coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

गणतन्त्रका युवराजहरू !

मोही माग्ने ढुुंग्रो लुकाउने !

युवराजहरूको चल्तीफिर्ती बढ्दो छ। अझ भनौँ रगरगी र चकचकी व्यापक छ। गणतन्त्रका युवराजहरूको चर्तिकलाले पूर्वराजा ज्ञानेन्द्रका छोरा युवराज पारसका गतिविधिलाई पनि फिक्का पारिदिएका छन्। हुन पनि पारस उदण्ड थिए तर ‘करप्ट’ थिएनन् ! राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, गृहमन्त्री, मन्त्रीहरूका मात्र होइन, जंगी, निजामती, प्रहरी, व्यापारी, ठेकेदार, बिचौलिया, दलाल, तस्करका युवराजहरू भ्रष्ट छन्। उनीहरूमा उदण्डता चुलिँदो छ। तिनले के केसम्म गर्न सक्छन् केही घटना हेरौँ। यी भन्दा पनि रोचक, मर्मस्पर्सी र घीनलाग्दा घटना पाठकहरूले आआफ्नो क्षेत्रमा देखी, सुनी र बुझिरहनुभएको होला ! तिनलाई खोजमेल गरेर लेख्दा धेरै हुने भएकाले प्रतिनिधि घटनाका रूपमा प्रतिनिधि युवराजका तीन उदाहरणप्रस्तुत गरिएको छ।

उदाहरण एक

गएको महिना पोखरामा तास खेल्दै मद्यपान गरिरहेका राजकुमारहरूलाई कसैले भन्यो, स्याङ्जा वालिङमा भैरहेको फुटबलमा फलानाले कस्तो गजवको पास दिएछ ! हँ त्यस्तो राम्रो खेलेछ। ओहो त्यो खेल त हेर्नुपर्छ, एक युवराजले भन्यो। हो हो हेर्नुपर्छ, उसको भनाइमा सबैले साथ दिए। ल जाउँ जाउँ...। सबै जर्‍याक जुरुक्क उभिए। तर त्यसैमध्येको एकले भन्यो, कसरी जाने ? खेल पोखरामा भैरहेको हो र ? त्यो त वालिङमा भैरहेछ। कम्तीमा पनि एकडेढ घण्टा त पुग्नै लाग्छ अनि डेड घण्टाको फुटबल ‘घण्टा’को हेरौला ! हामी पुग्नुअगाडि नै नब्बे मिनेटको गेम सक्किइसक्छ।  

हो नि, कहाँबाट भ्याइन्छ त? के गर्ने ?कस्तो देशमा जन्म लिइएछ ? हेर्नैपर्ने खेल मिस भयो ! लगत्तै अर्कोले आफ्नै तिघ्रामा प्याट्ट हिर्काएर हत्तेरी भनेर लामो सुस्केरा हाल्यो। उसको त्यो खिन्नता सुनेर अर्को युवराजको कन्सिरी तात्यो। उसले भन्यो, कस्तो लाछी कुरा गरेको ? दुखी नहो केटा। त्यो फुटबल हेर्ने उपाय छ र म त्यो व्यवस्था गर्छु। उसले मोबाइलबाट प्रभु एयरलाइन्समा डायल गदै भन्यो, तँ कहाँ छस् ? हामीलाई वालिङमा चलिरहेको फुटबल हेर्नजानुप¥यो। तँ आइहाल् त। पैसाको चिन्ता नगर म तिर्छु। उसले भन्यो, ल तिमीहरूआइहाल म हेलिकोप्टर स्टार्ट गर्दैगर्छु।  

हेलिकोप्टर उडी त हाल्यो। कहाँ ल्यान्ड गर्ने ? युवराजहरूले भने, यताउता गर्दा खेल मिस हुन्छ। त्यही ग्राउन्डमा अड्या। पाइलटले खेलिरहेको ग्राउन्डमा गर्दा अप्ठेरो पर्छ अलिपर बारीको पाटामा गर्दा हुँदैन ? युवराजहरूले भने, हामी भिआइपी हौँ। परेको बेहोर्छाैँ। खेल भैरहेकै ठाउँमा ल्यान्ड गर। हेलीले ग्राउन्डको फन्का लगायो। धुलो बेपत्ता उड्यो। खेलाडीहरू किन हेली आयो भनेर तितरवितर भए। एकछिन त भागाभाग नै भयो। हेलिकोप्टर ग्राउन्डमा ल्यान्ड भयो। चारजना फिट्टु युवराजहरू पनि हेलीबाट उत्रिए र भने, हामी यो खेल हेर्न पोखरादेखि आएका हौँ अब खेल सुरु गर।

