१६ चैत्र २०८० शुक्रबार
विचार

भूराजनीतिको चपेटामा टिकटक

चैत ९ गते अमेरिकी ऊर्जा तथा व्यापार संसदीय समितिले सामाजिक सञ्जाल टिकटकका सिइओ साओ चि चिउसँग गरेको प्रश्नोत्तर (संसदीय सुनुवाइ) ले चीन र अमेरिकाबीचको भूराजनीतिक प्रतिस्पर्धाको प्रभाव अब राजनीति र अर्थतन्त्रमा मात्र सीमित नभएको उजागर गर्‍ यो। अमेरिकामै १५ करोड अर्थात झन्डै आधा अमेरिकीले प्रयोग गर्दै आएको लघु श्रव्यदृश्य सञ्जाल टिकटकका प्रमुख कार्यकारी अधिकारीसामु अमेरिकी सांसदहरूका पेचिला प्रश्न सुन्दा अमेरिकी सरकारले कुनै पनि बखत टिकटकमाथि प्रतिबन्धको सूचना सार्वजनिक गरे अब आश्चर्य मान्नुपर्ने छैन। आफ्ना सबै प्रश्नको साओ चि चिउले आत्मविश्वास, तथ्य र तर्कका साथ सुझबुझपूर्ण उत्तर दिए तापनि उनका उत्तर सुनेर अमेरिकी सांसदहरूले चित्त बुझाएका थिएनन्। चिनियाँ सञ्चारमाध्यमले अमेरिकी सांसदहरूका त्यस्ता चिसा प्रतिक्रियालाई ‘सुतेको मान्छेलाई ब्युँझाउन सकिन्छ तर सुतेको अभिनय गरेको मान्छेलाई उठाउन सकिन्न’ भनी टिप्पणी गरेका छन्।  

टिकटकमाथि अमेरिकी सांसदहरूले ‘अमेरिकी जनताको व्यक्तिगत तथ्यांकको सुरक्षा’, ‘अमेरिकी तथ्यांक चिनियाँ कम्युनिस्ट पार्टी नेतृत्वको चीन सरकारको नियन्त्रणमा राखेको’ ‘टिकटकले केटाकेटीको बानी व्यवहार बिगारेको’, ‘टिकटकमार्फत उइगुर जनतामाथि चीन सरकारको दमनलाई चोख्याउन मद्दत गरेको’ आदि आरोप लगाएका छन्। झन्डै ५ घण्टा चलेको संसदीय सुनुवाइको रोचक कुरा त संसदीय समितिका सभापति क्याथी मेकमोरिस रोडगर्सले सिइओ चिउले प्रश्नका उत्तर पनि दिन नपाउँदै ‘तपाईँको सञ्जाल अब बन्द गर्नुपर्छ’ भनी ‘फैसला’ सुनाएकी थिइन्।  

सन् २०१९ मै अमेरिकी सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने प्रयास थालेको थियो। टिकटकको माउ कम्पनी बाइटडान्स चिनियाँ स्वामित्वको हुनु नै टिकटकसँग अमेरिकी प्र्रशासकहरूको वैमनश्यताको मूल कारण हो। चीनसँगको व्यापारिक र भूराजनीतिक प्रतिस्पर्धा सघन बन्दै गएसँगै अमेरिकी संस्थापन कुनै पनि आकार र प्रकारका चिनियाँ लगानीलाई आफ्नो भूमिमा छूट दिने पक्षमा छैन। तर अमेरिकी युवायुवती र किशोरकिशोरीबीच टिकटकको लोकप्रियता र अमेरिकामा टिकटकले गरेको सामाजिक सञ्जालको व्यापारले उनीहरूलाई अत्याएको छ। टिकटकको फैलिँदो आकारले अमेरिकामा जन्मे÷हुर्केका सामाजिक सञ्जाल जस्तै फेसबुक, इन्स्टाग्राम, ट्विटर आदि धरापमा पर्ने सम्भावना बढेको छ। टिकटकको बढ्दो लोकप्रियताबाट आत्तिएर ती कम्पनीहरूले आफ्नो व्यापार डुब्नबाट जोगाउन टिकटककै पाराका लघु श्रव्यदृश्यका विशेषता समावेश गरेका छन्। कुनै न कुनै व्यापारिक कम्पनीबाट परिचालित हुने अमेरिकी सांसदहरूले ‘राष्ट्रिय सुरक्षा’ को निहुँमा टिकटकमाथि आक्रामक बनेर अमेरिकी सामाजिक सञ्जाल व्यापारीको पक्षपोषण गरिरहेका छन् र अमेरिकी कम्पनीलाई जोगाउने प्रयास गरिरहेका छन्। सुनुवाइमा सिइओ चिउले बारम्बार टिकटकले कुनै पनि सरकारलाई आफूसँग भएको तथ्यांक नबेचेको, अमेरिकी तथ्यांक अमेरिकी भूमिमै रहने, अमेरिकी कम्पनीहरूले नै अमेरिकी तथ्यांकको सुरक्षा गर्ने वचनबद्धता व्यक्त गरे पनि सांसदहरूले आफ्ना पूर्वाग्रही मान्यतालाई नै दोहोर्‍ याइरहेका थिए। चीनलक्षित प्रश्नको बाढी नै आएपछि चिउले आफू सिंगापुरको नागरिक भएको र टिकटकको मुख्यालय लस एन्जल्स र सिंगापुरमा भएको स्पष्टीकरण दिनुपरेको थियो। यसले अमेरिकी संस्थापनमा जब्बर बनेको चीन विरोधी भावना प्रष्ट पारेको छ।  

