५ वैशाख २०८१ बुधबार
विचार

बिपीको मेलमिलाप नीति

२०१७ साल पुस १ गते बिपी कोइराला प्रधानमन्त्री भएकै समयमा राजा महेन्द्रबाट बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्ध लगाए। अनि प्रधानमन्त्री बीपीलगायतका नेतालाई थुने। त्यसको ८ वर्षपछि २०२५ कात्तिक १४ गते रिहाइ भएपछि आफ्ना सहकर्मीसहित बिपी भारत पलायन भए। त्यसको ८ वर्षपछि २०३३ साल पुस १६ गते उनी गणेशमान सिंहसहित राजासँग विद्रोह होइन, मेलमिलाप गर्नुपर्छ भन्ने नीति लिएर फर्के। त्यसै वर्षदेखि पुस १६ लाई नेपाली कांग्रेसमा आस्था राख्ने सबैले राष्ट्रिय मेलमिलाप दिवसका रूपमा मनाउँदै आएका छन्।

बिपी त्यसरी भारतमा बसेका बेला त्यहाँ कांग्रेस आइकी इन्दिरा गान्धी प्रधानमन्त्री थिइन्। जयप्रकाश नारायण, राममनोहर लोहिया, चन्द्रशेखरसहितका समाजवादी नेता प्रतिपक्षमा थिए। यही बेला गान्धीले आपत्कालीन स्थिति घोषणा गरिन्। बिपी पनि जयप्रकाशकै समूहमा रहन्थे। त्यसपछि गान्धीको कदम मन नपराएका बिपी असन्तुष्ट भई प्रवासीका रूपमा रहनुभन्दा आफ्नै मातृभूमि फर्केर राजा र जनताबीच मेलमिलापको नीति अपनाउनु जाति भन्दै फर्के। त्यतिबेला नेपालमा बिपीमाथि राजकाजसम्बन्धी ७ मुद्दा अदालतमा विचाराधीन थिए। तर पनि राजा वीरेन्द्रले उनलाई स्वतन्त्र रहनमात्र दिएनन्, अमेरिका गएर क्यान्सरको उपचार गर्न २ लाख रुपियाँसमेत उपलब्ध गराएका थिए।

विडम्बना त यो छ कि नेताहरु पनि बिपीले अवलम्बन गरेका राष्ट्रिय मेलमिलाप नीतिको जोडदार प्रशंसा गर्छन् तर भाषणमा मात्र। अहिलेलाई बिपीको मेलमिलाप नीतिको अन्तर्यमात्र बुझेर अघि बढ्ने हो भने पनि मुलुकका धेरै समस्या स्वतः समाधान हुने पक्का छ।

बिपीको समाजवादी सिद्धान्त र मेलमिलापको नीतिअनुसार नेपालमा निरंकुश राजतन्त्र होइन, संवैधानिक राजतन्त्र उपयुक्त हुन्छ भन्ने थियो। राजा वीरेन्द्रबाट गराइएको जनमत संग्रहमा बहुदलीय प्रजातान्त्रिक व्यवस्था पराजित भए पनि प्रजातान्त्रिक व्यवस्थाको अभ्यास भएकाले यसको परिणाम बिपीले मानेका थिए। यो पनि राजासँग मिलेर बस्ने मेलमिलाप नीतिको अर्काे उदाहरण हो।

३ वर्षको तोतेबोली बोल्ने उमेरदेखि नै भारतमा पलायन बिपीले नेपालको एकतन्त्रीय राणा शासन हटाई प्रजातन्त्र स्थापना गर्ने उद्देश्यले विभिन्न कामका सिलसिलामा भारत बस्ने नेपाली जम्मा गरी बनारसमा २००३ साल कात्तिक १५ गते अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस भन्ने राजनीतिक दल गठन गरेका थिए। केही समयपछि यसलाई नेपाली राष्ट्रिय कांग्रेसको नाम दिएका थिए। २००५ सालमा सुवर्णशमशेरले पनि यस्तैखालको उद्देश्य लिएर भारतकै कलकत्तामा नेपाल प्रजातन्त्र कांग्रेस भन्ने दल गठन गरेका थिए । बिपी र  सुवर्ण एउटै जंगलका २ सिंहजस्ता थिए। उद्देश्य एउटै भएकाले उस्तै दुई दल नचाहिने भन्दै बिपीकै पहलमा २००६ साल चैत २७ गते दुवै दल मिले। जसको नाम नेपाली कांग्रेस थियो। जुन राष्ट्रिय मेलमिलापको बलियो बाँधका रूपमा खडा भयो।

 २०१५ सालमा नेपालमा सर्वप्रथम आमचुनाव भयो। नेपाली कांग्रेसले १०९ सिटमध्ये ७४ सिट (दुई तिहाई) जित्यो। एउटै दलभित्र दुइटा सिंहका रूपमा रहेका बिपी र सुवर्णबीच खेल्ने सोच बनाए राजाले। चुनाव सम्पन्न भएको निकै पछि राजा महेन्द्रले सुवर्णलाई दरबारमा बोलाएर संसदीय दलको नेता तथा प्रधानमन्त्री हुन निर्देशन दिए। सुवर्णले आफू राणाको छोरो भएकाले प्रजातान्त्रिक व्यवस्थामा फेरि राणाकै छोरो प्रधानमन्त्री भयो भने जनताले राणा शासन रहिरहेको अनुभूत गर्नेछन् भन्दै बिपीलाई नै प्रधानमन्त्री बनाउन राजालाई सुझाएका थिए।

 त्यसपछि महेन्द्रले बिपीलाई दरबारमा बोलाएर प्रधानमन्त्री बन्न निर्देशन दिँदा उनले दरबारको मर्म बुझेको र दरबार तथा जनताको बीचमा सेतुको काम गर्न सक्ने, देश/विदेशमा आवश्यक कूटनीतिक सम्बन्ध कायम गर्न सक्ने व्यक्ति हुुनुपर्ने र त्यो क्षमता सुवर्णमा भएकाले उनलाई संसदीय दलको नेता तथा प्रधानमन्त्री बनाउन सुझाव दिएका थिए। जसबाट महेन्द्र निकै भावुक बनेका थिए। यो पनि बिपीको मेलमिलाप नीतिको ज्वलन्त उदाहरण हो। अन्ततः राजा महेन्द्रले बिपीलाई संसदीय दलको नेता तथा प्रधानमन्त्री बनाए।

यसबाट बिपी कति राष्ट्रवादी थिए, कति आफ्ना सहकर्मीसँग मेलमिलाप गर्थे र दरबारसँग कस्तो सम्बन्ध राख्न चाहन्थे भन्ने छर्लंग हुन्छ। तर अहिलेका नेताहरु आफू प्रधानमन्त्री बन्न नपाए संसद् नै विघटन गरेर तथा एउटा दलसँग गरेको सम्झौता बीचैमा तोडेर अर्को दलसँग अंगालो मार्न पुग्ने जस्ता कार्य गर्न खप्पिस छन्। विडम्बना त यो छ कि नेताहरु पनि बिपीले अवलम्बन गरेका राष्ट्रिय मेलमिलाप नीतिको जोडदार प्रशंसा गर्छन् तर भाषणमा मात्र। अहिलेलाई बिपीको मेलमिलाप नीतिको अन्तर्यमात्र बुझेर अघि बढ्ने हो भने पनि मुलुकका धेरै समस्या स्वतः समाधान हुने पक्का छ।

प्रकाशित: १७ पुस २०७३ ०३:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App