५ वैशाख २०८१ बुधबार
विचार

स्थानीय तहमा युवा परिचालन

जुन समाज, स्थान तथा देशका युवा जति दक्ष, सक्षम, सिपयुक्त हुन्छन् र उत्पादनमुखी तथा सिर्जनात्मक कार्यमा लाग्छन् त्यति त्यस समाज र देशको विकास हुन्छ। युवा भनेर परिभाषा गर्न विभिन्न देशले आफ्नै उमेरको मापदण्ड बनाएको पाइन्छ। नेपालको कानुनले १६ वर्षदेखि ४० वर्ष उमेर समूहका व्यक्तिलाई युवा भनी परिभाषित गरेको छ। सामान्यतया शरीरिकरूपमा मसल तथा तागत भएका, बौद्धिक र मानसिकरूपमा समेत परिपक्वतातर्फ लागेका जीवनदेखि नथाकिसकेका व्यक्तिलाई युवा भन्न सकिन्छ।

युवा दक्ष, सक्षम र सिपयुक्त हुन पनि वातावरण निर्माण हुनुपर्दछ। देशको बजेटको ठूलो हिस्सा शिक्षामा खर्च गर्नु र हरेक बालबालिकालाई शिक्षाको पहुँच पुर्‍याउन पहल गरिनुको कारण पनि हरेक युवालाई सक्षम र उत्पादनमुखी बनाउन हो। समाज र देशको वातावरणले युवालाई सकारात्मक तथा विध्वंसात्मक बनाउने भन्ने कुरामा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ। युरोपमा धेरै वैज्ञानिक र उन्नयन गर्ने व्यक्ति जन्मनु र नेपालमा अझै पनि विश्वव्यापी उल्लेख्य कार्य गर्न सक्ने व्यक्ति नजन्मनुको कारण नेपालीको बीज नै कमजोर भएर पक्कै होइन। बरु जन्मपूर्व र जन्मेपछि व्यक्तिले पाउने वातावरण, शिक्षा दीक्षा र मार्गदर्शनले हो।

हाम्रो समाज र देशमा के युवाहरूले सम्भावनाको पूर्ण प्रयोग गर्ने मौका पाएका छन् त? भन्ने प्रश्नको उत्तर दिन निकै सोच्नुपर्ने हुन्छ। युवालाई सिप, दक्षता, क्षमताको विकास गर्ने र सिर्जनात्मक कार्यका लागि उपयुक्त वातावरण मिलाउने कुरा निकै महत्त्वपूर्ण साथै चुनौतीपूर्ण पनि छ। युवाको क्षमताको प्रयोग सम्बन्धमा भएका अनेकन समस्या नहटाएसम्म देशको समृद्धि सम्भव देखिँदैन।

एकातर्फ आफूलाई समक्ष ठान्ने केही गर्न सक्छु भन्ने युवाहरू सम्भावनाको खोजीमा विदेश पलायन हुने अर्कोतर्फ पछाडि परेको समुदायका युवाले आफ्नो भग्यमा नै नभएको, जन्मँदै ठगिएको, समस्यामा सहयोग गर्ने आफ्नो मान्छेको अभाव रहेको भन्ने सोच राख्दै निरास भएको अवस्था छ। क्षमताको पूर्ण उपयोगको सम्भावना नदेखेर युरोप अमेरिका अस्ट्रेलिया जान एनओसीका लागि लामबद्ध युवालाई नेपालमै सम्भावना छ भन्ने विश्वास दिलाउने र पछाडि परेको महसुस गरेका युवामा मसँग पनि क्षमता छ, केही गर्न सक्छु भन्ने आत्मविश्वास जगाउने कार्य निकै कठिन छ। युवालाई सानासाना समस्यामा विचलन होइन, आइपर्ने समस्या र चुनौती सामना गर्दै गएपछि क्षमता वृद्धि हुन्छ, संघर्षले नै मान्छेलाई दरिलो बनाउँछ भन्ने बोध गराइ निरन्तर उद्यमशील र सिर्जनात्मक कार्यमा लाग्ने बनाउनु आजको आवश्यकता हो।

