२६ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

बाँदर ब्यापारमा पैसैपैसा

नेपाली कांग्रेस उपाध्यक्ष तथा सांसद धनराज गुरुङले केही दिनअघि प्रतिनिधिसभा बैठकमा बाँदरले बालीनाली विनाश गरेकाले कृषक ठूलो मर्कामा परेको सार्वजनिक महत्वको विषयमा आफ्नो धारणा मात्र व्यक्त गरेनन्, बरु देशको खस्कँदो आर्थिक अवस्था सुधार गर्ने उपाय पनि सुझाउन भ्याए।

 जंगलको बाँदर समातेर विदेश निर्यात गर्दा किसानको समस्या मात्र समाधान नहुने बरु ढुकुटीमा विदेशी मुद्रासमेत भित्रने देखे सांसदले। बाँदर निर्यात गर्दा पशु अधिकारकर्मीले अवरोध गर्न सक्ने भएकाले त्यस्तो शुभ कामबाट सरकार पछि हट्न नहुने पनि बताए उनले। उत्तरी छिमेकीलाई ख्वाउन निर्यात गर्ने सांसद गुरुङको प्रस्ताव हो भने जंगलका सबै जनावर समातेर निर्यात गरे पनि राजस्वमा खासै योगदान नहुने निश्चित छ। तर बायोमेडिकल रिसर्च प्रयोजनमा आवश्यक पर्ने स्तरका बाँदर उत्पादन गरी निकासी गर्न सक्ने हो भने देशको राजस्वमा ठूलै थेगभर हुने पक्का छ। विदेशले के÷कस्ता प्रयोजनका लागि बाँदर किन्छ अनि अन्तर्राष्ट्रिय बजारमा नेपाली जनावरले पाउन सक्ने बजारका सम्बन्धमा चर्चा गर्नु यो आलेखको लक्ष्य हो।

ब्लुम्बर्ग न्युजले सन् २०२२ अक्टुबरमा अमेरिकी बजारमा बायोमेडिकल रिसर्चमा बाँदरको हाहाकार शीर्षकमा समाचार प्रकाशित गर्‍यो। सन् २०२२ को पूर्वाद्धमा ३५ हजार अमेरिकी डलर तिर्दा पनि रिसर्च ग्रेडका बाँदर पाउन नसकेका अनुसन्धानकर्ताको व्यथा समेटेको उक्त समाचारले अन्तर्राष्ट्रिय बजारमा गैर मानव प्राइमेट्सको माग र आपूर्ति अवस्थालाई चित्रण गरेको थियो।

जंगलको बाँदर समातेर विदेश निर्यात गर्दा किसानको समस्या मात्र समाधान नहुने बरु ढुकुटीमा विदेशी मुद्रासमेत भित्रने देखे सांसदले।

भाइरस आतंकका बेला बजारको अस्थिरतालाई प्रक्षेपण गर्दै जनावर आपूर्ति कम्पनीहरूले बाँदरको प्रजनन रोके, तिनको उत्पादन घट्यो। परिणामस्वरूप पछिल्लो समयमा अन्वेषणका लागि जनावर पाउनै कठिन भयो। कोरोनापछि बाँदरको भाउ दोब्बर मात्र बढेन, बरु अनुसन्धानयोग्य बाँदर पाउनै कठिन भयो।

गत महिना एक औषधि उत्पादक कम्पनीका प्रमुख कार्यकारी अधिकृतले गोटाको ६० हजार अमेरिकी डलर खर्चँदा पनि बजारमा अन्वेषणयोग्य बाँदर पाउन नसकेका कारण ड्रग्स डिस्कभरीलाई नै पछाडि धकेल्नुपरेको नमीठो अनुभव सुनाए। बाँदरको कमीले कार्ययोजनाका धेरै औषधि क्लिनिकल परीक्षण पछि स¥यो।

