११ फाल्गुन २०८० शुक्रबार
विचार

कृपया, खानेकुरा नफालौँ

फाइल तस्बिर

केहअिघि मकवानपुर जाँदा एक सानो चिया पसलमा लेखेको देखेँ– ‘कृपया, खानेकुरा खेर नफाल्नुहोला।’त्यो देखेर मलाई निकै रमाइलो लाग्यो। अब चियापसलका मालिकहरूलाई पनि खाना खेर फ्याल्नु हुन्न भन्ने सचेतना आइसकेछ भन्ने ठानेँ। तर अपसोस्, ५ तारे होटेलमा व्यवस्थापन पक्ष र ठूला ठूला गुठीका भोज गर्ने मानिसलाई यसबारे अझै चेतना छैन।  

केही दिनअघि एक साथीले कुल देवताको पूजा गरेको उपलक्ष्यमा नेवारी तरिकाले सबै लहरै बसेर खाने भोजमा बोलाइन्। त्यस भोजमा सय जना एकैचोटि खान बस्यौँ। थाल राखेपछि पहिले सानो कचौरामा जाँड ल्याइयो। अलिकता चाखेँ, मेरो घरमा ४–५ दिन सम्म राखेको अमिलो मोहीको स्वाद थियो। मीठो लाग्यो। अलिकता थपेँ। बाहुन भएर नेवारी जाँड मज्जासँग खाने भनेर नजिकै बसेकी ५० वर्षीया प्रधान थरकी साथीले जिस्काइन्। त्यसपछि खानेकुरा बाँड्न थालियो। नेवारी भोजअनुसार २८ थरीको व्यञ्जन हुनुपर्छ। नत्र भोज गर्ने मानिसको कुरा काट्छन्– तुलाधर दिदीले भनेकी थिइन। २८ थरीको खाना कसरी पकाउने होला? कसरी खाने होला भनेर सोचिरहेकी थिएँ। चिउरा, तरकारी, अचार, विभिन्न थरीका मासु साग आदि परिकार थपिँदै थिए। अब पुग्यो भनेँ।

यो त सुरुवात मात्र हो अझ कति परिकार बाँकी छ भनेर नजिकैको साथीले भनेपछि मलाई त छटपटी भयो। खानै पर्छ, बीचमा उठ्न पाइन्न भन्ने पनि सुनेँ। यति धेरै परिकार बनाएपछि त थोरै थोरै पो हालिदिनु पथ्र्याे– मनमनै सोच्दै थिएँ। नयाँ परिकार फेरि थपिन पुगे। पर्दैन भन्दाभन्दै साग, करेलाको अचार, मुलाको अचार थपिइहाले। त्यो त जबर्जस्ती खानै प¥यो। चिउरा त खानै सकिएन। फेरि लप्सीको पाउ आइपुग्यो। अमिलो, पिरो, गुलियो, मीठो स्वादको लप्सीको तितौरा झोल पनि पिउन करै लाग्यो। नाइँ भन्दाभन्दै हालिएको चिउरा मेरो थालेमा खेर गएको देखेर मन कटक्कै काटिएको थियो। तर सँगै बसिरहेकी साथीले त तरकारी, मासु, अचार सबै फालेकी थिइन्। ‘उनी यस्तै छिन, घरमा पनि खानेकुरा फ्याल्छिन्। पहिले लिन्छिन्, अनि खान नसकेर फ्याल्छिन्। जति खाने हो, त्यति मात्र लिए त भैहाल्छ नि’– उनका श्रीमान्ले भने।

मेरा परिचित श्रेष्ठ थरका ड्राइभरले मलाई भनेका थिए– ‘भोजमा खाना फाल्ने मानिसको बानीले मलाई पनि दिक्क लाग्छ। खानेकुरा फ्यालेन भने त हामीकहाँ लोभी भन्छन्। भोजमा त प्लेट प्लेटमा लिएर धेरै मानिसले खानेकुरा खान सक्दैनन् अनि फ्याल्छन्। मलाई त दिक्क लागेर ल्याइपठाउँछ मेरो घरमा त म खानेकुरा फ्याल्न दिँदैन तर के गर्नु अरूको भोजमा जाँदा त खानेकुरा नफाल भन्न भएन, चूप लागेर बस्नुपर्छ।’ उनी सायद एक प्रतिनिधि पात्र हुन् जो खानेकुरा खेर फाल्नुहुँदैन भनेर आफूले पनि प्रयोगमा ल्याउँछन्। म पनि त्यस्तै एक प्रतिनिधि पात्र हुँ। जसले भोजन फ्यालेको काम एकदम मन पराउँदैनन् तर अरूले खाना फ्यालेको देख्दा केही भन्न सक्दैन।

भोजमा २८ थरीको खानेकुरा राखेपछि त वास्तवमा २–३ गाँस हरेक पदार्थ खाँदा नै पेट भरिसक्छ अनि फेरि थपी थपी दिएको खाना खाने पेटमा ठाउँ नै कहाँ हुन्छ र? फेरि आफैँ खाना लिने ठाउँमा पनि हामी एकदम लोभी हुन्छौँ कि क्या हो, सबैथरीको खानेकुरा एकै प्लेटमा राख्न खोज्छौँ।  

