१६ वैशाख २०८१ आइतबार
image/svg+xml
विचार

हाम्रो हैन, राम्रो मान्छे

राजतन्त्र फालेर संघीय गणतन्त्र ल्याएपछि नेपालमा के के न उन्नति हुन्छ, जनता खुसहाल हुन्छन्, देशले सबै क्षेत्रमा तरक्की गर्छ भनेर आश गरेको त, झन् उल्टो पो भइरहेको छ। कर्मचारीतन्त्रमा निजामती सेवा ऐन र नियमविपरीत पूर्ण राजनीतीकरण भइरहेको छ । रिक्त संवैधानिक पद पूर्ति गर्न बसेको संवैधानिक परिषद्को बैठकले भागबन्डा नमिलेर रिक्त संवैधानिक पदहरू पूर्ति गर्न नसकेका कारण कतिपय संवैधानिक निकाय खाली नै छन् । कर्मचारीतन्त्रमा रहेका असल मानिस मन्त्रीहरूको अनुचित दबाब सहन नसकेर राजीनामा दिएर बसेका छन् । दलहरूले आफ्नो भातृसंस्थाका नाममा विभिन्न संगठन गठन गरेर तिनका माध्यमबाट देशमा गुण्डाराज चलाइरहेका छन् । तिनीहरूबाट हत्या÷मारपीट जे भए पनि दलहरू उनीहरूलाई कारबाही हुनबाट बचाउन अघि सर्ने गरेका छन् ।
यही कारण हो कि मुलुकमा दण्डहीनता छ र विधिको शासन कागजमा सीमित छ । एमालेका असल नेता भनेर कहलिएका केपी ओली जस्ता नेता नै गुण्डाको संरक्षण गरेर गनाएका छन् भने विभिन्न हत्याकाण्डमा प्रत्यक्ष संलग्नलाई काखी च्याप्नाले माओवादी बदनाम भएको छ । अपहरण, हत्या, मारपीट समाजको अभिन्न अंग भएका छन् र  त्यसको संरक्षण राजनीतिक दलले गरिरहेका छन् । यही कारण हो कि आजको नेपाल लालुको पालाको बिहार जस्तो हुन पुगेको छ । नितीश कुमार जस्ता देशभक्त सही नेताको खाँचो हामी सवैले महसुस गरिरहेका छौँ । पार्टी आपसमा गुटमा बाँडिएर अप्रत्यक्षरूपमा टुक्र्रा टुक्रा भएका छन् । यी सबै कुरा देशको दुर्भाग्य हो ।
एउटा असल एसपी रमेश खरेलको वीरगन्ज पदस्थापनले त्यहाँको शान्ति सुरक्षाको स्थितिमा कत्रो परिवर्तन आएको थियो । राजीनामा दिइ बसेका रामेश्वर खनालबाट अर्थमन्त्री भरतमोहनका कति कमजोरी बाहिर छताछुल्ल भएका छन् । यसवाट स्पष्ट हुन्छ कि हाकिम असल भएमा कर्मचारीमा आफँै सुधार आउँछ ।
     निजामती सेवा, प्रहरी सेवा वा नेपाली सेनालाई राजनीतीकरण गर्ने जुन कुकृत्य हाम्रा नेताबाट भएको छ समस्याको जरो त्यहीँ छ । भारत, बेलायत, प्र्रmान्स, अमेरिका आदि देशमा कहीँ पनि यी सरकारी निकाय (जसलाई स्थायी सरकारका नामले चिनिन्छ) मा राजनीतिको कुनै गन्ध आउन दिइँदैन । यस अर्थमा हामीले नेतामात्र पायौं राजनेता एउटै भएनन् । राजनेताले त देश र जनताको भलो केबाट हुन्छ भन्ने सोचेर काम गर्छ भने नेताले आफू र आफ्नो पार्टीको भलोमा मात्र ध्यान दिन्छ । १२ बुँदे सम्झौतादेखि लिएर हालको पाँचबुँदे सम्झौतासम्म आउँदा हामी के पाउँछौं भने सम्झौता गर्ने तर त्यसको पालना नगर्ने । यस्तो कुनै पनि राजनेताले गर्न सक्दैन । यही कारण हामी आजको दुरवस्थामा पुगेका छौं ।
