१४ माघ २०७९ शनिबार
विचार

भाग शान्ति जय नेपाल !

एमाले नेता रघुजी पन्त चिनाइरहनुपर्ने नाम होइन। उनी सिद्धहस्त लेखक, पत्रकार त हुन् नै, साथै प्रतिनिधिसभा सदस्यसमेत हुन्। केही दिनअघि उनले सार्वजनिक रूपमा जेलको अनुभव सुनाउँदै भने, एकदिन जेलमा सजाय भोग्न एउटा अभियुक्त आइपुग्यो। ऊ हेर्दा महिला जस्तो र गढेर हेर्दा पुरुष जस्तो लाग्थ्यो। जेलरले भने तिमीलाई कुन जेलमा पठाउँ? उसले महिला जेल नै माग्यो। तर महिला जेलमा उधुम भयो। महिलै महिला भएको जेलमा ऊ पुरुष भूमिकामा देखापर्‍यो। बर्बाद भयो भनेर जेलरले उसलाई पुरुष जेलमा सारिदिए। पुरुष जेलमा त ऊ महिलाको काम पो गर्न थाल्यो। जेलमा हाहाकार नै मच्चियो। नैतिकताको ठूलो संकट पर्‍यो। न पुरुष जेलमा हाल्नु न महिला जेलमा सरुवा गर्नु !

रघुजीले भनेजस्तै अहिले नेपाली कांग्रेसको स्थिति यस्तै छ। बसेको छ प्रमुख प्रतिपक्षमा, लहसिन्छ सरकारसँग!

लेखाइको दुनियाँबाट राजनीतिको फाँटमा सरेका रघुजीले प्रयोग गरेको बिम्बबाट लेखको सुरुवात गर्नुको कारण बहुचर्चामा रहेको राजनीतिको अवस्थालाई दर्शाउन हो। रघुजीको बिम्ब रोचक, घोचक र बुझ्न सहज भएर मात्र उद्धरण गरिएको होइन, यो त संसदीय व्यवस्थामा आस्था भएको प्रजातान्त्रिक राजनीतिक दलको दयनीय र निम्छरो अवस्थाको उदाहरण दिनलाई हो। जसबाट सात दशक बढी समयसम्म उसले गरेको योगदान र देश तथा जनताबीच आर्जन गरेको ख्याति नै नारायणहरि भैरहेछ।

 संसद्को प्रमुख दल भएर पनि सात दलको समीकरणबाट बनेको सरकारलाई विश्वासको मत दिएर प्रतिनिधिसभालाई कांग्रेसले प्रतिपक्षीबिहीन बनाइदियो। संविधान, संविधानवाद र लोकतन्त्रको पर्याय भनिने दलको कहीँ नभएको जात्राको हुतिहारा चालले ऊ राजनीतिक दल हो कि पिछलग्गु झुण्ड हो बुझ्न कठिन बन्दै गैरहेछ। ऊ सरकारलाई विश्वासको मत दिएर पनि नकच्चरो जसरी प्रमुख प्रतिपक्षीको दावा गरिरहेको छ। सभ्यसमाजमा कहीँ यस्तो जात्रा हुँदैन। अनुसन्धानकर्ताहरूका लागि समेत बिपी कोइरालाले स्थापना गरेको पार्टी ‘न भाले न पोथी’ दल बन्न पुगेको देखिँदैछ।

भोलि माघ ५ गते प्रतिनिधिसभाका सभामुखको निर्वाचन हुँदैछ। त्यसपछि उपसभामुख र अन्त्यमा राष्ट्रपतिको निर्वाचन हुनेछ। सबै पद आफैँलाई चाहिन्छ भनेर गठबन्धनमा रहेको जसपा र माओवादीलाई बिच्काएर एमाले समीकरणमा धकेल्ने कांग्रेस नेतृत्व यतिखेर सभामुख वा राष्ट्रपतिमध्ये एउटा पदका लागि नीति, सिद्धान्त, मर्यादा र संसदीय व्यवस्थाको न्यूनतम मर्मलाई तिलाञ्जली दिएर लम्पसार छ। एउटा पद पाउन पटक-पटक सत्तामा पुगेको देशकै ठूलो पार्टीको बहकावमा लागेर समीकरणका सदस्यहरूले आफूलाई तोड्ने, धोका दिने षडयन्त्र गर्न सक्लान्? आफैँले आफैँलाई धोका दिएर फुट्लान् ? यस्तो संभावना छ?

