८ मंसिर २०८१ शनिबार
image/svg+xml
विचार

राजनीतिका जोडी रवि र स्वर्णिम

यही वैशाख १० गते चितवन, तनहुँ र बाराका तीन क्षेत्रमा प्रतिनिधि सभाको उपनिर्वाचन सम्पन्न भएको छ। चितवन र तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने तथा डा. स्वर्णिम वाग्ले दुवै आफ्ना प्रतिस्पर्धीसँग भारी मतान्तरले विजयी भएका छन्। बाराको उपचुनावमा भने गठबन्धनका उम्मेदवार तथा राष्ट्रिय समाजवादी पार्टी (रासपा) का अध्यक्ष उपेन्द्र यादवले जित हासिल गरे। यस मत परिणामले प्रमुख राजनीतिक दल, विशेषगरी नेपाली काँग्रेसलाई निकै झस्काएको छ। तर यो झस्काइ केही दिनका लागि मात्र हो वा यसले तिनका नीति, चरित्र तथा व्यवहारसमेतमा परिवर्तन ल्याउनेछ ? त्यो समयले बताउला।

मंसिर ४ मा भएको आमनिर्वाचनपछिको यो चुनाव सत्ताधारी गठबन्धन र प्रतिपक्षी एमाले लोकप्रियताको जनमतको कसीमा थिए। तर तिनका लागि यो उपनिर्वाचन फलदायी हुन सकेन। अप्रत्याशित लज्जाबोध हुने गरी गहिरो झड्का तिनले बेहोर्न पुगे। जबकि रास्वपाले भने यो चुनाबबाट राष्ट्रिय राजनीतिको वैकल्पिक शक्तिका रूपमा स्थापित हुन जनसमर्थन प्राप्त गरेको छ। विशेष गरेर लोकतन्त्रको पर्याय ठानिएको नेपाली काँग्रेसको विकल्पको धार बनेर यो अघि बढेको छ।

यही वैशाख १० गते चितवन, तनहुँ र बाराका तीन क्षेत्रमा प्रतिनिधि सभाको उपनिर्वाचन सम्पन्न भएको छ। चितवन र तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने तथा डा. स्वर्णिम वाग्ले दुवै आफ्ना प्रतिस्पर्धीसँग भारी मतान्तरले विजयी भएका छन्।

साथै यस निर्वाचनको परिणामले राष्ट्रिय राजनीतिमा निकै ठूलो अर्थ र संभावना बोकेर आएको छ। युवा जमातको उत्साहजनक सहभागिताले राजनीतिप्रतिको आकर्षण बढाएको छ। विद्यमान बेथितिविरुद्ध परिवर्तनको आशा जगाएको छ। निरस एवं उदास बन्दै गएको राजनीतिमा एकाएक उत्साह छाएको छ। सिद्धान्तबिहीन गठबन्धनको राजनीति असफल भएको छ। शीर्ष भनिएका नेताका राजनीतिक दादागिरी अब नचल्ने सन्देश दिएको छ। राज्यशक्तिको दुरूपयोगबाट जनआवाज तथा जनलहरलाई दबाउने रणनीति मिथ्या सावित गरिदिएको छ।

विशेषगरी यस उपनिर्वाचनमा तनहुँमा डा.स्वर्णिम वाग्ले र चितवनमा रवि लामिछानेको उम्मेदवारी राष्ट्रिय चर्चा र चासोको विषय बन्यो। यस निर्वाचनमा उम्मेदवार बन्न वाग्लेले नेपाली काँग्रेसलाई त्यागेर रास्वपामा प्रवेश गर्नु उनको एक विवेकपूर्ण एवं साहसिक निर्णय थियो। प्रजातान्त्रिक धार बोकेको वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपालाई थप विश्वसनीय, गतिशील तथा भरोसायोग्य बनाउने अवसर उनले पाएका छन्।

यसबाट काँग्रेसको विकल्प खोजीमा बसेका इमानदार, योग्य तथा क्षमतावान व्यक्तिका लागि एक उपयुक्त राजनीतिक ‘प्लेटफर्म’ देखाइदिएका छन्। लोकतन्त्रलाई सबल र सुदृढ बनाउन चाहने लोकतन्त्रवादीका लागि संभावनाको ढोका खोलिदिएका छन्। केही गर्ने हुटहुटी भएकाका लागि प्रेरणादायी भूमिका खेलेका छन्।

प्रजातान्त्रिक धार बोकेको वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपालाई थप विश्वसनीय, गतिशील तथा भरोसायोग्य बनाउने अवसर उनले पाएका छन्।

