१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
विचार

जँड्याहा लखेट्दै ओली?

पाल्पा तानसेनका ख्यातिप्राप्त विद्वान्, प्राध्यापक कवि माधवप्रसाद देवकोटाले आफ्नो पुस्तक ‘हुस्सु पथिक’ काव्यमा वारुणी अर्थात मदिराको बारेमा लेख्नुभएको छ। यो पुस्तकको भूमिका महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको थियो।

त्यो प्रशंग जोड्नुको कारण छ। यसै प्रदेश अर्थात ग्रासरुट अभियान प्रशिक्षण कार्यक्रममा संबोधन गर्न अर्घाखाँची पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले मदिराका बारेमा बोल्दै भनेछन्–रक्सी खाने मान्छे एमाले हुन सक्दैन! साँझ पर्न नपाउँदै सिधा उभिएर हिँड्न नसक्ने मान्छे देखियो भने त्यो एमाले होइन भनेर सबैले जाने हुन्छ।

ओलीको जँड्याहा, ट्वाकेहरू एमाले हुनसक्दैन भन्ने भनाइ यतिखेर सामाजिक सञ्जालमा भाइरल भैरहेको छ। सत्तापक्ष राजधानी काठमाडौँमा सरकार बनाउने सकसमा ठेलमठेल गरिरहँदा प्रमुख प्रतिपक्षी नेता लुम्बिनी प्रदेशको जिल्ला–जिल्लामा पार्टी शुद्धीकरण, सुदृढीकरण र सशक्तीकरणमा लागेको देखियो। एमाले अध्यक्ष ओलीले सत्ताबाट आफ्नो पार्टी बाहिरिनु परेकामा भँडास त पोख्लान् नि भन्ने धारणा बनाइरहेका बुद्धिजीवी, विश्लेषक, पत्रकार र राजनीतिज्ञहरूलाई ओलीले आश्चर्यमा पनि पारेका छन्। सुदृढीकरण मात्र होइन, राजधानीमा आएका मिटरब्याजीपीडितको आवाज पनि प्रतिपक्षी नेताले बोल्नुपथ्र्यो। उनले भन्नुपथ्र्यो–बिचौलिया, दलाल, माफिया, अपराधी र मिटरब्याजीहरू एमाले हुन सक्दैनन्। यिनीहरूलाई गाउँ–गाउँबाट लखेट भनेर आह्वान गर्न सक्नुपथ्र्यो ओलीले।

पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई ओलीले केबाट सचेत गराउन खोजे भने मदिरा, रक्सी, जाँड, ह्विस्की, भोड्का, वाइन पिएर एमालेको न संगठन बन्छ नत समृद्ध नेपाल सुखी नेपाली नै। यसका लागि उनले आफ्नो दृष्टि, विचार र ब्यवहारलाई स्वच्छ, तीक्ष्ण र जनतालाई केन्द्रविन्दुमा राखेर पूरै पार्टी अगाडि बढ्नुपर्ने विचार ब्यक्त गरेर हिँड्नुपर्ने कुरामा जोड दिएको देखियो। के त्यस्तै छन् त एमाले नेता/कार्यकर्ता?

व्यक्ति, परिवार, समाज र देश मदिराको दलदलमा फसिरहेको समयमा ओलीले सत्ता, शक्ति, मदिराको चंगुलबाट मुक्त हुन गरेको यो निर्देशन के अब एमाले कार्यकर्ताहरूले लुटेरा, डन, बिचौलिया, माफिया, अपराधी र मिटरब्याजीहरूलाई गाउँबाट खेद्ने अभियानको नेतृत्वगर्न सक्लान्? अकुत संपत्ति खर्च गरेर मदिराले सबैथोक किन्ने भोर जुवा चलिरहेको बेला विपक्षी नेताको यो चुनौतीले तरंग सिर्जना गरेको छ। बोल्न प्रमुख विपक्षी नेताले बोले तर कार्यान्वयन नहुँदै उनैलाई नारायणहरि त बनाइदिँदैनन्? कसले टेर्ला र पालन गर्ला उनका यी आह्वान? हरिवंशराय बच्चनको मधुशालामा जस्तै ‘बैर बढाते मन्दिर मस्जिद, मेल कराती मधुशाला’ हुने त होइन?

