२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

राष्ट्र, राष्ट्रियता र राष्ट्रवाद

म यो देशको एक सामान्य नागरिक हुँ। म धेरै ठूला ठूला कुराहरू बुझ्दिनँ र गर्न पनि जान्दिन। यो देशको दशा देख्दा मैले धेरै बुझ्नु जरुरी छैन भन्ने पनि लाग्छ। सामान्य जीवन यापन गर्न, दुई छाक खान र सुरक्षित तवरले रात काट्न एउटा छत नै त हो मेरो आवश्यकता। कतिपय मानिसहरू भने आजभोलि ठूलाठूला कुरा गर्छन्, आकाश छुने सपना देखाउँछन्, उनीहरू त्यसैमा रमाएका छन्। यसो गर्दागर्दै कति साथीभाइहरू भुँइमा बजारिएको पनि देखेको छु। सपना र विपनाबीच अन्तर वा उड्न चाहिने पँखेटा नभएर अथवा भएर पनि नजानेर पनि त्यस्तो भएको हुन सक्छ।

हिजो आज प्रायः सभा–सम्मेलन, भाषण–अभिव्यक्ति, लेख–रचनामा राष्ट्र, राष्ट्रियता र राष्ट्रवाद शब्दावलीको प्रयोग व्यापक मात्रामा भइरहेको देख्छु। यी शब्दले जुनसुकै अवस्थामा रहेका नागरिकको ध्यान आकृष्ट गर्ने क्षमता राख्दारहेछ। यी शब्द नागरिकसित प्रत्यक्ष सरोकार राख्ने भएर पनि त्यस्तो लागेको हुनुपर्छ।

कतिपय परिवेशमा भिन्नाभिन्नै व्यक्तिले आ–आफ्नै दृष्टिकोण र शैली प्रयोग गरी यी शब्दावली प्रयोग गरिरहेको पनि देखेको छु। कुनै सही, कुनै गलत, कुनै बेढङ्गी र कुनै अप्रासङ्गिक तवरले चर्चाको लागि मात्रै प्रयोग भए झैं लाग्छ। कतिले त आफ्नो प्रचारका लागि सकि नसकी प्रयोग गरेको पनि महसुस गरेको छु।

हिजो आज प्रायः सभा–सम्मेलन, भाषण–अभिव्यक्ति, लेख–रचनामा राष्ट्र, राष्ट्रियता र राष्ट्रवाद शब्दावलीको प्रयोग व्यापक मात्रामा भइरहेको देख्छु।

साँच्चै भन्ने हो भने यी शब्दका अर्थ के रहेछन् भनेर अल्मलिएपछि मैले शब्दकोश पल्टाएरै हेरें। अनि २०४० सालमा तात्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा प्रथम पटक प्रकाशित नेपाली बृहत् शब्दकोशको पातो पल्टाउादा ती शब्दको अर्थ यस्तो पाएँः

राष्ट्रः जनता, सरकार तथा सार्वभौमसत्ता सम्पन्न भएको कुनै देश; मुलुक। एकै देशका एउटै संस्कृति तथा अर्थव्यवस्थामा आबद्ध समस्त नागरिक;जनता।

राष्ट्रियताः राष्ट्रप्रतिको आस्था वा राष्ट्रहितको भावना; राष्ट्रप्रेम; राष्ट्रको स्थिति वा आफ्नोपन।

राष्ट्रवादः आफ्नो राष्ट्रको उन्नति र हितलाई सर्वोपरि मान्ने सिद्धान्त वा राष्ट्र र राष्ट्रियताप्रतिको विशेष भक्ति–भावना। मध्ययुगीन सामन्ती निरङ्कुशताका विरुद्धमा राष्ट्रिय स्वतन्त्रताको आवाज उठेको, पुँजीवादी चिन्तन वा विचारधारा।

अर्थ गरिएका वाक्य पढेपछि भने मलाई केही बुझ्न थालेँ जस्तो भयो। मैले बुझे अनुसार मेरो राष्ट्र नेपाल, म सार्वभौम नेपाली। म पनि यो राष्ट्रको एक हिस्सा। मेरो राष्ट्रियता नेपालप्रति आस्था राख्नु यसलाई सम्मान गर्नु, प्रेम गर्नु, आफ्नोपनको सम्मान गर्नु। अनि राष्ट्रवाद भनेको यो देश–नेपालको उन्नति गर्नु; यसको हितलाई सर्वोपरी मान्नु; यो देशप्रति नतमस्तक भई भक्तिभाव प्रकट गर्नु रहेछ। मलाई लाग्यो, अर्थ गरिएको पातो पल्टाउँदा कति राम्रो कुरा सिकें आज मैले। मलाई गौरबको अनुभव भई रहेको मेरो राष्ट्र, राष्ट्रियता र राष्ट्रवादको भावना के रहेछ भनेर बुझ्न पाउँदा।

