७ वैशाख २०८१ शुक्रबार
विचार

वैकल्पिक राजनीति कति स्वर्णिम?

युवा पुस्ताले आशा गरेका स्वर्णिम वाग्लेले शनिबार ‘तीन भाइ’ भएर आगामी निर्वाचनका लागि आफूलाई प्रस्तुत गरेका छन्। सत्तारुढ नेपाली कांग्रेसलाई शुक्रबार परित्याग गरेका उनले वैकल्पिक राजनीतिको बाटो अँगालेका छन्। नयाँ वर्ष २०८० वैशाख १० मा हुने उपनिर्वाचनमा वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्ने घोषणा भइसकेको छ।

वैकल्पिक राजनीतिको आवश्यकता देशमा महसुस भएको निकै भइसकेको छ। प्रमुख दलहरू कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायतले अझै सुध्रिनुपर्ने आवश्यकता देखेका छैनन्। गत मंसिर ४ को निर्वाचनबाट रास्वपा लगायतका दललाई वैकल्पिक राजनीतिको उत्तराधिकार प्राप्त भएको हो। त्यो उत्तराधिकारको झण्डा यथावत छ÷छैन भन्ने परीक्षणका निम्ति आगामी वैशाख १० उपयुक्त अवसर हुनेछ।

गत निर्वाचनमा वैकल्पिक राजनीतिका निम्ति प्राप्त मत भइरहेका दलप्रतिको असन्तुष्टि हो भन्नेमा शंका छैन। निर्वाचन परिणाम प्राप्त भएपछि वैकल्पिक दलमा देखिएको अस्थिर राजनीतिले फेरि पनि एउटा ठूलो तप्कालाई वैकल्पिक राजनीतिप्रति विभ्रम भएको छ। यिनमा जुन हतार र अस्थिरता देखियो, त्यसले लामो दौडका घोडा होइनन् भन्ने मनस्थितिसमेत सिर्जना भएको छ। सत्ताका लागि एमाले अध्यक्ष केपी शर्मा ओली पनि ठीक, नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल पनि ठ्याक्कै सुहाउने कसरी होला र? मौका परे कांग्रेस सभापति शेरबहादुर देउवा पनि आदर्श भए वैकल्पिक राजनीतिको भावना मर्छ।

यो स्थितिमा स्वर्णिम जस्ता पश्चिमा मुलुकका विश्वविद्यालयमा उच्च शिक्षा हासिल गरेका नेता सम्मिलित भई नयाँ ढंगले राजनीति अगाडि बढाउन खोज्दा सफलता प्राप्त हुन सक्छ। बाटो नयाँ लिनैपर्ने भएको हो। मुलुकका प्रमुख राजनीतिक दलसँग असन्तुष्ट भई जनताले अहिले माया गरेका केही दलको भविष्य यही रहन्छ भन्ने छैन। यसबीच यी दलले देखाएको अस्थिर राजनीतिक चरित्र र चरम पदलोलुपता भने फेरि पनि चिन्ताको विषय भइसकेको छ।

यो स्थितिमा स्वर्णिम र अन्य केही युवा राजनीतिक व्यक्तिले एकै ठाउँमा उभिएर तरंग ल्याउन पनि सक्छन्। समस्या भने नेपाली राजनीतिमा मौलाएको व्यक्तिवादी प्रवृत्ति हो। त्यो प्रवृत्ति स्वर्णिमले अहिले उपयोग गर्न खोजेको दलमा पनि देखिन्छ। कांग्रेस जस्तो फराकिलो दलसमेत उनका निम्ति आज साँघुरो भएको हो। त्यहाँ उनले सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणाका कारण टिक्न नसकेको सन्देश दिइसकेका छन्।

२०४६ सालको राजनीतिक परिवर्तनपछि सन्त नेता कृष्णप्रसाद भट्टराई र लौह पुरुष गणेशमानलाई समेत औचित्यहीन तुल्याएको दल कांग्रेस हो। गिरिजाप्रसाद कोइरालाको जग्जगीका बेला यी नेताहरूले अन्तिम समयमा अपमानको घुट्का पिउँदै पार्टीबाट निष्क्रिय बस्न परेको हो। त्यस्तै अपमान बोध गरेर स्वर्णिमले दल त्याग गरेका हुन्। गगन थापा र विश्वप्रकाश शर्मा जस्ता युवा नेता दलको महामन्त्री रहेका बेला स्वर्णिम वाग्ले जस्ता मुलुकका निम्ति नभइनहुने व्यक्ति अट्न नसक्ने परिस्थिति आफैँमा विषम परिस्थिति हो।

