीतिक दलका आवरणमा मौलाएका माफियाहरू नै देशको समृद्धि, न्याय र कानुनको सबैभन्दा ठूलो चुनौती हुन् । राजनीतिक माफियाहरूलाई जनस्तरमा पहिचान गरी राजनीतिलाई शुद्धीकरण गर्नु अपरिहार्य छ । माफियाहरूले समानुपातिक प्रतिनिधित्वको दुरुपयोग गर्दै देश चलाउने हैसियत बनाए । माफियाराजविरुद्ध जाग्न ढिला भइसक्यो । 

प्रकाशित: २० भाद्र २०७४ ०४:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App