१८ असार २०७९ शनिबार
विचार

संस्कृत शिक्षाका शिखर व्यक्तित्व

नेपालमा संस्कृत वाङ्मयका विद्वान् थौरै छन्। संस्कृत पढ्ने त धेरै होलान् तर संस्कृतको अध्ययन, अध्यापन, स्वाध्याय र निदिध्यासनमा लाग्ने थोरैमात्र छन्। संस्कृत भाषाका ग्रन्थ पगेर्ने साधनामा लागेका थोरै विद्वान्मा पशुपति क्षेत्रस्थित शङ्कराचार्य मठका मठाधीश स्वामी डा. रामानन्द गिरीलाई बिर्सन सकिन्न। उहाँको पढाइलेखाइ वाल्मीकि संस्कृत विद्यापीठ र तत्कालिक महेन्› संस्कृत विश्वविद्यालयमा भएको थियो। उहाँले त्यही विश्वविद्यालयबाट वेदान्तमा आचार्य र जनक दर्शनमा विद्यावारिधि पनि गर्नुभएको थियो।

स्वामी रामानन्द गिरीले 'एउटा साधुले यसरी निस्वार्थ भएर जोडेर पो समाज र राष्ट्रमा केही हुने रहेछ' भन्ने दृष्टान्त छाडेर जानुभएको छ।

बाल्यकालमै आमा/बाबु गुमाएका रामप्रसादले तीनधारा पाकशालामा बसेर कलेजस्तरको शिक्षा आर्जन गर्न सफल हुनुभयो भने आचार्य उत्तीर्ण गरेपछि तीनधारा पाकशालामा बस्न नपाइने भएपछि केही समय पशुपतिनाथ मन्दिरको सानिध्यमा रहेको वासुकी आश्रममा बस्नुभयो। उहाँका लागि त्यो स्थान प्रारम्भिक शिक्षा र अनुभवका हिसावले महत्वपूर्ण रह्यो। श्यामचेतन बाबा त्यही आश्रममा बस्नुहुन्थ्यो। उहाँकै अभिभावकत्वमा स्वामीज्यूले झण्डै एक वर्ष जति त्यहीँ बसेर पढ्ने/लेख्ने अवसर प्राप्त गर्नुभयो।

खप्तडबाबासहित सात जना तिनताक भारतबाट जीवन र जगतको यथार्थ खोज्न निस्केका युवामध्ये श्यामचेतन बाबा पनि एक हुनुहुन्थ्यो। श्यामचेतन बाबा युवा अवस्थामा विभिन्न क्षेत्रको भ्रमण गर्दै हिँड्नुभयो र अन्त्यमा भगवान् पशुपतिनाथकै सानिध्यलाई सहारा सम्झी मन्दिर नजिकैको वासुकी आश्रममा साधनामय जीवनमा रमेर बस्नुभयो। जीवनको अन्तिम घडीसम्म पनि त्यसैगरी त्यागमय, योगमय जीवन बिताउनुभयो। एक किसिमले उहाँको जीवन उच्चकोटिको साधनामय बनेको थियो। ब्रह्ममुहूर्तदेखि बेलुकीसम्म पूजापाठ, ध्यान र योगमा जीवन बिताउनुहुन्थ्यो। प्रत्येक दिन विभिन्न विद्वान्को अद्वैत वेदान्तका विषयमा प्रवचनको सिलसिला उहाँले त्यहाँ चलाउनुभएको थियो।

श्यामचेतन बाबाको अभिभावकत्वमा त्यही आश्रममा सानैदेखि बसेर शिक्षा आर्जन गरेका धादिङका वटुक रामप्रसाद सुवेदीले स्वदेश तथा विदेशका विद्वान्हरूको प्रवचन केटाकेटीदेखि नै यसरी सुन्दै आउनुभएको थियो। श्यामचेतन बाबाकहाँ त्यसबेला झण्डै ८–१० जना विद्यार्थी बस्थे/पढ्थे। त्यहाँ बसेर पढेकामध्ये नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति भएर सेवा गर्नुभएका विदुर पौडेल र पछि संन्यास ग्रहण गर्नुभएका स्वामी रामानन्द गिरीले नै श्यामचेतन बाबाको परिश्रमलाई खेर जान दिनुभएन। अरू त मात्र जीविका चलाउन आएजस्ता भए। उनीहरूले संस्कृतका लागि केही गर्न सकेनन्।