यस सँगसँगै मनमा अन्य थुप्रै प्रश्न पनि उब्जिए। यो राज्यले कोरेको राजनीतिक सिमानाभित्रको एक नेपाली नागरिकले उपभोग गर्न पाउनुपर्ने सम्मान; नैसर्गिक हक, अधिकार लगायतका विभिन्न कारण र परिस्थितिले यो देशको अन्य नागरिक सरह उपभोग गर्नबाट बञ्चित हुन बाध्य हुनुपर्ने अवस्थालाई के भन्ने? नेपाली भएर जन्मी हुर्की गरेपछि विभिन्न अवसरको खोजीमा विदेश पलायन हुन बाध्य भएकाहरू प्रतियो राष्ट्रको व्यवहार कस्तो हुनुपर्ने? आर्थिक वा सामाजिक कारणले परदेश पलायन भई आफ्नो जीवनको ऊर्जाशील समय उतै खर्चिएका अनि गुमेको आत्मसम्मान खोज्न पुनः नेपाल फर्कनेहरूको राष्ट्र प्रेमलाई कुन दर्जा दिने? ती पनि नेपाली हुन् वा होइनन्? यस्तै यस्तै अनेक प्रश्न मनमा उकुसमुकुस भएर मडिरिई रहे।

मलाई लाग्यो, अर्थ गरिएको पातो पल्टाउँदा कति राम्रो कुरा सिकें आज मैले। मलाई गौरबको अनुभव भई रहेको मेरो राष्ट्र, राष्ट्रियता र राष्ट्रवादको भावना के रहेछ भनेर बुझ्न पाउँदा।

राष्ट्रियताको सवालमा पनि मनमा यस्तै यस्तै कुराहरू खेल्न थाले। परदेशको हितलाई बढी ध्यान दिनु, अनि आफ्नो राष्ट्रको अहित चिताउनु। व्यक्तिगत स्वार्थमा लिप्त भएर राष्ट्रिय हितलाई गौण बनाउनु। आफ्नो पहिचान नै लुप्त बनाइ धर्म, संस्कृति सभ्यतालाई कुल्चेर लम्पसारवादी चरित्र देखाउनु। निजी स्वार्थको लागि देशको राष्ट्रिय सम्पत्ति गैह्र राष्ट्रिय समूहलाई हस्तान्तरण गर्नु। पक्कै पनि राष्ट्रियता हुन सक्दैन।

यी त केही त्यस्ता उदाहरण हुन्, जुन सतह मै छताछुल्ल भएका छन्। खोतल्न बाँकी रहेका यस्ता घटना अनगिन्ती छन्, जुन राष्ट्रियताका लागि घातक हुन सक्छन्। सक्ने भए मानिसहरू आफ्नो फाइदाका लागि देशै बेच्नसमेत पछि पर्दैनन्। यहाँका बोल्न सक्ने मानिसहरू चर्को र कडा शब्दमा बोलि रहेका हुन्छन्।

एकले अर्कोलाई दोषारोपण गरिरहेका हुन्छन्; नदीनाला बेच्यो, देशको भूमि अरूलाई सुम्पियो, देशको बहुमूल्य खनिज, ऊर्जा कौडीको भाउमा बेच्यो आदि इत्यादि। यी लगायत अन्य थुप्रै आरोप कति सत्य छन्? सही हुन् भने राष्ट्र हितविपरीत देशको नदी–नाला बेच्ने, भूमि बेच्ने वा अरूलाई सुम्पनेलाई आजसम्म कानुनको दायरमा ल्याउन के ले रोक्यो? त्रुटि हुन सक्छ तर त्यसलाई सच्याउन किन कोही अघि सरिरहेका छैनन्? यदि झुठ हो भने यस्तो झुठ बोल्ने अनि जनतालाई गुमराहमा पार्ने काम पनि राष्ट्रघात नै मानेर कारबाही गर्न केले रोक्यो? सही र गलतजान्ने अधिकार सार्वभौम जनतामा रहन्छ कि रहन्न? के नेपाली जनता पाँचवर्षमा एक पटक पुजिने ढुङ्गाका मूर्ति हुन्?