अमेरिकी बजारमा बाँदरको मूल्य सुन्दा धनराजले भनेझैं जंगलका बाँदर पक्रिएर समुन्द्रपार पठाइ कमाइहालौँ भन्ने सोच आउनु अन्यथा होइन। तर जंगलका छाडा बाँदर औषधि अन्वेषणमा उपयोग गर्न नसकिने बरु रिसर्चमा प्रयोग हुने जनावरको जन्मपर्यन्तको स्वास्थ्य अवस्था अनि पुर्खाको समेत लेखाजोखा आवश्यक हुन्छ। जन्मँदै संगिन समस्या देखिएको अनि हुर्कँदा ठूलो संक्रमणमा परी जोगिएका जनावरलाई अन्वेषणमा राख्दा परिणाम यथार्थ भन्दा पृथक आउन सक्ने भएकाले अनुसन्धानमा प्रयोग हुने जनावर स्वास्थ समस्याबाट मुक्त हुन आवश्यक हुन्छ।

जंगलका बाँदरको भूत र पुर्खाको लेखाजोखा नहुने भएकाले सांसदले सुझाएअनुरूप नेपालले बाँदर बेचेर राष्ट्रिय ढुकुटी मजबुत बनाउन सक्ने देखिएन। बरु उक्त प्रयोजनकालागि ठूला फार्म खोली अन्तर्राष्ट्रिय बजारको मागबमोजिम बाँदर प्रजनन केन्द्र सञ्चालनमा ल्याउने बहुवर्षीय योजना सञ्चालन गर्नुपर्ने देखियो। अन्तर्राष्ट्रिय बजारमा एउटा बाँदर बेच्दा १ करोड रुपियाँ पाइन्छ भन्ने खबरले कुन नेपालीलाई बाँदर फार्म खोलौँ जस्तो नलाग्ला?

गत महिना एक औषधि उत्पादक कम्पनीका प्रमुख कार्यकारी अधिकृतले गोटाको ६० हजार अमेरिकी डलर खर्चँदा पनि बजारमा अन्वेषणयोग्य बाँदर पाउन नसकेका कारण ड्रग्स डिस्कभरीलाई नै पछाडि धकेल्नुपरेको नमीठो अनुभव सुनाए।

मिल्दोजुल्दो शारीरिक र अणुवांसिक बनोटमा ९९ प्रतिशत भन्दा अधिक समानताका कारण बाँदर र मानिस उद्विकासको हिसाबमा सबैभन्दा नजिकका नातेदार हुन। स्वास प्रस्वास, रक्त सञ्चार, मानसिक भावनामा समान अनि मानिसमा लाग्ने धेरै किसिमका रोग बाँदरमा समेत देखिने भएकाले तिनमा गरिने औषधि अन्वेषणलाई मानवमा सार्न सहज हुन्छ।

संयुक्त राज्य अमेरिकाको संघीय कानुनले कुनै पनि ओखती मानवमा परीक्षण गर्नुअघि गैर मानव प्राइमेट्समा रासायनिक पदार्थको सेफ्टी टेस्ट (सुरक्षा परीक्षण) गर्न आवश्यक ठान्छ। कुनै पनि दबाइको संभाव्यता बोकेको रासायनिक पदार्थ मानिसमा क्लिनिकल परीक्षण गर्नुअघि उक्त केमिकल जनावरमा जाँच गरी उक्त औषधिले मानिसमा पार्न सक्ने संभाव्य असरको अध्ययन गरिन्छ।

उक्त प्रक्रियालाई वैज्ञानिक भाषामा सुरक्षा परीक्षण भनिन्छ। जनावरमा गरिएको सुरक्षा परीक्षणमा ओखतीले मानिसमा जटिल स्वास्थ समस्या ल्याउँदैन भन्ने निश्चित गर्नुपर्छ। फलानो ओखती यति मात्रासम्म बाँदरमा परीक्षण गर्दा प्रतिकूल असर नपारेको देखिएको विवरणसहित औषधि नियन्त्रण निकायमा दिएको निवेदन स्वीकृत भए उक्त रासायनिक पदार्थ मानिसमा क्लिनिकल परीक्षणका लागि अघि बढ्छ।

नवीन केमिकल सिधै मानिसमा परीक्षण गर्दा व्यक्तिमा जटिल स्वास्थ समस्या नआओस् भनेर सुरक्षा परीक्षणसम्बन्धी कानुन अमेरिकाले बनाएको छ। सुरक्षा परीक्षणका सवालमा संयुक्त राज्य अमेरिकाको अनुशरण संसारका सबै मुलुकले गरेका कारण औषधिको क्लिनिकल परीक्षण हुने कुनै पनि मुलुकमा बाँदरको माग बढेको छ। बायोमेडिकल रिसर्च र औषधि आविष्कारमा अग्रस्थानमा रहेको संयुक्त राज्य अमेरिकामा गैर मानव प्राइमेट्सको माग अत्यधिक हुनु अन्यथा होइन।