उदाहरण दुई

पोखरामै अर्का एक युवराजले सडकमा लाइसेन्स र मापसे चेक गर्न बसेका प्रहरीको हात भाँचिदिए। युवराजका अगाडि बर्दीधारी भए पनि प्रहरीको के जोर चलोस् ? युवराजहरूका जाँड धोक्ने साथीहरू नै प्रहरीका हाकिम छन्। त्यसैले युवराज फुक्काफाँड छन्।  

उदाहरण तीन

देशको शान्तिसुरक्षाको हेडसर मानिने गृहमन्त्री रवि लामिछाने पनि यहीसाता नवयुवराजका रूपमा देखापरे। उनलाई अरूले आरोप लगाएका होइनन् स्वयम् देशको सर्वोच्च अदालतको पनि संबैधानिक इजलासले दोषी ठहर गरेको हो। जसका कारण गृहमन्त्रीमात्र होइन कि उनको निर्वाचित सांसदको पदसमेत गयो। पार्टीको अध्यक्ष पद पनि बिलायो। सबैलाई अवगत छ, रविले नेपाली नागरिकता छाडेर अमेरिकी नागरिकता लिएका रहेछन्। उतैको पासपोर्ट पनि समाएका रहेछन्। तर उनले नेपाली नागरिकता र पासपोर्ट पनि चलाउँदा रहेछन्। उनी कहिले नेपाली नागरिक बनेर हिँड्ने र कहिले अमेरिकी नागरिक बनेर उड्ने रहेछन्। यो कुरो गएको मंसिर ४ गते भएको निर्वाचनमा उनले उम्मेदवारी दिनुअगाडि नै निस्किएको थियो। अदालतमा मुद्दा पनि पर्‍यो। मुद्दा चलिरह्यो। तर उनले होइन भनेर प्रतिवाद गरिरहे। पुरानै नेपाली नागरिकताको प्रमाणपत्रसाथ उम्मेदवारी दिए। आमाचकारी गाली दिए। चुनाव जिते। प्रतिनिधिसभाको सांसद बने र त्यसपछि प्रचण्डले नेतृत्व गरेको सरकारको उपप्रधान तथा गृहमन्त्री बने। तर सर्वोच्च अदालतका पाँचजना न्यायाधीशको पूर्ण इजलासले माघ १३ गते गरेको फैसलाले उनका सबै पद नारायणहरि बने। उनी एक महिनाअघि देशको गृृहमन्त्री बनेका थिए।

माथिका तीनै उदाहरण भ्रष्टाचारका हुन्। राजनीतिशास्त्रका एक प्राध्यापक भन्छन्, भ्रष्टाचार अपराध हो। आधुनिक संसारमा यो बठ्याइ, झुठ, बेइमानी, नैतिकताहीन जघन्य अपराध हो। जुन समाजमा राजनीतिलाई ब्यक्ति वा परिवारको संपत्ति मानिन्छ त्यहाँ भ्रष्टाचार व्याप्त हुन्छ। अनि यो अधिनायकवादतिर जान्छ। देशको अस्तित्व नै संकटमा पर्छ। त्यसैले भ्रष्टाचारविरूद्ध कठोरता अपनाइन्छ। यो हदैसम्म दण्डनीय हुन्छ। उनले वर्तमानसँग भ्रष्टाचारलाई जोड्दै भने, रविको पद गयो तर उनीजस्ता यहाँ अरू कोको छन् ? अब ब्यापक खोजी हुनुपर्छ। पूर्व प्रधानन्यायाधीश, न्यायाधीश, मन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव, सचिव ? अरू अरू ? मानका खातिर मान पाइरहेका युवराज-युवराज्ञीहरू ? साम्राज्ञीहरू ? राजकुमार राजकुमारीहरू ? संघीय गणतन्त्र नेपालमा दण्ड सजायबाट उन्मुक्त छन्। उनीहरूलाई संविधान, कानुन र सुरक्षा संयन्त्रले कठघरामा ल्याएको छैन। दण्डित गराउन सकेको छैन। नेपालमा कानुनी राज हुँदो हो त सानालाई ऐन ठूलाबडालाई चैन हुने थिएन।

