२७ श्रावण २०७७ मंगलबार
विचार

राष्ट्रिय एकताको पर्व फागु

प्रकृतिको रोमाञ्चक नाट्यकारितालाई जीवन जगतसँग सामञ्जस्य गराउँदै सार्थक जीवन जिउनुपर्छ भन्ने जीवनको निचोडलाई सालिन्दा हामीले मनाइंँदै आइरहेको फागु  पर्वले पनि अभिव्यक्त गरेको छ। धर्म र संस्कृतिमा आधारित पर्व र परम्पराहरूमा निहित दार्शनिक चिन्तनले एकातिर जीवन र जगतको शाश्वत पक्षलाई प्रकाशित गर्छ भने अर्कोतिर संस्कारित अभ्यास गर्ने क्रममा मनाइने पर्व र परम्पराले मनोरञ्जनको पक्ष पनि समेटिएको ज्वलन्त दर्शन फागुमा खेलिने खेलमा पाइन्छ। सारत हिन्दु धर्म र दर्शनले कहिल्यै पनि जीवनबाट भागेर जोगी वा फकिर बन भनेको छैन। सांसारिक भोगलाई महत्व दिँदै धर्म, अर्थ, काम र अन्तमा मोक्षलाई जोड दिएको यस दर्शनले सृष्टिको चक्र प्रणालीलाई कायम राख्नका लागि समेत सांसारिक भोगमा रम्न/रमाउन जोड दिएको छ। जीवन भोग गर्नका लागि हो। सांसारिक आनन्दको भोग गर्दै जानुपर्छ। जीवनको प्रत्येक क्षण आनन्द र उल्ल्ाासमय बनाउनुपर्छ भन्ने भोगवादी चिन्तन श्रीकृष्णजीका अनेक लीलामा पढ्न पाइन्छ। श्रीकृष्णजीको यसै लीलामय दर्शनलाई अभिव्यक्त गर्ने फागु पर्व रागात्मक र वासनात्मक पक्षको प्रतीक हो।

 पुस माघको ठिहिरो र सिरेटोका कारण उजाड बनिसकेको प्रकृति फेरि वसन्त ऋतुको आगमनसँगै ऊर्वरताको अनेक उमंगताका साथ जुर्मुराउन थाल्छ। वर्षा ऋतुको आगमनको आधार वसन्त ऋतु नै हो। वर्षा र हिउँद ऋतुको दोसाँधमा रहेको कृषि कर्मको फुर्सदिलो यस समयमा किसान खानपान, मनोरञ्जन र धार्मिक अनुष्ठानमा लाग्छन्। फागुनको यसै समयमा हलुका वर्षात भएपछि आगामी वर्षका लागि बीउविजन छर्ने प्रारम्भिक कृषि कर्मको  थालनी भइसकेको हुन्छ। नांगो रुखमा निलाम्य फूल्ने शिरिषका निला फूलले जीबनको विधवा र वैधव्यतालाई बिर्साउँछ नै, पाखा र पखेरामा फुल्ने गुराँस र सुनाखरीले मनलाई त्यसै त्यसै पल्लवित र फुरुङ्ग बनाइदिन्छ।

कोपिला लाग्ने, फूल खेल्ने र रागात्मक वासनालाई छर्दै यौवनको मादकतालाई अझ उत्तेजित बनाइदिने यस समयमा उराठिला दिनहरू बिर्सदै प्रदेशिएका आफ्ना पति र प्रेमीजनलाई सम्झँदै फागुका रङ्गहरुमा रमाउन थाल्छन् छोरीचेलीका तरुणी मन। अझ न्यौउलीको अनवरत कोहोलो सुन्दा तरुणी मनमा साह्रै विरह छाइदिन्छ र आफ्ना प्रेमीले पठाएको करुण रसले ओतप्रोत प्रेमपत्र पढ्दै भक्कानिन थाल्छन् युवायुवती। बालबालिकादेखि वृद्धवृद्धासम्मका नरनारी रङ्गको उमङ्गमा रमाउँदै फागु गाउने समयमा साँच्चिकै हर्षको बढाइँ हुन्छ। फागुमा गुञ्जने वसन्ती रागले जीवनको शाश्वत चिन्तनलाई झञ्कृत गराउँछ भने केही कामात्मक, रागात्मक र हलुका अश्लीलता प्रकट गर्ने शिष्ट गिती लयले नरनारीमा निहित सिर्जनाको आकांक्षालाई प्रष्फुटित गराइदिन्छ नै,मातृत्व र यौवनको अभिलाषामा आफ्ना प्रेमीजनलाई सम्झँदै रातैरातै रङ्गहरुमा रङ्गिन थाल्छन्।

फागुको धार्मिक र पौराणिक महत्व जे/जस्तो भए पनि यसको मानवीय सम्बन्धको आयाम भने विशिष्ट छ। अनेकतामा एकताको सिद्धान्तलाई एउटै मालामा उनेर राष्ट्रिय एकताको शंखघोष गर्ने फागु पर्व मानवता, आपसी भाइचारा र विश्वबन्धुत्वको भावनालाई मजबुत बनाउने मानवतावादी पर्व हो। टुटेको मन र बिग्रिएको सम्बन्धलाई फागुको मलह्मपट्टी लगाई सहअस्तित्वको मर्म अनुशरण गर्र्नैपर्ने सामयिक आवश्यकता बनेको छ। हिमाल, पहाड र तराईबीचको त्रिकोणात्मक आयामको आत्मीय सम्बन्धका आधारबाट देशले फल्ने र फुल्ने अवसर पाउँछ। देशको गुम्नै लागेको वैंस र वैभव अनि निभ्नै लागेको अस्तित्वको आभालाई बचाउन हामी सबै नेपाली एकजुट हुनै परेको छ।

राजनीतिक अस्थिरताको खेती गर्दै नेपाली संस्कृतिको समन्वयात्मक दर्शनलाई टुटाएर निहित स्वार्थ पूरा गर्न केही विषाक्त तत्व लागिपरेका छन्। यस्ता तत्वलाई बेलैमा चिनेर सतर्क रहनैपर्ने बेला भएको छ।  हामी टुटेर होइन कि जुटेर अगाडि बढ्नुपर्छ भन्ने मूल भावका साथ अगाडि बढ्नैपर्ने आजको युगीन आवश्यकता हो। सभ्यता, संस्कृति र मानवताको मूल मर्मलाई वासन्ती रङ्गले रङ्गाएर नवीन संस्कृति  र सभ्यता सिर्जना गरौं। आजको जस्तै उमंग र आनन्द, हर्ष र बढाई प्रत्येक दिन अनुभूति गर्न पाइयोस् भन्ने अपेक्षाताका साथ नेपाल आमाको अनुहारमा आत्मीयताको आभा अर्पण गरौं। यसैमा समृद्ध नेपालको सम्भावना छ।

प्रकाशित: २९ फाल्गुन २०७३ ०८:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App