सुनुवाइमा सांसद क्रेनस टेक्ससले ‘टिकटक बाइटडान्स कम्पनीअन्तर्गत र बाइटडान्स चीन सरकारको भएकाले टिकटकका सबै तथ्यांक चीन सरकारको नियन्त्रणमा रहने’ आरोप लगाए। सांसद लेस्को ओरिजनाले सिइओ चिउलाई उइगुरमाथि चीन सरकारले दमन गरेको मान्छौ कि मान्दैनौ भनी टिकटक भन्दा सन्दर्भ बाहिरको प्रश्न सोधेकी थिइन्। त्यस्तै चिनियाँ कम्युनिस्ट पार्टीका सदस्य बाइटडान्सका निर्देशकसँग सिइओ चिउको नियमित सम्पर्क भएको आरोपसमेत सुनुवाइमा लगाइएको थियो। सुनुवाइमा एकजना सांसदले ‘टिकटक मेरो घरको वाइफाइसँग कसरी जोडिन्छ ?’ जस्तो ज्यादै अल्पज्ञानी प्रश्न सोध्दा अमेरिकी सांसदहरूको जानकारीको स्तर संसारले नापेको हुनुपर्छ। टिकटकका प्रमुख कार्यकारी अधिकारीसँगको यस्ता बेप्रसंग र अपमानजनक प्रश्नोत्तरले संसदीय सुनुवाइ अमेरिकी सांसदहरूले भने जस्तै अमेरिकी जनताको तथ्यांकको सुरक्षा र बालबालिकाको व्यवहारमा मात्र सीमित थिएन। बरु चिउको सुनुवाइलाई चीनसँग अमेरिकी व्यापारिक तथा प्रचार युद्धकै सिलसिला मान्नुपर्छ।

अमेरिकामा टिकटकका बढ्दो प्रयोगकर्ताको कारण अमेरिकी सरकारले चाहेर पनि टिकटकमाथि प्रतिबन्ध लगाइहाल्न सक्दैन। प्रतिबन्धको निर्णय गर्दा अमेरिकी नागरिक र विशेषतः युवायुवती र किशोरकिशोरीबाट आउने विरोधका कारण विगत दुई वर्षको प्रयासपछि पनि अमेरिकी सरकारले यो निर्णय गर्न सकेको छैन। त्यसकारण उनीहरूले टिकटकमाथि प्रतिबन्ध होइन, बरु टिकटकलाई चिनियाँ लगानीको बाइटडान्स कम्पनीबाट अलग बनाएर अमेरिकी कम्पनी मातहत ल्याउनुपर्ने सर्त राखेका छन्। सरल शब्दमा भन्दा अमेरिकीहरू चिनियाँ बाइटडान्स कम्पनीले टिकटक कम्पनी कुनै अमेरिकी खरिदकर्तालाई बेचोस् भन्ने चाहन्छन्। ट्रम्पले सन् २०२० मा टिकटक अमेरिकी खरिदकर्तालाई बेच्न, नभए टिकटकमाथिको प्रतिबन्ध सामना गर्न धम्की दिएका थिए। अहिले जो बाइडेन सरकार पनि ट्रम्पकै नीति पछ्याइरहेको छ। उनीहरू टिकटकको लोकप्रियता र फोलोअर्सहरू बिनामेहनत आफ्नो बनाउन चाहन्छन् र व्यापार गर्न चाहन्छन्। अर्थात् अरूले खनजोत गरेको खेतमा लहलह झुलेको फसल आफ्नो बनाउन चाहन्छन्।

टिकटक बेच्नुपर्ने सर्त भूमण्डकलीकरणको मूल भावना र विश्व व्यापार संगठनको मूल मान्यता विपरीत छ। साथै टिकटकलाई अमेरिकाको कुनै ठूलो सामाजिक सञ्जाल कम्पनीले खरिद गरे त्यसले व्यापारिक एकाधिकारलाई बढावा दिनेछ। सामाजिक सञ्जालमा एकाधिकार कुनै न कुनै कोणबाट अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन मार्गप्रशस्त गर्नु हुनेछ। जुन प्रजातन्त्रको मूल मूल्य–मान्यता विपरीत हो।  

