१५ चैत्र २०८० बिहीबार
विचार

मिथ्या समाचारको बाढीमा विज्ञान

फागुन १५, २०७३ मा एउटा राष्ट्रिय दैनिकमा एउटा समाचार छापियो– 'बाइकको इन्जिनले हेलिकप्टर'। रुकुमको एक युवाले रुकुम महोत्सवका लागि १ लाख ८५ हजार खर्चमा ३० दिन लगाएर 'हेलिकप्टर' बनाएको घटना समाचार बनेको थियो। हेलिकप्टरलाई नजिकबाट कहिल्यै नदेखेका उक्त युवाले आफूले बनाएको हेलिकप्टर पाँच फिटसम्म उडेको दावी उक्त समाचारमा गरेका थिए। समाचारअनुसार मेलामा उनलाई हेर्न आउनेको भीड थियो। उनको कार्यको प्रंशसा प्रधानमन्त्रीले समेत गरेका थिए। उक्त समाचार पढेलगत्तै मैलै टि्वट गरेँ– के हेलिकप्टर भनेको आकृतिमात्रै हो? समाचारमा भनिएअनुरूप नै रुकुममा १ लाख ८५ हजारको खर्चमा ३० दिनमा उड्ने हेलिकप्टर बनाउन साँच्चै सम्भव हुन्छ? यथार्थमा रुकुमको युवाले आफ्नो सिप खर्च गरेर हस्तकलाका सामग्री बनाएका थिए र उक्त टिनको बट्टा उडेको पनि आफँैले मात्रै देखेका थिए। तर सञ्चारमाध्यमले त्यसलाई हेलिकप्टर बनाइदियो। धन्न त्यही समाचारलाई सेयर गदर्ैै कसैले 'प्राउड टु बि नेपाली' भनेर सामाजिक सञ्जालमा लेख्न भने भ्याएन। बरु सामाजिक सञ्जालमा उक्त समाचारको आलोचनात्मक टिप्पणीहरू भेटिए।

गलत कुरा हतारमा प्रकाशित गरेर समाजमा भ्रम सिर्जना गर्नुभन्दा केही समय कुरेर तथ्य प्रकाशित गरेमा मिथ्या समाचारको बाढीबाट विज्ञानलाई बचाउन सकिन्छ।

त्योभन्दा उदेकलाग्दो समाचार चैत २०, २०७३ मा नेपालको सबैभन्दा पुरानो पत्रिका गोरखापत्रमा छापियो– 'नेपाली वैज्ञानिकले पूरा गरे ग्यालिलियोको अधुरो सपना' शीर्षकमा। समाचारअनुसार भौतिक विज्ञानको जग मानिने विस्थापनको सूत्र लामो समयदेखि समाधान हुन नसकेर त्यसैरहेको अवस्थामा नेपालमा गरिएको प्रयासले ४३२ वर्षपछि पूर्णता पाएको छ। सनसनीपूर्ण उक्त समाचारपछि त्यसमा संलग्न अनुसन्धानकर्ताबारे खोज्दा उक्त समाचारमा दावी गरिएअनुसारको विश्वासिलो कुनै पनि सामग्री इन्टरनेटमा भेटिएनन्। उक्त समाचारमा जनाइएको अनुसन्धानकर्ताको सुवातदेखि सुव्रतसम्म र सुव्रतका केही प्रभावहरू शीर्षकका अनुसन्धानात्मक कृति कुनै वैज्ञानिक जर्नलमा देखिएनन्। बरु उक्त अनुसन्धानकर्ताको आफ्नो अनुसन्धान दावीको 'सेल्फ प्रमोटेड' भिडियो युट्युबमा भेटियो। जसमा अनुसन्धानकर्ताको तीन किताब 'सामर्थ्यका सिद्धान्त', 'आर्किमिडिजको सिद्धान्त किन गलत छ?', 'अर्किमिडिजको सिद्धान्त गलत प्रमाणित गर्दाका केही अनुभव' फेला परे। उक्त भिडियो २०६५ सालमा रिपोर्टस क्लबमा अनुसन्धानकर्ताले आफ्नो अनुसन्धान नतिजा सार्वजनिक गर्दाको रहेछ।