नेपालका नेतामा अहिले देखिएका समस्या सुधार्न एक पटक पटना गएर नितीश कुमारको काम गराइको तरिका, नीति र सिमानाको राम्रो अध्ययन गर्ने कि ? त्यसो भयो भने बल्ल बिहारको जस्तो परिवर्तन आश गर्न सकिएला । पूर्वप्रधानन्यायाधीशले लेखाउने काम गरेर जानु भो, त्यसको अनुशरण सबैबाट होस् भन्ने कामना गर्दै उप्रान्त मानिस छान्दा हाम्रो हैन, राम्रो छान्ने बानी बसालौँ । त्यसबाटमात्रै जन्मभूमिको भलो हुनेछ ।
    प्रकृतिले हाम्रो देशलाई ठूलो वरदान दिएकी छिन् । उत्तरतर्फ हिमशृंखला, कोशी, गण्डकी र कर्णाली जस्ता ठूलाठूला नदीनाला, हरिया वनजङ्गल, दुर्लभ पशुपक्षी, पशुपतिनाथ, मुक्त्तिनाथ, वराह क्षेत्र, जानकी जन्मभूमि, बुद्धजन्मस्थल लुम्विनी र कपिलवस्तु यी सबै कुशल राजनेताका हातमा पर्ने हो भने सुन हैन, हिरा बर्साउने स्र्रोत हुनेछन् । केवल यिनलाई योग्य इमानदार शिल्पीको हात चाहिएको छ । जसलाई व्यवस्थित गरी विश्वलाई देखाउन सके हामीकहाँ खानी वा तेलका कुवा छैनन् भनेर गुनासो गर्नै पर्दैन । पर्यटन र धार्मिक पर्यटन, विद्युत् उत्पादन आदिबाट केही वर्षमै यस मुलुकलाई विकसित बनाउन सकिन्छ । लगानी लगाउन समर्थ संस्था तत्पर छन् । केवल उनीहरूलाई हाम्रो पृष्ठभूमि चिनाउन आवश्यक छ ।
वन विनाशका कारण उत्तरबाट दक्षिण बग्ने खोलाले किनारका हजारौं विगाहा जमिन बगर बनाई सुन फल्ने ठाउँ बर्बाद पारेका छन् । तिनमा तटबन्ध गरी वृक्षारोपण गर्न सके लाखौँ विगाहा जग्गा पुनः कृषियोग्य बन्नेछन् । तराईमा प्रस्तावित हुलाकी मार्ग, बिजुलीले चल्ने रेल, मध्य पहाडमा अर्को राजमार्गका अलावा दक्षिणबाट उत्तर जोड्ने सडकको नेटवर्कले नेपाललाई कुनै पूर्वीय देशभन्दा कम हैन भन्न समर्थ हुनेछौँ । केवल हामीमा इमानदारी चाहियो । भ्रष्टलाई कडा दण्ड दिने कानुन चाहियो । भारतमा जस्तै हरित क्रान्ति र श्वेत क्रान्तिबाट देशका ९० प्रतिशत कृषि र पशुपालनमा निर्भर जनताको जीवनस्तर उठाउन सके देश त्यसै उँभो लाग्नेछ । केवल हाम्रा नेताले राजनेता भई मान्छे छान्दा राम्रो छाने पुग्छ ।
    एनसेल काण्डमा पनि साधारण कर्मचारीले राम्रोसँग देशको हितमा काम गर्ने तर मन्त्रीहरू भने एनसेलकै पक्षमा लाग्ने देखिएको छ । अर्थसचिवले मन्त्रीहरूको हेक्का नराखी अधिकार सम्बन्धित कार्यालयलाई नै दिन जोड गर्नुभएको छ । उहाँको यो आँट प्रशंसनीय छ । मुलुक त्यसैले राम्रो मान्छको खोजीमा छ ।

प्रकाशित: २१ चैत्र २०७३ ०४:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App