सबैजसो दलमा योगदान गर्न सक्ने क्षमता भएका व्यक्ति छन्। ती बेलाबेलामा दलबाट अलग्गिन्छन्। फेरि धूमकेतुझैँ राजनीतिक आकासबाट हराउँछन्। मूलधारको राजनीति नछोडी त्यसको सुधारमा लाग्नेले चाहिँ जित्छ भन्ने भाष्य पनि सिर्जना भएको छ। नेपालमा वैकल्पिक राजनीतिका लागि लहर आएको बरु यसैपटक हो। यसअघिका गल्ती सुधार्दै वैकल्पिक राजनीति गर्नेले आफूलाई परिर्वतन गर्दै लगे पनि यसअघिको असजिलो परिस्थिति हराउन पनि सक्छ।

सबैजसो दलमा विषम परिस्थिति छ। नेकपा (एमाले) मा घनश्याम भुसाल अटाउन सकेनन्। तिनले यसअघि आफैँले छाडेर हिँडेका माधवकुमार नेपालको दल नेकपा (एकीकृत समाजवादी) मै फर्किनुपरेको छ। अहिले उनी सक्रियताका साथ काममा लागेका छन्। एमालेमै रहेका अर्का नेता भीम रावलको अवस्था बसौँ कि हिँडौँ जस्तो छ। रास्वपाले अहिले स्वर्णिम वाग्ले र पूर्वप्रहरी रमेश खरेललाई लिएर परिवर्तन चाहनेहरू एक ठाउँमा आउन खोजेको संकेतसम्म गरेको छ। यस्तै किसिमका व्यक्तिलाई दलभित्र आबद्ध गराउँदै लग्यो भने परिस्थिति भिन्न हुन सक्छ।

तैपनि हामीकहाँ दलहरूको आन्तरिक लोकतन्त्रको अभ्यास बलियो छैन। सफलतामा पुगे पनि चाँडै गुट, फूट र विभाजनको रोग लाग्छ। व्यक्तिवाद हाम्रो राजनीतिको चरम रोग हो। कुनै पनि संगठनले सफलता हासिल गरिहाल्यो भने पनि त्यसको श्रेय लिने केही नेता हुन्छन्। तिनले आफ्नै कारणले यो सफलता पाएको ठान्छन्। वास्तवमा परिस्थितिले मतदातालाई विकल्प खोज्न बाध्य पारेको हुन्छ। त्यो बेला आशलाग्दा केही व्यक्ति आउँछन् पनि। तर तिनले त्यो आशालाई चाँडै निराशामा परिणत गर्छन् पनि।

वास्तवमा हाम्रो मुलुकमा दलहरूको सफलताको इतिहास लामो छ। २००७ सालको क्रान्तिको सफलतापछि दलहरूबीचको आन्तरिक द्वन्द्व चरम रह्यो। कांग्रेसभित्रको द्वन्द्वले परिस्थिति बिगारेको छ। त्यो स्थितिमा खेल्ने अन्य तत्व रहेका पनि हुन्। २०४६ सालको परिवर्तनपछि पनि कांग्रेसभित्र चरम द्वन्द्व रह्यो। कांग्रेसभित्रका ३६ र ७४रे बीचको विभाजन नभएको भए सम्भवतः मध्यावधि निर्वाचन हुने थिएन। २०५१ सालमा निर्माण भएको त्रिशंकू सरकारयता निरन्तर मुलुक अप्ठ्यारोमा छ। २०७४ सालको निर्वाचनपछि ओलीले साढे तीन वर्ष सरकार चलाएपछिको अवस्था पनि उस्तै रहेको छ।