तर अमेरिकीहरूले सोचे जस्तै टिकटक सजिलै अमेरिकी कम्पनीको हातमा दिन सकिने अवस्था भने छैन। सन् २०२० मै चिनियाँ उद्योग मन्त्रालय र विज्ञान तथा प्रविधि मन्त्रालयले वक्तव्य जारी गरी ‘तथ्यांक विश्लेषणमा आधारित व्यक्तिगत सूचनाले चलाउने सेवा प्रविधि’ र ‘यान्त्रिक बौद्धिकतामा आधारित अन्तरक्रियात्मक प्रविधि’ को निर्यातमा निषेधको घोषणा गरेका थिए। यसले चिनियाँ कम्पनी बाइटडान्सअन्र्तगत सञ्चालित टिकटकलाई कुनै अमेरिकी वा विदेशीको स्वामित्वमा दिन बन्देज लगाएको देखिन्छ। चीनले यस्ता विषयलाई आफ्नो राष्ट्रिय सुरक्षासँग जोडेको छ।  

निःसन्देह आजको समय नयाँ मिडियाको हो। परम्परागत मिडियालाई समेत उछिनेर नयाँ मिडियाले सूचना सञ्चारको क्षेत्रमा नयाँ नयाँ फड्को मारिरहेका छन्। टिकटक जस्ता विद्युतीय डबली हिजोआज आमसञ्चारको प्रभावकारी माध्यम बनेका छन्। समुदायमा सञ्चार गर्दै सामाजिक विचार निर्माणमा तिनले भूमिका खेलिरहेका छन्। अमेरिकी विद्वान् नोम चोम्स्कीको शब्दमा ती मिडियाले आज ‘विचारको वास्तु’ (इन्जिनियरिङ अफ कन्सेन्ट) गरिरहेका छन्। सञ्चारमाध्यमले विचार निर्माण गर्ने र त्यस्ता विचारले राजनीतिमा प्रभाव पार्ने कुरा पश्चिमा शासकहरूलाई जति अरू कसलाई थाहा होला र ? त्यसकारण आज अमेरिकी भूमिमा चिनियाँ लगानीका सामाजिक सञ्जालको प्रभाव बढ्दै जाँदा अमेरिकी प्रशासकहरू विचार निर्माणमा आफ्नो नियन्त्रण गुम्न सक्ने सम्भावनाले सजग छन्। अमेरिकी तथ्यांक अन्यत्र बाहिरिने तर्क प्रचारबाजी मात्र हो। अमेरिकी सामाजिक सञ्जाल कम्पनीहरूले समेत आफूसँग भएका तथ्यांक विदेशमा बेचिरहेकाको तथ्यलाई बुझ्दा अमेरिकी जनताको तथ्यांक बाहिरिने प्रचारबाजी टिकटकविरुद्ध अमेरिकी जनताको भावना भड्काउने प्रयास मात्र देखिन्छ। त्यसमाथि सुनुवाइका क्रममा टिकटकका सिइओले अमेरिकी जनताको तथ्यांक सुरक्षा गर्न टिकटकले ‘अग्नेय पर्खाल’ (फायरवाल) बनाउने वाचा दोहोर्‍ याइरहेका थिए।

अमेरिकी प्रशासकहरूले आफ्ना प्रतिस्पर्धी ठानेका चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारका हरेक महाधिवेशन र सम्मेलनमा सुधार र खुलापनको नीतिलाई अझ व्यापक र गहिराइमा लाने घोषणा गरिरहेको सन्दर्भमा खुला बजार र उदार प्रजातन्त्रको पक्षपाती अमेरिकाले भने आफ्नो ढोका क्रमशः साँघुरो बनाउने प्रयास गरिरहेको छ। भूमण्डकलीकरणको नाममा संसारभर बजार विस्तारको लालसा बोकेको अमेरिकाले आफ्नो सरहदमा कुनै दोस्रो शक्तिको प्रवेशलाई भने अस्वाभाविक मान्ने गरेको छ। उसका यस्ता व्यवहारले भूमण्डलीकरणको नारा आफूलाई अनुकूल हुँदासम्मको लागि मात्र भएको पुष्टि गर्छ। संसारलाई फेरि पनि सोभियत संघ विघटनपश्चातको एकधु्रवीय विश्वमै सीमित राख्ने अमेरिकी सपना परिवर्तित परिवेशमा उसैका लागि हानिकारक हुने देखिन्छ। शक्ति देशबीचको राजनीतिक, आर्थिक र प्राविधिक द्वन्द्वले मानिसका खोज अनुसन्धान र आविष्कारले जीवनमा ल्याउने सहजतालाई अझ दुरुह बनाउन सक्छ। टिकटक अथवा कुनै पनि प्राविधिक आविष्कारलाई शक्ति देशको प्रतिस्पर्धा र हानथापको हतियार बनाउनुले कुनै पनि देशको हित हुन सक्दैन।  nlawoju@gmail.com

प्रकाशित: २१ चैत्र २०७९ ०१:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App