१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

सीमान्त गुरु प्लेसिबो इफेक्ट

अहिले सामाजिक सञ्जालमा सीमान्त गुरु भनिने भरत भट्टराईको निकै चर्चा छ। उनको यो चर्चा उनले बिरामीको आँखा हेरेर तथा बिरामीलाई स्पर्श गरेर जुनसुकै रोग ठीक पार्ने दाबी र कतिपय व्यक्तिले आफ्नो कतै ठीक नभएको रोग पनि सीमान्त गुरुको उपचारले ठीक भएको भनाइका कारण भएको हो।  

उनको चर्चापरिचर्चा यतिविघ्न छ कि उनी जहाँ जान्छन्, त्यहाँ त्यहाँ थामिइ नसक्ने ठूलो भिड उर्लने गर्छ। टाढा टाढाबाट अशक्त बिरामीहरू समेत उनको उपचार गर्न आउँछन्। एक दिनमा उनले १ हजार बिरामी हेर्ने गर्छन्। केही दिनअघिसम्म त काठमाडौँस्थित तारकेश्वरमा रहेको उनको क्लिनिकमा दिनहुँ दसौँ हजारको थामिइ नसक्ने भिड लाग्ने गर्दथ्यो। यही कारण देखाइ अहिले प्रहरीले उनको यो क्लिनिक बन्द गराएको छ।  

भरत भट्टराई उर्फ सीमान्त गुरु न एलोपैथिक चिकित्सक हुन् न त आयुर्वेदिक नै। तर उनले आफूसँग अलौकिक शक्ति भएको र यही अलौकिक शक्तिबाट जस्तोसुकै रोगहरू ठीक पार्ने दावी उनको छ। यस पाटोबाट हेर्ने हो भने उनी सरासर एक ढोंगी र ठग व्यक्ति भएको पुष्टि हुन्छ। तर यसको अर्को पाटो के भने उनको उपचारले कतिपय अशक्त बिरामीहरू पनि ठीक भएका छन् भने उनी कसरी ढोंगी तथा ठग हुन् सक्छन् भन्ने प्रश्न पनि उठ्न सक्छ। त्यसैले यस प्रश्नको जवाफ खोज्न सीमान्त गुरुको चिकित्सा के हो र यसले कसरी कार्य गर्दछ भन्ने बुझ्न जरुरी हुन्छ। यसका लागि तपाईँ÷हामीसामु भइरहेका अन्य केही उदाहरण हेरौँ।

गत वर्ष दिनमानले मनकामनालाई भाके, उनको मनोकामना पूरा भयो। औषधि गर्दागर्दै हैरान भएकी आकिसाको रोग तन्त्रमन्त्र तथा झारफुकबाट ठीक भयो। सत्यवतीमा चिच्चाएकी दिमनाले आफूले रोजेको पति पाइन्। आर्थिक कारोबार चौपट भएका विषम्ले टिभीद्वारा प्रभुकृपा वर्षाउने पास्टरलाई सम्झे, उनको अवस्था सुध्रियो। निशानले बाबाको सल्लाहबमोजिम दही खाए, गरिबहरूलाई दही बाँडिदिए, उनको फसेको पैसा असुल भयो। रुकमनीले रातो साडीको ठाउँमा निलो साडी लगाइन्, उनको छोराले मेडिकलमा नाम निकाल्यो। बिरामी जावेद पिर–मौलाले भनेझैँ गरेर मस्जिदमा माथा टेके, उनको रोग ठीक भयो। पशुरामको भैँसीले दूध दिएन, उनले झारफुक गराए, भैँसीले दूध दिन थाल्यो। केही दिनदेखि भात खान मन नगरेको मिनप्रसादको बालक छोरालाई पानी मन्तरेर दिएपछि सपासप भात खान थाल्यो। निलमको हराएको औँठी ज्योतिषले भनेझैँ पूर्व दिशामै भेटियो।  