दलहरूले जब सफलता पाउँछन्, तिनलाई मिलाएर लैजान सक्ने राजनीतिक नेतृत्वको सर्वथा अभाव रहेको छ। दलभित्रका सबैलाई मिलाएर लैजान सक्ने नेता नभएका कारण कैयन्लाई आफ्नो घर छाडेर हिँड्नुपर्ने बाध्यता छ। कांग्रेसका निम्ति निर्वाचन घोषणापत्र तयार पार्ने स्वर्णिम वाग्लेले दल छाडेर हिँड्नुपर्ने थिएन। दल छाडेर हिँड्नुमा उनको आफ्नै पनि केही कारण हुन सक्ला। तर दलभित्रको गुट÷उपगुटको लडाइँ प्रमुख कारण हो। जुन समस्याका कारण उनले कांग्रेस छाडेर हिँडेका छन्, त्यही अवस्था अहिले आफू गएको दलमा नआउला भन्न सकिन्न। दलहरूले आन्तरिक लोकतन्त्र बलियो नबनाएसम्म र क्षमताका आधारमा जिम्मेवारी दिने परिपाटी नभएसम्म यो अवस्था आइरहन्छ।

अघिल्लो निर्वाचन आसपास विवेकशील दलले सानोतिनो तरंग ल्याउन खोजेको थियो। पछि रवीन्द्र मिश्रको साझा पार्टीसँग मिलेपछि यो विवेकशील साझा बन्न पुग्यो। दलको नाम विवेकशील र साझा दुवै रहे पनि न त्यसलाई विवेकशील रहन दिइयो न त्यो साझा नै रह्यो। यसले गर्दा वैकल्पिक राजनीतिको एउटा सम्भावना बीचैमा समाप्त भयो। अझ मिश्रले आफूलाई राजतन्त्रको पक्षमा लगेपछि यो दल छियाछिया भएको छ। वास्तवमा विवेकशील साझाले गत निर्वाचनका बेला आफूलाई आन्तरिक लोकतन्त्रसहितको बलियो दलका रूपमा प्रस्तुत गरेको भए निश्चितरूपमा अहिले ठूलो सफलता हात लाग्थ्यो। त्यसले वैकल्पिक राजनीतिलाई अगाडि बढाउनसमेत मद्दत पुग्थ्यो।

नेपालमा अझै पनि वैकल्पिक राजनीतिका निम्ति ठाउँ छ। तर वैकल्पिक राजनीति अगाडि बढाउने व्यक्तिहरूले विश्वास हासिल गरिनसकेको अवस्था छ। अहिले वैकल्पिक राजनीतिको आवश्यकता महसुस गर्नेहरूले विकल्पका रूपमा आएका दललाई हेरिरहेका छन्। यसका साथै मुलुकका प्रमुख दलहरूको नसुध्रिएको छविलाई पनि नियालिरहेका छन्। ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गर्दा आफूहरू सुध्रिएर काम गर्ने विश्वास देउवा, दाहाल, नेपाललगायतका नेताले गरेका पनि हुन् तर ती वाचा गर्नका निम्ति मात्र थिए, पूरा गर्नका निम्ति थिएनन्।

२०६२/०६३ को जनआन्दोलनका बेला सडकमा पुगेका यी दलले आफू सुध्रिएर लोकतन्त्रका निम्ति काम गर्ने भनेका थिए। त्यो प्रतिबद्धताबाट यी चुकिसकेका छन्। यिनले सम्पूर्ण सत्तालाई नातावाद–कृपावादको कारखाना बनाइसकेका छन्। यी दलमा लाग्नेबाहेकका कुनै पनि योग्य व्यक्तिले यिनीबाट न्याय हुन्छ भन्ने विश्वास गर्न सक्दैनन्। यो अविश्वासको अवस्था यिनका कामले निर्माण गरेको छ। राज्यका प्रत्येक निकायलाई यिनले दलकरण गरेका छन्। सबै ठाउँमा पैसा लिएर भरेका छन्। त्यसैले लोकतान्त्रिक संस्थाको मरण भइरहेको छ। यस्तो विषम परिस्थितिबाट सुधार गर्दै वैकल्पिक दलहरूले काम गरे भने सम्भावना अझै छ। त्यसरी काम नगर्ने, बरु पुरानै दलको बाटोमा हिँड्ने हो भने कुनै स्वर्णिम सम्भावना देखिँदैन।  

प्रकाशित: १९ चैत्र २०७९ ००:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App