माधवप्रसाद देवकोटाको मदिरा महात्म्यले व्यक्तिलाई मात्र होइन, स्वयम् सूर्यनारायणलाई पनि नछाड्ने कुरा काव्यमा वर्णन गरेको छ। एमालेको त चुनाव चिह्न नै सूर्य रहेको छ।

मित्रजी पनि लागेछन्, रातो मुख गरी उँधो!

वारूणीसँगमा पर्दा लाग्थ्यो र कुन पो उँभो?

कविले प्रयोग गर्नुभएको पहिलो हरफको शब्द मित्रजीको अर्थ साथी हो। मित्रजीको अर्थ सूर्यनारायण पनि हो। संस्कृतमा सूर्यलाई मित्र पनि भनिन्छ। उँधोको अर्थ तल्तिर, पतनतिर। दोस्रो हरफको वारुणीको अर्थ एउटै मात्र छैन। यो संस्कृत शब्द हो। जसको अर्थ हो–१) मदिरा, २) पश्चिम दिशा। उँभोको अर्थ हो–मास्तिर, प्रगतितिर।

उपरोक्त दुई हरफको अर्थ हो–साँझ पर्न लागेपछि साथी पनि लागेछन् रातो अनुहार पारेर उँधो। अस्ताउने बेलामा सूर्यनारायण पनि रातो मुख पारेर ढलपल गर्दै तलतल लाग्छन्। अस्ताउने समयमा पश्चिम दिशातर्फ रातो वातावरण बनाएर सूर्यनारायण तलतल झर्दै बिलाउँछन्। वारुणीसँग संगत गरेपछि उँभो लाग्ने को छ र? अर्थात अस्ताउने बेलामा वारुणीको संगत गरेपछि सूर्यले पनि रातो अनुहार पार्नुपर्छ। भन्न खोजेको के भने जाँडरक्सीसंग संगत गरेपछि अनुहार लाजले रातो नपारी सुखै छैन। मद्यपानले लज्जित त बनाउँछ, बनाउँछ ! यसले घर न घाटको समेत बनाइदिन्छ।

ओलीले किन बोले?

ओलीले अर्घाखाँची पुगेर भने–रक्सी खाने मान्छे एमाले हुन सक्दैन! साँझ पर्न नपाउँदै सिधा उभिएर हिँड्नुपर्छ एमालेका नेतारकार्यकर्ता। यस्तो बोल्नुपछाडिको कारण एमालेमा बढ्दो मदिरापानले गर्दा हो? साँझ नपर्दै टिल्ल हुने नेता र कार्यकर्ता एमाले होइनन् भनेर उनले जँड्याहालाई चेतावनी दिएका हुन्? नेकपा संस्कृतिमा जबर्जस्त परिवर्तन ल्याउने अध्यक्षको पछिल्लो उद्घोषले एमालेजनमा मात्र होइन, देशैभर खैलाबैला मच्चिएको छ। साँझ नपर्दै भित्रभित्रै कमरेडको स्वागतका लागि ब्लु लेबल, ग्रिन लेबल, ब्ल्याक र डबल ब्ल्याकलेबल, रेडलेबल, कन्याक र केही नपाए पुरानो दरवार वा लोकल ठर्रासमेत व्यवस्था गर्नुपर्ने संकटबाट एमाले कार्यकर्ताले मुक्ति पाउलान्? प्रायोजक खोज्ने अर्को रनाहाबाट छुटकारा मिल्ला?