उद्यम व्यवसायी बन्न व्यक्तिलाई पहिलो खाँचो साधनस्रोतको भन्दा पनि सोचको हो। केही गर्छु भन्ने हुट्हुटी, चिन्तन भएमा साधन स्रोत जुटाउने उपायहरू पहिल्याउन सकिन्छ। समाज र राज्यमा सकारात्मक सोच र नवप्रर्वतनात्मक सोच राख्ने युवालाई सहयोग हुन्छ भन्ने विश्वास दिलाउन सकिएन भने देश अन्ततः असफल नै हुन्छ। हाम्रो समाजमा परम्परागत रूपमा नै केही समुदायका युवा आफू बाबुबाजेको पालादेखि नै कमजोर, बाबुबाजेले राम्रो गर्न सकेनन्, म पनि गर्न सक्दिन, भाग्यले नै ठगेको छ, भन्ने सोच राख्छन्। म जन्मैले ठूलो हुँ, आफ्ना बाबुबाजेका पालादेखि नै हाम्रो हैकम छ, मैले केही नगरे पनि समाज र राज्यले मान्नुपर्छ भन्ने दम्भ राख्ने संस्कार तथा परिवेश पनि हाम्रै समाजमा रहिरहेको छ। यस्ता सामन्ती चिन्तन र भाग्यवादी सोचले धेरै युवालाई मात्र होइन, समाजलाई समेत गाँजेको छ।

बिद्यालय तहमा गुणस्तरीय तथा सिपयुक्त शिक्षाको अभावमा शिक्षित बेरोजगार युवाको संख्या बढिरहेको छ। दुई किसिमका विद्यालयमा दिइने दुई किसिमको शिक्षाले गर्दा समाजमा दुई किसिमका नागरिक उत्पादन भैरहेका छन्। शिक्षाले वैज्ञानिक सोच र निरन्तर सिक्ने बानीको विकास गराउने, समाजमा रहेको सामन्ती सोच अन्त्य गर्ने,जातीय उचनिचको व्यवहार हटाउने, शारीरिक श्रम गर्नेलाई सम्मान गर्ने, विश्वव्यापीकरण, इन्टरनेट तथा सूचना प्रविधिको सही सदुपयोग गर्न सक्ने सिप विकास गराउने जस्ता कार्य गर्न सकिरहेको छैन। पोषण, स्वस्थ्य र शारीरिक तन्दुरुस्तीप्रतिको सचेतताको कमीले धेरै युवाको स्वास्थ्यमा समेत असर गरिरहेको छ।

समाजमा भएको भाग्यवादी सोच युवा पुस्तामा घट्नुभन्दा झाङ्गिइरहेको छ। परम्परागत पेसा व्यवसायलाई आधुनिकीकरण गर्न र सम्मानित बनाउन नसकिनुले सिर्जनशीलता, उद्यमशीलतामा भन्दा जागिरे मानसिकताको बाहुल्य हुँदै गाएको छ। शासन प्रणाली र सरकारी सेवा प्रवाहमा भएका समस्याले गर्दा युवामा निरासा उत्पन्न भएर विदेश जाने रहर तथा विदेश जानुलाई जीवनको अभीष्ट बनाउने लहर नै चलेको छ। महिला, लैङ्गिक अल्पसंख्यक, दलित तथा पछाडि परेको समुदायका युवाका आफ्नै पीडा छन्। विदेशमा पुगेका युवा कम पारिश्रमिकमा जोखिमपूर्ण काम गर्न बाध्य भएका छन्। कति युवा पढ्न सिक्नपर्ने अवस्थामा नै आर्थिक दायित्व र परिवारिक बोझ उठाउनुपर्ने बाध्यताले पर्याप्त दक्षता, क्षमता र सिप विकास गर्न पाएका छैनन्।

