मंगलबार बिहान डा. दिनेशचन्द्र पोखरेलसामु आफ्नै स्वास्थ्य जाँच भइरहेको थियो, बिहानको ६ः३० बजे। चिकित्सा कक्षको बेडमा यो पंक्तिकार पल्टिएको थियो, डाक्टर मेरा हातको नाडी छामिरहेका थिए। हातले नाडीको चाल पत्ता लगाउँदै गर्दा उनी मुलुकको प्रमुख रोगबारे चर्चा गर्दै थिए। उनको निचोड थियो, मुलुकको प्रमुख र भयावह रोग नै भ्रष्टाचार हो। डाक्टरले बिरामीको नाडी छाम्दै देशकै नाडीको चाल पक्रिए र बोले– मुलुक भ्रष्टाचारको भयावह रोगले आक्रान्त भयो। मेरो पत्रकारिता पेसाबारे उनी जानकार भएकाले हुनसक्छ, उनले एकाबिहानै मुलुकका प्रमुख समस्याबारे आफ्नो धारणा राखेका हुन्। बिग्रिएको राजनीति, युवाको विदेश पलायनजस्ता प्रमुख समस्याबारे आफ्ना विचार राख्दै चिन्ता व्यक्त गरे। उनी भन्दै थिए, 'जसरी गाउँबाट सहर आएको मानिस गाउँ फर्कंदैन, त्यसैगरी अध्ययनका नाममा बिदेसिएका युवा पनि नेपाल फर्कने छैनन्।'
कुनै बेला किसुनजीका निजी चिकित्सकको जिम्मेवारी सम्हालेका पोखरेल, नेपाल प्रहरीका डाक्टर हुन् र सानो ‘भरोसा फार्मेसी’ बाट आफ्नै पौरखले भरोसा अस्पतालको स्वरुप दिने ऊर्जावान उद्यमी हुन्। उनको मनमा कति धेरै चिन्ता रहेछ! भ्रष्टाचार मुलुकको प्रमुख समस्या हो भन्नेमा उनीसँग सहमत भएरै भ्रष्टाचारमा केन्द्रित केही पंक्ति कोर्न खोजिएको हो। उपचार कक्षबाट बाहिर निस्कनासाथ मेरो मस्तिष्कमा खेल्न थाल्यो– एकाबिहानैदेखि राति अबेरसम्म बिरामीका पीरमर्का, एऒ्ढयाआत्थुमा बिताउने उनको दिलदिमाग मुलुकको रोगप्रति चिन्तित रहेछ। उसो भए भ्रष्टाचार मुलुकको प्रमुख रोग हो? डाक्टरको निचोडमा विमति राख्ने सायद स्थान छैन। छोटो कुराकानीकै क्रममा उनले निदानका सम्भावना पनि औँल्याए। उनी आफैँ त्यसको कारक औंल्याउँदै थिए, 'आर्थिक उन्नति नभएर होला!'
डा. दिनेशको चिन्ता मनमा खेलाउँदै गर्दा अर्का बहादुर डाक्टर गोविन्द केसीको अभियान सम्झनामा आयो। आठौंपटक आमरण अनशन बसेर सामाजिक र राजनीतिक जीवनमा नाम कमाएका केसीको चिन्ता पनि त बढ्दो भ्रष्टाचार नै हो। उनी अहिले सडकदेखि सदनसम्म भौँतारिइरहेका छन्। उनी नेताहरूलाई सूचित गरिरहेका छन्। सभामुखलाई भेटेर भ्रष्ट आचरणसँग सम्बन्धित विशेष प्रस्तावमाथि गहन छलफलको आवश्यकता औँल्याउँदै छन्। भ्रष्टाचारविरुद्ध केसीको अभियानले आकार लिइरहेको भए पनि राजनीतिक वृत्त संवेदनशील बन्न सकेको छैन। डा. केसी र डा. दिनेशको निचोड एउटै भए पनि उनीहरूको आपसी सम्बन्धबारे जानकारी छैन। केसीको अभियानबारे पोखरेलको धारणा के कस्तो छ, त्यो पनि थाहा छैन। र, जानकारी लिन आवश्यक पनि छैन। डा. केसीले पटक–पटक आफ्नो ज्यान बाजी राखेर गरेर सत्याग्रहमा उत्रिएका घटनाबारे विस्तृतमा चर्चा नगरौँ। केसीले मेडिकल माफियाविरुद्ध जेहादसँगसँगै आम