नेपालका राष्ट्रिय अखबारहरूमा छापिएका यी समाचारलाई राजनीतिक पाराको समाचार बनाउने हो भने रामबहादुर नेपालीले बाराक ओबामालाई राष्ट्रपति निर्वाचनमा चुनौती दिए भन्नेखालको समाचार बन्थ्यो। अर्थात गज्जबको मिथ्या समाचार (फेक न्युज) बन्थ्यो र त्यो समाचार सामाजिक सञ्जालमा भाइरल हुने प्रवल सम्भावना थियो। हिजोआज निश्चित गुप्त उद्देश्य पूरा गर्न मिथ्या समाचार उत्पादन गरिन्छ। तर नेपाली सञ्चारमाध्यममा आएका विज्ञान समाचार अन्जान वा लापरबाहीका कारण मिथ्या बनेका छन्। त्यसै पनि नेपाली सञ्चारमाध्यममा विज्ञानसम्बन्धी समाचारको खडेरी लाग्छ। यदाकदा आउने विज्ञान समाचारमा पनि यथार्थभन्दा भावना प्रवल हुन्छ। तथ्यलाई काल्पनिकताले थिचिदिन्छ अनि सुचना कम आख्यान ज्यादा हुन्छ। समाचारका स्रोत रिपोर्टस क्लब हुन्छन्, हेलिकोप्टर उडेको देख्ने मान्छे त्यसलाई बनाउने मान्छे मात्रै हुन्छ। समग्रमा वैज्ञानिक समाचारहरूको स्रोत भरपर्दो नहुनेमात्र होइन, त्यसको विश्वसनीयता पुष्टि नगरी, समाचारको प्रभाव आकलनबिना प्रकाशित भएका हुन्छन्। यस्ता समाचारले फेक न्युजको काम गर्छ। जसले समाजमा खोटो आशा, अनुचित डर र भ्रम सिर्जना गरिदिन्छ।

प्रयोगशालादेखि समाचार कक्षसम्म

फेब्रुअरी ११, २०१६ मा एउटा विज्ञानसम्बन्धी समाचारले विश्वमा सनसनी मच्चायो। संसारमै पहिलोपटक गुरुत्वाकर्षण तरंग अवलोकन गरेको समाचार थियो। छोटकरीमा लिगो भनिने द लेसर इन्टरफेरोमिटर ग्य्राभिटेसनल वेभ अब्जभेटरीका भौतिकशास्त्रीहरूले अमेरिकाको वासिंगटन र लुजियानामा राखिएका जुम्ल्याहा वैज्ञानिक उपकरणहरूमा गुरुत्वाकर्षण तरंग पहिलोपल्ट अवलोकन गरेका थिए। लिगोका वैज्ञानिकहरूले सेप्टेम्बर महिनामा नै उक्त तरंग देखेको भए तापनि त्यो आकस्मिक संयोग पनि हुनसक्छ भनेर दोहोराएर परीक्षण गरेका थिए। र, फेब्रुअरीमा उनीहरूको अनुसन्धान नतिजा भौतिक विज्ञान क्षेत्रको प्रख्यात जर्नल फिजिक्स रिभ्यु लेटर्समा प्रकाशित गरेपछि मात्रै उक्त खोजलाई सञ्चारमाध्यमले समाचार बनाएका थिए। गुरुत्वाकर्षण तरंगको सैद्धान्तिक प्रक्षेपण सन् १९१६ मै अल्वर्ट आइस्टाइनले गरेका हुन् यद्यपि त्यसलाई प्रमाणित गर्न अल्वर्टसँग उपकरण, पैसा र प्रविधि थिएन। त्यसैमा आधारित भएर लगभग ४० वर्षअघि त्यसको अनुसन्धान सुरु भएको थियो। पछिल्लोपटक गरिएको लिगोको अनुसन्धानमा १ हजार वैज्ञानिक र २४० विद्यार्थी संलग्न थिए। र, उक्त वैज्ञानिक परीक्षणका लागि १.१ बिलियन अमेरिकी डलर लागेको थियो।