वाग्लेको यो अप्रत्याशित कदम र चुनावी सफलताले काँग्रेसलाई पनि आफ्नो राजनीतिक कार्यशैली एवं व्यवहार परिवर्तन गर्ने अवसर दिएको छ। चुनाव जित्ने रणनीतिमा मात्र पार्टी चलाउने कि आफ्नो सैद्धान्तिक आधारलाई अक्षुण राख्ने भन्ने सवाल फेरि उसका सामु छ। दलभित्र संभावना बोकेका कार्यकर्ताको अपमान एवं निषेधको राजनीति गर्ने दिन अब अन्त्य भएको महसुस भएको हुनुपर्छ। सार्वजनिक रूपमा उठेको ‘काँग्रेस अब सच्चिने कि सकिने’ भन्ने सवाललाई कसरी उसले लिने हो? धेरैको चासो छ। यसमा गम्भीर समीक्षा काँग्रेसले गर्ला भन्ने पनि ठानिएको छ। तर कतिपयको यसमा टिप्पणी छ– वर्तमान नेतृत्वका चाल–डाल र विगतका तितो अनुभव बटुल्दा ऊ सुध्रने छाँटकाँट देखिँंदैन। यस विचारलाई सरासर नकार्न पनि सकिँंदैन।

वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाका ‘रानो’ रवि लामिछाने हुन्। तिनको छवि र विश्वासको सेराफेरोमा यो पार्टी चलेको छ। छोटो समयमा उनले आर्जन गरेको राजनीतिक समर्थन र लोकप्रियताबाट यो अघि बढेको हो।

विशेष गरेर युवा जमातका आशा तथा भरोसाको केन्द्र बनेको छ। जनताका दुःख–पीडामा यो निरन्तर जोडिने विश्वास लिइएको छ। त्यसैले परम्परागत दलहरू भन्दा फरक र इमानदार पार्टीका रूपमा नागरिकले यसलाई हेरेका छन्। सुशासन र भ्रष्टाचार मुक्त समाजको परिकल्पना यसबाट पूरा हुनेमा विश्वस्त छन्। न्याय तथा मानव अधिकारको जगमा विधिको शासन चल्ने ठानेका छन्।

वाग्लेको यो अप्रत्याशित कदम र चुनावी सफलताले काँग्रेसलाई पनि आफ्नो राजनीतिक कार्यशैली एवं व्यवहार परिवर्तन गर्ने अवसर दिएको छ।

तथापि रविको राजनीतिक ‘इन्ट्री’ परम्परागत भनिएका प्रमुख दलहरूका लागि राजनीतिक चुनौती बनेको छ। गएको मंसिर ४ को आमनिर्वाचनमा रास्वपाले आर्जन गरेको लोकप्रियता र ‘प्राप्त सिट’ लहलहैमा प्राप्त भएको ठानिएको थियो। उनको अस्तित्व स्वीकार्न पनि तिनीहरू तयार थिएनन्। तथापि सरकार बनाउने बाध्यताले उनको समर्थन खोजे। उनलाई उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी दिए पनि। त्यसबाट रविले केही साहसिक तथा बेथिति विरुद्धका निर्णयहरू गरेर परिवर्तनको संवाहक बन्न खोजेका देखाए। सुशासनको परिपाटी बसाल्ने थितितिर लागेका थिए।

तर अप्रत्याशित रूपमा ‘नागरिकता प्रकरण’ ले सरकारबाट उनी ३२औँ दिनमा बाहिरिए। सांसद र रास्वपाको सभापति पदसमेत गुमाउन पुगे। यसबाट उनको र रास्वपाको राजनीतिक भविष्य अनिश्चित भएको धेरैको आकलन थियो तर त्यसो भएन। उनी रास्वपाको अध्यक्षको पदमा पुनः बहाली भए। उनलाई हराउन सत्ता गठबन्धनका सबै राज्यशक्ति एवं स्रोतसाधन परिचालन गर्दा पनि अझ बढी लोकप्रियताका साथ सांसदको पद बहाली गरे। अन्य षडयन्त्रले समेत तिनको जितको वेग रोक्न सकेन। साथै तनहुँ १ बाट स्वर्णिम वाग्लेको विजयसंगै संसद्मा रास्वपाको अरू एक सिट बढाएका छन्। राष्ट्रिय राजनीतिमा अझ सशक्त भूमिका खेल्ने आत्मविश्वास आर्जन गरेका छन्।

स्वर्णिम वाग्लेको रास्वपामा भएको प्रवेशले राजनीतिक वृत्तमा निकै ठूलो माने राखेको छ। काँगे्रसीजनले उनीमाथि ‘अवसरवादी’ को बिल्ला भिराइदिंँदा पनि मतदाता भड्किएनन्। उक्त पार्टीबाट भारी मतले सांसद निर्वाचित भएपछि यस दलप्रति अवधारणा बदलिएको छ। पार्टीकोे भविष्य रवि लामिछानेमा मात्र निहीत रहेको सोच र बुझाई निस्तेज भएको छ। ‘रास्वपा भनेकै रवि लामिछाने हो’ भन्ने भाष्य बदलिएको छ। यस दलमाथि विश्वसनीय नेतृत्वको खडेरी नपर्ने देखिएको छ।

अन्य षडयन्त्रले समेत तिनको जितको वेग रोक्न सकेन। साथै तनहुँ १ बाट स्वर्णिम वाग्लेको विजयसंगै संसद्मा रास्वपाको अरू एक सिट बढाएका छन्। राष्ट्रिय राजनीतिमा अझ सशक्त भूमिका खेल्ने आत्मविश्वास आर्जन गरेका छन्।

