५ वैशाख २०८१ बुधबार
विचार

पुस्तक नपुग्नु नै मुख्य समस्या हो त?

फाइल तस्वीर

हरेक वर्ष जस्तै यस वर्ष पनि शैक्षिक सत्रको सुरूमा विद्यार्थीको हातमा पाठ्यपुस्तक नपुगेको, विद्यार्थीले पढ्न नपाएको भनेर सञ्चार माध्यममा व्यापक चर्चा/परिचर्चा सुरु भएको छ। राष्ट्रियस्तरका पत्रिकाले समेत फागुन महिनाबाट शैक्षिक सत्र सुरु भएका हिमाली जिल्लामा अझै पनि पाठ्यपुस्तक पुगेको छैन र कहिले पुग्ने निश्चित छैन भनी सम्पादकीयसमेत लेखेका छन्। विगत वर्षमा जस्तै वैशाख महिनाबाट सुरु हुने शैक्षिक सत्रमा हुन सक्ने पाठ्यपुस्तकको समस्यालाई समयमै माधान गर्न सम्बन्धित पक्षलाई सचेत गराउनु, विद्यार्थीले पाठ्यपुस्तक प्राप्त गर्नुपर्ने अधिकारको विषयमा छलफल, बहस र चर्चा हुनु निकै सकारात्मक कुरा हो।

विगत वर्षहरूमा भन्दा निकै प्रभावकारी व्यवस्थापन भएमाबाहेक आगामी शैक्षिक सत्रको पहिलो हप्ता त कुरा छाडौँ, पहिलो महिनाको अन्तसम्ममा पनि पाठ्यपुस्तक विद्यार्थीले प्राप्त गर्न नसक्ने निश्चित जस्तै छ। विद्यार्थी भर्ना भएपछि वा कक्षा चढेपछि सम्बन्धित कक्षाका नयाँ पुस्तक प्राप्त गरी पढ्न पाउनुपर्दछ। यस कार्यका लागि जिम्मेवारी लिएकाहरू जवाफदेही हुनैपर्छ।

विद्यार्थीले नयाँ पुस्तक नपाउँदैमा विद्यालय नै नखुल्ने, खुले पनि शिक्षण सिकाइका कार्य नहुने, शिक्षकले पाठ्यपुस्तक त आएको छैन के पढाउने? भनेर आलटाल गर्ने, विद्यार्थीले पढ्ने किताबै नभएपछि के पढ्ने? भनेर विद्यालय नै नजाने जस्ता कुरा हुनु भने निकै दुखद् छ। पाठ्यपुस्तक पाठ्यक्रमका सिकाइ उपलब्धि पूरा गराउन तथा उद्देश्य पूरा गर्न प्रयोग गर्न सकिने धेरै सामग्रीमध्ये महत्वपूर्ण सामग्री हो।

पाठ्यक्रम नभए शिक्षण सिकाइ रोकिन सक्छ तर पाठ्यपुस्तक नभएर शिक्षकले नसिकाउने, विद्यार्थीले नसिक्ने तथा पठनपाठन नहुने भन्ने हुँदै हुँदैन। पाठ्यक्रम भएपछि पाठ्यपुस्तक नभए पनि राम्रैसँग शिक्षण सिकाइ कार्य हुन सक्छ, पाठ्यपुस्तक नपुग्दाका विकल्प के के हुन सक्छन्? भन्ने कुरा छायाँमा परेका छन्। यस लेखमा औल्याउन खोजिएको कुरा पनि महत्वपूर्ण विषय विचलित भयो, जुन कुराले महत्व पाउनुपर्ने हो त्यसले पाएन र कम महत्वको विषयमा धेरैको ध्यान केन्द्रित हुन पुग्यो भन्ने हो।

