१९२३ भदौ कृष्णऔँसीका दिन जन्मेका मोतीराम भट्ट नेपाली साहित्यमा उज्ज्वल नक्षत्र हुन्। आफ्नो पुर्ख्याैली थलो वनारसमा बस्न पुगेका मोतीरामको शिक्षादीक्षा पनि उतैबाटै सुरु भयो। वनारसमा संस्कृत र उर्दू भाषाको ज्यादै प्रचलन भएकाले मोतीरामले यी दुवै भाषा स“गस“गै अध्ययन गर्न थाले। वि.सं. १९३६ मा मोतीराम आफ्नी आमासाथ नेपाल आए।
१९३७ मा उनको विवाह भयो। विवाहपछि एक वर्षसम्म मोतीराम काठमाडौँमा नै बसे। यसै समयमा एक दिन मोतीराम आफ्ना साथी खड्गदत्त पाण्डेको विवाहमा जन्ती भएर गएको समयमा भानुभक्तको रामायणको श्लोक गाएर श्लोकमा नै एकअर्काले जुहारी खेलेको सुन्दा कवि हृदय भएका मोतीरामलाई निकै छोयो। मातृभाषाप्रति तीव्र मोह भएका मोतीरामलाई भानुभक्तको रामायणको पाठ श्लोक लयमा सुनेपछि उनले रामायणको खोजी गरे र बालकाण्ड फेला पारे।
मोतीरामको साहित्यिक जीवन उर्दु भाषाबाट सुरु भएको हो। उनले वनारसमा पनि साहित्यमा रुचि भएका युवकहरूलाई जम्मा गरी साहित्यिक मण्डली बनाएका थिए भने काठमाडौँ आएको समयमा काठमाडौँमा पनि त्यस्तै प्रकृतिको साहित्यिक मण्डली बनाएका थिए। यसैले यी मोतीरामलाई नेपालका भारतेन्दु तथा नेपालेन्दु भनेर पनि सम्बोधन गर्ने गरिन्छ। १९३८ सालपछि अर्थात् १५ वर्षको उमेरपछि नेपाली साहित्यको विकासमा लागे। वनारसमा रह“दा भारतीय व्यक्ति रामकृष्ण वर्माको सहयोग लिएर त्यहाँ वि.सं. १९४१ मा भारत जीवन प्रेस (यन्त्रशाला) खोलेर त्यसको आफैँ व्यवस्थापक बनी 'गोरखा भारत जीवन' भन्ने नेपाली पत्रिकाको सम्पादन र प्रकाशन गरे। यसै प्रेसबाट वि.सं. १९४१ मा नै भानुभक्तको रामायणको बालकाण्ड र १९४४ मा पूरै रामायण छपाएर नेपाली भाषा, रामायण र भानुभक्तको प्रचारप्रसार गरे। पछि धेरै नेपाली पुस्तक यसै प्रेसबाट छपाएर व्यापक प्रचार गरे। साथै उनले छपाएको भानुभक्तको रामायण बेलायतको पुस्तकालयमा समेत पठाएर प्रचार गरेका थिए।
काठमाडौँ आएपछि नरदेव पाण्डेका दाजु कृष्णदेव पाण्डेस“ग मिलेर वि.सं. १९४५ मा ठहिटीमा मोतीकृष्ण कम्पनी भन्ने पुस्तकालय स्थापना गरे। त्यति नै बेला काठमाडौँमा पाशुपत प्रेस पनि सञ्चालन गरे। नेपाली साहित्यमा भानुभक्तभन्दा पछि र लेखनाथभन्दा पहिलाको अवधिलाई साहित्यको शृङ्गार काल भनिन्छ। मोतीराम पनि यही शृङ्गारिक कालका प्रमुख शृङ्गार कवि र गजलकार हुन्।
भानुभक्तको मृत्यु हु“दा मोतीराम २ वर्षका थिए। उनले भानुभक्तलाई देख्न र चिन्न पाएनन्। भानुभक्तले लेखेको रामायणको अरुले गरेको पाठ सुनेर त्यो लयबद्ध पाठको खोजी गरी छपाएर प्रचार गर्दा मोतीरामलाई अपार आनन्द लाग्यो। १९५३ मा मृत्यु शैय्यामा रहेको अवस्थामा अर्थात् विवाह भएको १६ वर्षसम्म पनि आफूबाट कुनै सन्तान नभएपछि उनले आफ्नी आमातिर हेरेर भनेथे, 'मेरा कुनै सन्तान भएनन्, भएका भए पनि १०० वर्षभन्दा बढी बाँच्ने थिएनन्। तर मैले रचना गरेका गजेन्द्र मोक्ष, प्रह्लादभक्तिजस्ता कृति नै मेरा सन्तान हुन् र ती कृतिरूपी सन्तान सय वर्षमात्र होइन, हजारौँ हजार वर्षसम्म बाँचिरन्छन्। तिनैलाई मेरा सन्तान सम्झनुहोला।'
कवि जोन किट्सको २६ वर्षको उमेरमा मृत्यु भएर पनि सधैँ अमर रहिरहेका छन्। नेपालभित्रकै गोकुलप्रसाद जोशी ३१ वर्षमा, अच्छा राई रसिक २४ वर्षमा, जीवन आचार्य २९ वर्षमा, लोकेन्द्र शाह २४ वर्षमा, विमल गुरुङ २० वर्षमा मृत्यु भएर पनि सधैँ अमर रहिरहेजस्तै यी राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्ट पनि ३० वर्षमै मृत्युवरण गरेर पनि अमर छन्।
प्रकाशित: ५ भाद्र २०७४ ०३:४७ सोमबार