लिगो जस्तो ठूलो या कुनै गाउँमा पानीको मुहान सुकेको सानो समाचार होस्वैज्ञानिक समाचारको उत्पत्ति प्रयोगशालाबाट हुन्छ, राजनीतिक भाषणको पर्याय बनेका रिपोर्टसहरूको क्लबमा होइन। प्रत्येक सनसनीपूर्ण खोज र समाचारको पछाडि ठूलो आर्थिक लगानी, कष्टपूर्ण अनुसन्धान प्रक्रिया र पट्यारलाग्दो परीक्षणकाल गुज्रेको हुन्छ। ज्ञान विज्ञानको असीमित फैलाहटले यतिखेर ग्यालिलियोको अधुरो सपना पूरा गर्न वा हेलिकोप्टर बनाउन एकजनाको प्रयासले मात्रैसम्भव हुँदैन। अहिले वैज्ञानिक सूचनाको स्रोत अमुक व्यक्तिको व्यक्तिगत दावीमा होइन, सामूहिक अभिपोषणमा आधारित हुन्छ। प्रयोगशालाबाट निस्केको अनुसन्धान नतिजालाई बारम्बार प्रमाणित गरेर विश्वासिलो प्राज्ञिक जर्नल (जसमा वैज्ञानिक नतिजाको सत्यतथ्य त्यही क्षेत्रका अन्य विज्ञले मूल्यांकन गर्छन्) मा प्रकाशित गरेपछि मात्रै त्यो समाचारको शीर्षक बन्न लायक हुन्छ।

सञ्चारमाध्यम र वैज्ञानिक जगत

विश्वभर नै प्रयोगशालामा दिनरात खट्ने वैज्ञानिक समूहर आमसमाजबीच बुझाइको ठूलो खाडल हुन्छ। तिनीहरूले एकअर्काको भाषा प्रायः बुझ्दैनन्। यो समस्या नेपालमा झनै बढी छ। नेपालका वैज्ञानिक जगत समाजका विविध समस्यासँग अनभिज्ञ लाग्छन् र नेपाली समाज वैज्ञानिक समुदायप्रति प्रश्नवाचक दृष्टि राख्छ। यस्तो अवस्थामा सञ्चारमाध्यमले ती दुई पक्षबीच पुलको काम गर्छ। समाजको जल्दोबल्दो समस्याबारे वैज्ञानिक समुदायलाई थाहा दिने र प्रयोगशालामा उत्पादित समाज उपयोगी अनुसन्धानको सूचना समाजसम्म पुर्‍याउने काम सञ्चारमाध्यमले गर्न सक्नुपर्छ। तर नेपाली सञ्चारमाध्यमहरू त्यसमा चुकेको देखिन्छ। यसै पनि हाम्रो मिडियामा विज्ञानसम्बन्धी समाचारले खासै ठाउँ पाउँदैनन् र पाइहाले भने पनि माथि उल्लेख गरिएका जस्ता मिथ्या समाचारको मात्रा बढी हुन्छ। त्यसकारण मिथ्या समाचारको यो युगमा नेपाली मिडियामा आक्कलझुक्कल आउने विज्ञानसम्बन्धी समाचारलाई मिथ्या हुनबाट रोक्नु अहिलेको चुनौती हो। केही सामान्य सावधानीमात्रै अपनाउने हो भने त्यो क्रम धेरै हदसम्म रोक्न सकिन्छ। समाचारमाथि प्रश्न उठाउने, अनुसन्धानकर्ताको स्वविज्ञापनलाई बेवास्ता गर्ने, सूचनालाई अन्य स्रोतबाट पुनः मूल्यांकन गर्न लगाउनेमात्रै गर्न सकियो भने धेरै हदसम्म विज्ञानसम्बन्धी मिथ्या समाचार रोक्न सकिन्छ।