युवालाई स्वतन्त्र चिन्तन गर्ने, सिर्जनात्मक तथा उद्यमशील कार्यमा लाग्ने वातावरण कमी छ। नेपालमै केही गर्छु भन्ने युवालाई रोजगार हुन चाहनेलाई अवसरको कमी छ। राजनीतिक नेतृत्व युवा पुस्तामा हस्तान्तरण हुन निकै सकस भैरहेको छ। नीति, योजना र कार्यक्रम निर्माणमा सहभागी हुने अवसरको कमीले हरेक सरकारको नेतृत्वप्रति युवाको वितृष्णा बढ्दैछ। सामाजिक सञ्जालको दुरूपयोग, कुलत, लागु पदार्थ दुर्व्यसन वृद्धिले धेरै युवा मानसिक रोगी हुने र ज्यानै गुमाउने अवस्था आएको छ। अन्तरपुस्ता भिन्नतालाई व्यवस्थापन गर्न नसक्दा पनि युवामा वितृष्णा उत्पन्न भएको छ। यी र यस्तै समस्याले गर्दा युवा बहुआयामिक मानसिक समस्या र तनावको सिकार हुँदै गएको अवस्थामा देशको समृद्धि कल्पना मात्र हुने देखिएको छ।

राज्यले वितरण गर्ने सेवा, सुविधा, सहुलियत पनि न्यायोचित वितरण हुन नसक्दा सामान्य युवाको पहुँच नपुग्ने, केही दल र कर्मचारीको नजिक भएका युवाले मात्र त्यस्ता सुविधा उपयोग गर्न पाउने अवस्थाको अन्त्य हुन सकेको छैन। यी र यस्तै समस्या अन्त्य गर्न समाज र देशको विकासमा युवा परिचालित हुने वातावरण निर्माण गर्न अब ढिला गर्नु हुँदैन। युवालाई विदेश जानु भन्दा आफ्नै समाज र स्थानमा उद्यमी बन्ने, कमाउने, समाजका लागि काम गर्ने र रमाउने बनाउन सरकार तथा सरकारको एउटै तहमात्र लागेर हुँदैन, सरकारका तीनै तह, राजनीतिक दलहरू, सरकारी तथा गैरसरकारी संघ/सस्थाहरू सहकार्य गर्दै जानुपर्ने आवश्यकता छ।

युवालाई सिपयुक्त, सक्षम बनाउन र आफ्नै समुदायमा नै रमाउने बनाउन स्थानीय तहले धेरै कार्य गर्न सक्ने सम्भावना छन्। नजिकको सरकार भनेको स्थानीय तह नै हो। स्थानीय तह आफ्नो समुदायमा व्यक्तिको अवस्था, उद्यमशीलता र रोजगारीका सम्भावना, युवाका क्षमता र कमीकमजोरी आदिबारे जानकार हुन्छ। स्थानीय तहले युवाको अवस्था र विविधता खुल्ने गरी तथ्याङ्क सङ्कलन र व्यवस्थापन गर्ने, विभिन्न क्षमता सिप कला भएका युवाको जानकारी प्राप्त गर्ने, युवाहरूको भेला, छलफल, अन्तरक्रिया गर्ने, युवाका कुरा स्थानीय तहका नेतृत्वले सुन्ने जस्ता कार्य सजिलै गर्न सक्छ। त्यस्तै उद्यमशीलतासम्बन्धी तालिम सञ्चालन गर्ने, युवालाई उद्यमशील बन्न उत्प्रेरित गर्ने, उद्यमी युवालाई विभिन्न तरिकाले सम्मानित तथा पुरस्कृत गर्ने कार्य पनि गर्न सक्छ।

प्रकाशित: २५ माघ २०७९ ००:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App