वाग्ले राष्ट्रका लागि आशालाग्दा एक क्षमतावान ब्यक्तित्व हुन्। उनको रास्वपामा भएको सम्मानजनक प्रवेशबाट यस दलमाथिको आकर्षण बढेको छ। राष्ट्रिय स्तरमा यसको बलियो सांगठानिक आधार बन्ने वातावरण सिर्जना गरेको छ। यसबाट पार्टीको संस्थागत विकासमा टेवा पुग्ने देखिएको छ। देशको भलो चाहने इमानदार तथा जागरुक नागरिकका लागि राजनीतिमा लाग्ने उपयुक्त थलो बन्ने संभावना बोकेको छ। साथै भ्रष्टाचारप्रति ‘शून्य सहनशीलताको नीति’ लाई व्यवहारमा उतारेको छ। ‘लेनदेन टेप प्रकरण’ मा ढाकाकुमार श्रेष्ठलाई सांसद पद समेतबाट हटाउने गरी गरिएको कारबाहीबाट यसको पुष्टि भएको छ।

यतिबेला रवि र स्वर्णिमको राजनीतिक जोडीको चर्चा छ। यिनको मिलनबाट रास्वपाको भविष्य कस्तो रहला ? लोकप्रियतामा निरन्तरता रहन्छ÷रहँदैन ? साथै आगामी निर्वाचनको परिणाम कस्तो होला ? धेरैको चासो छ।

राजनीतिक घटनाक्रमले रवि लामिछाने राष्ट्रिय चर्चामा छन्। छोटो समयको राजनीतिक यात्रामा उनले अप्रत्याशित आरोह–अवरोह खपे। उनीमाथि हुन सक्ने कानुनी प्रहारबाट अझ मुक्त भएका छैनन्। तर उनी हार खाने व्यक्ति भने देखिएनन्। किनभने यसको दृष्टान्त सबै भन्दा लामो अन्तर्वार्ताको सिलसिला चलाएर ‘गिनिज बुक’ मा विश्व रेकर्ड बनाउन सफल भएका थिए। उनी एक लगनशील तथा नथाक्ने प्राणी भएको पुष्टि यसबाट भएको छ। नागरिकका पीडा तथा मुद्दा उठाएर जनतासँग टेलिभिजनमार्फत प्रत्यक्ष जोडिएका थिए। तर सञ्चारकर्मी रहँदासमेत तिनले मुद्दा खेप्न बाध्य भए। उनको राजनीतिक जीवनमा पनि त्यसैको झझल्को देखिएको छ।  

उपनिर्वाचनअघि एक्ला जस्ता देखिएका रवि यतिबेला डा. वाग्ले र रमेश खरेलसमेतको साथ पाएका छन्। कुशल अर्थविद् र सुशासनका हिमायतीसँगका सहकार्यमा राजनीतिक यात्रामा अघि बढाएका छन्। आफूले परिकल्पना गरेको मुलुकको राजनीतिलाई गति दिन रास्वपालाई उचाइमा पुर्‍याउन चाहन्छन्। शुभचिन्तक तथा जनताको साथ र समर्थनमा यस दललाई राष्ट्रिय राजनीतिमा वैकल्पिक शक्तिका रूपमा स्थापित गर्ने संभावना बोकेका छन्।

राजनीतिक घटनाक्रमले रवि लामिछाने राष्ट्रिय चर्चामा छन्। छोटो समयको राजनीतिक यात्रामा उनले अप्रत्याशित आरोह–अवरोह खपे।

तथापि शनिबार ‘लामिछानेको दोहोरो अभिव्यक्ति’ यसै पत्रिकामा प्रकाशित समाचारले पंक्तिकारको ध्यान खिचेको छ। उपनिर्वाचनपछि शुक्रबार संसद्मा उनको पहिलो सम्बोधन विवादित बनेको छ। सत्तामा हँुदा र सत्ताबाट बाहिरिँदा बोली बदल्ने शैलीले उनलाई मात्र होइन, रास्वपामाथि पनि धक्का पर्नेछ। उनी र उनको दलले आर्जन गरेको विश्वास एवं भरोसा ओरालो लाग्न सक्नेछ।  

अन्तमा अझ पनि रास्वपाको भविष्य रविको सुझबुझ चाल र बोली तथा ‘भिजन’ मा निर्भर गर्नेछ। पार्टीलाई स्वचालित कसरी बनाउने भन्ने चुनौती छ। यसलाई यान्त्रिक ढंगबाट चलाउने वा हालको ‘मासबेस’ छविलाई निरन्तरता दिन सांगठनिक आधार निर्माण गर्ने? नेता केन्द्रित दल बन्ने वा राष्ट्रको भविष्यसँग गाँसिने रणनीतिमा लाग्ने? भागबन्डाको राजनीतिमा रुमल्लिने अथवा जनतासँग जोडिएर आगामी निर्वाचनको तयारीमा लाग्ने? जस्ता मूलभूत सवालहरू उनीसामु छ।

प्रकाशित: १७ वैशाख २०८० ००:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App