आचार्य र विद्यावारिधि सकिएपछि वनारस र दिल्लीका दक्षिणेश्वर संस्कृत विद्यापीठमा करिव दुई वर्ष पढाएपछि उहाँलाई आफ्नै देशमा केही गर्नुपर्छ भन्ने लाग्यो। कुनै बेला त गृहस्थ जीवनमा प्रवेश गर्ने हो कि भन्ने विचार पनि नआएको होइन तर पछि त्यो विचार त्यागी संन्यासी बनेर धर्म/अध्यात्मका लागि केही गर्नु बुद्धिमानी हुने सम्झी उहाँले दिल्लीको दक्षिणेश्वर बस्ने महामण्डलेश्वर स्वामी श्रीमहेशानन्द गिरीबाट वि.सं. २०४७ मा संन्यास दीक्षा ग्रहण गर्नुभयो। त्यसपछि काठमाडौँस्थित कालीमाटी डोलमा भर्खरै निर्माण भएको प्रकाश संन्यास आश्रममा बस्न थाल्नुभयो। त्यहाँ दिउसभर अद्वैत वेदान्तका प्रवचन दिनुहुन्थ्यो। केही समयपछि उहाँलाई खप्तडबाबाको आशीर्वाद प्राप्त भयो कि संस्कृत शिक्षा नेपालको आवश्यकता हो, संस्कृत वाङ्मयमा भएका ज्ञानभण्डारलाई जीवन्त राख्न देवघाटमा संस्कृत विद्यालय एवं त्यसलाई स्तरोन्नति गर्दै विश्वविद्यालयीय शिक्षा आवश्यक छ भन्ने बोध गराइदिनुभयो। त्यसकै केहीपछि  प्रथमतः देवघाटधाममा महेश संन्यास आश्रमको जग बसाउन लाग्नुभयो। उहाँले मुठीमुठीबाट सुरु गरेको आश्रम र विद्यालय अहिले बृहत् भएको छ। राज्यले गर्न नसकेको काम उहाँले गरेर देखाइदिनुभएको छ।

   उहाँको स्वभाव चूप लागेर बस्ने किसिमको थिएन। अनवरत केही न केही लेखेर, टिपेर बस्ने स्वभावले श्रीमद्भागवत् महापुराणका सम्पूर्ण स्कन्द, अध्याय र श्लोकहरूको शब्द–शब्द अनुवादसहितको रामानन्दी टीका सात भागमा प्रकाशित हुन सक्यो। यसको भाषा सम्पादन गर्ने विद्वान् प्रा. शिवगोपाल रिसाल तथा प्रकाशनलाई चाहिने झण्डै आधा आर्थिक हिस्साको जिम्मेवारी बोक्ने कमलमणि दीक्षित पनि यो श्रेयका भागी हुनुहुन्छ। त्यसबाहेक जनकदर्शन, माण्डुक्यकारिका, रामगीता, वेदस्तुति, देवीगीता, दुर्गासप्तशती, उपनिषद्लगायत पुस्तक प्रकाशित छन्। अध्यात्म रामायण प्रकाशनका लागि ठिक्क पार्नुभएको थियो तर उहाँको जीवनकालले भ्याएन।

संस्कृत शिक्षाका साथै अंग्रेजी भाषाको ज्ञान पनि आवश्यक छ भन्ने उहाँलाई लाग्यो। आफूभन्दा कम उमेरका सञ्जय अधिकारीबाट अंग्रेजी भाषामा लेख्नभन्दा पनि सम्वाद गर्न उपयुक्त हुने किसिमले सिक्न थाल्नुभयो। शङ्कराचार्यमठमा रहँदा सिकाइमा बाधा पर्छ भन्ने सम्झी सबेरै शङ्कराचार्यमठबाट गोठाटार पुग्नुहुन्थ्यो। कहिलेकाहीँ दुवैजना अंग्रेजीमा वार्तालाप गर्दै हिँडेको अवस्थामा भेटिन्थ्यो। उमेरले पढ्न छेक्दैन भन्ने कुराको पुष्टि उहाँले ५७ वर्षको उमेरमा अंग्रेजी सिक्ने प्रयत्नमार्फत गर्नुभयो। यो भाषा सिकेर पश्चिमा देश घुमी वेदान्त सिकाउने उहाँको चाहना भने पूरा हुन सकेन।

'तँ चिता म पुर्‍याउँछु' भनेजस्तो निस्वार्थ कामको सुरुवात उहाँले देवघाटमा गरेर देखाउनुभयो। त्यसमा धेरै नेपालीले होस्टेमा हैँसे गरे। आज त्यहाँ देख्न पाइने महेश संस्कृत गुरुकूल विद्यापीठ जोकोहीले कल्पनै गर्न नसक्ने अवस्थामा छ। उहाँको दुई दशकभन्दा बढी समय, परिश्रम र सपना त्यहाँ सिँचित छ। उहाँको विरासत कसरी जोगाइराख्ने? यो बहुतै जटिल प्रश्न बनेको छ। हिजो उहाँले त भिक्षा मागेर जम्मा गर्नुभएको थियो। उहाँको आग्रह नै काफी थियो। अब त्यो कसले गर्ने? सरकारले देवघाटमा सञ्चालन भइरहेको यो गुरुकुलीय शिक्षा रोक्न दिनुहुन्न।

अहिले आश्रममा झण्डै दुई सय विद्यार्थी खाना र आवाससहित ६ कक्षादेखि आचार्यसम्मको शिक्षा निःशुल्क लिइरहेका छन्। उनीहरू संस्कृतमात्र होइन, अंग्रेजी, गणित, सामाजिक र कम्प्युटर शिक्षाजस्ता सिकाइलाई अतिरिक्त विषयका रूपमा अध्ययन गरिरहेका छन्।

