१३ पुस २०८१ शनिबार
image/svg+xml
विचार

छठको ऐतिहासिकता

संसारका हरेक धर्म प्रायः प्रकृतिपूजक हुन् । यस अर्थमा आर्यावर्ति हिन्दु पनि प्रकृतिपूजक हुन् । हिन्दुहरुको महान् एवं सर्व प्राचीन धर्मग्रन्थ वेदका विविध प्रसंगमा प्रकृतिको व्यापक उपासना र आराधना गरेको पाइन्छ । प्रकृतिका विविध रूपलाई दैवी शक्तिबाट सञ्चालित मानेर  पूजा गर्ने क्रममा वहुदेवबाद र यसको विकासक्रममा अनेकौं अवतारवादको अवधारणा विकास भएको पाइन्छ ।

ऋगवेदमा सूर्य, पानी (पर्जन्य) वायु (वरुण) वनस्पतिलगायतका आद्य देवताहरुको प्रार्थना र उपासना गरिएको प्रसंग पाइन्छ । ऋगवेदको प्रथम श्लोकमा अग्नि अर्थात सूर्यसम्बन्धी मन्त्र नै उल्लेख छ । ऋगवेदको प्रथम श्लोकमा अग्निमिले पुरोहितम् यज्ञस्य देवमृत्विजम् होतारं रत्न धातमम् भनेर सूर्यदेवको  नै प्रार्थाना गरिएको छ । ऋगवेदको धेरै ठाउँमा सूर्यदेवको प्रसंग परेको सन्दर्भले आर्यहरु सम्भवतः धेरै चिसो ठाउँ (हिमाली) बाट यस भारतीय क्षेत्रमा प्रवेश गरेको हुनुपर्छ भन्ने अन्दाज गर्न सकिन्छ । किन पनि भने चिसोबाट बाँच्नका लागि सूर्यबाट नै न्यानोपन प्राप्त हुने भएकाले सूर्यदेवको पूजा हुनु स्वाभाविक नै ठहर्छ ।

आफूलाई हित हुने र आफूभन्दा शक्तिशालीको पूजा गर्नु मानवीय प्रवृत्ति नै हो । सृष्टिको प्रथम आधार  र  जीवनदायिनी शक्तिको प्रदायक तत्वको श्रोत सूर्य भएकाले तत्कालीन मानवले सूर्यको पूजा उपासना गरेको सत्य वास्तविक ठहर्छ ।

वैदिक सभ्यता जस्तै संसारका अन्य सभ्यतामा सूर्यलाई देवता मानेर पूजा गर्ने प्रचलन छ । वैदिक ग्रन्थ जस्तै मेसोपोटामियाको धार्मिक ग्रग्थ अवेस्तामा सूर्यदेवको चर्चा परेको छ, उतातिर इरानीहरु सूर्यदेवलाई मिहिर भनेर पूजा गर्ने गर्छन् । सुमेरियन सभ्यताको उत्खनन्का क्रममा शमस नामक सूर्य मन्दिर प्राप्त भएको पुरातत्वविद्हरुले बताएका छन् । अफ्रिका, चीन, जापान, सुमेरिया, मेसोपोटामिया, बेबिलोनिया र ग्रिकलगायतका प्राचीन सभ्यताहरुमा सूर्यदेवलाई विभिन्न नामले उपासना गरिएको पाइन्छ ।

प्राचीन हिन्दु सभ्यतामा विशेष गरी वैदिक सभ्यताभन्दा पनि पूर्व सिन्धु सभ्यतामा शिव र शक्तिका साथसाथ सूर्यादेवको आराधना गरिएको तथ्य पुरातात्विक प्रमाणबाट पुष्टि भएको छ । उत्खनन्बाट प्राप्त गोलाकार  माटाका चक्काहरु सूर्यको प्रतीक स्वरूपमा अभिव्यक्त भएका छन् । वैदिककालको साथसाथै पौराणिककाल एवं रामायण र महाभारतकालमा सूर्य पूजाको प्रसंग परेको छ । ग्रिक, इन्डोग्रिक, ब्याक्टेरियन्  र शिथियन (शक¬¬) राजाहरुले प्रसारण गरेका सिक्काहरुमा सूर्यदेवको प्रतिमा अंकित गरिएको तथ्य प्राप्त छ । यस तथ्य प्राप्तिले तत्कालीन शासकहरुले आफ्नो ऐश्वर्य, सौन्दर्य वीरता र शक्ति अभिव्यक्त गर्न सूर्यलाई प्रतीकात्मकरूपमा प्रयोग गरेको तथ्य प्रष्टिन्छ ।

