८ मंसिर २०८१ शनिबार
image/svg+xml
विचार

दीपेन्द्रका घोडा र प्रचण्डका भैँसी

पुष्पकमल दाहाल (छापामार नाम प्रचण्ड) प्रधानमन्त्रीका हैसियतले भारत भ्रमणमा जाँदा त्यहाँको सरकारले भैँसी उपहार दिएछ। पत्रपत्रिका, रेडियो, टिभी र सामाजिक सञ्जालमा भैँसीकथा चर्चित छ।

तत्कालीन युवराज दीपेन्द्र वीरविक्रम शाह पाकिस्तान भ्रमणमा जाँदा त्यहाँको सरकारले २२ वटा उन्नत जातका अरेबियन घोडा उपहार दिएको थियोे। विमानबाट ल्याउन नमिल्ने भएको र सडकबाट ल्याउन भारतले स्वीकृति नदिएपछि ती घोडा उतै रहे।

राजपुत्रले घोडा उपहार पाए। कास्की ढिकुरपोखरीमा पिता मुक्तिराम दाहालका छाप्रामा जन्मेका घनश्याम दाहाल (न्वारानको नाम) भारतीय गुजराती भैँसी उपहार पाउँदा हर्षले प्रफुल्ल हुनु स्वाभाविक हो।

दरिद्र बाहुनले हात्ती बकस पायो भने पाल्न सक्दैन। तसर्थ, गौदान गर्ने चलन सुरु भएको संस्कृतिविद्हरू बताउँछन्। जसको हैसियत जे-जस्तो छ, सोहीअनुसार बकस पाउने परम्परा छ। दीपेन्द्रलाई उपहार दिइएका घोडा भारतीय मार्गबाट नेपाल ल्याउँदा के बिग्रन्थ्यो? तर सानो चित्त देखाएर भारतले रोक्यो।

राजदरबारका सम्वाद सचिव नरेन्द्रराज पाण्डेले पंक्तिकारको निवासमा घोडाको प्रसंग सुनाएपछि सारथि साप्ताहिक पत्रिकामा खबर छापिएको थियो। युद्धमा लैजान ठिक्क पारिएका घोडा थिएनन् ती। भारतीय जनता र भारतलाई कुनै नोक्सानी गर्ने पनि थिएनन् तर अनेक झमेला गरेर घोडा रोक्नु लवकुशले घोडा रोकेजस्तो बहादुरी ठानियो।

भैँसीलाई हाम्रा मिथक, संकथन, प्राचीन साहित्य र आख्यानमा “यमराजको दूत” र बाहन भनिएको छ। पूर्वी नेपालमा भैँसी पूजा गर्ने प्रचण्डलाई गाईपुजकहरूले गोदान गरेको भए त्यो अपमान ठहरिन्थ्यो।

दीपेन्द्र शाहका घोडा र पुष्पकमलका राँगा-भैँसीमा पनि कूटनीति घुसेको छ। नेपाल र नेपालीको गालामा चुम्मा गर्ने विदेशीको नियत बुझ्न सकिएन भने काठमाडौँ अर्को काबुल बन्नेछ।

नेपालमा दश वर्ष द्वन्द्व चलाउने भारतीयहरूलाई भलिभाँति थाहा छ, गाउँमा गाई काटेर खाने र जबर्जस्ती खुवाउने, सनातन धर्मका उपासक पण्डितलाई मार्ने र नेपाल धर्म निरपेक्ष राष्ट्र भनेर संविधानमा लेख्ने-लेखाउनेलाई गेरुबस्त्र धारण गराएर सामूहिक भ्यासेक्टोमी गरायो दिल्लीले। दासहरू हरेक महादेशका कुनामा पाइन्छन्। उदाहरणका लागि मध्य अफ्रिकी राष्ट्र निकारागुवालाई लिए पुग्छ। स्पेनबाट स्वाधीन त्यो राष्ट्र अमेरिकी र सोभियत संघको षड्यन्त्रको मैदान बनेको त बितेका ४० वर्षमा रेडियो र अखबारहरूमा समाचार बनिरहे।

सन् १९७९ मा सान्डिनिस्टा नेसनल लिबरेसन फ्रन्ट नामक छापामार समूह बनाउन सिआइएले लगानी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आयो। अमेरिकी सेना प्रवेश गर्दा निकारागुवाका सबैजसो सरकारी तलबजीबी खुसी भए। जसरी सिक्किममा भारतीय सेना राजदरबारमा पस्दा १९ वर्षका वसन्तकुमार क्षत्रीले मात्रै ज्युँदो जस्तो भएर गोली चलाइरहे, त्यस्तै सैनिक अफिसर अगस्तो सिजर सान्डिनो मात्रै विदेशी हस्तक्षेपविरुद्ध खडा भए।