स्वामी रामानन्द गिरीले देवघाटस्थित महेश संन्यास आश्रमको जग्गा आफ्नै झोलीको पैसाले सुरुमा ४ रोपनी, पछि अलिअलि गर्दागर्दै थप्दै जाँदा ६० रोपनी जति पुगेको छ। विद्यालय, क्याम्पस, साधुसन्त निवास, कर्मचारी आवास, अतिथिगृह, शिक्षक निवास, छात्रावास, सभाहल, मन्दिरलगायत ११ वटा भवन, खेल मैदान, कृषि फार्म, बगैंचा, वाटिकाजस्ता रमणीय संरचनाले भरिभराउ आश्रम परिसर देख्दा एउटा साधुले यसरी निस्वार्थ भएर जोडेर पो समाज र राष्ट्रमा केही हुने रहेछ भन्ने दृष्टान्त छाडेर जानुभएको छ।

आश्रमकै परिसरमा विभिन्न व्यक्तिले आफ्नो देवघाट बसाइका लागि बनाएका कोठा छन्। फुर्सदका बेला तथा देवघाट जाँदा आफ्नो जीवनकालभर बस्न मिल्ने, शेषपछि भने नपाउने गरी बनाइएका ती कोठा देशका नाम चलेका प्रतिष्ठित व्यक्तिका छन्। स्वामीज्यूको भौतिक शरीरको अनुपस्थितिले निम्त्याएको यो रिक्तताको अवस्थामा के गरेर उहाँका कीर्तिहरूलाई संरक्षण, सम्वर्धन गर्ने भन्नेबारे उहाँहरूले पक्कै पनि चिन्तन गर्नुभएकै होला। महेश संन्यास आश्रम परिसरको झण्डै १०–११ हजार पुस्तकसहितको सुविधासम्पन्न पुस्तकालय, मल्टिमिडिया र इन्टरनेटसमेत व्यवस्थाले यो ठाउँलाई प्राचीन र आधुनिक शिक्षाको संगम बनाइदिएको छ। सद्सङ्कल्प जागेपछि त्यसैलाई समय दिएर त्यसकै लागि तन, मन, धन दिएर निरन्तर लागिपर्‍यो भने के हुँदैन भन्ने उदाहरण अनकन्टार गाउँबाट पढ्ने धोकोसहित आएको अकिञ्चन विद्यार्थीले प्रमाणित गरेर देखाइदिए। उहाँद्वारा सिर्जित देवघाट धामको सम्पूर्ण संरचना र संस्कृत शिक्षाको उन्नयन सबैका लागि सिक्ने विषय बन्न सक्छ। साँच्चै भन्ने हो भने देवघाटको महत्व बढाउन त्यहाँ भएका जति पनि आश्रम छन् तिनको भूमिका नकार्न सकिन्न। त्यसमा पनि महेश संस्कृत गुरुकूल आश्रम र विद्यालयले चार चाँद लगाएको भन्दा अत्युक्ति हुँदैन।

उहाँले २५ वर्षअघि देख्नुभएको सपना पूरा गर्ने क्रमको सुरुवात वि.सं. २०४९ मा महेश संस्कृत गुरुकूल विद्यापीठको भौतिक संरचना निर्माणसँगै भयो र वि.सं. २०५२ मा शैक्षिक कार्यक्रम थालनी गरेर प्रारम्भ भएको संस्कृत शिक्षाको दियोले देवघाटमात्रै होइन, सम्पूर्ण नेपालमा त्यसको महक फैलन थाल्यो। यहाँ ज्ञानार्जन गरेर दीक्षित भएका विद्यार्थी अहिले विभिन्न पद र पेशामा रहेर राष्ट्रसेवामा जुटेका छन्। यसैको प्रेरणाले अहिले देशमा एक किसिमको संस्कृत गुरुकूलको लहर आएको छ। यसलाई दिगो र व्यवस्थित गरेर एउटा निश्चित असल लक्ष्यसाथ अगाडि बढाउने हो भने संस्कृतको गरिमा र महत्व बढाउनुका साथैको राष्ट्रको प्रगति र उन्नतिमा पनि यो सहयोगी हुन सक्छ।

असल साधु, सन्त महात्मा पशुपति क्षेत्रका आभूषण हुन्। उहाँका कीर्ति जे/जति छन् तिनको संरक्षण/सम्वर्धन गर्न र स्थापित गुरुकूल र आश्रमको संरक्षकत्व अब उहाँकै शिष्य रमानन्दले प्राप्त गर्ने र स्वामीज्यूको उत्तराधिकारी पनि ग्रहण गर्ने निर्णय समितिले गरेको भन्ने जानकारी पनि उत्साहवर्द्धक छ। नेपालको संस्कृत शिक्षाका लागि यसरी मरिमेट्ने थोरै भेटिन्छन्। तिनमा स्वामी रामानन्द गिरी शिखर पुरुष नै बन्न समर्थ हुनुभयो। उहाँप्रति हृदयदेखि नै हार्दिक श्रद्धाञ्जली।

प्रकाशित: ३ श्रावण २०७४ ०८:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App