सबैभन्दा बढी अनुसन्धान बाँदर खपत गर्ने संयुक्त राज्य अमेरिकाको जनावर आपूर्ति गर्ने मुलुकमा कम्बोडिया, भियतनाम, इन्डोनेसिया, फिलिपिन्स, मरिसस, केन्यालगायतका मुलुक पर्छन्। अनुसन्धानको नमूनाअनुसार फरक फरक अणुवांशिक बनोट भएका भिन्न जातका बाँदर अन्वेषणमा प्रयोग गरिन्छ।

संयुक्त राज्य अमेरिकाको संघीय कानुनले कुनै पनि ओखती मानवमा परीक्षण गर्नुअघि गैर मानव प्राइमेट्समा रासायनिक पदार्थको सेफ्टी टेस्ट (सुरक्षा परीक्षण) गर्न आवश्यक ठान्छ।

फरक प्रजातिका बाँदर पृथक हावापानीमा हुर्कने भएकाले धेरै देशका जनावर अन्वेषणमा प्रयोग हुनु अन्यथा होइन। त्यस अतिरिक्त भारतसँग मात्र पेट्रोलियम पदार्थमा भरपर्दा नेपालले भोग्नुपरेको पीडाझैं बाँदरका लागि एउटै देशमा भर पर्दा उक्त मुलुकमा कुनै उथलपुथल हुँदा आपूर्ति शृंखलामा असर पर्न गइ अनुसन्धान रोकिन सक्ने भएकाले अमेरिकाले धेरै मुलुकबाट अनुसन्धान जनावर किन्छ।

पैसा आउने व्यवसाय गरिब मुलुकमा किन सधैँ विवादास्पद बन्छ त ? भन्ने संबन्धमा कम्बोडियाको घटना हेरौँ। अमेरिकालाई बाँदर आपूर्ति गर्ने अधिकांश मुलुक गरिब छन् नै, त्यसमाथि त्यहाँको राजनीतिक अवस्थासमेत तरल छ। हत्या आरोप खेपेका नेकपा (एमाले)का सांसद लक्ष्मी महतो कोइरीजस्ताको राजनीतिक पदार्पण र पकड गरिब देशमा नौलो होइन।

अन्तर्राष्ट्रिय बजारमा बाँदरको व्यापार लाभप्रद् देखेपछि कम्बोडियाका राजघराना अनि उच्च नेताहरू बाँदर ब्यापारमा लागे। भाउ आकासिएपछि जनावर आपूर्ति गर्ने कम्बोडियाली कम्पनीमा सरकारको आँखा पर्‍यो। ठगेर पैसा कमाउन नेताहरू आतुर भए। उच्च सरकारी अधिकारीको संलग्नतामा जंगलबाट बाँदर समातेर अमेरिका पठाइयो।

अमेरिकी सरकारले उक्त कुकर्मको भेउ पाएपछि गत वर्षको उत्तराद्र्धमा अनुसन्धान नसकिउन्जेल कम्बोडियाबाट बाँदर ल्याउन बन्द गर्‍यो। अनुसन्धानमा बाँदरको असर प्रष्ट देखियो। अमेरिकाको औषधि अनुगमन निकाय एफडिएले गत वर्ष प्रयोगकालागि अनुमति दिएका नयाँ ओखतीमध्ये ८५ प्रतिशत दबाइको पूर्व क्लिनिकल परीक्षणमा संलग्न चाल्र्स रिभर ल्याबरेटोरिजमासमेत बाँदरको कमीले समस्या ल्यायो। कम्बोडियाली बाँदर सन्देहको घेरामा तानिएपछि प्रयोगशालामा अन्वेषणका लागि पर्याप्त बाँदर नपाएको खबर आयो।

अमेरिकालाई बाँदर आपूर्ति गर्ने अधिकांश मुलुक गरिब छन् नै, त्यसमाथि त्यहाँको राजनीतिक अवस्थासमेत तरल छ।