अनि प्लेटमा रहेको खाना आधा फ्याँकेर हाम्रो आँखा मिठाइतिर पर्छन्। जेरी, केक, गाजरको हलुवा, लालमोहन आदि सबै फेरि प्लेटभरि हालिन्छ। विचरो पहिलेदेखि भरिएको पेटमा कति पो हाल्न सकिन्छ र कोचिएको खाँदा पनि पेटले नाइ भन्छ, अनि मिठाइ पनि फ्याँलिन्छ। अर्थात एकजनाले भोजमा झण्डै ७०० रुपियाँ जतिको खाना दाल, मासु, अचार, तरकारी मिठाइ खेर फाल्छन्।

यसरी भोजमा खाना फ्याँल्दा खानालाई पैसामा परिवर्तन गर्ने शक्ति कसैको भइदिएको भए उनीहरू फ्यालेको खानालाई परिवर्तन गर्थे र टिपेर लैजान्थे होला तर त्यो त सम्भव छैन। अनि विभिन्न किसिमको भोज, पास्नी भोजन, श्राद्धको प्रसाद आदि गर्दा कति पैसा नालीमा बगाइरहेको छ भन्ने कसैले हेक्का नै राख्दैनन्।

विवाहका हजार निम्तालुले पाँच सय सम्मको भोजन फ्याले भने कति पैसा खर्च हुन्छ होला हिसाब गरौँ त। ५ लाख सोझै पानीमा बग्यो। अझ त्यसमाथि पनि निम्तालुहरूले चिसो पेय पदार्थ र खाजा फालेको त मैले हिसाब गरेको छैन। काठमाडौँमा मात्रै लाख खेर गएm विराटनगर, बुटवल, धरान, कैलाली जस्ता प्रत्येक सहरमा १०–१० लाखको मात्र खाना फालियो भने अर्काे ५० लाख अर्थात करोडको खाना फालियो। वर्षमा २–३ चोटि विवाहको लगनमा २ करोडदेखि ३ करोडसम्मका खानेकुरा फ्यालिन्छ।

कतिपय भोजमा त ३–४ वर्षका बालबालिकालाई पनि अभिभावकले प्लेटभरि खाना लिइदिन्छन्। निम्ता मान्न आएको जति लिए पनि हुन्छ भन्ने विचारले कि? तर त्यो बालकको पेटमा त कति पो भोजन अटाउँछ? ५–७ गाँस देखाएपछि बालकको पेट र मन दुवै अघाउँछ। त त्यो खाना फ्यालेर बच्चालाई अझ गुलियो खानाका लागि तयार गरिन्छ अनि मिठाइ पनि फ्यालिन्छ। यस्ता नानीलाई कोच्यार खाना ख्वाउन चाहने अभिभावकले सुदूरपश्चिम र कर्णालीका कुपोषित बालबालिकाले खान नपाएको पीडा अनुभव गरिदिन सकेको भए?

हामीकहाँ यसरी खाना फ्याल्नु हुन्न भने संस्कृतिको विकास अझै हुन बाँकी छ। कतिपय कुरामा पश्चिमा देशको नक्कल गर्ने हामीले खाना नफ्याल्ने उनीहरूको बानीचाहिँ अंगाल्न सकेका छैन्। अमेरिका वा युरोपमा होटलमा जाँदा खाना बढी भयो भने प्याकेटमा हालेर घर लैजाने पद्धति छ। नेपालमा चाहिँ अझै होटलमा जाँदा यसरी खाना बढी भए फ्यालेर नै जाने चलन छ।

मकवानपुरको चिया पसलेले खाना नफाल्नु होला, चाहिने जति मात्र लिनुहोला भनेर लेखेर झुन्ड्याएको अनुशरण ठूला होटलले पनि गर्दा राम्रै हुन्थ्यो कि? अन्न भनेको देवता हो र यिनको सम्मान गर्नुपर्छ भनेर हजुरआमाले सिकाउनुभएको थियो। अन्न नभएर ४–५ दिन भोकै बस्नुपर्यो भने कस्तो पीडा होला? भोजन अभावमा शरणार्थीहरू कसरी तड्पिन्छन्? बसका यात्रुले राजमार्गमा खान नपाएको समस्या पत्रिकामा आउँछ। भोजनको अभावमा सुत्केरीको दूध नआएपछि शिशुले दूध खान नपाएर मरेको घटना कति सुनिन्छ। तर यति हुँदाहुँदै पनि हामी किन विवेकहीन भएर खानेकुरा फ्याँक्छौँ? सायद हामीलाई सानैदेखि नसिकाएर पो हो कि? खाना फ्याले ठूला मान्छे होइने रहेछ भनेर किन सोचिन्छ? अब ढिला नगरी खाना फ्याँक्न हुन्न भनेर सिकाउने हो कि?

प्रकाशित: १० जेष्ठ २०८० ००:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App