नेपालीको स्वास्थ्य अधिकारबारे आवाज उठाउँदै आएका छन्। र, पछिल्लो समय भ्रष्टाचारमाथि उनी उत्रिएका छन्। आठ–आठपटकसम्म अनशन बसेर सरकारलाई गलाउने केसीसँग अनशन तोड्न सरकारले सम्झौता गर्छ तर कार्यान्वयन गर्र्दैन। केसी नवौंपटक सत्याग्रह गर्ने चुनौती दिँदैछन्। एउटा जिम्मेवार सरकारबाट केसीजस्ता अभियन्तासँग खेलबाड नहुनुपर्ने हो तर यहाँ आफैँले गरेको सम्झौता कार्यान्वयन नगरी हाम्रा स्वनामधन्य नेतागण सुशासनका गफ गरिरहेका हुन्छन्। कुराकानी र सार्वजनिक खपतका निम्ति गरिने भाषणमा नेतागण जसरी भ्रष्टाचारविरुद्ध कुर्लन्छन्, काम गर्ने बेला त्यसैगरी पन्छिन्छन्।
राजनीति गर्नेहरुमै भ्रष्टाचार रोग उच्च छ। राजनीति गर्नेहरू आफैं भ्रष्टाचारमा चुर्लुम्म डुबेको अवस्थामा उनीहरूबाट त्यसविरुद्ध कुनै कारबाही हुन्छ भन्ने कुरामा कुनै आशा छैन। के देखिन्छ भने डा. केसीलाई थामथुम पार्न राजनीति गर्नेहरू अहिले उनको अभियान निस्तेज गर्ने राजनीतिमा जुटेका छन्। कस्तो विडम्बना! भ्रष्टाचार नियामक निकायमाथि नै अहिले भ्रष्ट आचरणको आरोप लागेको छ। संवैधानिक जिम्मेवारी र उच्च ओहदामा पदासीन व्यक्तिमाथि सार्वजनिक तहबाट, सडकबाट आरोप आउनु राम्रो होइन। आरोप–आरोपका लागि मात्र हो वा त्यसको निश्चित कुनै आधार छ, त्यसबारे पदमा बसेकाले मार्गप्रशस्त गर्नु उनीहरूकै हितमा हुन्छ। तर हाम्रो समाजमा कर्तव्यपरायणता, जवाफदेहीजस्ता मानवीय मूल्य स्खलित देखिँदै छ। त्यसको पक्षमा वकालत गर्नेहरू राजनीतिको बृहद् छायामा हराउने खतरा छ। राजनीतिकर्मी निर्णायक भएको वर्तमान समयमा कतिपय सामाजिक अभियान छायामा पर्ने डर हुन्छ, अहिले त्यही भइरहेको छ। सत्ताप्राप्ति र सत्ताकै बलमा पैसा आर्जनलाई राजनीतिको अभिष्ट ठान्नेहरूको बोलवालामा सामाजिक अभियन्ताहरूले धेरै मिहिनेत गर्नुपर्ने देखिँदै छ।
माथि चर्चा गरिएका डाक्टरहरूले औँल्याएजस्तै मुलुकको प्रमुख समस्या भ्रष्टाचार हो त? को कति भ्रष्टाचारी छन्? यी प्रश्न केलाउन आवश्यक छ। केही महिनाअघि नागरिक दैनिक अन्तर्गतको अनुसन्धानात्मक निकाय नागरिक रिसर्च ब्युरो (एनआरबी) ले गरेको सर्वेक्षणले भ्रष्टाचारका 'राजा' राजनीति गर्ने, मुलुकको प्रशासन चलाउनेहरू थिए। त्यस्तै प्रहरी दोस्रो वरीयतामा थियो भने वकिल र न्यायाधीश तेस्रो, एनजिओकर्मी चौथो र पाँचौँ स्थानमा भ्रष्टाचार नियमन निकाय थिए। एनआरबीले मुलुकका ३३ जिल्लाका १ हजार ७० जना विभिन्न क्षेत्रका नागरिकबीच गरेको सर्भेक्षणले राजनीतिकर्मी र सरकारी कर्मचारी सबैभन्दा बढी भ्रष्टाचारमा लिप्त रहेको देखाएको थियो।