ओखतीको प्रारम्भिक अन्बेषणमा झण्डै एकाधिकारको हैसिएत पाएको चाल्र्स रिभर ल्याबले पर्याप्त गैर मानव प्राइमेट्स नपाएपछि भविष्यको ओखती आविष्कारमा पर्ने नकारात्मक प्रभावको सहजै अड्कल गर्न सकिन्छ। राजनीतिकर्मीले सञ्चालन गरेको बाँदर फार्मको कुकर्मका कारण कम्बोडियाको मात्र बेइज्जत भएन, बरू ओेखती अन्वेषणसमेत पछि धकेलियो।

नेपालको हावापानी बाँदर प्रजननका लागि निकै अनुकूल देखिन्छ। सांसद धनराज गुरुङले भनेझैं कुनै संरक्षणबिना हजारौँको संख्यामा बाँदर हुर्कन सक्ने भूभागमा संरक्षणसहितको बादर प्रजनन् फार्म खोल्ने हो भने जनावर निर्यात गरी नेपालले करोडौँ अमेरिकी डलर आर्जन गर्न सक्छ।

अहिलेको बजार भाउ कायम रहने हो भने केबल १०–२० हजारको संख्यामा मात्र पनि बाँदर निर्यात गर्न सक्ने हो भने देशले एक वर्षमै करोडौँ अमेरिकी डलर भित्र्याउन सक्छ। अनुसन्धान निकाय न्यासनल इन्स्टिच्युट अफ हेल्थले औषधि परीक्षणका लागि मात्र पनि अमेरिकामा वार्षिक १ लाख बाँदरको न्यूनतम आवश्यकता रहेको जनाएको छ।

अमेरिकी अन्वेषणका लागि चाहिने केबल १० प्रतिशत बाँदर मात्र पनि नेपालले आपूर्ति गर्ने हो भने देशको आर्थिक अवस्था निकै मजबुत हुन्थ्यो। अमेरिकासँग नेपालले बाँदर कूटनीति मात्र पनि सफल बनाउन सक्ने हो भने देशको विदेशी मुद्राको सञ्चिति सबल बन्न सक्थ्यो। तर सबै नाफामुखी व्यापारमा हात हाल्ने नेताको संलग्नतामा बाँदर फार्म खोल्ने हो भने नेपालको अवस्था कम्बोडिया भन्दा फरक नहुने निश्चित छ।

अहिलेको बजार भाउ कायम रहने हो भने केबल १०–२० हजारको संख्यामा मात्र पनि बाँदर निर्यात गर्न सक्ने हो भने देशले एक वर्षमै करोडौँ अमेरिकी डलर भित्र्याउन सक्छ।

औषधि अन्वेषणमा धेरै जनावर आवश्यक पर्छ। अणुवांशिक समानताले मानवको नजिकको पुस्ता मानिने बाँदरमा गरिएको परीक्षण भरपर्दो हुने भएकाले औषधि अन्वेषणमा यसको भूमिका देखिएको हो। नेपालको हावापानी बाँदर खेतीका लागि उपयुक्त रहेको पुष्टि भएको अवस्थामा बस्ती स्थानान्तरणका कारण उजाड भएका पहाडी भेगमा बाँदर फार्म सञ्चालन गर्न सकिने देखिन्छ।

उच्च नैतिकता र पारदर्शितासहित स्तरीय बाँदर उत्पादन गरी बायोमेडिकल रिसर्चका लागि निर्यात गर्न सके देशलाई समुन्नत बनाउन सकिन्छ। औषधि अन्वेषणमा गैर मानव प्राइमेट्सले महत्वपूर्ण योगदान गर्ने भएकाले नवीन औषधि आविष्कारमा नेपालले पनि केही योगदान गर्‍यो भन्ने अवस्था आउँथ्यो। खानाका लागि मारिने जनावरको तुलनामा केबल १ प्रतिशत जनावर मात्र औषधि अनुसन्धानको पुनित कार्यमा बलिदान गरिने तथ्यांक पशु अधिकारकर्मीलगायत सबैले बुझ्न आवश्यक छ।  

प्रकाशित: २० वैशाख २०८० ००:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App