७ वैशाख २०८१ शुक्रबार
विचार

चीनविरुद्ध थालिएको सूचना युद्ध

एन्ड्रयु कोरिब्को

अमेरिकालगायत पश्चिमका मूलधारका सञ्चार माध्यममा पछिल्ला केही साता पृथक खालको शैली देखिएको छ जसमा उनीहरूले कोभिड–१९ बारे आफ्ना पूर्ववत् धारणा मात्र बद्लेका छैनन् बरु उनीहरूले चीन विरोधी हतियारको रूपमा नयाँ विमर्शलाई सक्रियतापूर्वक प्रयोग गरिरहेका छन्। उनीहरू एकातिर कोभिडको पछिल्लो प्रजाति सुरुको प्रजातिभन्दा कम खतरनाक भएको बताउँदैछन्। त्यसैलाई आधार मानेर पश्चिमा विश्वले आफ्ना बजार खुला गरेका छन्। अर्कोतिर ती सञ्चारमाध्यमहरू चीनले आफ्नो अर्थतन्त्र खुला गरेर संसारलाई खतरामा पारिरहेको दाबी गरिरहेका छन्।

चीनमाथिको यो पछिल्लो अभौतिक शक्तिको हमलापछाडिको भित्री मनसाय विश्लेषण गर्दै गर्दा बितेका तीन वर्षमा महामारीविरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायलाई जनवादी गणतन्त्र चीनले गरेको अतुलनीय मद्दतको हेक्का राख्न जरुरी छ। सब भन्दा पहिला त चीनले कोभिड नियन्त्रणार्थ कडाइका साथ लागु गरेको नीति ज्यादै महत्त्वपूर्ण थियो। ती नीतिले अनियन्त्रित रोग/व्याधिलाई संसारकै सब भन्दा धेरै जनसंख्या भएको देशभर फैलिन दिएन।

त्यसपछि चीनले सन् २०२१ को जुन महिनासम्म वितरण गरेका १ अर्ब मात्रा खोपलाई कहिल्यै भुल्न सकिँदैन। सन् २०२२ को डिसेम्बरसम्ममा चीनले ३ अर्ब ४६ करोड मात्रा खोप वितरण गरिसकेको छ। चीनले खोप वितरण गरेको गति, मात्रा र क्षेत्र सबै हिसाबले संसारकै सबभन्दा बृहत् छ। परिणामतः संसारका हरेक देशमा कोभिडको सब भन्दा डरलाग्दो प्रजाति फैलिरहेको बेलामा चीन आफ्नो भूमिमा सफलतापूर्वक भाइरसमाथि नियन्त्रण गर्न सफल भएको थियो। सँगसँगै चीनले संसारका गरिब र विपन्न देश (द ग्लोबल साउथ)का आफ्ना मित्र देशहरूलाई कोभिडमाथि नियन्त्रण गर्न मद्दत गर्‍यो।

सन् २०२१ को अक्टोबरभित्र जनवादी गणतन्त्र चीनले १०६ देश र चार अन्तर्राष्ट्रिय संगठनमा १ अर्ब ५० करोड भन्दा बढी मात्रा खोप वितरण गरिसकेको थियो। नोभेम्बरमा चीनका राष्ट्रपति सी चिनफिङले अफ्रिकामा थप एक अर्ब कोभिड–१९ प्रतिरोधी खोप पठाउन आग्रह गरे। सन् २०२२ को मार्चसम्ममा मुख्यतः विकासशील १२० देशमा २ अर्ब १० करोड मात्रा खोप चीनले वितरण गरिसकेको थियो।

पश्चिमा देशहरूले पनि खोप सहायता नगरेका होइनन्। तर, चीनले गरेको सहायताको अनुपातमा उनीहरू पछाडि छन्। चीनले निःस्वार्थरूपमा मानव जातिको सेवा गरेकामा उसको कदर गर्नुको सट्टा पश्चिमा देशहरूले चीनले खेलेको भूमिका र उसका नीतिको प्रभावकारिताबारे बद्ख्वाई गरेर सत्यलाई बंग्याउन खोजिरहेका छन्।

महामारीको सामना गर्न चीनले अपनाएको आर्थिक र राजनीतिक ढाँचा आफ्नो भन्दा अब्बल ठहर भएपछि आरिसमा पश्चिमा देशहरूले अहिलेको सूचना युद्ध थालेका हुन्। चीनले उनीहरूलाई खोप उत्पादन, खोप लगाउने दर र विकासशील देशलाई गरेको सहायता तीनै पक्षमा पछि पारेको छ। यी तीन पक्षमा चीनले पाएको सफलताले समुल रूपमा पश्चिमा ‘श्रेष्ठता’ लाई माथ गरेको छ। यसले अहिलेसम्म संसारले भर मान्दै आएको पश्चिमको अभौतिक शक्तिको जगमा नै धक्का दिएको छ।