वैज्ञानिक अनुसन्धानको सुरुवात प्रश्नहरूबाट हुन्छ। पत्रकारितामा पनि प्रश्नको महत्व ठूलो हुन्छ। नेपाली सञ्चारमाध्यमहरूले राजनीतिक नेता वा अन्य व्यक्ति वा संस्थालाई गर्ने जस्तै कडा प्रश्नहरू विज्ञान समाचारका स्रोतहरूसँग गरेको पाइँदैन। जसले गर्दा एकल दावीका आधारमा समाचार बन्न पुग्छ। विज्ञान समाचारमा अनुसन्धानकर्ताको विश्वसनीयता, उसको पेशागत संलग्नता र अनुसन्धान अनुभव निकै महत्वपूर्ण हुन्छ। अनुसन्धानमा अपनाइएका विधिले निष्कर्षमा ठूलो प्रभाव पारेको हुन्छ। त्यसकारण समाचारसँगै आउने स्रोतहरूलाई प्रश्न सोध्ने गर्नुपर्छ।

वैज्ञानिक अनुसन्धान भनेको अनिश्चयबाट निश्चयतिरको यात्रा हो। यथोचित तथ्य र प्रमाणबिना कुनै कुराको ठोस दाबी गर्नुभन्दा अनुसन्धानमा सन्देह पाल्नु र त्यसको सीमितताबारे इमान्दारितापूर्वक बताउनु सहीवैज्ञानिक विधि हो। जसले सधै निश्चिततातिरको यात्रामा स्थान राखिराख्छ र थप अनुसन्धानका लागि मार्गप्रशस्त गर्छ। उडेको, गुडेको, भएको वा गरेको आफैँले मात्रै ठोकुवा गर्ने विधि सही वैज्ञानिक विधि होइन। यदि कसैले त्यस्तो दाबी गर्छ भने त्यस्ता अनुसन्धानकर्तालाई बेवास्ता गरेमा विज्ञान समाचार फेक न्युज बन्न रोकिन्छ।

जसरी न्युजरुममा आएका अन्य समाचारलाई प्रमाणित गर्ने, सत्यता जाँच गर्ने गरिन्छ। त्यसरी नै विज्ञान समाचारलाई पनि अन्य अनुसन्धानकर्तासँग राय लिएर अनुसन्धानमा संलग्न अन्य संस्थाहरूलाई सोधेर वा विभिन्न जर्नलमा प्रकाशित लेखको आधारमा पुष्टि गर्ने र त्यसपछि सत्य ठहरिएमा मात्रै प्रकाशित गरौं। यद्यपि हिजोआज कतिपय वैज्ञानिक जर्नलमा प्रकाशित गरिएका लेखसमेत विश्वसनीय हुँदैनन्। वर्तमानमा जसरी आमसञ्चारमा फेक न्युज उत्पादन गरिएका छन् त्यसरीनै छलपूर्ण लेखहरू खोटा जर्नलहरूमा आउन थालेको छ। एक अनुसन्धानअनुसार, झुक्काएर वैज्ञानिक लेख छाप्ने र त्यस्ता लेख कपटपूर्ण भएको प्रमाणित भएपछि खारेज गर्ने (रिट्रयाक्सन) क्रम सन् १९७५ देखि हाल १० गुणा बढेको छ। त्यसैले वैज्ञानिक जर्नलहरूको विश्वसनीयता हेरेमा विज्ञान समाचार गलत बन्नबाट रोकिन्छ।

आमसञ्चार र वैज्ञानिक अनुसन्धान दुवैले निरन्तर सत्यको खोजी गरिरहेका हुन्छन्। नयाँ नयाँ तथ्य उजागार हुँदै जाँदा पहिले गरिएका दावी सत्य नहुन सक्छ। गलत कुरा हतारमा प्रकाशित गरेर समाजमा भ्रम सिर्जना गर्नुभन्दा केही समय कुरेर तथ्य प्रकाशित गरेमा मिथ्या समाचारको बाढीबाट विज्ञानलाई बचाउन सकिन्छ।

प्रकाशित: २३ असार २०७४ ०४:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App