हिजो जुन दर्शन, सिद्धान्त, चिन्तन र अनुशासनका आधारमा वामपन्थी आन्दोलन अगाडि बढेको थियो, २०४६ सालको परिवर्तनपछि त्यसमा आएको विचलन र क्षयीकरणले वामपन्थीहरू क्रमशः बदनाम भएका थिए। माफिया, दलाल, बिचौलिया, तस्कर, भ्रष्टाचारीहरूले मदिराको प्रयोग गर्दै संगठन र राजनीतिलाई डामाडोल बनाइदिए। लुकेर रक्सी पिउनुलाई वामपन्थी आदत बनाइदिए। दुर्गम र ग्रामीण क्षेत्रमा सरुवा भएका प्रायः कर्मचारी जसरी मदिरापान लगायतका कुलतले टंगनटाट हुन्छन्, ज्यादा सक्रिय राजनीतिक नेता/कार्यकर्ता पनि त्यही मार्गका अनुयायी बने। खुसी पनि, दुःख पनि रक्सी पिएर मनाउने विसंगति मौलाउनु मौलायो!

यसबाट गएका तीन दशकमा समाजमा के के भयो ? खास गरेर ०६२/६३को आन्दोलनपछि के भयो? नेपाली राजनीतिमा आएका उतारचढावका कारण एमाले नेताले समाजको नाडी छामेर बिकृतिको पहिचान गरेका हुन्? अर्घाखाँची पुगेर ओलीलाई यो अनुभूति भएकै हो? हुन पनि रक्सीले राजनीतिज्ञप्रतिको आशा, विश्वास, भरोसालाई समाप्तै पारिदिएको छ। जुनसुकै कार्यक्रम किन नहोस्, विवाह व्रतबन्धका कुरा छाडौँ, श्राद्धमा पनि बोतल खोल्नुपर्ने संस्कार विस्तारित भैरहेको छ। वाइन, बियर, ह्विस्की नखुल्ने हो भने कुनै जमघट नै नहुनेझैँ भैरहेको छ। कल्पना पनि गर्न सकिँदैन, पार्टीका अधिवेशन र महाधिवेशन, स्थानीयदेखि प्रदेश र संघीय निर्वाचनमा रक्सी/बियरको खोला त्यति नै बगेको छ, जति कर्णालीमा पानी!

तथ्यांक यस्तो छ!

नेपालमा हरेकवर्ष हल्का पेय ६० लिटर र मादक पदार्थ ३० लिटर प्रतिव्यक्ति खपत भैरहेको छ। यसमा घर–घरमा अवैधरूपमा बनाइने रक्सी, जाँड र छ्याङ समावेश गरिएको छैन। खोएबिर्के, ऐला, जाँड, छ्याङ, तोंग्बा, तीनपाने, अराक, थोंग, निगार आदि कति उत्पादन र खपत हुन्छ त्यसको हिसाब कहीँ छैन। सिलबन्दी रक्सीको खपत वार्षिक रूपमा पाँच प्रतिशत र बियरको खपत ७ प्रतिशतले बृद्धि भैरहेको छ। जबकि नेपालको जनसंख्या वृद्धिदर हालै सार्वजनिक गरिएको तथ्यांक अनुसार एक प्रतिशत मात्रैको हाराहारीमा रहेको छ। खाद्यान्न, तरकारी, फलफूल, माछा/मासु आयात भैरहेको मुलुकमा विदेशी मदिरा आयातको तथ्यांकले शरीर नै सितांग हुने देखिन्छ। एक तथ्यांकअनुसार २०४६ सालदेखि क्रमैसँग रक्सीजन्य पदार्थको सेवनबाट मृत्युको कारण ५ सय प्रतिशतले बढेको छ।

एमालेको नाडी

एमालेले रक्सीलाई अहिलेको समस्याको जडका रूपमा पहिचान गरेको छ? डाक्टरहरूले नाडी छामेर रोगीको अवस्था पहिचान गर्न लगभग छाडिसकेको अवस्थामा एमाले नेतृत्वको यो नाडी समाइ र समस्याको कारण मदिरा भएको पहिचान आफैँमा छक्कलाग्दो छ। के, किन र कसरी एमालेले यो विपरीत धारको निष्कर्ष निकालेको हो? कारण विस्तारै सार्वजनिक हुने नै छ तर सवाल के भने नेपाली समाजमा लागेको महारोग देशको प्रमुख प्रतिपक्षी दल एमालेले पहिचान गरेर जनताबीच पस्किएकोछ, के यसको निदान पनि एमालेले गर्न सक्ला?