निजी लाभका लागि शक्तिको दुरूपयोग गर्नु भ्रष्टाचार हो। जघन्य अपराध हो। विश्वव्यापी मान्यता यही हो। लोकतान्त्रिक समाजमा कानुन सबैका लागि मान्य हुन्छ। कानुनका अगाडि सबै समान हुन्छन्। कानुनको उल्लंघन दण्डनीय मानिन्छ। गैरकानुनी काम जोसुकैले गरोस्, कानुनअनुसार ऊ दण्डित हुनुपर्छ। प्रजातान्त्रिक मुलुकमा जो जुनसुकै पदमा पुगे पनि कानुनको उल्लंघन उसका लागि क्षम्य हुँदैन। ऊ दण्डित हुनुपर्छ। भर्खरै बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले जरिवाना तिर्नुपर्‍यो। देशका प्रधानमन्त्रीले जरिवाना तिर्नुपर्दैन भनिएन। बरु उनले जरिवाना तिरेको चर्चित समाचार बन्यो। यसले के सन्देश प्रवाहित ग¥यो भने कानुनका अगाडि सबै समान छन्। तर नेपालमा कानुनले दण्डनीय भनेर मुद्दा चलिरहेको व्यक्तिलाई बाहिर निकाल्न सांसद, नेता र मन्त्री तथा प्रधानमन्त्री नै खुलेआम वक्तव्य दिइरहेछन्। उनीहरूका पछाडि अन्धभक्तहरू देवत्वकरण गर्दै नारा, जुलुस, प्रदर्शन गरिरहेछन्। सर्वोच्चलाई समेत छाडेनन्। फूलमाला अवीर यात्रा गर्न तयार छन्।  

यो कानुनीराजको सिधै अवहेलना हो। त्यसैले नेपालमा दण्डहीनता चुलिएको छ। दोषीहरूको लहरमा सत्तामा रहिरहेकाहरू अर्थात दोषीमाथि कारबाही गर्ने जिम्मेवारी बोकेकाहरूमाथि नै कडा कारबाही गर्नुपर्ने अवस्था विद्यमान छ। दुईवटा पासपोर्ट दुरूपयोगको मुद्दा टुंगो नलाग्दासम्म गृहमन्त्रीको दाबी त के पार्टी सभापति पनि रवि लामिछानेका लागि अनैतिक हो। चुनावमा चमत्कार देखाएका रविले आफूलाई शुद्धीकरण गर्न पनि सफा बनेर देखाउनुपर्छ।

नेपालमा भ्रष्टाचार चरमचुलीमा छ। जेलमा हुनुपर्नेहरू शासनसत्तामा विराजमान छन्। कारबाही गरिनुपर्नेहरू शासनसत्तामा रहेपछि उनीहरूले अपराधलाई प्रोत्साहन गरिरहेको उदाहरण दिइन थालेको छ। यो देश, जनता र भविष्यका लागि विडम्बना हो। के अब दोषीहरूमाथि कारबाही होला ? अहम् सवाल यही हो।

कानुनका अगाडि सबलाई बराबर अर्थात कानुनी राजका लागि विगतमा राजतन्त्र फ्याँकेर लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको हो। राजनीतिक दलका नेताहरूलाई नै राजा ज्ञानेन्द्रहरू बनाउन जनताले आन्दोलनमा रगत पसिना बगाएका र जीवन न्यौछावर गरेका थिएनन्। राजाको हुकुमी शासन र दण्डहीनता दलका नेताहरूलाई सुम्पन गणतन्त्र ल्याइएको होइन नत नवपारसहरूलाई फुक्काफाल पार्न यो व्यवस्था स्थापना भएको हो। कानुनी सजाय भुक्तान गरिरहेका दोषीहरूलाई सजायमुक्त गराउन नै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो ? अवश्य होइन। जनआन्दोलन त्यसको विरोधमा गरिएको आन्दोलन थियो। गणतन्त्रको आन्दोलन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र बहालवाला प्रधानमन्त्री प्रचण्डले रिहा गर्छु भनिरहे जस्तो जेलमा सजाय भोगिरहेका अभियुक्त र अपराधीहरूलाई जेलबाट निकाल्न भएको थिएन। ठूलाठूला अपराध गरेका, जिउँदै मानिसलाई आगो लगाउने, काटीकाटी मानिस मार्नेहरूलाई उन्मुक्ति दिन जनआन्दोलन भएको थिएन। न त एउटा ज्ञानेन्द्रको ठाउँमा धेरै ज्ञानेन्द्र जन्माउन र बहुतै युवराजहरूका लागि यो व्यवस्था ल्याइएको थियो।