नेपाल र भारतका प्राचीन शासकले आफ्नो वीरता अभिव्यक्त गर्न आफूलाई सूर्यवंशी  भनी उपाधि धारण गरेको इतिहास पढ्न पाइन्छ ।
नेपालको इतिहासमा सूर्य पूजाको परम्परा लिच्छविकालदेखि नै चलेको ऐतिहासिक प्रमाण छ । लिच्छवि शासकहरु आफूलाई सूर्यवंशी ठान्थे । लिच्छविकालीन शीलालेखहरुको माथिल्लो भागमा सूर्य र चन्द्रको प्रतीकस्वरूपमा गोलाकार चिह्नहरु अंकित गरिएको अद्यपि अभिलेख तथा शीलालेखहरुमा देख्न सकिन्छ भने अभिलेखहरुको भाषामा आफ्नो शक्ति, सौन्दर्य र वीरता अभिव्यक्त गर्नका लागि विभिन्न काव्यात्मक, आलंकारिक र प्रतीकात्मक उपाधिहरु ग्रहण गरेर आफ्नो गरिमा बढाएको पढ्न पाइन्छ । राजा अंशुबर्मा, नरेन्द्रदेवले प्रशारण गरेका मुद्रा र पशुपति नामक मुद्राहरुमा सूर्यलाई प्रतीकात्मकरूपमा अभिव्यक्त गरिएको प्रमाण छ । लिच्छविकालमा सूर्यको प्रतिमा बनाउने परम्परा प्रचलनमा थियो ।

हिन्दु धर्मका विविध शाखामध्ये शौर्यधर्म  सम्प्रदाय नेपाल तथा भारतमा व्यापकरूपमा चलेको पाइन्छ । नेपालको इतिहासमा मल्लकालमा राजाहरुले आफूलाई सूर्यवंशी मान्दै सूर्यदेवका मूर्ति तथा प्रतिमा बनाउने गरेको पाईन्छ । साथै सूर्यसम्बन्धी पद तथा उपाधिहरु ग्रहण गरेको इतिहासमा पढ्न पाइन्छ । लिच्छविकालामा बनेको मानिने हाल काठमाडांै टे–बहालमा अवस्थित सूर्य मूर्ति, पूर्व मल्ल्कालको मानिने बनेपाको सूर्यमूर्ति र थापाहिटीका सूर्यमूर्तिहरुले तत्कालीन समाजमा सौर सम्प्रदाय प्रचलनमा रहेको तथ्य प्रमाण छ । यसरी सूर्यदेवको महत्वलाई अग्रस्थानमा राख्दै विष्णुधर्मोत्तर पुराण, अग्निपुराण, मत्स्य पुराणलगायतका प्रतिमा विज्ञानसम्बन्धी ग्रन्थहरुमा सूर्यदेवको प्रतिमा लक्षण बताइएको छ ।

सूर्य पूजाको यसै परम्पराको निरन्तरताका रूपमा छठ पर्वलाई मानिन्छ । नेपालको समथर भू–भागका नेपाली बासिन्दाले व्यापकरूपमा छठ पर्व मनाउने गरेको पाइन्छ । यश, कृति, आयु, आरोग्य र पुत्र प्राप्तिका लागि सूर्यको प्रतीकात्मक स्वरूपमा छठ अर्थात छठीमाईको पूजा गरिन्छ । सूर्य सिर्जना र ऊर्वराको आधार तत्व (पिता) हो भने पृथ्वी आधेय तत्व अर्थात माता (जननी) भएकाले सूर्यदेवलाई स्त्रीकरण गर्दै छठी माईको स्वरूपमा पूजनीय भएका हुन् । यस तथ्यले शाक्त दर्शनको परम्परा अभिव्यक्त गर्छ । मौथिली, हिन्दी र भोजपुरी भाषामा छठको अर्थ छैटौं भन्ने हुन्छ । हिन्दु पात्रोअनुसार कार्तिक शुक्लपक्षको छैटौं दिनलाई शष्ठी भनिन्छ र  यसै दिनमा छठ पर्व मनाइन्छ । यस पर्वको ऐतिहासिकता हेर्दा महाभारतमा द्रौपदी, पाण्डव र ईन्द्रप्रस्थका शासकले छठ पर्व मनाएको प्रसंग छ । महाभारतमा पनि भगवान श्रीरामले छठ पूजा गरेका उल्लेख छ । भक्ति गीत र संगीतका साथ मनाइने यस पर्वले प्रकृति, पर्यावरण र प्रेमको दर्शनलाई अभिव्यक्त गर्छ ।

 

प्रकाशित: २१ कार्तिक २०७३ ००:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App