यो आलेख तयार गरिरहँदासम्म (मंगलबार अपराह्न) सत्तासीन समीकरण कुन दलले कुन मन्त्रालय नेतृत्व गर्ने भन्ने बाँडफाँट गरी मन्त्रीहरूले सपथ ग्रहण गरिसकेका छन्। यो दोबाटोमा आएर राजनीतिको खाल सञ्चालन गरिरहेका समीकरणका दलहरू कांग्रेसको प्रलोभन र च्याँखे दाउमा फस्लान्? राजनीतिशास्त्रका एक प्राध्यापकको विचारमा यो खेलभित्रको रोचक, गंभीर र पत्यार नलाग्ने कुरा कांग्रेस आफैंभित्र च्याँखे थाप्ने कुरामा सहमति नहुनु हो। कांग्रेस यस कुरामा माथिदेखि तलसम्म विभाजित छ। शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, प्रदीप पौडेल, चन्द्र भण्डारीहरू स्पष्ट प्रतिपक्षमा बस्नुपर्ने बताइरहेका छन्। तर सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल च्याँखे दाउमा लिप्त छन्।

यो लम्पसारवादी खेलको एउटा भित्री आसय भने समीकरणका सुप्रिमो केपी शर्मा ओलीको प्रभावलाई सके समाप्त पार्ने र नसके एक्लै केही गर्न नसक्ने अवस्थामा पुर्‍याउने गाइँगुइँमा सुनिएको छ। के यो संभव होला? यो च्याँखे दाउबाट प्रधानमन्त्री पुष्पकमल दाहाल लोभिएलान्? लोभिए भने पनि उनले थप के पाउलान् ? प्रधानमन्त्री ? यस पदमा त उनी पुस १० गते नै विराजमान भैसकेका छन्। त्यसो हो भने प्रचण्ड के कुराबाट लोभिएलान्? राष्ट्रपति? सभामुख? यी पद त च्याँखे दाउमा परे भने पनि माओवादीले कांग्रेसलाई नै बुझाउनुपर्नेछ। कांग्रेसलाई पद बुझाउन उनले समीकरण फोड्ने मूर्खता गर्लान्? नगर्नुपर्ने हो। त्यसो भए अब के हुन्छ ? यसको जवाफ आफू ज्योतिष नभएकाले दिन सकिँदैन तर विश्लेषकका रूपमा संभावित परिस्थितिको आँकलन गर्नु आलेखको मनसाय हो।

लोकतन्त्रमा प्रमुख प्रतिपक्ष भनेको सत्तापक्षको आँखा, नाक, मुख र कान हो। भनाइ नै छ, लोकतन्त्रमा सरकारलाई निरंकुश र अधिनायकवादी बन्नबाट प्रतिपक्षले मात्रै जोगाउन सक्छ।संविधान, कानुनका धारा र दफाहरूको पालना गर्नबाट सरकारलाई बाध्य पार्ने नै प्रतिपक्षले हो। संवैधानिक प्रतिज्ञाको पालना, त्यसअनुरूपको आचरण सरकारले गरिरहेको छ कि छैन? अनुगमन गर्ने नै प्रतिपक्षले हो। त्यसैले प्रतिपक्षलाई भोलिको सरकार पनि भनिएको हो। बहुमतले सरकार सञ्चालन गर्ने र प्रतिपक्षले पिछडिएका जनसमुदाय, संबोधन गर्न नसकेका विषयहरूबारे प्रश्न उठाउने हो। विकल्पको छायाँ सरकार प्रस्तुत गर्ने हो। महँगी, बेरोजगारी, कालाबजारी नियन्त्रण र तस्कर, माफियाको चलखेलविरुद्ध आवाज उठाएर जनताबीच आफूलाई लोकप्रिय बनाउने काम प्रतिपक्षले गर्ने हो। संसद्का संसदीय समितिहरूलाई सशक्त बनाउने प्रतिपक्षले हो।

त्यसैले बिपी कोइराला, गणेशमान, कृष्णप्रसाद भट्टराईले निर्दलीय व्यवस्थालाई अस्वीकार गरेका हुन्। तर आजको कांग्रेस आफ्ना संस्थापकहरूले कोरेको मार्गबाट विचलित भैरहेकाले दलदलमा फसिरहेको हो। कांग्रेस प्रजातान्त्रिक भएर पनि राष्ट्रियताको मामिलामा सधैं कमजोर रह्यो। अब त प्रजातन्त्रका मुद्दामा पनि नारायणहरि बनिरहेको छ। वामपन्थीहरूका पनि कमजोरी नभएका होइनन्। उनीहरू राष्ट्रियताको मामिलामा सशक्त भए पनि जनवादी केन्द्रियताले गर्दा उदार लोकतन्त्रवादी बन्न सक्दैनन्। दुई प्रमुख दलबीचको खिचातानीले प्रजातान्त्रिक ब्यवस्थामा समस्या उत्पन्न भैरहेका छन्। यसैले गर्दा निर्वाचनमा साना र क्षेत्रीय दलहरू, स्वतन्त्र उम्मेदवार क्रमैसँग देशभर बढिरहेका छन्। मतदाता पनि दलबाट बिमुख हुँदै गैरहेका निर्वाचन परिणामले देखाइरहेछ।