नेपालमा जतिसुकै राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको नारा दिए पनि धेरैजसो बिक्री भइसकेका छन्। छानबिन गर्ने कसले? कोर्रा हान्ने कसले? राष्ट्रघात गरेको प्रमाणित भए पनि उनीहरूलाई एउटै खाल्डो खनेर पुर्ने कसले? यत्रतत्र सर्वत्र पराधीन र पञ्चमाङ्गी (फिफ्थ कलमनिस्ट) छन्।

केही वर्षयता विदेशीको मात्रै काम गर्ने कतिपय पत्रकार, वकिल, राजनीतिकर्मी, राजस्व खाने विभिन्न दर्जाका मानिस, उद्योगपति, व्यापारी आदि मात्रै होइन, परोपकारका नाममा खुलेका धेरै संघ-संस्थाले राष्ट्रघात गरिरहेका छन् भन्ने गुनासो बढेको छ। कसैको डर नभएपछि अराजकता बढ्ने नै भयो। देशद्रोहीहरू एक अर्कालाई दोषारोपण गरेर पानीमाथिको ओभानो हुने प्रयास गरिरहेका छन्।

उनीहरूको जीवनशैलीमा ठूलो परिवर्तन देखिन्छ। विदेशीलाई गुप्त सूचना दिनेहरू प्रायः उच्च तहकै हुने गर्छन्। ट्रेटर (देशद्रोही, धर्मद्रोही) हरूको इतिहास पढदा थाहा हुन्छ। भैँसी, राँगा जे भित्र्याए पनि राष्ट्रिय सुरक्षाका लागि खतरा हुँदैन तर द्वन्द्वकालमा झैँ तालिम, नगद र हतियारसहित आतंककारीसमेत भित्र्याउन अनेक जालझेल भइरहेको देखिन्छ।

महाभारत युद्धमा युयुत्सुको प्रसंग आउँछ। उनी धृतराष्ट्रको पुत्र भए पनि दासीबाट जन्मेका कारण दुर्योधनले रुचाएनन्। तसर्थ, युद्धका बेला सैनिकलाई भोजनको प्रबन्ध गर्नेदेखि लिएर हातहतियार, रथ, घोडा, हात्ती आदिको व्यवस्थापन गर्न उनलाई महाप्रबन्धक बनाइएको थियोे। योग्य जहाँ पनि योग्य र अयोग्य जहाँ पनि अयोग्य हुन्छ। युयुत्सुले लाखौँ सैनिकलाई समयमा युद्धसामग्री र भोजनको प्रबन्ध गरेर त्यो पुष्टि गरे।

कास्की ढिकुर पोखरीमा पिता मुक्तिराम दाहालका छाप्रामा जन्मेका घनश्याम दाहाल (न्वारानको नाम) भारतीय गुजराती भैँसी उपहार पाउँदा हर्षले प्रफुल्ल हुनु स्वाभाविक हो।

यस्तै, कृष्णले सेनापति बनाएका धृष्टध्युम्नको प्रबल अठोट अब्बल थियोे। साहस, इमान, उद्देश्य, रणनीति, कार्यनीति र नेतृत्व क्षमता नभए पनि केही व्यक्तिको अक्षमता नै क्षमता सिद्ध हुने गरेको नेपालमै देखिन्छ। ती नालायकहरू प्रतिशोध, घृणा, कुण्ठा, संकीर्ण सोच र अभिमानले उन्मत्त हुन्छन्। पदलाई अत्यन्तै महŒव दिन्छन्। यो रोग जंगी, निजामती, प्रहरी सबैतिर ब्याप्त छ।

सान्डिनिस्टा गुरिल्ला जन्माउने, हुर्काउनेले नै सन् १९८४ को चुनावमा त्यो छापामार समूहलाई सत्तामा लैजाने काम गरेको थियोे। यस्तै, “इरान कोन्ट्रा स्क्यान्डल” भनिएको घटनामा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ओलिभर नर्थ विवादमा परे।

हामीमध्ये धेरैलाई भ्रम छ, चुनावमा जनप्रिय, इमानदार र सक्षमले जित्ने गर्छन्। यो हुँदै होइन। मध्यरातमा दस करोड रुपियाँ लुटेर कुनै दललाई पाँच करोड बुझाएपछि उसले सांसद बन्नु भनेर टिकट दिन्छ। बाँकी पाँच करोड रक्सी, मासु, आर्थिक सहायतामा खर्च गरेपछि सांसद हुने संभावना रहन्छ।

चुनाव प्रणालीमा दोष भएको हुँदा बीसौँ वर्ष योगदान गर्नेहरू भन्दा ठग, तस्कर, डाँका र अपराधीहरू हरेक दलमा प्रिय छन्। घोडा र राँगामध्ये एउटा छान्नुपर्दा जनताले आफ्नो बौद्धिक क्षमताअनुसमर नै छान्ने गरेको पाइन्छ।  

