९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

अन्तर्यात्रासँग जोडिएको साउन

फाइल तस्बिर

सब सयाने एकमत  

सबकी एक हि जात

जिन पहुँचे तिन कह गए  

सबकी एक हि बात  

सन्त दादु भन्नुहुन्छ– धर्म आत्माको विज्ञान हो। सबै धर्मावलम्बी र मनुष्यको आत्मा एकै हुन्छ। कसैमा केही फरक छैन तर जसले छिटो आत्मगत ज्ञान प्राप्त गर्छ, उही छिटो परमात्माको साथमा पुग्छ। बहिर्पुजाले मात्र होइन, धर्म र आस्था अन्तर्तमबाट प्रष्फुटन हुनुपर्छ।  

नेपाली पात्रोअनुसार प्रत्येक महिना धर्म, आस्था, चाडपर्व र उत्सव जोडिएर आउने गर्छन्। त्यसमध्ये साउन पनि धार्मिक आस्थाले महŒवपूर्ण महिना मानिन्छ। धर्म शास्त्रअनुसार सूर्यको दक्षिणायन आरम्भ हुने, वर्षा ऋतु सुरु हुने र सूर्य कर्कट राशिमा विचरण गर्ने यस महिनाको प्राकृतिक विशेषता मानिन्छ। मानवजीवन र प्रकृतिबीच घनिष्ट सम्बन्ध भएकाले र कृषिमा निर्भर नेपाली जीवनशैलीमा सनातन धर्मावलम्बी नेपालीलाई साउन महिनाको महत्व बढी नै रहेको हुन्छ। 

१८ पुराण सबैले पढ्न सम्भव नभए पनि पुराणको सार हो– परोपकार पुण्य अर्थात् धर्म हो भने पाप अधर्म हो। हाम्रो धार्मिकता, व्रत, उपासना व्यावहारिक र वैज्ञानिक बनोस् अनि जीवन रूपान्तरणमा साथ देओस् ।  

हाम्रो महिना र पर्वलाई नक्षत्र र पूर्णिमाको योगका आधारमा नाम दिइएको पाइन्छ शास्त्रअनुसार। त्यसै आधारमा श्रवण नक्षत्रयुक्त पूर्णिमा हुने भएकाले यस महिनाको नाम श्रावण रहेको हो भनिएको छ। दिन, वार, तिथि, पक्ष, महिना, ऋतु आदि समयचक्रको निर्धारण सूर्य र चन्द्रमाले गर्ने भएकाले महिना पनि सूर्य र चन्द्रअनुसार दुई किसिमका हुन्छन्। सूर्यका आधारमा हुने महिना सौर महिना हो भने चन्द्रमाका आधारमा हुने महिना चान्द्र महिना हो। सूर्यले एउटा राशिमा विचरण गर्ने अवधि एक सौर महिना हो।

यसैलाई हामी वैशाख, जेठ आदि महिना भन्छौं। श्रावणमा सूर्य कर्कट राशिमा विचरण गर्छन्। त्यसैले सूर्य कर्कट राशिमा प्रवेश गर्ने दिनलाई श्रावण संक्रान्ति वा कर्कट संक्रान्ति भनिन्छ। धार्मिक मान्यताले यही सौरमासअनुसारको श्रावण महिनालाई महŒव दिइन्छ। तर सबै कुरालाई मनन र बोध गर्न धर्म अन्तर्यात्रा हो भन्ने अनुभूति रहोस् भन्ने आशय धर्मशास्त्रमा उल्लेख गरिएको छ। धर्म र आस्था मानवीय स्वभाव हुन्। आफ्नै स्वभावमा जिउन मद्यत गर्छ धर्मले। जीवनमा प्राप्त गर्न चाहेका सुख, समृद्धि र आनन्दको द्वार धर्म नै हो किनकि आफ्नो मूल स्वरूप, आफ्नो असली स्वभावको खोजी गर्न धर्मले सघाउँछ। आफू छु र हुँ को बोध गर्न हरेक धर्मले सघाउँछ। त्यसैले बहिर्पुजा र कर्मकाण्ड मात्र नभएर परम स्वतन्त्रता र परम सुन्दरताको जीवन बाँच्ने आधार बन्न सक्नुपर्छ धर्म र आस्था।  