हामी नेपाली जनता पनि साह्रै सोझा। जसले जे भने पनि मान्ने। एक हजारको नोट जसले दियो उसैलाई भोट दिने। एक छाक मासु भात जसले खुवाए उसैलाई भोट दिने। घर दिन्छु, खेत दिन्छु, गाडी दिन्छु भन्छ, जे दिए पनि लिन्छ नदिए चुपचाप बस्छ। अलिकति रिसाउँछ, गाली गर्छ सके सराप्छ, नसके सहन्छ, केही दिनपछि ती सबै बिर्सिएर फेरि उसैलाई भोट दिन्छ। नेतालाई मात्र औंल्याएर के गर्नु? दोषी त हामी नै छौं।

हामी नेपाली जनता पनि साह्रै सोझा। जसले जे भने पनि मान्ने। एक हजारको नोट जसले दियो उसैलाई भोट दिने। एक छाक मासु भात जसले खुवाए उसैलाई भोट दिने। घर दिन्छु, खेत दिन्छु, गाडी दिन्छु भन्छ, जे दिए पनि लिन्छ नदिए चुपचाप बस्छ।

राष्ट्रवाद त झन् गहन विषय हो। आफ्नो राष्ट्रको उन्नति र हितलाई सर्वोपरि मान्ने। कति उच्च विचार। सबैमा यस किसिमको सोच भई दिए राष्ट्र कहिल्यै सानो हुँदैन। अवनतिको दलदलमा फस्नै पर्दैन। राष्ट्र र राष्ट्रियताको सम्मान र उच्चकदर भइदियो भने राष्ट्रवादको शीर गर्वले ठाडो हुन्छ। राष्ट्रको स्वाभिमानको रक्षा गर्नु र यस प्रति भक्तिभाव दर्शाउनु पनि राष्ट्रवाद हुँदो रहेछ।

 एउटा स्वतन्त्र राष्ट्रको आर्थिक, सामाजिक, राजनीतिक, कूटनीतिक र सामरिक क्षमता, दक्षता, र उपलब्ध श्रोत साधनले त्यस राष्ट्रको हैसियत दर्शाउँछ। आफ्नो हैसियत बिर्सेर कोरा राष्ट्रवादी नारा फलाक्नु अन्धराष्ट्रवाद हुन सक्छ। राष्ट्रवादको सही प्रयोग तब हुन सक्छ जब त्यस राष्ट्रले उपलब्ध श्रोत साधनको भरपुर उपयोग गर्न पाउँछ। कूटनीतिक चातुर्य प्रदर्शन गरी राष्ट्रलाई बढी भन्दा बढी लाभ दिलाउन सकोस्, र द्रुतगतिमा देशलाई विकासको पथमा दौडाउन पाउँछ।

अरू कसैको उक्साहटमा आफ्नो क्षमता नै बिर्सेर अनावश्यक तवरले जाइलाग्नु पनि त राष्ट्रवाद हुन सक्दैन। त्यो क्षणिक आवेगले पुर्‍याउन सक्ने क्षति अपूरणीय हुन सक्छ।

आफ्नो देशको हित हुने कदम सूक्ष्मतापूर्वक पर्गेलेर सोहीअनुरूप राष्ट्र हितका लागि उपयुक्त नीति निर्धारण गर्दै अघि बढ्नु पनि उत्तिकै आवश्यक छ। राष्ट्रवाद छिमेकीसँगको सम्बन्ध र व्यवहारमा पनि भल्किन्छ।

अरू कसैको उक्साहटमा आफ्नो क्षमता नै बिर्सेर अनावश्यक तवरले जाइलाग्नु पनि त राष्ट्रवाद हुन सक्दैन। त्यो क्षणिक आवेगले पुर्‍याउन सक्ने क्षति अपूरणीय हुन सक्छ।

गंगा आए गंगादास जमुनाआए जमुनादास चरित्रले कुनै पनि राष्ट्रको छवि विश्वसनीय हुन सक्दैन। कुनै पनि राष्ट्रको परराष्ट्र नीति प्रष्ट, दिगो र दीर्घकालीन हुनुपर्छ। त्यस नीतिमा पूर्ण रूपमा राष्ट्रका हरेक नागरिकको ऐक्यबद्धता आवश्यक पर्छ। विदेशी रिझाउने नीति राष्ट्रको स्थापित परराष्ट्र नीति हुन सक्दैन। त्यो त केबल क्षणिक र अपरिपक्व नीति पो सावित हुन्छ। राष्ट्र हितमा निहित र आधारित परराष्ट्र नीतिले दूरगामी प्रभाव पार्दछ यो सर्वमान्य पनि हुन्छ। एउटा सफल र समृद्ध राष्ट्रको रूपमा विश्वमा स्थापित हुन सक्नु नै साँचो अर्थमा सही राष्ट्रवाद सावित हुन्छ।

प्रकाशित: १७ असार २०८० ००:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App