बिहान सबैरैदेखि टुन्न हुने, सार्वजनिक कार्यक्रमहरूमै मुन्टो बटार्ने, मुख छाड्ने र सर्मनाक हर्कत प्रदर्शन गर्ने नेता/कार्यकर्ताको व्यवहारबाट आमजनता र पार्टीका शुभेच्छुक/समर्थकहरू धेरै अघिदेखि दिक्दार थिए। समाजमा अपराध, झैझगडा, मारकाट, गुण्डा, शक्तिको दुरूपयोग, जात्रा, लफडा हरेक जाँडपार्टीको परिणाम हुन्थ्यो। त्यसैले बेलाबेला सर्वसाधारणबाट स्वतःस्फूर्तरूपमा त्यसको बिष्फोट पनि हुने गर्दथ्यो तर यसपटक भने एमाले शीर्ष नेताले नै जनताको बह बोलिदिएपछि सबैको ध्यान आफूतर्फ तानेको छ।

आदर्श, नैतिकता, चरित्र, साद्गी, आशा, विश्वास क्षीण भैरहेको समयमा एमाले नेतृत्वले यो अभियानको प्रयोग आफू, आफ्नै संगठन र नेता तथा कार्यकर्ता/समर्थकबाटैथालनी गर्नुले झिनो भए पनि आशा जगाएको छ। हेर्दाहेर्दै एमाले हुँ भन्नेहरू निसानामा परेका छन्। जसले आफूलाई एमाले भन्छ र सार्वजनिकरूपमा हल्लँदै हिँड्न थाल्छ अनि ढाड पनि कुप्राउँछ भने सबैले बुझे हुन्छ, अब कमरेड सिधै छानबिनमा परे!

पञ्चायती निरंकुशकालमा कठोर र वज्र अनुशासनमा बनेको पहिले माले र त्यसपछि रूपान्तरित एमालेमा साँच्चै जागरण बोध भएको हो? कि यो छिटो चर्चित बन्ने एउटा तुरूप कार्ड मात्र हो? नयाँ प्रहसन त होइन? यो थाहा पाउन पनि अब धेरै पर्खन पर्दैन किनभने दारुवाललाई रक्सी पिउन न गर्मी, न जाडो, न झरी, न बदली न जेठको गर्मी, न सुख नत दुःख, केहीले पनि रोक्दैन। रोचक कुरा यी सबै अवस्था अहिले नै विद्यमान छन्, जँड्याहा एमालेले अब आफूलाई लुकाउन छहारी पाउँदैन। वामपन्थी चुकुल लगाएर जाँड/रक्सी अनि कम्मल ओढेर घिऊ खान्छन् भन्ने बहुचर्चित आरोप छ। प्रायोजकमार्फत घूस पनि लप्काउँछन्। तर अब अराजकतारूपी जिनिस कुनै एमालेभित्र प्रवेश गरेपछि पोल आफैँ खुल्दै जानेछ। एमालेको यो अभियानले रक्सीको ‘प्रयोग, दुर्व्यहार र दुरूपयोग’ लाई उदांगो पारे यसको भविष्य उज्ज्वल हुने निश्चित छ। त्यसमा ठूलो माछा पनि पर्छन् कि साना मात्र पर्छन्? हेर्न भने बाँकी छ।

प्रकाशित: १५ चैत्र २०७९ ००:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App