यस्ता घटनाहरूको प्रत्यक्ष अनुभव गरेका व्यक्तिहरू तपाईँ हामीसामु थुप्रै छन् र तपाईँ स्वयं नै तीमध्ये एक व्यक्ति हुन सक्नुहुन्छ। त्यसैले आफैँ साक्षी भएको घटना तपाईँका लागि कसरी झुटो हुन सक्छ। हो, एक दृष्टिकोणले यस्ता कुरा सम्भव छन्। तर यहाँनिर महत्वपूर्ण कुरा के भने मनकामनालाई भाकेका कति मानिसको मनोकामना पूरा हुन्छ ? कुनै बाबाको कृपाबाट कति मानिसको मनोकामना पूरा हुन्छ ? ५–६ हजार मानिसको भीडमा एकाध मानिस एक पास्टरको कृपाबाट आफ्नो कामना पूर्ति भएको दाबीको कुनै वैज्ञानिक महत्व छ ? वास्तवमा यस्ता घटनापछाडिको मनोविज्ञान के हो ? यस प्रश्नको सिधा जवाफ हो, प्लेसिबो इफेक्ट। अतः प्लेसिबो इफेक्टका कारण नै यस्ता घटना सम्भव भएका हुन्। त्यसैले अब प्रश्न उठ्न सक्छ, यो प्लेसिबो इफेक्ट के हो ?

एकजना प्रसिद्ध चिकित्सक आफ्नी पत्नीलाई लिएर अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको मनमोहक कार्यक्रम हेर्न गएका थिए। कार्यक्रम निकै आकर्षक थियो। चिकित्सक मन्त्रमुग्ध भएर कार्यक्रम हेरिरहेका थिए। तर कार्यक्रम हेर्दाहेर्दै उनकी पत्नीको अचानक टाउको दुख्यो। दुःखाइ असह्य भएपछि उनले पतिसँग घर फर्किन आग्रह गरिन्। तर त्यो मनमोहक कार्यक्रम  बीचमै छाडेर घर फर्किन चिकित्सकको मन मानिरहेको थिएन। अनि चिकित्सकले पकेटबाट एउटा च्युङ्गम निकालेर पत्नीलाई दिँदै भने– “लौ यो च्युङ्गम चपाऊ। अमेरिकामा बनेको यो च्युङ्गमले एक मिनेटमै टाउको दुखेको ठीक पार्दछ।” आफूले पनि च्युङ्गम चपाएझैँ गर्दै उनले भने– “मेरो पनि टाउको दुखेको थियो। यो च्युङ्गम चपाएको त एकदमै ठीक भयो। त्यसैले त यसरी मन्त्रमुग्ध भएर कार्यक्रम हेरिरहेको छु।” चिकित्सकी पत्नीले पनि च्युङ्गम चपाउन थालिन्। नभन्दै केही क्षणमै उनी बिलकुल ठीक भइन्। र, कार्यक्रम हेर्न थालिन्। त्यसपछि पूरा कार्यक्रम हेरेर उनीहरू घर फर्किए।  

चिकित्सकले उनकी पत्नीलाई दिएको त्यो च्युङ्गम कुनै विशेष औषधीय च्युङ्गम थिएन, त्यो त साधारण च्युङ्गम नै थियो। यहाँ च्युङ्गमले औषधिको काम गरेको थिएन, चिकित्सकप्रति उनकी पत्नीको विश्वासले औषधिको काम गरेको थियो। यो नै प्लेसिबो इफेक्टको एक उदाहरण हो।