पाठ्यपुस्तक पुगोस् वा नपुगोस् महत्वपूर्ण कुरा होइन, महत्वपूर्ण त पाठ्यक्रमले तोकेका सिकाइ उपलब्धि पूरा गराउनु हो। शिक्षण सिकाइ यान्त्रिक हुँदैन, समय सान्दर्भिक, परिवेशअनुसारको हुन्छ। पाठ्यपुस्तक एउटा महत्वपूर्ण सन्दर्भ सामग्री हो। पाठ्यक्रममा तोकिएका सक्षमता, सिकाइ उपलब्धि तथा उद्देश्यहरू पूरा गर्न पाठ्यपुस्तकले सहयोग गर्ने हो। यो साध्य होइन, साधन मात्र हो। पाठ्यपुस्तक नहेरेको तर पाठ्यक्रमको मर्म बुझेको व्यक्ति काविल शिक्षक हुन सक्छ तर पाठ्यक्रम अध्ययन नगरी कुनै पनि विषय पढाउँछ भने त्यो व्यक्ति सफल शिक्षक हुन सक्दैन।

सक्षम, इमानदार, विद्यार्थीको सिकाइप्रति जिम्मेवार शिक्षकलाई विद्यार्थीसँग पाठ्यपुस्तक नभए पनि केही फरक पर्दैन। हरेक वर्ष विद्यार्थीले पुस्तक निःशुल्क प्राप्त गर्छन्। केही विद्यार्थीका पुस्तक झुत्रा भए पनि प्रायः विद्यार्थीले शैक्षिक सत्रको अन्त्यसम्म पनि पुस्तक राम्रा राखेका हुन्छन्। विद्यालयले यस्ता पुस्तक विद्यार्थीबाट संकलन गरी राम्रा राम्राको सेट तयार गर्न सक्छ। नयाँ पुस्तक नआउँदासम्म यिनै सेटहरू विद्यार्थीलाई आलोपालो दिएर पढ्ने वातावरण निर्माण गर्न सकिन्छ। विद्यालयको पुस्तकालयमा पनि केही सेट पाठ्यपुस्तक राख्ने गरिन्छ।

हरेक बर्ष पाठ्यपुस्तकका सेट थपिँदै गएका हुन्छन्। पुस्तकालयका पुस्तक विद्यार्थीलाई आलोपालो दिएर पनि पाठ्यपुस्तकको समस्या समाधान गर्न सकिन्छ। विद्यार्थीलाई सजिलोका लागि पाठ्यपुस्तक तयार पारिएको हो, विद्यार्थीले विभिन्न सामग्रीबाट आफूले सिक्नुपर्ने कुरा खोज्न सक्ने हो भने झनै राम्रो सिकाइ बानीको विकास हुन्छ। साधन/स्रोत भएमा विद्यार्थीलाई पाठपाना पनि वितरण गर्न सकिन्छ। थोरै सेट पुस्तक छन् भने विद्यार्थीको समूह विभाजन गरी सामूहिकरूपमा पढ्न वा सिक्ने वातावरण पनि निर्माण गर्न सकिन्छ। मेहनती शिक्षक छन् भने विद्यार्थीलाई पाठ्यपुस्तकको अभाव महसुस हुनै दिँदैनन्।

पाठ्यपुस्तक नपुगेको विषयमा भन्दा पनि चर्चा/परिचर्चा हुनु पर्ने पाठ्यक्रम कार्यान्वयनको हो। पाठ्यक्रममा पूरा गराउनुपर्ने सक्षमता, सिकाइ उपलब्धि तथा उद्देश्य निर्धारण गरिएको हुन्छ। ती सिकाइ उपलब्धि प्राप्त गर्न अपनाइनुपर्ने शिक्षण कौशल, विधि, प्रक्रिया, प्रयोग गरिनुपर्ने सामग्री, मूल्याङ्कनका तौरतरिका निर्धारण गरिएको हुन्छ। छलफल हुनुपर्ने विषय भनेका विद्यार्थीले सिकाइ उपलब्धि कति पूरा गरेका छन्? सिकाइको अवस्था कस्तो छ? सिकाइको वातावरण कस्तो छ? शिक्षक विद्यार्थीले पाठ्यक्रमले अपेक्षा गरेका दिन, घण्टा शिक्षण सिकाइ कार्यमा खर्च गरेका छन् कि छैनन्? बालबालिकाको सिकाइमा अभिभावकको सहयोग के/कस्तो छ? राज्यले छट्याएका साधनस्रोतहरू विद्यार्थीले प्राप्त गरेका छन् कि छैनन्? यस्ता महत्वपूर्ण कुरामा छलफल नै भएको छैन। हरेक वर्ष चर्चा/परिचर्चा पाठ्यपुस्तकको मात्र हुने गर्छ। जबकि पाठ्यपुस्तक नहेरे पनि राम्रा विद्यार्थीले अन्य सन्दर्भ सामग्री, मिल्दाजुल्दा पुस्तक हेरेर पनि सिक्न सक्छन्। खोजीखोजी अध्ययन गर्ने, सिक्ने बानी विकास गर्न सक्छन्।