शान्ति–सुरक्षाको जिम्मेवारी लिएका प्रहरी दोस्रो नम्बर र न्यायसम्पादन क्षेत्रका न्यायाधीश र उनीहरुलाई न्यायकर्ममा सघाउने वकिललाई तेस्रो नम्बरमा भ्रष्ट देखाइएको थियो। गत माघ १२ मा प्रकाशित सर्भेक्षणमा समाजसेवाको पगरी गुथेका गैरसरकारी संस्थामा कार्यरत एनजिओकर्मी परेका थिए भने पाँचौं स्थानमा जो भ्रष्टाचार नियन्त्रण क्षेत्रकै जिम्मेवार निकायमा कार्यरत छन्, उनीहरूमाथि नै जनताले औँलो उठाएका थिए। सर्भेक्षण आफैँमा जनभावनाको प्रतिविम्व हो। मुलुकको कार्यपालिका, न्यायपालिका र भ्रष्टाचार नियन्त्रण–नियमन निकाय नै जनताका नजरमा प्रमुख भ्रष्टाचारी रहेछन् भन्ने देखिन्छ।
सर्वेक्षणको विश्लेषण गर्दा राजनीति गर्नेहरू, प्रहरीहरू, एनजिओकर्मी तथा वकिल, न्यायाधीश कुनै न कुनै रुपमा जनतासँग सरोकार राखिरहेका हुन्छन्। जनताले आफूले चिनेजानेका पेसाकर्मीकै विगत वर्तमान, पारिवारिक स्थिति थाहा हुन्छ र त्यसै आधारमा धारणा राख्छन्। तर सर्वेक्षणमा भाग लिनेले भ्रष्टाचार नियमन निकायमाथि औँलो उठाउनुको अर्थ यो निकाय आफ्नो मुख्य जिम्मेवारीबाट च्यूत भएको छ भन्ने धारणा बनाउनु हो। जसले नियमन गर्नुपर्ने हो, जनताको नजरमा त्यो आफैँ भ्रष्टाचारी भएको छ भने त्यस्ता निकायबाट के अपेक्षा राख्ने? केसीको प्रहार अहिले त्यस्तै नियमनकारी निकायमाथि चलेको छ। नेताहरूले बुझेर पनि बुझ पचाएका छन्। कारण, उनीहरू आफैँ भ्रष्ट छन्, जनताको नजरमा एक नम्बरी भ्रष्ट कहलिएका छन्। त्यसैले अब राजनीति गर्नेहरूमाथि चर्को दबाबको आवश्यकता छ। उनीहरूलाई दबाब दिने सामाजिक अभियान घनिभूत हुनु पर्दछ, पेसाकर्मीहरूले आवाज बुलन्द गर्नु आवश्यक छ। हाम्रो नियम, कानुन र संवैधानिक व्यवस्थाले राजनीति गर्नेहरूलाई प्रशस्त जिम्मेवारी दिएको छ। उनीहरूबाट पालना भएको छैन भने सच्याउने काम पनि जनताकै हो।
कतिपय सामाजिक अभियन्ताले राजनीतिज्ञहरूमाथि आरोप–प्रत्यारोप गरेको देखिन्छ, सुनिन्छ। राजनीतिज्ञलाई आलोचना गरेर जिम्मेवार बनाउन सकिँदैन बरु उनीहरूलाई विश्वासमा लिनु उपयोगी हुनसक्छ जसका लागि धैर्य, संयम र निरन्तर अभियान खाँचो छ। भावावेशमा आएर चर्का नारा, सर्तहरू अघि सार्ने भन्दा परिस्थिति आँकलन गर्दै अघि बढ्नु बुद्धिमानी हुन्छ। यही नै अहिलेको आवश्यकता हो। कारण, बाहिर सतहमा देखिए भन्दा निकै गहिरो प्रहार र प्रभाव पारेको छ भ्रष्टाचारविरोधी अभियानले। एक खाले छटपटाहट सुरु भएको छ शक्ति केन्द्रहरूमा।
किन भ्रष्टाचारविरुद्ध आवाजले आकार लिँदैनन्, नेपाली समाजमा? यो प्रश्नको उत्तर खोज्न आवश्यक छ। समाजले भ्रष्टाचारलाई स्वीकृति दिएको छ। समाजमा जसरी पनि कमाउनु पर्छ भन्नेहरूको संख्या ठूलो छ। नियम मिचेर, घुस खाएर जसरी कमाए पनि त्यस्ता मानिसले पौरखीको उपमा पाउने समाजमा भ्रष्टाचार विरुद्धका आवाज र अभियान धिमा गतिमै अघि बढ्छन्, धैर्य गरौं, अभियान जारी राखौँ। सत्यमेव जयते!
प्रकाशित: ९ भाद्र २०७३ ०४:३७ बिहीबार