आधुनिक युगमा प्लेसिबो इफेक्टलाई प्रकाशमा ल्याउने डा. एच. के. बिचर हुन्। उनले १ हजार ८२ रोगीहरूमा गरेको १५ वटा क्लिनिकल ट्रायल्समा ३५ प्रतिशत रोगीहरूमा प्लेसिबो इफेक्ट्स देखियो। तर अन्य अध्ययनले यसको प्रभाव अझ बढी देखाएको छ। पीडा, डिपे्रसन, कतिपय हृदय रोग, ग्यासट्रिक अल्सर तथा अन्य पेटका बिकार जस्ता रोगहरूमा त ५०–६० प्रतिशत प्लेसिबो प्रभाव देखा पर्ने कतिपय शोधकर्ताको दाबी छ। एक पटक प्रसिद्ध आर्थोपेडिक सर्जन जे. ब्रुस मोसलेले ८ जना घुँडाका रोगीहरूमध्ये २ जनालाई अप्रेसन गरे भने ६ जनालाई नक्कली अप्रेसन गरे। ६ महिनापछि उनले सबै रोगहरू ठीक भएको पाए।

अतः प्लेसिबो इफेक्ट वैज्ञानिक कुरा हो। तर यसलाई जानेर वा नजानेर प्रत्यक्ष–परोक्षरूपमा धेरै ठाउँहरूमा प्रयोग गरिँदै आइएको छ। प्लेसिबो इफेक्टको व्यापक प्रयोग चिकित्सा क्षेत्रमा हुने गरेको छ। दृष्टान्तका रूपमा एन्टिबायोटिक थेरापीलाई लिन सकिन्छ। चिकित्सकले प्रायः भाइरल इन्फेक्सनका लागि एन्टिबायोटिक प्रेस्क्राइब्ड गर्ने गर्छन्। तर, एन्टिबायोटिकले ब्याक्टेरियालाई मार्ने र प्रतिप्रभावका रूपमा पेटलाई असर गर्ने गर्छ। तर यस औषधिले भाइरसलाई कुनै असर गर्दैन। तर पनि एन्टिबायोटिकको सेवनबाट यस्ता रोगीहरूले आराम महसुस गर्छन्।  

प्लेसिबो इफेक्टले कसरी कार्य गर्छ भन्ने ठोस वैज्ञानिक तथ्य अझ पनि प्रकाशमा आउन नसके तापनि यसको मूल आधार भनेको विश्वास हो। त्यो किनभने विश्वास जति मजबुत हुन्छ, प्लेसिबो त्यति नै प्रभावकारी हुन्छ।  

त्यसो त बेलाबेलामा नामी चिकित्सहरूले बिरामीहरूको अवस्था हेरेर जानी जानी प्लेसिबोको रूपमा चिनीको चम्की वा सिरप दिने गर्छन्। बिरामीले यस्ता चक्कीहरूलाई औषधि नै ठानेर खान्छन्। ठीक पनि हुन्छन्। जसरी चिकित्सककी पत्नीको टाउको दुखाई ठीक भएको थियो। शारीरिक रोग भन्दा पनि मानसिक रोगका लागि प्लेसिबो इफेक्ट अझ प्रभावकारी हुन्छ। यस्ता रोगहरूमा प्लेसिबो इफेक्टले ४०–५० प्रतिशत काम गर्छ। कतिपय एन्टिडिप्रेसेन्टसको ७० प्रतिशतसम्म प्रभाव प्लेसिबो इफेक्टका कारण हुने गर्छ।

प्लेसिबो इफेक्टको यही विशेषताका कारण नै कतिपय झोले चिकित्सक, ओझा–धामी, तान्त्रिक, पीर–मौला, नीमहाकीम, ज्योतिष, वास्तुशास्त्री, सन्तमहाराज तथा धर्मगुरूहरूको दोकान चलिरहेको छ। मेडिकल चिकित्सकहरूले यसलाई रोगी र रोगको अवस्था हेरेर एक विज्ञानका रूपमा प्रयोग गर्छन्। तर प्लेसिबो इफेक्टको दोकान चलाउनेहरूले यसलाई आफ्नो सिप, प्रभु तथा अल्लाह आदिबाट प्रदत्त शक्तिको संज्ञा दिने गर्छन्। तर यो सरासर झुटो कुरा हो। त्यसैले कुनै बाबाको नाम सम्झेर मनकामनालाई भाके पनि वा कुनै जंगलमा गएर वनदेवीलाई भाके पनि वा खोलाको ढुंगामाथि विश्वास गरेर भाके पनि ३०–४० प्रतिशत मानिसको मनोकामना पुरा हुन सक्छ, जुनसुकै चिकित्सा पद्धतिद्वारा उपचार गरे पनि ३०–४० प्रतिशत रोगीहरू ठीक हुन सक्छन्। यो नै प्लेसिबो इफेक्टको चमत्कार हो।  