चीनविरुद्ध पश्चिमको पछिल्लो अभौतिक शक्तिको हमलालाई सही तरिकाले बुझ्न यो बुझाइ र परिप्रेक्ष्यलाई गम्भीरतापूर्वक बुझ्न जरुरी छ। पहिला पश्चिमाहरू चीनले कोभिड रोकथामको लागि लागु गरेको कडा नियमले चिनियाँ अर्थतन्त्रलाई छिन्नभिन्न बनाएको भन्थे। तर, अहिले उनीहरूको तर्क बद्लिएको छ। चीनले पछिल्लो समय चालेको कदमले करोडौँ करोड चिनियाँ जनतालाई ज्यानको जोखिममा पारेको उनीहरूले चेतावनी दिइरहेका छन्। उनीहरूका यी ठीक विपरीत दुई तर्कमा कुनै तार्किक सिलसिला छैन। बरु चीनले जे नीति लिए पनि त्यसको बद्ख्वाई गर्नु नै उनीहरूको स्थायी नीति भएको प्रष्ट देखिएको छ।

उनीहरूको बुझाइ र भनाइमा आएको यो बद्लाव विशुद्ध आत्मस्वार्थमा आधारित छ। उनीहरू चीनले जुन बाटो छाने पनि त्यो प्रत्युपादक हुने गलत चित्रण गर्ने लक्ष्यबाट अभिप्रेरित देखिए। चीनले महामारी नियन्त्रणका लागि लामो समयसम्म मनग्य सावधानीका कडा उपाय अपनाएको अवस्थामा होस् अथवा अन्ततः चिनियाँ वैज्ञानिकहरूले नियम खुकुलो बनाउँदा मानिसको जीवनमा ठूलो असर नगर्ने सिफारिस गरेपछि नियन्त्रणका नीति नियम सहज बनाउँदा होस्, दुवै पटक मूलधारका पश्चिमा सञ्चार माध्यमले चीनविरुद्ध नै बात लगाए।

अब त चीनले जे गरे पनि त्यो सहजै प्रत्युपादक कदम हुने सूत्रमा ती सञ्चार माध्यमका बुझाइलाई बुझ्दा ठीक हुने भएको छ। पछिल्लो सूचना युद्धको समकालीन सन्दर्भमा महामारीविरुद्ध चीनले हासिल गरेका निर्विवाद उपलब्धि र अन्तर्राष्ट्रिय समुदायलाई गरेको मद्दतबापत कुनै जस दिन नचाहेको शंकालाई थप बल प्रदान गरेको छ।

विश्वको जनस्वास्थ्य वृत्तमा चीनको प्रभाव र आवाजलाई सीमान्तकृत बनाउन र निमिट्यान्न गर्न व्यग्र प्रयत्नमा पश्चिमले यस्ता दुष्प्रचार गरिरहेको छ। अरू कसैका आर्थिक र राजनीतिक ढाँचा भन्दा आफ्नो ढाँचा अब्बल भनेर संसारलाई दिग्भ्रमित बनाउन उसले आफ्नो प्रयास जारी छ। यसले पनि चीनविरुद्धको चालु सूचना युद्ध मुख्यतः पश्चिमा आरिसबाट निर्देशित भएको पुष्टि गर्छ।

महामारीको राजनीतीकरण गर्नु ठीक होइन किनभने जनताको जीवन राजनीतिभन्दा महत्त्वपूर्ण हुन्छ। तथापि अमेरिकाले कोभिड–१९ का लागि चीनमाथि दोषारोपण गरेर कोभिडलाई पनि राजनीतीकरण गर्‍यो। यसअघि चीनका हरेक रोग नियन्त्रणका प्रयास र नीतिलाई न्यूनांकन गर्ने उसका लगातारका प्रयास आजपर्यन्त पनि निरन्तर छ। उसका यस्ता कदमले चीनको नीतिलाई प्रभावित बनाउने चाहना भने सदैव विफल हुँदै आएको छ। न त चीनले हासिल गरेका आकर्षक उपलब्धिलाई अन्तर्राष्ट्रिय समुदायको आँखामा बद्नाम गर्ने प्रयास पनि सफल भएको छ।

तथापि, चीनमाथि अमेरिकाले गर्ने बहुआयामिक मिश्रित युद्धबारे विश्व समुदाय भने सजग हुन अपरिहार्य छ। विशेषतः महामारीको राजनीतीकरणको सन्दर्भमा यो अझ सान्दर्भिक छ। अमेरिकी प्रचारबाजीको कुनै सीमा नभएको सर्वविदित कुरा हो। भाइरसको विषयमा उनीहरूले गलत सन्देश प्रवाह गरेका थिए। कसैको टाउकोमा दोषारोपण गरेर आफ्नो स्वार्थ सिद्ध हुने अवस्थामा उनीहरू सबै कुरालाई फेरि त्यसैमा ल्याएर जोड्ने गर्छन्। तर उनीहरूले जे गरिरहेका छन्, त्यसले उनीहरू आफैँको कुभलो गरिरहेको छ।

(एन्ड्र्यु कोरिब्को अमेरिकी राजनीतिक विश्लेषक हुन्। स्रोत: ग्लोबल टाइम्स)

प्रकाशित: २१ पुस २०७९ २३:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App