स्वयम्को खोज हो धर्म  

हामीले सामान्य रूपमा जानेको धर्म भनेको मन्दिर जानु, पूजा अर्चना र व्रत बस्नु हो। त्यो नगरे पाप लाग्छ भनेर बालककालदेखि सिक्दै र सुन्दै आएका छौं। त्यसैले म को हुँ, मेरो मानवीय धर्म के हो, मेरो स्वभाव कस्तो हुनुपर्छ, त्यता ध्यान गएको हुँदैन। दार्शनिक इकबालले संकेत गरेका छन् ः

जिन्दगी, भर तो हुई गुफ्तगु गैरोंसे मगर  

आज तक हमसे हमारी ना मुलाकत हुई  

जीवनभर हामी अरूको चासो, चियोचर्चो र अरूकै जीवनशैली र स्वभावका बारेमा कुरा गर्दै हिँड्छौं तर आफ्नै बारेमा, आफ्नै स्वभाव र धर्मका बारेमा, आफ्नै मानवीय भूमिकाका बारेमा चासो राख्ने, खोज्ने र अध्ययन, अनुभूति गर्ने समय नै आएन। भगवान् भेट्न मन्दिर मन्दिर धाउने हामीले आफूलाई कहिले र कसरी भेट्ने होला ? के सम्भव होला आफैलाई भेट्न ? सम्भव छ त्यसका लागि ऋषिहरूले नै हामीलाई तीन सोपान अर्थात् मार्ग दिएका छन्– श्रवण, मनन र निदिध्यासन।  

श्रवण– धर्म शास्त्र, सद्गुरु र सन्तहरूले भनेका, व्याख्या गरेका कुरालाई ठिकसँग सुन्नु।  

मनन– सुनेका कुरालाई आफ्नो अनुभवबाट सम्झिने, विचार गर्ने, जानकारीबाट होइन।  

निदिध्यासन– अब जुन कुरा आफ्नो समझमा, अनुभूतिमा आएको छ र सही छ, त्यसलाई निरन्तर अभ्यासमा ल्याउने। यो नै स्वयम्लाई अध्ययन गर्ने तरिका हो, स्वयम्को खोजको माध्यम हो र यही माध्यम अध्यात्मको खोज पनि हो। गुरु रामदासले भनेझैं जिते जी मरना, जीवित हुँदा नै अन्तरज्ञान प्राप्त गर्नु धर्म हो। मंगलमय जीवनको यात्रामा अघि बढ्नु धर्म हो। अब स्वमूल्यांकन गरौं– हाम्रो धर्म र धार्मिकता सही तरिकाले अघि बढेको छ या छैन।  

अहिंसा, संयम र तप

धर्म र धार्मिक स्वभावमा रहनका लागि अहिंसा, संयम र तपजस्ता आचरण अर्थात् गुण अपरिहार्य हुन्छन् किनकि धार्मिकताका लागि अहिंसा, आत्मासंयम प्राण हो भने तप शरीर हो। सबैलाई मेरो अनुसार चलाउँछु, मैले भनेअनुसार नै हुनुपर्छ, मैले गरेको सही छ भन्ने कामना नै हिंसा र अहंकार हो। अहंकारबाट मुक्त हुन सक्नु अहिंसा हो। के हाम्रो मार्ग अहिंसाको मार्गमा अघि बढेको छ त ? अहिंसा आत्मगत स्वभाव हो। स्वीकार भाव अहिंसा हो। मन, वचन र कर्मले कसैलाई दुःख र चोट नपुगोस्, यो अहिंसाको भाव हो, अहिंसाको अभ्यास हो। उपनिषद्मा ऋषिहरूले बताउने– अहिंसा परमो धर्मः ! अनि सन्त तुलसीदासले व्याख्या गर्ने– परम धरम श्रुति, विदित अहिंसा अर्थात् वेदमा समेत उल्लेख गरेको अहिंसा नै धर्म हो भन्ने मर्मलाई अब मनन गरौं। हाम्रो धार्मिकता सही ढंगले अघि बढेको छ वा अहंकारमा सीमित छ। संयम कुनै कठिन साधना होइन, आत्मासँग जोडिनु हो। 