जर्मनीका नेता विली ब्रान्टले नयाँ बाटो देखाए। ग्वाटेमाला, अंगोला, रोमेनिया, हंजयय, पोल्यान्डलगायतका पूर्वी युरोपमा कम्युनिस्ट प्रभाव बढेपछि वासिङ्टनले त्यो रोक्न धेरै प्रयास गरेकै हो।

जोसेफ स्टालिनले मार्सल बुल्गानिनलाई प्रधानमन्त्री बनाए तर सोचेजस्तो भएन।

मिखायल गोर्बाचोभले पेरेस्त्रोइका (पुनः निर्माण) र ग्लासनोस्त (उदार व्यवस्था) भित्र पश्चिमा राष्ट्रले गरेको षड्यन्त्र समयमै थाहा पाएनन्। फलतः त्यो राष्ट्र १५ टुक्रा भयो।

असल, सार्थक र इमानदार नेतृत्व नहुँदा धेरै राष्ट्रका करोडौँ जनताले कष्ट बेहोरेका छन्। राजा द्रव्य शाहको शुभराज्याभिषेक भएको वर्ष (संवत् १६१६) देखिको मात्रै हिसाब गर्दा पनि सयौँ वर्षमा हामी यति पतीत भएका थिएनौँ, जति बितेका १५ वर्षमा नेपाल बदनाम भयो।

सुन्दा पनि लाज लाग्ने घटनाक्रम धेरै छन्। राजा वीरेन्द्रको सम्पत्ति तस्करहरूले भोग गर्ने, उच्चपदस्थहरूले सरकारी सम्पत्ति मास्ने, जनतालाई रुवाएर सत्ता र प्रतिपक्षका ठगहरू हाँस्ने विद्रुप दृश्य तस्करपरस्त मिडियाले समेत ढाकछोप गरिरहेका छन्।

नेपालमा विदेशी हस्तक्षेप २००७ सालपछि बढ्दै गयो। राजा त्रिभुवनको निधनपछि राजा महेन्द्रका सामुन्ने अनन्त समस्या थिए तर चतुर्याइँपूर्वक बाह्य र आन्तरिक समस्याको समाधान हुँदै गयो। नक्साल नागपोखरी नजिकै शंकरनाथ रिमालको घरमा डेरा थियोे, विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको।

“अ स्पाइ फर अल सिजन्स ः माइ लाइफ इन सिआइए” पुस्तकमा एकजना अमेरिकी कूटनीतिज्ञले काठमाडौँंमा बसेका बेला प्रथम संसदीय चुनावमा बिपीलाई सिआइएले आर्थिक सहयोग गरेको उल्लेख गरेका छन्। उनको कथन छ, सिआइएका डाइरेक्टर एलेन डलेसको निर्देशनअनुसार चुनावमा सहायता गरिएको हो।

नेपालमा चीन विरोधी गतिविधि बढ्ने संकेत र विश्लेषणपछि राष्ट्रपति आइजन हावरको निम्तोमा राजा महेन्द्र वासिङ्टन पुग्दा भव्य स्वागत गरिएको थियोे। कनिष्ठ मन्त्री र नर्तकीहरू होइन, राष्ट्रपति आफैँ महेन्द्रलाई लिन विमानस्थल पुगेका थिए।

ह्वाइटहाउसमा राजा र राष्ट्रपतिबीच लामो कुराकानी भएको हृषीकेश शाहबाट सुनेको हुँ। संभवतः नेपालको भूराजनीतिक परिस्थिति र नेपालसँग मित्रता गर्दा प्रशस्त लाभ लिन सकिन्छ भन्ने अमेरिकी धारणा हुनुपर्छ। महेन्द्रले यो सुवर्ण अवसरको सदुपयोग गर्दै नेपालमा करोडौँ डलरका परियोजना भित्र्याउने रणनीति बनाए।

नेपालका राजनीतिक दल, सेना, प्रहरी, निजामती, विभिन्न वर्गीय र व्यावसायिक संगठन वा गैरसरकारी संस्थालाई विदेशीले निस्वार्थ सहयोग गरेका छैनन्। कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा विदेशीको प्रभाव बढ्दैछ। तसर्थ, दीपेन्द्र शाहका घोडा र पुष्पकमलका राँगा-भैँसीमा पनि कूटनीति घुसेको छ। नेपाल र नेपालीको गालामा चुम्मा गर्ने विदेशीको नियत बुझ्न सकिएन भने काठमाडौँ अर्को काबुल बन्नेछ ।

प्रकाशित: १ असार २०८० ००:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App