प्लेसिबो इफेक्टले कसरी कार्य गर्छ भन्ने ठोस वैज्ञानिक तथ्य अझ पनि प्रकाशमा आउन नसके तापनि यसको मूल आधार भनेको विश्वास हो। त्यो किनभने विश्वास जति मजबुत हुन्छ, प्लेसिबो त्यति नै प्रभावकारी हुन्छ।  

जोय डिस्पेन्जाले एउटा चर्चित किताब लेखेका छन्, जसको नाम हो, यु आर द प्लेसिबो। यस किताबमा उनले लेखेका छन्, उनी २१ वर्षका हँुदा एउटा भयंकर एक्सिडेन्टमा परेर उनको मेरुदण्ड ठाउँ ठाउँबाट नराम्रोसँग भाँचिएको थियो। नामी–नामी डाक्टरहरूले उनको उपचार गरे तर सबैले एउटै कुरा बताए, अब कुनै उपाय छैन, जीवनभर ह्विल चियरमा जीवन काट्नुपर्छ। तर उनले हार मानेनन्। दृढ अठोटका साथ उनले एक प्रयोग गर्ने निधो गरे। अनि उनले मन–मनले सोच्न थाले, उनको शरीरमा एक्सिडेन्टको कुनै प्रभाव परेको छैन। उनी पहिला जस्तै स्वस्थ छन्। केही महिना लगातार यस्तो सोचाइ राखेपछि उनले अनुभव गरे कि उनी बिस्तारै बिस्तारै ठीक हुँदै गएका छन्। चमत्कार नै भयो, उनी बिलकुल ठीक भए। यसबाट एउटा कुरा के प्रष्ट भयो भने हाम्रो शरीरले त्यही गर्छ, जुन हामी बराम्बार सोच्ने गर्छौँ। जस्तो सोच्छौँ, त्यस्तै हुन्छौँ।

प्लेसिबो इफेक्टको यही मनोविज्ञानलाई बुझेर नै कतिपय ठगहरू गुरु तथा स्वामी–महाराजको खोल ओढेर प्लेसिबो इफेक्टद्वारा समाजमा नाजायज प्रभाव जमाइरहेका छन्। सोेझासिधा मानिसलाई ठगेर अकुत सम्पत्ति थुपारिहेका छन्। यस्ता ठगहरू हरेक धर्मभित्र छन्।  

विश्वका ५० देशमा आफ्नो साम्राज्य खडा गर्न सफल भएका संख्यापति बेनी हिन धर्म र प्लेसिबो इफेक्टका आडमा चमत्कारको हौवा फैलाएर ठगी गर्नेहरूका प्राचार्य नै हुन्। अतः यसरी चमत्कारका नाउँमा वा घर–घरको ढोका ढक्ढकाएर चमत्कारको झुट बोल्दै प्रभु बिक्री गर्न खोज्नेहरूलाई के भन्ने ? के प्रभु भनेका कुनै कम्पनीका प्रडक्ट हुन् ? कथित चमत्कारहरू देखाएर जनता लुट्ने लुटेराहरू नेपालमा पनि थुप्रै छन्। यस्ता ठगहरूले अहिले टिभी तथा सामाजिक सञ्जाललाई प्रचारको माध्यम बनाएका छन्।  

प्रकाशित: ८ जेष्ठ २०८० ००:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App