लोकतन्त्रमा सत्तापक्ष मात्र जिम्मेवार हुने होइन, प्रतिपक्ष पनि जनताले निर्देशित ठाउँमा बस्नुपर्छ। प्रमुख पार्टीहरू आफ्नो ठाउँमा नबसेकाले साना पार्टीहरूलाई साथ नलिइकन ठूला पार्टीहरू सत्तामा पुग्न नसक्ने अवस्थामा पुगेका हुन्। यो नै लोकतन्त्रको स्वाभाविक विकासका निम्ति बाधक हो। भागशान्ति जयनेपालको प्रलोभनले यो अवस्थालाई अझ तरल बनाइरहेको छ।

यस्तै अवस्थामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवसरवादीहरूले बढीभन्दा बढी फाइदा उठाउने प्रयत्न गर्छन्। नेपालमा अहिले भैरहेको पनि यही हो, प्राध्यापकले किन्तु परन्तुबिना आफ्ना कुरा निर्धक्क बताए। उनले भने, यसैकारण संविधान नमान्ने दलहरूसँग पनि एकता गर्न प्रमुख राजनीतिक दल बाध्य बनिरहेका हुन्। हेर्दाहेर्दै हाम्रो राजनीतिले वर्गीय प्रतिनिधित्व छाडेर जातीय, क्षेत्रीय स्वरूप ग्रहण गरिरहेको छ। नेपालको यही अप्ठेरोमा छिमेकी तथा अन्तर्राष्ट्रिय दाताहरू धमिलो पानीमा माछा मार्न खेलकुद गराइरहेछन्। मजदूर, किसान, श्रमिकका समस्या हलगर्न मद्दत गर्नुको साटो उनीहरू जातीय, क्षेत्रीय, लैंगिक समस्यालाई मलजल गरिरहेछन्। ककस बनाउन आर्थिक सहयोग गरिरहेछन्। तर मुलुकका समस्या जातीय, धार्मिक, लैंगिकभन्दा बढी वर्गीय छन्।

प्रतिपक्ष अलमलिएकाले यहाँका आन्दोलन संविधानविरोधी, कानुनविरोधी भएर देखापर्छन्। त्यसैले हरेक आन्दोलनपछि यहाँ संविधान मिल्काइन्छ। अरू त अरू पहिलो जनआन्दोलनले बनाएको संविधान दोस्रो जनआन्दोलनले मिल्कायो। अहिले फेरि दोस्रो जनआन्दोलन र संविधानसभाले बनाएको संविधानलाई मिल्काउने खेला भैरहेको छ। विदेशीहरू पनि यसैमा लागिपरेका छन् किनभने उनीहरूलाई थाहा छ, यसो गर्‍यो भने मात्र नेपाललाई अस्थिर पारिरहन सकिन्छ। अस्थिरताको आन्दोलनमै उनीहरू आफ्ना रोटी सेकाउने तयारी गरिरहेका छन्।

लोकतन्त्रमा प्रतिपक्ष भनेको प्रेसर कुकरको सेफ्टी भल्भ हो। कुकरमा खानेकुरा पकाउँदा ताप र प्रेसर बढी भयो भने पड्कन सक्छ भनेर यसका सर्जकले सेफ्टी भल्भको ब्यवस्था गरेका हुन्। पड्कन आँटेको प्रेसरकुकरमा रहेको सेफ्टी भल्भ खुलेर भित्रको बाफलाई बाहिर निकाल्न मद्दत गर्छ र पड्केर भान्छालाई मात्र ध्वस्त पार्नबाट जोगाउने होइन कि भान्छामा रहेकाहरूको ज्यान पनि जोगाउँछ। लोकतन्त्रको सेफ्टी भल्भ भनेको प्रतिपक्ष हो।

सेफ्टी भल्भरूपी प्रतिपक्षलाई सत्ताको न्यानोमा अल्झाएर होइन, त्यसलाई त्यसकै रूपमा कार्यसञ्चालन गर्न दियो भने त्यसले लोकतन्त्रको रक्षा गर्छ। पूरै व्यवस्थालाई क्रियाशील बनाइदिन्छ। आशलाग्दो विकल्प, भरपर्दो प्रतिपक्ष र लोकतन्त्रका लागि प्रतिबद्ध ठानिएको कांग्रेसले २०४८ सालदेखि अहिलेसम्म भागशान्ति जयनेपालकै सत्ता स्वार्थको संस्कृति स्थापित गर्ने हो भने अर्को चुनावसम्म पुग्दा सिला खोज्ने अवस्थामा पुग्ने क्रमलाई कसैले रोक्न सक्दैन। आहान नै छ, भिरमा मुन्टिएर लड्न गएको गोरुलाई राम...राम... भन्न सकिन्छ, काँध थाप्न किमार्थ सकिँदैन। भविष्य बोकेका नयाँ पुस्ताका चन्द्र, गगन, विश्व, धनराज र प्रदीप पनि देउवा र उनको घेरावालसँगसँगै नारायणहरि हुने पक्का छ। सबैलाई चेतना भया!

प्रकाशित: ४ माघ २०७९ ०५:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App