ती प्राध्यापक भन्छन्, कुनै पनि नेताले पार्टीलाई जोगाउन गठबन्धन गर्नुपरेको हो भन्ने कुतर्क अगाडि सार्छ भने त्यसले कान खोलेर सुनोस्–सक्छौ ‘सार्प’ नीति, नियम र कार्यक्रम अगाडि सारेर पारदर्शी हिसावले वामपन्थी–लोकतान्त्रिक पार्टी सञ्चालन गर, सक्दैनौ भ्रष्टाचार गरेर पार्टी सञ्चालन गर्दै सत्ता कब्जा गरौँला भन्ने सपना देखेका छौ भने त्यस्तो दुस्वप्न देख्न छाड। व्यक्तिगत स्वार्थ निम्ति दर्ता गरिएको पार्टी अब अगाडि बढ्न सक्दैन, न त नेताका नामले नै पार्टी चल्नेवाला छन्। भ्रष्टाचारको अपराधमा सजाय भोगेर जेलबाट निस्कँदा खुमबहादुर खड्का र चिरंञ्जीवी वाग्लेलाई झैँ हजार किलोको माला र अबीर लगाएर कार्यकर्ताले स्वागत गरिहाल्छन् नि भन्ने कहीँकतै आश गरेर बसेका छौ भने थाहापाइराख, जनताको मनबाट कुनै हालतमा माफी पाउने छैनौ। भ्रष्टाचारीले कठोर दण्डको भागीदार बन्नै पर्नेछ।  

भ्रष्टाचार जघन्य अपराध हो। यो यस्तो महारोग हो जसले सरकार, अदालत, व्यापार, उद्योग, जलस्रोत, नागरिक समाज, सञ्चारदेखि स्वास्थ्य, शिक्षा, खेलकुदसम्मलाई पनि नारायणहरि बनाइदिन्छ। त्यसैले यहाँ स्कुल, कलेज, विश्वविद्यालय पैसा कमाउने फ्याक्टरी भए। उद्योगहरू बन्द गरिए र त्यहाँ काम गर्नेहरू अरबका मजदूर बने। भ्रष्टाचारमा लिप्त राजनीतिले सार्वजनिक संपत्ति हडपेर, सरकारी खर्च कुम्ल्याएर, कर्मचारीलाई दास बनाएर, व्यापारीलाई पोसेर, साथीभाइ र परिवारको मिलेमतोमा उकासिएपछि साम्राज्य कायम भैहाल्छ भन्ने विश्वास भ्रष्ट नेताले गरेको छ भने यो असंभव छ। भ्रष्टाचारबाट झन् अपराध र भ्रष्टाचार मौलाउनेछ। आमजनता सडकमा झन् उत्रनेछ। त्यसैले भ्रष्टाचारीको पुस्ता÷दरपुस्ता खोतलेर कठोर कारबाही गर्ने समय निकट छ। पार्टी, पद र पैसाको आडमा देश र पार्टीको नेतृत्व कब्जा गरेकाहरूमा व्यापारी, तस्कर, कालाबजारी, माफिया र दलालहरूबाट जीवनभर सत्ता र शक्तिमा टिकिरहन्छु भन्ने भ्रम कसैमा नरहोस्।  

प्राध्यापकले थपे, अब नेताकै शुद्धीकरण जरुरी भैसकेको छ। एक्काइसौँ शताब्दीमा देश र जनतालाई केन्द्रविन्दुमा राखेर अगाडि बढ्न नसक्ने पार्टी र नेतृत्वको कुनै अर्थ छैन। त्यस्तो पार्टी केको पार्टी जो संगठित अपराध र आतंकको संरक्षणमा स्थापित हुन खोज्छ ? यसबाट देशमा झन् दरिद्रता, भोकमरी, बेरोजगारी, भ्रष्टाचार र विभेद बढ्नेछ। अब त्यस्तो पार्टीको नाम जे भए पनि कुनै काम छैन। अझै पनि पैसा, गुण्डा, जालझेलको बलमा पुरानो साम्राज्य कायम रहने सपना कसैले देखेको छ भने त्यो उसको दिवास्वप्न मात्र हो।

प्रकाशित: १८ माघ २०७९ ००:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App