भगवान् महावीर भन्नुहुन्छ– आत्मवान, निश्चल, अकम्प, शान्त, स्थितप्रज्ञ र साक्षीमा रहनु संयम हो। अब मनन गरौं– हाम्रो धर्म र धार्मिकता अविचलित, शान्त, प्रेमल स्वभावमा जिउन दिने गरी रूपान्तरण भएको छ ? अति नगर्नु, सम्यकतामा रहनु, मध्यमार्गमा चल्नु संयम हो। संयममा चल्ने साधक विचलित र बाँधिएको हुँदैन, प्रेम र मंगलको फैलावट, विधायकतापूर्ण जीवनशैली संयम हो। त्यसैगरी तप पनि कुनै कठिन साधना अभ्यास र नियम होइन। शरीरलाई कष्ट दिएर, भावना दमित गरेर, एक अर्को धर्म र आस्थाप्रति विरोध गरेर, द्वन्द्व र संघर्षको भावनाले तप हुँदैन। तप भनेको त शरीर र मन शुद्ध र पवित्र राख्नु हो। भोग र योग दुवैलाई साँध्नु हो। भित्र रहेको ऊर्जालाई ऊध्र्वगमन गराउनु, प्राण ऊर्जालाई जागृत हुन दिनु तप हो। ध्यानका माध्यमबाट यो सम्भव छ। मानिसको ऊर्जा त कि उँच हुन्छ कि निच, निच ऊर्जालाई जानेर त्यसलाई ऊध्र्वगमन गराउनु तप हो। संसारबाट ध्यान हटाएर आत्मालाई ध्यान दिनु तप हो। भौतिक शरीरसँगको तादात्म्यतालाई प्राण ऊर्जारूपी शरीरमा जोडिनु तप हो। सत्य, शील र सुगन्धको अनुभूति तप हो। शरीरको शुद्धि बाहिरी तप हो भने मनको शुद्धि आन्तरिक तप हो। ध्यान विधिका माध्यमबाट सहज यो यात्रालाई निरन्तरता दिन सकिन्छ।

परोपकारः पुण्याय पापाय परपीडनम्  

समग्रमा भन्नुपर्दा परोपकार हाम्रो धर्मको माध्यम बनोस्। आफ्नो आम्दानीको दस प्रतिशत दान र सेवामा काम आओस्। यही नै धार्मिकताको आधार हो। स्वयम्को ख्याल, स्वयम्को व्यावहारिकता र सकारात्मक सोचाइ, सम्यक सेवा, सम्यक प्रार्थना, सम्यक सहयोग र सम्यक समर्पणको गुणले जीवनशैली बाँच्नु धार्मिकतामा रहनु हो, जसले आन्तरिक सुख, समृद्धि र सन्तोष मिल्छ। यो प्रकृतिले हामीलाई यति धेरै चिज दिएको छ, त्यसको बदलामा हामीसँग के छ र उसलाई दिने। केवल समर्पण भाव र अहोभाव न हो। त्यसैले त महर्षि व्यासले बताउनु भएको छ –

अष्टादश पुराणानां सारं व्यासेन कीर्तितम्  

परोपकारः पुण्याय पापाय परपीडनम्  

उहाँ भन्नुहुन्छ– १८ पुराण सबैले पढ्न सम्भव नभए पनि पुराणको सार हो– परोपकार पुण्य अर्थात् धर्म हो भने पाप अधर्म हो। हाम्रो धार्मिकता, व्रत, उपासना व्यावहारिक र वैज्ञानिक बनोस् अनि जीवन रूपान्तरणमा साथ देओस् ।  

प्रकाशित: ९ श्रावण २०८० ००:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App