कुरा २०६३ सालतिरको थियो। संविधान सभाको चुनाव हुने नहुने निश्चित थिएन तर संविधान सभाको चर्चा भने देशव्यापी थियो। सबै नागरिक संविधान सभाको बारेमा सचेत हुनुपर्ने आवश्यकता थियो। त्यसै वर्षको एस.एल.सी. परीक्षामा सामाजिक विषयको प्रश्नपत्रमा संविधान सभा के हो? यसको के महत्व छ? भन्ने प्रश्न आएछ। त्यस परीक्षामा म पनि अनुगमनकर्ता थिएँ।

उक्त सामाजिक विषयको परीक्षा सकिएपछि बाहिर विशेष गरेर संस्थागत विद्यालयका शिक्षकहरूले कोर्स भन्दा बाहिरको प्रश्न आएछ, विद्यार्थीले कसरी उत्तर दिने? भन्दै विरोध जनाएका थिए। पाठ्यक्रममा समसामयिक विषयबस्तु भनेर उल्लेख गरेकै थियो, पाठ्यपुस्तकमा संविधान सभाको कुरा थिएन। पाठ्यपुस्तकलाई अन्तिम ठान्ने सोचले गर्दा शिक्षकहरूबाट कोर्सबाहिरको प्रश्न आएको भन्ने प्रतिक्रिया आएको हो।

नयाँ एकीकृत पाठ्यक्रम २०७३ सालमा कक्षा १ बाट सुरु भएको हो। अहिलेसम्म झण्डै सबै कक्षामा नयाँ पाठ्यक्रम लागु भैसकेको छ। नयाँ पाठ्यक्रमले विगतको पाठ्यक्रमले भन्दा शिक्षण सिकाइ र मूल्यांकनका तौरतरिकामा धेरै फरक अवधारणा ल्याएको छ। नयाँ पाठ्यक्रममा जीवन उपयोगी सिपलाई व्यवहार कुशल सिपको नाममा राखिएको छ। पाँच क्षेत्रमा विभाजन गरिएका २९ वटा व्यवहारकुशल सिप सन्दर्भ, समय र परिवेशमा कुनै पनि विषयमा सिकाउनुपर्ने हुन्छ।

हालसालै भेट भएका आधारभूत तहमा शिक्षण गर्ने शिक्षकसँग व्यवहारकुशल सिपको बारेमा छलफल गर्दा धेरै शिक्षकलाई व्यवहार कुशल सिप पाठ्यक्रममा भएको जानकारी नै छैन। व्यवहार कुशल सिप छन् भन्ने जानकारी भएका शिक्षकलाई पनि कुन कुन र कतिवटा सिप सिकाउनुपर्दछ? जानकारी नै नभएको भेटियो। नयाँ पाठ्यक्रमले सिकाइलाई शिक्षककेन्द्रितबाट विद्यार्थीकेन्द्रित बनाउन धेरै प्रयास गरेको छ। उद्देश्यको स्थानमा सक्षमता, सिकाइ उपलब्धि भन्ने शब्दहरू प्रयोग भएको छ। सिकाइलाई शिक्षकको दृष्टिले होइन, विद्यार्थीका दृष्टिले हेर्ने प्रयास गरेको छ। कक्षाकोठामा शिक्षक भट्याउने र विद्यार्थी चूप लागेर सुन्ने पद्धतिमा परिवर्तन ल्याएको छ। नयाँ मूल्याङ्कन प्रक्रिया, परीक्षाका तौरतरिका तथा मोडलमा पनि परिवर्तन गरेको छ। यस्ता पक्षबारे धेरै शिक्षकलाई जानकारी नै छैन। 

प्रकाशित: २५ चैत्र २०७९ २३:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App